सरस्वती माविको ४५औँ वार्षिकोत्सव सम्पन्न

   पुष १३, २०८२       admin

दाङ, १३ पुस । दाङको घोराही उपमहानगरपालिका–५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोलले आइतबार एक कार्यक्रमका बीच आफ्नो ४५औँ वार्षिकोत्सव मनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्व तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख डिसीले घोक्ने र गृहकार्य सार्ने विद्यार्थीभन्दा युगसापेक्ष सिर्जनात्मक सोच भएका विद्यार्थी आजको समाज र देशले खोजिरहेको बताइन्। उनले शिक्षकहरूलाई विद्यार्थीलाई सिर्जनात्मक बनाउने शिक्षण विधिमा जोड दिन आग्रह गरिन्। अरू सबै गलत र आफू मात्रै सही भन्ने प्रवृत्ति समाजमा बढ्दै गएको उल्लेख गर्दै उनले विचारशील र नवीन सोच भएका नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिइन्।

विद्यालय बजारको केन्द्रमा रहे पनि अपेक्षाअनुसारको विकास हुन नसकेको बताउँदै उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खिमप्रकाश पुरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा विद्यालयको समग्र अवस्था, विद्यमान समस्या, समाधानका उपाय तथा आगामी रणनीतिहरू समेटिएको थियो। सबैको साझा प्रयासबाट विद्यालयलाई गुणस्तरीय शिक्षा र समग्र विकासको दिशामा अघि बढाइने प्रतिबद्धता उनले बताए।

सहायक प्रधानाध्यापक प्रकाश डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा चन्दादाता तथा समाजसेवी शंकर गौतम, अक्षयकोषदाता हरिप्रसाद सुवेदी जरा, पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेत, बाल विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर बुढा, शिक्षक अभिभावक संघका अध्यक्ष दिपबहादुर खत्री, विद्यालयका निवर्तमान प्रधानाध्यापक बसन्ता पौडेल, सूचना अधिकारी कुलशेखर शर्मा, प्लस–टु संयोजक शम्शेर नेपाली, आईटी संयोजक लक्ष्मण गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

वक्ताहरूले अभिभावक, शिक्षक र विद्यार्थीको साझा प्रयासबाट मात्र शिक्षाको गुणस्तर वृद्धि गर्न सकिने बताए। घोराही बजारको केन्द्रमा रहेको विद्यालयको चौतर्फी विकासका लागि सबै एकजुट हुनुपर्नेमा उनीहरूको जोड थियो।

कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक हेमराज शर्माले गरेका थिए।

वार्षिकोत्सवका अवसरमा गत शैक्षिक सत्रमा विभिन्न कक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै विभिन्न चन्दादाताद्वारा स्थापना गरिएका अक्षयकोषबाट विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो। वार्षिकोत्सवका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेसद्वारा समानुपातिक बन्दसूची बुझाउने समय परिमार्जनको माग

   पुष १३, २०८२       admin


काठमाडौँ,१३ पुस। विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तोकेको समानुपातिक निर्वाचनतर्फको बन्दसूची बुझाउने समय परिमार्जन गर्न आग्रह गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग बैठक गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले यस माग राखेका हुन्। यसअघि गत सोमबार प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सहमहामन्त्री महेंद्र यादवले पनि समानुपातिक बन्दसूची बुझाउने म्याद परिमार्जन गर्न आग्रह गरेका थिए।

सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने कार्यतालिकासहित दलहरूले बन्दसूची बुझाउने मिति पुस १३–१४ गते तोकेको छ। कांग्रेसले संसदीय समिति नबन्ने अवस्था र गुटगत सूची एकीकृत गर्ने समयको कमीका कारण परिमार्जनको माग गरेको बताइएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले औपचारिक रूपमा आयोगसँग कुनै आग्रह आएको छैन र म्याद परिमार्जन गर्न सुरु गरिए निर्वाचन निर्धारित मितिमा सम्भव नहुने स्पष्ट पारेका छन्। आयोगका अनुसार कार्यतालिका टाइट भएकाले परिमार्जन गर्न सकिँदैन।

शासनमा एक मन्त्रीका अनुसार दलहरूले आयोगलाई तालिका हेरफेर गर्न दबाब दिइरहेको भए पनि आयोगले “म्याद थप्न सम्भव छैन” भनेर स्पष्ट जानकारी गराएको छ।

कांग्रेसले औपचारिक वा अनौपचारिक रूपमा परिमार्जनका लागि आग्रह जारी राखेको छ, तर हालसम्म सरकार वा आयोगको स्पष्ट प्रतिक्रिया आएको छैन। कांग्रेस

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निर्वाचनको सुरक्षाबारे उच्चस्तरीय सुरक्षा समितिको बैठक

   पुष १३, २०८२       admin

काठमाडौँ,१३ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगमा उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको छ।

आयोगका सदस्य सगुन समशेर जबराको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव रामेश्वर दङ्गाल र रक्षा सचिव केदारनाथ शर्मासहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।

बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक तथा नेपाली सेनाका रथी सहभागी छन्।

बैठकमा आगामी निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाबारे छलफल भइरहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ठगी आरोपमा क्यासिनो संचालक पक्राउ

   पुष १३, २०८२       admin

काठमाडौँ,१३ पुस। काठमाडौँको ठमेलस्थित वाल्डो क्यासिनोका सञ्चालक पक्राउ परेका छन्। भारतीय समूहले क्यासिनोमा चुम्बक जडित तास र बाहिरबाटै तास पढ्न सकिने लेन्स प्रयोग गरी जुवा खेल्दै ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार क्यासिनो सञ्चालक चिनियाँ नागरिक च्यान मिन चिङलाई सोही कसूरमा पक्राउ गरिएको हो।

उनलाई आइतबार म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ।
यसअघि सोही घटनामा संलग्न आरोपमा चार जना भारतीय र दुई जना नेपाली नागरिक पक्राउ परिसकेका छन्। पक्राउ परेका नेपाली दुवै महिला रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने भारतीय नागरिकमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह र प्रमोद मौर्य रहेका छन्। त्यसैगरी नेपाली नागरिक चिजा खड्का र भवाडी पाण्डे सोही क्यासिनोमा कार्यरत कर्मचारी रहेको जनाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दलहरूको बन्द सूची संकलन आजदेखि सुरु

   पुष १३, २०८२       admin

काठमाडौँ,१३ पुस । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु भएको छ।

निर्वाचन आयोगका अनुसार यसका लागि आवश्यक सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भइसकेको छ। आयोगको कार्यतालिकाअनुसार आज आइतबार र भोलि सोमबार दर्ता भएका राजनीतिक दलहरूले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा पेस गर्न पाउनेछन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्द सूची पेसदेखि अन्तिम प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया तोकिएको समयसीमाभित्रै सम्पन्न गरिने जानकारी दिए।
आयोगका अनुसार पेस गरिएका बन्द सूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ। छानबिनका क्रममा कानुनअनुसार समावेशी मापदण्ड पूरा भए–नभएको, उम्मेदवारको योग्यता तथा सूचीको संरचना जाँच गरिनेछ।

छानबिनपछि पुस २१ देखि २७ गतेसम्म सम्बन्धित दलहरूलाई त्रुटि सच्याउने अवसर प्रदान गरिनेछ। त्यसपछि पुस २८ गतेदेखि माघ ३ गतेसम्म पुनः परीक्षण गरी माघ ४ गते प्रारम्भिक बन्द सूची सार्वजनिक गरिने आयोगले जनाएको छ। अन्तिम रूपमा माघ २० गते समानुपातिकतर्फको अन्तिम बन्द सूची प्रकाशन गरिनेछ।

यस निर्वाचनमा समानुपातिक प्रणालीमार्फत भाग लिन १०० वटा राजनीतिक दल दर्ता भएका छन्। ती दलहरूले ९३ वटा निर्वाचन चिह्न प्रयोग गरी निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्। आयोगले दर्ता भएका दलहरूलाई मात्र बन्द सूची पेस गर्न पाउने व्यवस्था लागू गरिएको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निर्वाचनको विकल्प छैन: माधव नेपाल

   पुष १३, २०८२       admin

काठमाडौँ,१३ पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले तोकिएकै समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु देश र जनताको हितमा रहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सहसंयोजक नेपालले मुलुकमा देखिएका राजनीतिक समस्याको समाधान निर्वाचनबाट मात्रै सम्भव हुने उल्लेख गरे। उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन अनिवार्य रहेको भन्दै लोकतान्त्रिक दलहरूले यसको विकल्प खोज्न नहुनेमा जोड दिए।

कम्युनिष्ट सिद्धान्तको मूलधार नेकपा भएकाले हाल पार्टीप्रति नवयुवाहरूको आकर्षण बढ्दै गएको बताउँदै सहसंयोजक नेपालले देशभरबाट युवा पार्टी निर्माणमा सक्रिय रूपमा जुटिरहेको बताए। विचार र सिद्धान्त मिल्ने दलहरूलाई एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने पनि उनले स्पष्ट पारे।

चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरूको परीक्षा सुरु भएको उल्लेख गर्दै सहसंयोजक नेपालले पार्टीलाई अझ बलियो बनाउन संगठन सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट नेकपा (एमाले) परित्याग गरेका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले पार्टीको स्पष्ट समाजवादी राजनीतिक कार्यक्रमका कारण जनताको भरोसा र विश्वास बढ्दै गएको बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रास्वपामा एकता : सभापति रवि, भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन

   पुष १३, २०८२       admin

काठमाडौँ,१३ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच ७ बुँदे सहमति भएको छ। आइतबार बिहान करिब ३ बजे भएको सहमतिपत्रमा दुवै नेताले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार पार्टीको नाम एकीकरणपछि पनि राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ भने पार्टीको चुनाव चिह्न घण्टी कायम रहनेछ। पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ।

त्यसैगरी पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र निलो घण्टीको आकृति रहनेछ भने केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकाभित्र रहने उल्लेख गरिएको छ।

सहमतिपत्रमा दुवै नेताले नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा सहिद परिवारका मागहरू यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


त्यस्तै , समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य पूरा गर्न आवश्यक गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयनमा प्रतिबद्ध रहने उल्लेख गरिएको छ।

पार्टी एकीकरणपछि संगठनलाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने सहमति पनि भएको छ।

यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक कागजात निर्वाचन आयोगमा अद्यावधिक गर्ने सहमति गरिएको

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शिक्षक नायकहरूका लागि एक दिने अभिमुखीकरण

   पुष १२, २०८२       admin

दाङ,१२ पुस । दाङमा शिक्षक नायकहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेड क्रस सोसाइटी जुनियर युवा रेडक्रस जिल्ला समिति दाङको आयोजनामा जिल्लामा रहेका क्रियाशील शिक्षक नायकहरूका लागि उक्त अभिमुखीकरण कार्यक्रम गरिएको हो।

जुनियर युवा रेडक्रस समिति दाङका संयोजक भीमलाल मरासिनीको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी दाङका सभापति मदन गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा दाङ जिल्लाका ५१ वटा विद्यालयका शिक्षक नायकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा जनस्वास्थ्य निरीक्षक विमल केसीले दैनिक जीवनशैली, आहार–विहार तथा सुरक्षित, सुखी र खुसी जीवन कसरी जिउने भन्ने विषयमा आफ्नो प्रस्तुतिकरण राखेका थिए ।

त्यसैगरी रेडक्रस दाङका मन्त्री प्रकाश श्रीबन्दले व्यक्तित्व तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए। प्राविधिक सहायक ठाकुर पौडेलले रक्तदानको महत्व र सकारात्मक पक्षबारे जानकारी गराएका थिए ।

कार्यक्रमले विद्यालयस्तरमा मानवीय सेवा, स्वास्थ्य सचेतना र नेतृत्व विकासमा शिक्षक नायकहरूको भूमिका थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुर्तिजन्य पदार्थमा १०० प्रतिशत चेतावनी छाप्न माग गर्दै सर्वोच्चमा रिट

   पुष १२, २०८२       admin

काठमाडौँ,१२ पुस । सुर्तिजन्य पदार्थको बट्टा, प्याकेट तथा प्याकेजिङमा १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश अनिवार्य गर्नुपर्ने कानुन कार्यान्वयन गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट मञ्चका सचिव अधिवक्ता जयप्रसाद पौडेल र कानुन अधिकृत अधिवक्ता आकृति त्रिपाठीले संविधानको धारा ४६ र १३३ बमोजिम उत्प्रेषण तथा परमादेश माग गर्दै रिट दायर गरेका हुन् । रिटमा संघीय सरकार, सातै प्रदेश सरकार, सम्बन्धित मन्त्रालयहरू तथा सुर्तिजन्य उद्योगलाई विपक्षी बनाइएको छ । आइतबारका लागि पेशी तोकिएको मञ्चले जनाएको छ ।

रिट निवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘सुर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने निर्देशिका, २०८१’ पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत निकायबाट निर्देशिका कार्यान्वयनमा अवरोध सिर्जना गरिएको भन्दै त्यससम्बन्धी निर्णय र पत्राचार बदर गर्न माग गरिएको छ ।

निवेदनमा सुर्तिजन्य पदार्थ सेवनका कारण नेपालमा वार्षिक ३९ हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको र क्यान्सर, मुटुरोग तथा दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगको प्रमुख कारण सुर्ती रहेको उल्लेख गरिएको छ । यस्तो अवस्थामा प्रभावकारी चेतावनीमूलक चित्र र सन्देश उपभोक्तालाई सचेत गराउने सबैभन्दा प्रभावशाली माध्यम भएको जिकिर गरिएको छ ।

नेपाल पक्ष रहेको विश्व स्वास्थ्य संगठनको तम्बाकु नियन्त्रण महासन्धि (डब्लुएचओ–एफसीटीसी), सुर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ तथा यसअघि सर्वोच्च अदालतबाट भएका फैसलाहरू कार्यान्वयन नहुँदा संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हक उल्लङ्घन भएको दाबी पनि रिटमा गरिएको छ ।

निवेदकहरूले संघ, प्रदेश र स्थानीय तहलाई निर्देशिका कार्यान्वयन गर्न बाध्यकारी आदेश दिन, सुर्तिजन्य उद्योगसँग नीति निर्माणमा साझेदारी नगर्न तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संयोजनमा उच्चस्तरीय अनुगमन समिति गठन गर्न माग गरेका छन् ।

सार्वजनिक स्वास्थ्य र भावी पुस्ताको सुरक्षासँग जोडिएको विषय भएकाले रिटलाई प्राथमिकताका साथ सुनुवाइ गर्न सर्वोच्च अदालतसँग आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

७६३ केजी गाँजासहित दुई जना पक्राउ

   पुष १२, २०८२       admin

काठमाडौँ,१२ पुस। प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणको गाँजा सहित कारोबार गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको हो । शनिबार चौदण्डीगढी नगरपालिका–३ स्थित पैतालिस चौकमा चेकजाँचका क्रममा गाँजा बोकेको बोलेरो गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

उदयपुरका प्रहरी प्रमुख एसपी राजन चापागाईंका अनुसार चौदण्डीगढीबाट गाईघाटतर्फ जाँदै गरेको को।१ ज ३४५६ नम्बरको बोलेरो गाडीलाई रोकेर जाँच गर्दा गाडीभित्र ३० वटा बोरामा लुकाइछिपाइ राखिएको ७६३।७०० किलोग्राम लागूऔषध गाँजा बरामद गरिएको हो।

गाँजा तस्करीमा संलग्न बोलेरो चालक बेलका नगरपालिका–६ निवासी रविन कुमार राई र गाडीमा सवार बेलका नगरपालिका–९ निवासी रामबहादुर राईलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उदयपुरको बाटो प्रयोग गरी गाँजा अन्य जिल्लातर्फ ओसारपसार गर्ने उद्देश्य रहेको हुन सक्ने प्रहरीको अनुमान छ।एसपी चापागाईंले लागूऔषध ओसारपसारविरुद्ध जिल्लाभर कडाइका साथ निगरानी बढाइएको बताए। उनले लागूऔषधले समाजमा गम्भीर असर पार्ने भएकाले यसको नियन्त्रणमा प्रहरी प्रतिबद्ध रहेको स्पष्ट पारे।

बरामद गरिएको गाँजा, बोलेरो गाडी तथा पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान भइरहेको छ। उनीहरूविरुद्ध लागूऔषधसम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। पछिल्लो समय धनकुटा, भोजपुर र खोटाङजस्ता पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुनसरी र उदयपुरको बाटो हुँदै भारततर्फ तस्करी हुने क्रम बढ्दै गएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology