दाङ, २२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दाङ जिल्लामा ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ। शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग तथा निर्वाचन प्रहरी गरी जिल्लाभरि कुल ६ हजार ६२५ जना सुरक्षाकर्मी परिचालन गरिनेछ। तीन वटै निर्वाचन क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।
माघ २१ गते बुधबारदेखि नै दाङमा ६०९ जना नेपाली सेना परिचालन भइसकेको छ। नेपाली सेनाले जिल्लामा रहेका दुई वटा कारागार कार्यालय, विमानस्थल लगायतका संवेदनशील स्थानको सुरक्षा गर्ने प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।
यस्तै निर्वाचनका क्रममा हुन सक्ने अवाञ्छित गतिविधिलाई सूक्ष्म रूपमा निगरानी गर्न राष्ट्रिय अनुसन्धान विभागका २१ जना कर्मचारी परिचालन गरिएको छ।
सुरक्षा निकायअनुसार नेपाल प्रहरी १ हजार ३८१ जना, सशस्त्र प्रहरी ४६९ जना, नेपाली सेना ६०९ जना तथा ४ हजार १६५ जना निर्वाचन प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ माघ । तुलसीपुर उपमहानगरपालिकामा महिलाहरूका लागि चारदिने फोटो पत्रकारिता तालिम सम्पन्न भएको छ। उपमहानगरपालिकाको आयोजनामा सञ्चारिका समूह दाङ र रोज डिजिटल फोटो प्रालिको समन्वयमा तालिम सञ्चालन गरिएको हो। तालिमको बुधबार एक कार्यक्रमबीच समापन गरिएको थियो।
तालिममा १९ वटै वडाबाट प्रतिनिधित्व हुने गरी प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। साथै पत्रकारिता क्षेत्रमा क्रियाशील महिला पत्रकारहरूलाई समेत तालिममा सहभागी गराइएको थियो।
समापन कार्यक्रममा प्रशिक्षार्थीहरूले फोटो पत्रकारितामार्फत आत्मनिर्भर बन्न सकिने आत्मविश्वास जागेको बताए। फोटोग्राफीको भविष्य फराकिलो रहेकाले ज्ञान, कला र सिपको माध्यमबाट अर्थोपार्जन गर्न सकिने विश्वास व्यक्त गरे। उनीहरूले यस्ता एडभान्स तालिमहरू निरन्तर सञ्चालन गर्नुपर्ने अपेक्षा समेत राखे।
कार्यक्रममा उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले फोटोग्राफीको माध्यमबाट महिलाहरूलाई आत्मनिर्भर तथा व्यावसायिक बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिए। नगरप्रमुख खड्काले फोटो पत्रकारिता महत्वपूर्ण क्षेत्र भएकाले पालिकाले यसको आवश्यकता महसुस गरी तालिम आयोजना गरेको बताए। हरेक वडालाई फोटो पत्रकारितामार्फत अघि बढाउने उद्देश्य रहेको उल्लेख गर्दै व्यवसायिक क्षेत्रमा राम्रो अवसर भएकाले तालिममा सिकेका ज्ञान, सिप र कलालाई व्यवहारमा उतार्न आग्रह गरे।
प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले फोटो पत्रकारिता विश्व भाषाजस्तै भएको उल्लेख गर्दै यसको महत्व अत्यन्त ठूलो रहेको बताए। उनले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गरे।
कार्यक्रममा पत्रकार नारायणी रजौरे, उमा भण्डारी, निता चौधरीलगायतले फोटो पत्रकारिताको क्षेत्र फराकिलो रहेको बताए। साथै फोटो पत्रकारिता संवेदनशील विषयसमेत भएकाले विशेष ध्यान दिन आवश्यक रहेको उनीहरूको भनाइ थियो।
तालिममा प्रमुख प्रशिक्षकका रूपमा फोटोग्राफर चन्द्रबहादुर गिरी रहेका थिए। रोज डिजिटल फोटो प्रालिका नारायण विक, दिलबहादुर बुढाथोकीलगायतले प्राविधिक सहयोग गरेका थिए। चार दिनसम्म सञ्चालन भएको तालिमको समापन कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन्। तालिममा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । नेपाल दूर सञ्चार कम्पनी (नेपाल टेलिकम)को इन्टरनेट सेवा अवरुद्ध भएको छ। आज बिहान सवा ६ बजे देखि सेवा अबरुद्ध भएको हो । बुटवल गोरुसिंगे सडक निर्माणका क्रममा इन्टरनेटको सर्कुलर मेनलाइन काटिँदा पश्चिम नेपालका अधिकांश क्षेत्रको इन्टरनेट सेवा प्रभावित भएको नेपाल टेलिकम तुलसीपुर कार्यालयका प्रमुख प्रविण कुमार चौधरीले जानकारी दिए। उनका अनुसार गोरुसिंगे पश्चिम क्षेत्र चन्द्रौटा दाङ नेपालगञ्ज र धनगढीसम्मको सेवा प्रभावित भएको छ। मर्मत र सेवा सञ्चालनका लागि अझै दुई ढाई घण्टा लाग्ने जनाइएको छ । मोबाइल डाटा र फोन सेवामा भने कुनै समस्या न रहेको प्रमुख चौधरीको भनाइ छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ र १३ को संगमस्थल बबई नदी । एक समय आकर्षक र मनोहर थियो। उत्तरतिरको समथर फाँट, दक्षिण र पूर्वतर्फ फैलिएको चूरे शिवालिक । हरिया फाँट, तरकारी अन्नपातले सजिएको क्षेत्र लोभलाग्दो र निकै रमणीय थियो।
तर, वि.स. २०७२ सालमा आएको भीषण बाढीले यस क्षेत्रको अनुहार नै बदलिदियो। नदीको बहावले बस्ती डुबायो, कयौँ घर भत्किए, खेतीयोग्य जमिन ढुंगामाटोले भरियो। हरियालीको सट्टा कंक्रिट र बगर बन्न थाल्यो। बस्ती उजाडियो, मानिस विस्थापित भए।
विपद्का कारण वर्षौँसम्म सुनसान र उराठ झै बनेको यही भूमि अहिले भने आन्तिक र बाह्य पर्यटकहरूको गन्तव्य स्थलबन्न थालेको छ। नागरिकका लागि मनोरञ्जनको केन्द्र बन्दै गएको छ। नदी कटानले बाँझिएको, ढुंगा र बालुवामात्रै देखिने जमिनलाई सदुपयोग गर्दै स्थानीय युवाको सिर्जनशील सोचले आकर्षकको केन्द्र बनेको छ ।
तुलसीपुर–१७ कि कौशिला खड्काले यो क्षेत्रमा पछिल्लो समय जिल्लाबाट र जिल्ला बाहिरबाट मान्छेहरू आउने क्रम बढेको बताइन् ।
बर्दियाबाट आएका अर्जुन चौधरीले जिपलाइन र वाटर साइकलले यस ठाउँको आर्कषण बढाएको बताए ।‘ साथीहरूसँग मिनि एड्भेन्चर गर्न यो ठाउँ उपयुक्त रहेछ ।’ उनले भने रमाउन पनि पाइने खाना पनि पाइने ।’
तुलसीपुर उपमहानगरपालिका–१३, बखरियामा बबई एग्रो फार्म तथा रिसोर्ट आकर्षक पर्यटकीय गन्तव्यमा रूपान्तरण रहेको हो । करिब १ करोड १५ लाख रुपैयाँको लगानी मा निर्माण गरिएको यो रिसोर्ट पाँच जना स्थानीय युवाले सञ्चालन गरेका छन । मा आएको हो।
यसका कारण अहिले सुनसान रहने बबई किनारमा चहलपहल बढेको छ। शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिन यहाँ अत्यधिक भीड लाग्ने गरेको छ, जसले यस क्षेत्रको पर्यटन गतिविधिमा थप उत्साह थपेको छ।
४ विगाहा जमिन मा सञ्चालन गरिएको रिसोर्ट बबई नदीको किनार, वरिपरि फैलिएको वनजंगल र नजिकैको बजार क्षेत्रका कारण प्राकृतिक सौन्दर्यसँगै मानसिक शान्तिको अनुभूति दिने गन्तव्य बनेको देखिन्छ ।
म्यानेजर हेमन्त बस्नेतका अनुसार मनोरञ्जनका दृष्टिले बबई रिसोर्ट आकर्षणको केन्द्र बन्दै गएको छ। यहाँ वाटर साइकल, जिपलाइन र वाटर बेलुन जस्ता गतिविधि सञ्चालनमा छन्। विशेष गरी जिपलाइनप्रति पर्यटकको आकर्षण उल्लेखनीय छ। छिल्लीकोट क्षेत्रमा जिपलाइन प्रभावकारी हुन नसकेपछि ‘एकपटक प्रयास’ का रूपमा यहाँ सुरु गरिएको जिपलाइन अहिले प्रमुख आकर्षण बनेको बस्नेत बताउँछन्।
चिल्ड्रेन पार्क, टिकटक जोन तथा स्थानीय पहिचान झल्कने थप संरचना निर्माण गर्ने तयारी भइरहेको उनले बताए । यसले यहाँ आउने पर्यटकको संख्या थप बढ्ने अपेक्षा गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२१ माघ । नेकपा (एमाले) ले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग आगामी निर्वाचनमा चुनावी सहकार्यका लागि औपचारिक प्रस्ताव गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)सँग प्रत्यक्ष संवाद गर्दै सहकार्यको प्रस्ताव राखेका हुन्।
नेकपा स्रोतका अनुसार ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ तथा एमाले महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र दाङ–२ मा सहकार्यका लागि प्रस्ताव गरेका छन्।
स्रोतका अनुसार ती दुई क्षेत्रमा सहयोगको बदलामा ओलीले नेकपालाई चार सिटमा सहयोग गर्ने वचन दिएका छन्। नेकपाका एक नेताका अनुसार ओलीले प्रचण्डसँग ‘जुन क्षेत्र चाहियो, त्यसमा सहयोग गर्न तयार’ रहेको प्रस्तावसमेत गरेका हुन्।
तर, नेकपा स्रोतका अनुसार प्रचण्डले उक्त प्रस्तावमा अहिलेसम्म स्पष्ट प्रतिबद्धता जनाइसकेका छैनन्। एमालेसँग चुनावी सहकार्य नगर्नुपर्ने अडानमा नेकपाका शीर्ष नेताहरू रहेकाले प्रचण्डमाथि आन्तरिक दबाब बढेको स्रोतको भनाइ छ।
२२ सय व्यक्ति फरार सूचिमा
बांके, २१ माघ। भारत–नेपाल सिमानाका रुपैडीहाबाट एक किशोरीको उद्दार गरिएको छ । रूपैडीहा चेकपोस्टमा गरिएको नियमित जाँचका क्रममा बेचविखनको जोखिममा रहेकी १५ वर्षीया नाबालिग नेपाली किशोरीको सकुशल उद्धार गरिएको हो।
सशस्त्र सीमा बल (एसएसबी) को बीआईटी टोली, एन्टी ह्युमन ट्राफिकिङ युनिट तथा देहात संस्थाको संयुक्त सक्रियतामा किशोरीलाई भारतीय क्षेत्रबाट उद्धार गरिएको भारतीय प्रहरीले जनाएको छ।
नियमित सोधपुछका क्रममा किशोरीको गतिविधि शंकास्पद देखिएपछि सुरक्षाकर्मीले थप अनुसन्धान थालेका थिए।
अनुसन्धानका क्रममा किशोरीले आफू जुम्ला जिल्ला, चाना वडा नं.–१ की १५ वर्षीया रहेको बताएकी थिइन्। कागजात र बयानका आधारमा उनी नाबालिग भएको पुष्टि भएपछि मानव बेचविखनको जोखिममा रहेको खुलेको हो।
किशोरीसँगै रहेका बाँके खजुरा वडा नं.–७ का १९ वर्षीय युवक साहिल कुरेशीलाई नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार उनले विवाह तथा रोजगारीको प्रलोभन देखाएर किशोरीलाई भारत लैजान लागेको स्वीकार गरेका छन्।
सुरक्षाकर्मीले मोबाइलमार्फत किशोरीकी आमासँग सम्पर्क गर्दा उनी परिवारलाई जानकारी नदिई घरबाट निस्किएको खुलेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी देहात इन्डिया, बहराइचको सहकार्यमा किशोरीलाई नेपालस्थित संरक्षण गृहमा पठाइएको छ।
पक्राउ परेका युवकलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको भारतीय प्रहरीले जनाएको छ।
मानव बेचविखनको दृष्टिले जमुनाहा नाका लामो समयदेखि उच्च जोखिमयुक्त क्षेत्र मानिँदै आएको छ। माइती नेपाल नेपालगन्जका अनुसार पछिल्लो एक वर्षमा मात्रै यस नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका करिब ६ सय महिला तथा किशोरीको उद्धार गरी परिवारमा पुनःमिलन गराइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आजदेखि नेपाली सेना परिचालन गरिएको छ। निर्वाचनपूर्व सुरक्षा योजना अनुसार बुधबार (माघ २१) देखि सेना फिल्ड गस्तीमा निस्किएको हो।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार माघ २१ गतेदेखि सेना परिचालन सुरु गरिएको हो।
निर्वाचन सुरक्षाका लागि देशभर ७९ हजार ७२७ जना नेपाली सेना खटाइनेछ। आवश्यकताअनुसार गस्ती तथा पेट्रोलिङ गरिने र संवेदनशील क्षेत्र तथा मतदानस्थलमा संयुक्त गस्तीसमेत हुने बताइएको छ।
योजना अनुसार हाल सेना परिचालनसँगै सुरक्षासम्बन्धी अन्य ड्युटीहरू पनि सुरु भएका छन्। निर्वाचन अवधिभर सेनाले हवाई गस्तीसमेत गर्नेछ।
विशेषगरी विकट र अतिसंवेदनशील क्षेत्रमा हवाई गस्तीको व्यवस्था मिलाइएको छ। आगामी निर्वाचनका लागि कुल ३ लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २० माघ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले बुझाएको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट दाङका दुई उम्मेदवारसहित ७६ जना उम्मेदवारको नाम हटाएको छ।
निर्वाचन आयोगले घोराही उपमहानगरपालिका–१५ की जनता समाजवादी पार्टी (जसपा) की उम्मेदवार कमला खत्री र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गढवा गाउँपालिका–७ की उर्मिला चौधरीको नाम समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट हटाएको हो ।
आयोगले खत्रीको नाम कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको कारण हटाइएको हो भने चौधरीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लिखित अनुरोधअनुसार हटाइएको जनाएको छ।
निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूचीसम्बन्धी परेका उजुरी, उम्मेदवारको योग्यता, प्रचलित कानुनी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय तथा राजनीतिक दलहरूले बुझाएको विवरण मापदण्डअनुसार नपुगेको पाइएपछि नाम हटाइएको आयोगले जनाएको छ।
आयोगका अनुसार हटाइएका ७६ उम्मेदवारमध्ये २५ जना प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समेत नाम समावेश भएकाले अयोग्य ठहरिएका छन्।
त्यसैगरी, कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका २१ जना, निर्वाचन आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १० जना तथा सम्बन्धित राजनीतिक दलले नै लिखित रूपमा नाम हटाउन अनुरोध गरेका १० जना उम्मेदवारको नाम पनि बन्दसूचीबाट हटाइएको छ।
उम्मेदवारमध्ये २५ वर्ष उमेर पूरा नगरेका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना तथा पिछडिएको क्षेत्रको मतदाता नामावलीमा नाम नसमेटिएका २ जना रहेका छन्।
यस्तै, महिला उम्मेदवार पेश गर्नुपर्ने स्थानमा पुरुष उम्मेदवारको नाम समावेश गरिएको १ जना र एकभन्दा बढी कारणले अयोग्य ठहरिएका २ जना उम्मेदवारको नाम पनि बन्दसूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२० माघ । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गर्ने कार्यक्रमको प्रभावकारी अनुगमन सुनिश्चित गर्न जिल्ला समन्वय समितिको भूमिका सशक्त बनाइने भएको छ। यसका लागि ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५’ संशोधन गरिने मुख्यमन्त्री चेतनारायण आचार्यले स्पष्ट पारेका छन्।
प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत चौथो बैठकमा ऐन संशोधनसम्बन्धी विधेयकमाथि भएको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार, स्थानीय तह र जिल्ला समन्वय समितिबीचको अनुगमन संयन्त्र प्रभावकारी बनाउन ऐन संशोधन आवश्यक परेको बताएका हुन्। उक्त विधेयकमाथि भएको छलफलमा प्रदेश सभा सदस्य रत्न खत्रीले भाग लिएका थिए।
यसैबीच, प्रदेश सभाको बैठकले तीन वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाउने निर्णय गरेको छ। लुम्बिनी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको छ।
त्यसैगरी, दलितको अधिकारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सामाजिक विकास समितिमा र प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक कृषि, वन तथा वातावरण समितिमा पठाइएको छ।
बैठकमा मुख्यमन्त्री आचार्य तथा कृषि तथा भूमि व्यवस्थामन्त्री दिनेश पन्थीले सम्बन्धित विधेयकहरू समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख तुलाराम घर्तीमगरले ती प्रस्तावहरू निर्णायार्थ प्रस्तुत गरेपछि बैठकले सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।
बैठकमा प्रदेश सभा सदस्यहरू सुधाकर पाण्डे, भगवती अधिकारी, वसीउद्दीन खाँ, रामजीप्रसाद घिमिरे र यमुना रोका तामाङले समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२० माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले संगठनभित्र जनशक्ति व्यवस्थापन कडाइ गरेको छ।
निर्वाचन सुरक्षालाई प्राथमिकता दिँदै सशस्त्र प्रहरीले कर्मचारीको राजीनामा, रवाना र बिदा अस्थायी रूपमा रोक्ने निर्णय गरेको जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना ०८२ अनुसार निर्वाचन अवधिमा अधिकतम जनशक्ति परिचालन गर्नुपर्ने भएकाले यस्तो व्यवस्था लागू गरिएको हो।
सशस्त्र प्रहरीका अनुसार माघ १९ गतेदेखि लागू भएको निर्णयअनुसार निर्वाचन प्रक्रिया सकिन्जेल कर्मचारीको राजीनामा स्वीकृत नहुने, अन्य कार्यालयमा सरुवा वा रवाना नगर्ने तथा अत्यावश्यक बाहेक बिदा स्वीकृत नगर्ने निर्देशन दिइएको छ।
निर्वाचनको समयमा सुरक्षा व्यवस्थापन अत्यन्त संवेदनशील हुने भएकाले जनशक्ति अभाव हुन नदिन यो कदम चालिएको सशस्त्र प्रहरीले जनाएको छ। निर्वाचनका बेला मतदान केन्द्र, मतपेटिका सुरक्षा, संवेदनशील क्षेत्र निगरानी तथा सीमा क्षेत्रमा सुरक्षालाई मजबुत बनाउन ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिने योजना छ।
सुरक्षा निकायका अधिकारीहरूका अनुसार निर्वाचन अवधिमा सानो कमजोरीले पनि समग्र निर्वाचन प्रक्रियामा असर पार्न सक्ने भएकाले सुरक्षा व्यवस्था उच्च सतर्कताका साथ अघि बढाइएको छ। सशस्त्र प्रहरीले आन्तरिक व्यवस्थापन कडाइ गर्दै निर्वाचन सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्ने तयारी गरेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस