विपिन जोशी जीवित छैनन्: इजरायली अधिकारी

   असोज २७, २०८२       admin

काठमाडौं,२७ असोज । इजरायली अधिकारीहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी दिएका छन्। सोमबार इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र त्यहाँको सेनाले यो जानकारी इजरायलस्थित नेपाली राजदूतावासलाई औपचारिक रूपमा गराएको हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, इजरायलस्थित नेपाली दूतावासले उक्त जानकारी मन्त्रालयलाई अनौपचारिक रूपमा पठाएको छ।

हमासले २०८० असोज २३ गते किबुट्ज अलुमिमबाट जोशीलाई अपहरण गरेको थियो। केही समयअघि जोशीको जीवित अवस्थाको भिडियो सार्वजनिक भएको थियो।

सोमबार हमासले आफ्नो कब्जामा रहेका २० जनालाई रेडक्रसका अधिकारीमार्फत् इजरायलतर्फ हस्तान्तरण गर्दैछ।

विपिन आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत नेपालबाट इजरायल पुगेका थिए।

गाजाको सीमामा अवस्थित किबुट्ज अलुमिममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो। उनीहरू बम आश्रयस्थलमा लुकेका थिए। हमलाका क्रममा फ्याँकिएका ग्रेनेडका कारण विपिन घाइते भएका र पछि हमासले उनलाई अपहरण गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पहिलो बन्धकहरु रिहा हुँदै

   असोज २७, २०८२       admin

काठमाडौँ,२७ असोज । पहिलो बन्धकलाई १५ मिनेटभित्र रिहा गरिने इजरायली सुरक्षा अधिकारीले पुष्टि गरेका छन्। इजरायली सेनाले (आईडीएफ) सम्झौताको कार्यान्वयनको भागस्वरूप बन्धकहरूलाई स्थानान्तरण र फिर्ता गर्ने तयारी गरिरहेको जनाएको छ।

अधिकारीका अनुसार उत्तरी गाजा पट्टीमा स्थानीय समयअनुसार बिहान ८ बजेबाट बन्दी रिहाइ प्रक्रिया सुरु हुने छ। “समय परिवर्तन हुनसक्छ, जानकारी उपलब्ध हुनेबित्तिकै अपडेट दिइनेछ,” उनले भने।

इजरायली वायुसेनाले माइक्रोब्लगिङ साइट एक्स (X) मार्फत जानकारी दिँदै बन्धकहरूलाई घर ल्याउन दुई हेलिकप्टर तयारी अवस्थामा रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

त्रिसिद्धेश्वरी समितिको अध्यक्ष घनश्याम उपाध्याय निर्वाचित

   असोज २७, २०८२       admin

दाङ, २७ असोज । तुलसीपुरस्थित प्रसिद्ध धार्मिक स्थल श्री त्रिसिद्धेश्वरी कालिका मन्दिर व्यवस्थापन समितिको विशेष साधारण सभाबाट नयाँ ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ।

समाजसेवी घनश्याम उपाध्याय सर्वसम्मत रूपमा समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा वीरबहादुर बढा मगर, सचिवमा होमराज आचार्य, र कोषाध्यक्षमा शिवकुमार आचार्य चयन भएका छन् ।

मन्दिर व्यवस्थापन समितिको अधिवेशन हरेक तीन वर्षमा सञ्चालन हुने परम्परा रहँदै आएको छ।
लगातार १२ वर्षसम्म उपाध्यक्षको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उपाध्याय अहिले अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

स्थानीय समुदायले नयाँ नेतृत्वबाट मन्दिरको व्यवस्थापन, संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थपिने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

यस्तो छ आजको विनिमयदर

   असोज २७, २०८२       admin

काठमाडौं,२७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ।  सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ। 

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ १७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९४ पैसा कायम गरिएको छ। 

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६४ पैसा तोकिएको छ। 

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १९ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०१ पैसा कायम भएको छ। 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३३ पैसा र बिक्रीदर चार रुपैयाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९१ पैसा र बिक्रीदर नौ रुपैयाँ ९५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४ रुपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २२ रुपैयाँ १३ पैसा तोकिएको छ। 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७६ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ३३ पैसा रहेको छ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। 
    
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।  वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युएईमाथि नेपालको १ रनको जित

   असोज २६, २०८२       admin

काठमाडौँ,२६ असोज । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध १ रनको रोमाञ्चक जीत निकालेको छ।

ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल तयार गरेको थियो। नेपालका आसिफ शेखले ४७ बलमा ५१ रनको उत्कृष्ट पारी खेले भने अन्य खेलाडीले सानो योगदान दिए। यूएईका जुनैद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, हेदर अली, हर्षित कौशिक र ध्रुव पराशरले १–१ विकेट लिए।

१४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो। अन्तिम ३ बलमा ३ रन चाहिएको अवस्थामा यूएईले लगातार ३ विकेट गुमाएर १ रन मात्र जोड्न सक्यो।

दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै नेपाललाई जित दिलाए। उनले पहिलो तीन बलमा ७ रन दिएपछि चौथो बलमा ध्रुव पराशरलाई क्याच आउट गराए, पाँचौँ बलमा हेदर अलीलाई र अन्तिम बलमा जाहिद अलीलाई रन आउट गराउँदै खेल आफ्नो पक्षमा पारे।

यूएईका आलिशान शरफुले ५८ र ध्रुव पराशरले ३२ रनको योगदान दिए। नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले १–१ विकेट लिए।

यो जितसँगै नेपालले सुपर–६ मा दुई खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान अङ्क रहेको ओमान नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ भने यूएई २ अङ्कसहित तेस्रो स्थानमा छ।

सुपर–६ मा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन्।
नेपालले अब सुपर–६ अन्तर्गत सोमबार कतारसँग, बुधवार ओमानसँग र शुक्रवार सामोआसँग खेल्नेछ।

सुपर–६ को शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्ने मौका पाउनेछन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

   असोज २६, २०८२       admin

काठमाडौं,२६ असोज । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार महरालाई ललितपुरबाट नियन्त्रणमा लिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी मुद्दामा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिएको हो।

यसअघि सोही मुद्दामा प्रहरीले महराको बयान लिएको थियो। सुन तस्करी प्रकरणमा महरा २०८० साल चैत्र ५ गते भैरहवाबाट पक्राउ परेका थिए। पछि सीआईबीका अनुसन्धान अधिकृतको सिफारिसमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानतमा छोडेको थियो।

‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको थियो। उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका थिए।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा महराविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो।

अनुसन्धानका क्रममा ८ करोड ५५ लाख २८ हजार ३ सय मूल्य बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाएर संगठित आपराधिक लाभ लिएको ठहर भएपछि महरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विपद प्रभावितलाई घरमै स्वास्थ सेवा

   असोज २६, २०८२       admin

काठमाडौं,२६ असोज । असोज १८ मा आएको बाढीपहिरोले प्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य संस्थासम्म पुग्न कठिन भएपछि इलामको माईजोगमाई गाउँपालिकाले घरमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ।

पहिरोका कारण बाटो अवरुद्ध भएपछि गाउँपालिकाले माईजोगमाई–६ प्याङका स्थानीयको घर–घरमा पुगेर प्राथमिक स्वास्थ्य सेवा दिन सुरु गरेको हो।

प्राथमिक स्वास्थ्य केन्द्र प्याङका प्रमुख डा. अभिषेक देव ठकुरीका अनुसार वृद्धवृद्धा, बालबालिका र अशक्त व्यक्तिलाई घरमै पुगेर उच्च रक्तचाप, ज्वरोलगायतका समस्या भएका बिरामीलाई प्राथमिक उपचार सेवा दिइएको छ।

असोज १८ गतेको पहिरोमा परि प्याङका दुई परिवारका आठ जनाको ज्यान गएको थियो। यस्तै, माईजोगमाई–१ को मलुमझुवामा पनि विपद् प्रभावित स्थानीयका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

माईजोगमाई आधारभूत अस्पतालबाट खटिएको डा. यस्मिन शेर्पा नेतृत्वको टोलीले ४८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको गाउँपालिकाले जनाएको छ।

शिविरका क्रममा बाढीपहिरोका कारण स्वच्छ खानेपानी अभाव झेलिरहेका स्थानीयलाई पानी शुद्धिकरण गर्ने तरिका र सुरक्षित रूपमा पानी प्रयोग गर्नेबारे सचेतना दिइएको माईजोगमाई गाउँपालिकाका कर्मचारी डम्बर निरौलाले बताए।

यसैबीच, जिल्लाका विपद् प्रभावित क्षेत्रमा आवश्यक प्राथमिक उपचारका सामग्री, पानी शुद्धिकरणका औषधि, डेङ्गु र मलेरिया परीक्षणका किटहरू सबै पालिकामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विमल बरालले जानकारी दिए।

उनका अनुसार हालसम्म जिल्लामा महामारीको रुपमा कुनै रोग फैलिएको छैन, तर फाटफुट रूपमा झाडापखाला र रुघाखोकीका बिरामी देखिएका छन्।
‘जिल्लाको अवस्था हाल सामान्य छ,’ बरालले भने, ‘तर सबै क्षेत्रमा सडक नहुँदा औषधि पुर्‍याउन निकै कठिन भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बुद्ध हस्पिटलको कार्यकारी अधिकृतमा किशोर आचार्य

   असोज २६, २०८२       admin

दाङ, २६ असोज । दाङको घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटल प्रा.लि. ले स्वास्थ्य सेवा व्यवस्थापन र गुणस्तर सुधारमा नेतृत्व प्रदान गर्ने उद्देश्यसहित किशोर कुमार आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त गरेको छ।

जनस्वास्थ्य क्षेत्रमा लामो अनुभव रहेका आचार्यले यसअघि स्वास्थ्य कार्यालय दाङका प्रमुखका रूपमा कार्य गर्दै जिल्लाको स्वास्थ्य प्रणाली सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

पदभार ग्रहणपछि उनले भने, “बुद्ध इन्टरनेशनल हस्पिटललाई गुणस्तरीय, जनमैत्री र विश्वासिलो स्वास्थ्य संस्थाको रूपमा रूपान्तरण गर्न म पूर्ण प्रतिबद्ध छु। सेवा सुधार, व्यवस्थापकीय पारदर्शिता र जनविश्वास निर्माण मेरो प्रमुख प्राथमिकता हुनेछ।”

अस्पताल सञ्चालक समितिले आचार्यको दीर्घ अनुभव र नेतृत्व क्षमताको प्रशंसा गर्दै उनको आगमनले संस्थामा नयाँ ऊर्जा र विकासको गतिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अध्यक्ष खत्रीको आग्रह-जेनजीले बाटो देखाओस्

   असोज २६, २०८२       admin

दाङ, २६ असोज । बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्रीले हालैको जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका जेनजी युवापुस्ताप्रति श्रद्धाञ्जली अर्पण गर्दै नयाँ पुस्तालाई देश र समाज पुनर्निर्माणको बाटो देखाउन आग्रह गरेका छन्।

उनले एक सार्वजनिक सन्देशमार्फत आन्दोलनका क्रममा देशभर र गाउँपालिकामा भएको हृदयविदारक घटनाप्रति दुःख व्यक्त गर्दै भने,

“प्रिय जेनजीहरु, आउनुहोस्, बाटो देखाउनुहोस्। नकारात्मक आभासहरू पन्छाउन हातेमालो गरौं। हाम्रो समस्या हामी आफैं मिलेर समाधान गरौं।”

अध्यक्षले आफ्नो १६ वर्षको उमेरदेखि नै सामाजिक न्याय र समानताको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै गाउँपालिकाको वर्तमान अवस्थाबारे आत्ममूल्यांकन गरेका छन्। उनका अनुसार गाउँपालिकाले मितव्ययिता, पारदर्शिता, र सुशासनका प्रयासहरू जारी राखे पनि राजनीतिक दाउपेच र सीमित बजेटका कारण जनअपेक्षा अनुसारको उपलब्धि हासिल गर्न कठिनाइ भएको बताए।

गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनाप्रति गहिरो पीडा व्यक्त गर्दै उनले भने,

“हाम्रो बबई गाउँपालिका त्यो रापमा किन जल्यो? कसले जलायो? म त्यो कुरामा जान चाहन्न। तर के हाम्रो गल्तीकै कारण आगो लगाउनुपर्ने थियो? गल्ती नै भयो भने पनि सुधारको मौका दिनु पर्थ्यो।”

आफूलाई पदको मोह नभई सेवाको भावना मात्र रहेको उल्लेख गर्दै, “मलाई पदको मोह छैन। सेवा गर्ने ध्येय हो,” उनले भनेका छन्।

सामाजिक संजालको पोस्टको अन्त्यमा उनले जेनजी पुस्तालाई सहादतको सम्मान गर्दै देश, समाज र भविष्यको पुनर्निर्माणका लागि एकजुट हुन आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गाजामा जीवित रहेका नेपाली बिपिन जोशीको नाम : नयाँ सूची सार्वजनिक

   असोज २६, २०८२       admin

काठमाडौं,२६ असोज । गाजामा हमासको नियन्त्रणमा रहेका नेपाली बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ।

यसअघि उनको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर अहिले टाइम्स अफ इजरायल र एपीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवित बन्धकहरूको सूचीमा बिपिन जोशीको नाम पनि समावेश गरिएको छ।

शुक्रबारदेखि सुरु भएको युद्धविरामले अक्टोबर ७, २०२३ मा सुरु भएको दुई वर्ष लामो विनाशकारी युद्ध अन्त्य हुने संकेत देखिएको छ। उक्त आक्रमणमा करिब १,२०० जना मारिएका थिए भने २५१ जना अपहरणमा परेका थिए।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा हालसम्म ६७ हजार प्यालेस्टिनीको ज्यान गइसकेको छ, जसमा आधाभन्दा बढी महिला र बालबालिका छन्। गाजाको २० लाख जनसंख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेका छन्।

२५१ मध्ये गाजामा अहिले ४८ बन्धक छन् भने २६ जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये सन् २०१४ मा मारिएका एक इजरायली सैनिकको शव पनि समावेश छ। शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा गरिएको छ। इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। जीवित ठानिएका २२ बन्धकमध्ये बिपिन जोशी फिर्ता हुने आशा नेपालले पालेको छ।

जोशी इजरायल पुग्नुअघि एक महिना अघि मात्र नेपालबाट गएका थिए। उनी गाजामा जीवित रहेका एकमात्र गैर–इजरायली बन्धक हुन्। गाजा सीमाको किबुट्ज अलुमिममा उनी काम र कृषि अध्ययनका लागि पुगेका थिए। सो क्रममा १७ नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा मृत्यु भएको थियो।

आक्रमणको बेला बिपिनले बम आश्रयबाट ग्रेनेड फ्याँकेर धेरै साथीहरूलाई बचाएका थिए तर उनी आफैं घाइते भएर अपहरणमा परेका थिए।

हालै इजरायली सेनाले प्राप्त गरेको भिडियोमा बिपिनले आफूलाई परिचय दिँदै भनेका छन्,

“मेरो नाम बिपिन जोशी हो, म नेपालबाट आएको हुँ। म यहाँ सिक्न र कमाउन कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्दैछु।”

यो भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ। यसले उनी जीवित रहेको प्रमाण दिएको परिवारले दाबी गरेको छ।

बिपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले उनको रिहाइका लागि इजरायल पुगेर अपिल गरेका थिए। उनीहरूले अमेरिकासम्म पुगेर अन्तर्राष्ट्रिय समुदायसँग पनि सहयोग मागेका थिए।

बिपिनसँगै जीवित ठानिएकामा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चाइम ओहाना, एलोन ओहेल, अविनाटन ओर, र मातान जंगाउकर छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology