काठमाडौं,१५ माघ । जिल्ला अदालत रुपन्देहीले सर्वोच्च अदालतमा विचाराधीन रहेको रिट निवेदनको टुंगो लागेपछि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पेस गरिएको आरोपपत्र संशोधनसम्बन्धी निवेदनमा सुनुवाइ हुने स्पष्ट पारेको छ।
आरोपपत्र संशोधनको स्वीकृतिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको जनाउँदै जिल्ला अदालतले उक्त रिटको अन्तिम फैसला आएपछि मात्रै सरकारी वकिलले पेस गरेको निवेदनमाथि निर्णय लिइने जनाएको हो।
रुपन्देही जिल्ला अदालतले रवि लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता गर्ने सरकारी पक्षको निवेदनबारे हालसम्म कुनै निर्णय नभएको स्पष्ट गरेको छ। सर्वोच्च अदालतमा यस विषयमा परेको रिटको टुंगो लागेपछि मात्रै जिल्ला अदालतमा मुद्दा अघि बढाइने अदालतले जनाएको छ।
अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार, “महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीको अभियोग यथावत राखी सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले निवेदन पेस गरेको छ।
तर यस विषयमा सर्वोच्च अदालतमा उत्प्रेषण रिट विचाराधीन रहेकाले त्यहाँको अन्तरिम आदेशबारे अन्तिम टुंगो लागेपछि मात्रै जिल्ला अदालतले निर्णय गर्छ। अहिले मुद्दा फिर्ता गर्न अस्वीकार गरिएको होइन, विषय विचाराधीन नै छ।”
उनका अनुसार माघ ६ गते न्यायाधीश श्यामलाल घिमिरेको इजलासले सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको बुझिएकाले त्यससम्बन्धी अन्तरिम आदेशको विषयमा अन्तिम निर्णय भएपछि मात्र निवेदन पेस गर्न आदेश दिएको थियो। माघ ६ गतेको आदेशबारे नौ दिनपछि फरक ढंगले समाचार आएको उल्लेख गर्दै पौडेलले ती समाचारहरू सत्य नभएको स्पष्ट पारे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, १५ माघ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
७२ वर्षका नेपाललाई मुटुको समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उनलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरू अस्पताल पुगेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१५ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुने भएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट दर्ता गरिएको उनको उम्मेदवारी आयोगले खारेज गरेपछि चौधरी सर्वोच्च अदालत पुगेका हुन्।
उक्त रिट न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको छ। यसअघि न्यायाधीश ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो।
रेशम चौधरीको उम्मेदवारी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएको थियो। निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि उक्त निर्णयको वैधतामाथि अदालतमा कानुनी बहस हुने भएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१५ माघ। नेपाली बजारमा सुनको मूल्य एकाएक ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ १५) सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले वृद्धि भएको हो।
यससँगै सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको छ। अब उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख ३९ हजार ३०० रुपैयाँ खर्चिनुपर्ने भएको छ। यसअघि बुधबार सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर सात हजार ५०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला सात हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १४ माघ। नेपाली कांग्रेसका उम्मेदवारहरूले रुकुम पश्चिममा क्यूआर कोडमार्फत मतदाताबाट सुझाव संकलन गर्ने अभियान सुरु गरेका छन्। यस अभियानअन्तर्गत मतदाताले आफ्नो क्षेत्रका समस्या, आवश्यकता, विकासका प्राथमिकता तथा निर्वाचित भएपछि गर्नुपर्ने कामबारे सुझाव दिन सक्ने व्यवस्था गरिएको छ।
क्यूआर कोड स्क्यान गरेपछि खुल्ने गुगल फाराममार्फत मतदाताले आफ्ना सल्लाह, सुझाव र अपेक्षा सहजै राख्न सक्ने व्यवस्था मिलाइएको कांग्रेसका युवा उम्मेदवार राजु केसीले बताए। उनका अनुसार संकलित सुझावका आधारमा भविष्यका योजना र विकास कार्यक्रम तय गरिनेछ।
केसीले समृद्ध रुकुम पश्चिम निर्माण गर्ने लक्ष्यसहित विगतमा अधुरा रहेका विकासका काम पूरा गर्न मतदाताको सक्रिय सहभागिता आवश्यक रहेको बताए। व्यस्त मतदाताले पनि आफ्नो सुविधा अनुसार सार्वजनिक रूपमा क्यूआर कोडमार्फत सुझाव दिन सकून् भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको उनले स्पष्ट पारे।
बुधबारदेखि सुरु भएको यस अभियानलाई कांग्रेसले निर्वाचन प्रचारको महत्वपूर्ण अङ्ग बनाएको छ। समानुपातिक उम्मेदवार मानबहादुर नेपालीले क्यूआर कोडमार्फत प्राप्त सबै सुझाव तथा गुनासोलाई संकलन, विश्लेषण र एकीकृत गरी घरदैलो अभियानका क्रममा मतदातासँग प्रत्यक्ष छलफल र बहस गरिने जानकारी दिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रुकुम पश्चिममा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ युवा उम्मेदवार राजु केसी र समानुपातिकतर्फ मानबहादुर नेपालीलाई उम्मेदवार बनाएको छ।
एउटै निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एमालेका गोपाल शर्मा लगायतका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्।
विगतका निर्वाचनमा निरन्तर जनार्दन शर्मा विजयी हुँदै आएको यस क्षेत्रमा यसपटक भने उनले झण्डै तीन दशक लामो प्रचण्डसँगको राजनीतिक सम्बन्ध टुंग्याउँदै एक्लै प्रतिस्पर्धामा उत्रिएका छन्। पूर्व माओवादी धारमा देखिएको विभाजनलाई अवसरका रूपमा लिँदै कांग्रेसले जित निकाल्ने रणनीतिसहित चुनावी प्रचार–प्रसार अभियानलाई तीव्र बनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन दाङ जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ। निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाका मतदानस्थलको सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा वर्गीकरण गरिएको छ।
वर्गीकरणका आधारमा मतदानस्थलमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए। उनका अनुसार निर्वाचनलाई लक्षित गरी ‘एकीकृत सुरक्षा योजना–२०८२’ तयार गरी कार्यान्वयनमा ल्याइएको छ।
प्रजिअ अर्यालका अनुसार मतदानपूर्व, मतदानको दिन र मतदानपछिको सुरक्षालाई केन्द्रमा राखेर योजनाबद्ध रूपमा काम भइरहेको छ।
विगतका घटनाको समीक्षा, भौगोलिक विकटता, मतदाता सङ्ख्या, जेनजी आन्दोलनपछिको अवस्था लगायतका पक्षलाई ध्यानमा राखी सुरक्षा रणनीति तयार गरिएको उनले बताए।
दाङ जिल्लामा कूल १५९ मतदानस्थल र ४८२ मतदान केन्द्र रहेका छन्। तीमध्ये १३४ मतदानस्थल संवेदनशील, १६ अतिसंवेदनशील र नौ वटा सामान्य रहेका छन्। सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ अर्यालले जनाए।
उनले भने, “गस्ती, पेट्रोलिङ, सूचना सङ्कलन, सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक समाचार तथा सामग्रीको निगरानीसमेत थालिएको छ।
” निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ६०९, सशस्त्र प्रहरीका ४६९, नेपाल प्रहरीका एक हजार ३८१, निर्वाचन प्रहरीअन्तर्गत नेपाल प्रहरीका दुई हजार ४१५ र सशस्त्र प्रहरीका ३०३ गरी कूल पाँच हजार १७७ सुरक्षाकर्मी परिचालन गरिनेछ।
चुनावी कार्यक्रम, उम्मेदवारको घरदैलो अभियान, मतदाता, मतदानस्थल, मतपेटिका तथा मतगणनास्थलको सुरक्षाका लागि एकल तथा संयुक्त सुरक्षा गस्ती सञ्चालन भइरहेको पनि प्रजिअ अर्यालले बताए।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपककुमार श्रेष्ठले निर्वाचनलाई ध्यानमा राख्दै जिल्लाको सुरक्षा अवस्था थप सुदृढ बनाइएको जानकारी दिए। उनका अनुसार जिल्ला कमाण्ड पोस्ट र निर्वाचन सेल स्थापना गरी कार्यान्वयनमा ल्याइसकिएको छ।
त्यसैगरी निर्वाचनमा खटिने निर्वाचन प्रहरीको नामावली सार्वजनिक भइसकेको र आवश्यक प्रशिक्षणको तयारी भइरहेको उनले बताए। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार दाङ जिल्लामा कूल चार लाख ३१ हजार ६८७ मतदाता रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
रुकुमपूर्व ,१४ माघ । जिल्लाका उच्च भेगमा अहिले पनि निरन्तर हिमपात भइरहेको छ भने तल्लो भेगमा वर्षा जारी रहेको छ। यस वर्षको दोस्रो पटक परेको हिमपातले माथिल्लो क्षेत्रमा बाक्लो हिउँ जमेको छ। तीनवटा गाउँपालिका रहेका रुकुमपूर्वका तीनै गाउँपालिकाका उच्च भेगका सबै क्षेत्रमा हिमपात भइरहेको छ।
पानी र हिमपातसँगै किसानहरू खुसी देखिएका छन्। माथिल्लो भेगमा हिमपात र तल्लो भेगमा वर्षा भइरहेकाले यस वर्ष हिउँदे बाली राम्रो सप्रिने पुथाउत्तरगङ्गा गाउँपालिका–१३ का स्थानीय किसान दिपेन्द्र छन्त्यालले बताएका छन्।
आकासे पानीकै भरमा खेती गर्दै आएका किसानका लागि यसपटक हिउँदे बालीमा पर्याप्त सिँचाइ मिलेको उनको भनाइ छ। हिउँदमा हिउँ र पानी नपरेका वर्ष अनिकाल लाग्ने गरेको उल्लेख गर्दै यस वर्ष भने समयमै हिउँ र पानी परेकाले सुविकाल हुने आश व्यक्त गरेका छन्।
यसैबीच, रुकुमपूर्वको भूमे गाउँपालिका–१ र बाग्लुङको सिमाना पर्ने यिरनेता (पातिहाल्ने) क्षेत्रमा भारी हिमपात भइरहेकाले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख एवम् डीएसपी उमाशङ्करप्रसाद यादवका अनुसार रुकुमपूर्व–बाग्लुङ सिमाना क्षेत्रमा बाक्लो हिमपातका कारण सवारीसाधन आवतजावत ठप्प भएको हो।
उनका अनुसार काठमाडौँबाट आएका सवारीसाधन पातिहाल्ने आसपासमै रोकिएका छन् भने रुकुमपूर्व हुँदै काठमाडौँ जान लागेका सवारीसाधन रुकुमकोट, काँक्री र लुकुम क्षेत्रमा रोकिएका छन्। हिउँ पन्छाउन नेपाल प्रहरी परिचालन गरिएको पनि डीएसपी यादवले जानकारी दिए।
भूमे गाउँपालिकाले जेसीबी प्रयोग गरी हिउँ पन्छाउने प्रयास गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष सविना बुढामगरले बताइन्।
उनका अनुसार २ देखि ३ फिटसम्म हिउँ जमेको र निरन्तर भारी हिमपात भइरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको छ। उनले भनिन्, “जेसीबीले हिउँ पन्छाए पनि केही समयमै फेरि हिउँ जमिरहेको छ। यही अवस्थामै हिमपात जारी रहे सडक खुलाउन सम्भव नहुन सक्छ।”
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण गएरातिदेखि दाङ उपत्यकासहित पश्चिम नेपालका विभिन्न जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ। लामो समयको खडेरीपछि परेको वर्षाले चिसो बढाए पनि कृषकहरूमा भने उत्साह थपिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागमा बदली भई वर्षा भएको हो। दाङको घोराही, तुलसीपुर र देउखुरी क्षेत्रमा निरन्तर वर्षा भएपछि धुलोमैलो कम भएको छ भने वातावरण केही स्वच्छ बनेको छ।
वर्षासँगै रोल्पा, रुकुम, जुम्ला, हुम्ला र मुगु लगायतका उच्च पहाडी तथा हिमाली जिल्लामा बाक्लो हिमपात भएको छ। हिमपातका कारण ती क्षेत्रमा चिसो अत्यधिक बढेको छ भने केही स्थानमा यातायातसमेत प्रभावित भएको जानकारी प्राप्त भएको छ। तर, हिउँले जमिनमा लामो समयसम्म चिस्यान कायम राख्ने भएकाले किसानहरू खुसी देखिएका छन्।
यो वर्षा हिउँदे बालीका लागि निकै लाभदायक हुने अनुमान गरिएको छ। सिँचाइको सुविधा नपुगेका क्षेत्रमा सुक्न लागेका गहुँ, जौ, तोरी र दलहन बालीलाई वर्षाले राहत दिएको छ। लामो समयदेखि पानीको प्रतीक्षामा रहेका किसानहरू अहिलेको वर्षाले खेतीपाती सप्रिने आश पलाएको बताउँछन्।
मौसमविद्हरूका अनुसार यो मौसमी प्रणाली आज बेलुकासम्म कायम रहने सम्भावना छ। वर्षा र हिमपातका कारण तापक्रम घट्ने भएकाले स्वास्थ्यप्रति सतर्क रहन तथा पहाडी क्षेत्रमा यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र अघि बढ्न स्थानीय प्रशासनले सबैलाई अनुरोध गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
जाजरकोटदेखि जुम्लासम्मका विद्यार्थीको शैक्षिक केन्द्र
दाङ, १३ माघ । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले आफ्नो ५५ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी वक्ताहरूले मावि तुलसीपुर सेन्टर सामुदायिक विद्यालयप्रतिको सोच बदल्ने बलियो उदाहरण बनेको बताएका थिए। पाँच दशकभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा योगदान दिँदै आएको यस विद्यालयले पछिल्लो समय शिक्षामा काँचुली फेर्न सफल भएको भन्दै उनीहरूले प्रशंसा गरे। स्थापनाकालदेखि सिमित स्रोतसाधन र पूर्वाधारको अभावका कारण समस्याग्रस्त रहेको विद्यालय अहिले देशकै उत्कृष्ट ‘मेघा स्कुल’को रूपमा स्थापित भएको उनीहरूको भनाइ थियो।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले शिक्षा जगतमा विद्यालयले अतुलनीय योगदान पु¥याएको बताए। नेतृत्वमा इच्छाशक्ति र सकारात्मक सोच भए सामुदायिक विद्यालय पनि उत्कृष्ट हुन सक्छ भन्ने कुरा विद्यालयले व्यवहारमै प्रमाणित गरेको उनले उल्लेख गरे। सामुदायिक विद्यालयप्रतिको पुरानो सोच बदल्न विद्यालय सफल भएको बताउँदै उनले गुणस्तरीय शिक्षा, मानव विकास र प्राविधिक शिक्षामार्फत श्रमको सम्मान गर्ने संस्कार विकास गर्दै आएको यो विद्यालय आज देशकै नमुना बन्न पुगेको बताए।
कार्यक्रममा पूर्व नगरप्रमुख ढुण्डीराज लामिछानेले विद्यालयको यात्रालाई प्रेरणादायी उदाहरणका रूपमा व्याख्या गरे। “अरूको राम्रो कामको प्रशंसा गर्न सक्ने संस्कार विकास गर्नुपर्छ। असहज परिस्थितिबाट गुज्रिएको विद्यालयले शिक्षामा काँचुली फेर्नु ठूलो उपलब्धि हो,” उनले भने, “स्पष्ट मिसन, भिजन, टिमवर्क र अभिभावकको समन्वय भए शैक्षिक संस्थाले उल्लेखनीय प्रगति गर्न सक्छ भन्ने उदाहरण मावि तुलसीपुर सेन्टर हो।”
कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले पहिले सामुदायिक विद्यालयप्रति आत्मग्लानी महसुस गर्ने अभिभावकहरू अहिले गर्व गर्ने अवस्थामा पुगेको बताए। “पहिले सामुदायिक विद्यालय भन्नासाथ आत्मग्लानी र लाज महसुस हुन्थ्यो, अहिले भने यही विद्यालयप्रति गर्व गर्ने वातावरण बनेको छ,” उनले भने, “सामुदायिक विद्यालयप्रतिको दृष्टिकोण नै बदलिएको छ।”
जाजरकोटदेखि जुम्लासम्मका विद्यार्थीको शैक्षिक केन्द्र: विद्यालयको नेतृत्व, शिक्षकहरूको समर्पण, अभिभावकको विश्वास र समुदायको सहकार्यले मावि तुलसीपुर सेन्टरलाई नयाँ दिशातर्फ डो¥याएको प्रधानाध्यापक भागवत पौडेलले बताए। उनका अनुसार विद्यालय तुलसीपुर उपमहानगरपालिकाका १९ वडाबाट मात्र नभई जाजरकोट, सल्यान, अछाम र जुम्लासम्मका विद्यार्थीहरूको रोजाइमा परेको छ।
उनले विद्यालयमा गुणस्तरीय शिक्षाको माध्यमबाट असल चरित्रवान, संस्कारयुक्त र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित शैक्षिक गतिविधि सञ्चालन भइरहेका बताए। विद्यालयमा अध्ययन गर्ने हरेक बालबालिकालाई पूर्ण मानवको रूपमा विकास गर्ने उद्देश्यअनुसार शिशु कक्षादेखि कक्षा १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पठनपाठन हुँदै आएको छ भने कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा संकाय सञ्चालनमा छन्।
सामुदायिक विद्यालयमा दुर्लभ मानिने प्राविधिक शिक्षा यस विद्यालयको विशेष पहिचान बनेको उनले बताए। विद्यालयमा कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल इन्जिनियरिङ विषय पढाइ भइरहेको छ भने सूचना प्रविधि र जियोमेटिक्स विषयमा तीन वर्षे डिप्लोमा कार्यक्रम सञ्चालनमा छन्। साथै विभिन्न निःशुल्क प्रि–डिप्लोमा कार्यक्रममार्फत विद्यार्थीलाई सीपमूलक तथा रोजगारीसँग जोडिने शिक्षा प्रदान गरिँदै आएको उनले जानकारी दिए।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष वर्षात भण्डारी, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर नगर जेसीजका अध्यक्ष कमलप्रकाश शर्मा, लक्ष्मी माविका प्रधानाध्यापक प्रेम वली, मावि बालापुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक केसी, पत्रकार सुशील बस्नेतलगायतले मावि तुलसीपुर सेन्टरले सामुदायिक विद्यालयप्रतिको सोच बदल्न सफल भएको बताएका थिए। उनीहरूले विद्यालयले शिक्षा क्षेत्रमा नयाँ आशा जगाएको उल्लेख गरे। कार्यक्रमको सहजीकरण भोलाप्रसाद पौडेल र मेनुका राजकोटीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१३ माघ । चारवटा सवारीसाधन एकआपसमा ठोक्किँदा आगलागी भएको छ। काठमाडौंको जमलमा
तीव्र गतिमा रहेका सवारीसाधन ठोक्किएलगत्तै एउटा गाडीमा लागेको आगो अन्य दुई सवारीसाधनमा पनि फैलिएको थियो।
दरबारमार्ग ट्राफिक प्रहरीले घटनाको पुष्टि गर्दै अहिले स्थिति क्रमशः सामान्य बन्दै गएको जनाएको छ। प्रहरीका अनुसार , चार वटा गाडी एकआपसमा ठोक्किएका हुन्। केही व्यक्ति घाइते भएका छन् ।
सडकको बीचमै सवारीसाधनमा आगो लागेपछि जमल र दरबारमार्ग क्षेत्रको ट्राफिक व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त बनेको थियो। सूचना पाएलगत्तै दमकल र प्रहरी टोली घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरेका थिए।
हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक नभए पनि सवारीसाधनमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस