काठमाडौ,५ मंसिर । नीति अनुसन्धान प्रतिष्ठानले आगामी निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारले व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ।
कार्यकारी अध्यक्ष प्राध्यापक डा. लेखनाथ शर्माको नेतृत्वमा गरिएको अध्ययनले निर्वाचनको दिनसहित अघि र पछि गरी तीन दिन बिदा दिए अधिकांश नागरिकलाई आफ्नै निर्वाचन क्षेत्र र मतदान केन्द्रसम्म पुगेर सहज रूपमा मतदान गर्न सकिने निष्कर्ष निकालेको हो।
अध्ययनले मन्त्रिपरिषदको निर्णयमार्फत आवश्यक नीतिगत व्यवस्था गरी निर्वाचन प्रयोजनका लागि करिब तीन दिन बिदा दिनु उपयुक्त हुने उल्लेख गरेको छ।
त्यसैगरी, सुरक्षाकर्मी (म्यादी प्रहरीसहित), निजामती कर्मचारी, शिक्षकलगायत निर्वाचनमा खटिने सबै कर्मचारीलाई उनीहरू खटिएका केन्द्रमै समानुपातिक प्रणालीअन्तर्गत मतदान गर्ने व्यवस्था विद्यमान कानुनमै स्पष्ट रूपमा समेट्न सुझाव दिइएको छ।
अहिले लागू हुँदै आएको अभ्यासलाई अझ परिष्कृत र सरल बनाउन मतदाता नियमावली ऐन, २०७३ को दफा ३० संशोधन आवश्यक रहेको अध्ययनले उल्लेख गरेको छ।
यस्तै, खटिएका कर्मचारीले परिचयपत्रका आधारमा मतदानमा सहभागी हुन पाउने लचिलो व्यवस्था गर्नुपर्नेमा पनि अध्ययनले जोड दिएको छ।
प्रतिष्ठानले प्रतिवेदन केही दिनअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइसकेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ मंसिर । दाङको घोराहीस्थित मार्क इन्टरनेशनल कलेजमा आज (शुक्रबार) प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्।
घोराही बैंकर्स क्लब दाङले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र घोराही दाङको प्राविधिक सहयोग तथा कलेजसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कुल ४० जनाले रक्तदान गरेका थिए।
कार्यक्रम घोराही बैंकर्स क्लब दाङका अध्यक्ष कमल रेग्मीको सभापतित्व र मार्क इन्टरनेशनल कलेजका प्रमुख लालमणि बसेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपाने, कलेजका कोअर्डिनेटर कृष्णबहादुर केसी, रिसर्च कोअर्डिनेटर नौलाबहादुर खड्का, प्राध्यापक यज्ञबहादुर खत्री, प्रियब्रत आचार्य, श्यामकुमार आचार्य, सन्दिप न्यौपाने, खडानन्द खनाल, गेहेन्द्रराज अधिकारीलगायतले रक्तदानलाई जीवनदानको महत्वपूर्ण कार्य भन्दै यसको आवश्यकता र उपयोगितामाथि प्रकाश पारे।
कार्यक्रममा बैंकर्स क्लब घोराहीका कोषाध्यक्ष कृष्णप्रसाद भट्टराई, हिमालयन बैंकका शाखा प्रबन्धक केशव तिवारी, ग्लोबल बैंकका टेकराज विताडी र उमंग शर्मा, लुम्बिनी बैंकका युवराज भण्डारी, एसबीआई बैंकका संजीव ढुङ्गेल, एभरेष्ट बैंकका शिवप्रसाद श्रेष्ठलगायतले पनि रक्तदान गरेका थिए।
यसैगरी दधिराम न्यौपाने, सुदिप रिजाल, बासुदेव सुवेदी, निर्पेश पौडेल, कल्पना डाँगी, नितेश डाँगी, अनिलकुमार चौधरी, एकराज राना, मनोज चौधरी, अमितसिंह टिंकरी, शान्ति वली, आरती चौधरी, शर्मिला कुमारी परियार, सिता घर्तीमगर, सन्तोष पोख्रेल, अमृत पुनमगर, हर्षित चौधरी, सुदन चौधरी, रितमान पुनमगर, मजय विक, पुजन प्रधान, संगिता पुनमगर, अञ्जली नेपाली, संजीव ढुंगेल, कृष्णप्रसाद राउत, केशव ज्ञवाली, मञ्जरी सुनार, आकाश परियार, गिरबहादुर रोकाय, सम्झना खड्का, शान्ता रोका, समिक्षा गौतम, सञ्जना केसी, शिवकृष्ण केसी, रिमबहादुर बुढा क्षत्री, बिरेन्द्रबहादुर हिलान, सूर्यमणि सार्की, यमुना गौतम, सरिता डाँगी र देविका केसीलगायतले रक्तदान गरे।
कार्यक्रम सफल पार्न सहयोग गर्ने कलेज प्रमुख लालमणि बसेल र रेडक्रस केन्द्र प्रमुख दिलिप न्यौपानेलाई अध्यक्ष कमल रेग्मीले कृतज्ञता पत्र प्रदान गरे। कार्यक्रमको सहजीकरण बैंकर्स क्लब दाङका सचिव कृष्णबहादुर साउदले गरेका थिए।
घोराही क्षेत्रको पुरानो र लोकप्रिय निजी कलेजका रूपमा रहेको मार्क इन्टरनेशनल कलेजमा स्नातक तहमा BBS र स्नातकोत्तर तहमा MBS को पठनपाठन गराइँदै आएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ मंसिर । पाल्पा रानीमहल घुम्नका लागि दाङबाट विद्यार्थी लिएर गएको बस शुक्रबार बिहान दुर्घटनामा परी ११ जना सामान्य रूपमा घाइते भएका छन्।
दाङको राजपुरस्थित साधारण नमुना माविबाट विद्यार्थी बोकेर आएको ना ५ ख १०८९ नम्बरको बस बिहान करिब ६ बजे तानसेन नगरपालिका–१३ बैकण्ठे भिर नजिक अचानक अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।
दुर्घटनामा दाङ राजपुर गाउपालिका –४ का ४० वर्षीय शत्रुघन गुप्ता, घोराही उपमहानगरपालिका –११ का २२ वर्षीय दामोदर रेउले, १४ का ३५ वर्षीय बस चालक सन्तोष ढकाल, राजपुर गाउँपालिका–५ की १२ वर्षीया सन्ध्या भण्डारी, ६ की १८ वर्षीया दिलकुमारी रावत, राजपुर–६ की १० वर्षीया सन्तोषी चौधरी, १९ वर्षीय अजय नेपाली घाइते भएका छन् ।
यस्तै , राजपुर गाउँपालिका–५ की २३ वर्षीया सृजना यादव, १३ वर्षीय आयुष भण्डारी, १५ वर्षीय अभिषेक यादव र घोराही–९ का ३५ वर्षीय बसन्त योगी सामान्य रूपमा घाइते भएका छन्।
अस्थायी प्रहरी पोस्ट रानीमहलबाट खटिएको टोलीले सबै घाइतेलाई उद्धार गरी उपचारका लागि मिसन अस्पताल तानसेन पठाएको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्य रहेको पुष्टि भएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ मंसिर । पाल्पामा विद्यार्थी बोकेको बस शुक्रबार (मंसिर ५) बिहान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। दाङबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थी रानीमहल जाँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रहरीका डीएसपी होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका लागि पुर्याइएको छ। उनका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ५ मंसिर । अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकामा बालबालिकामध्ये स्मरण शक्ति परीक्षणसहित विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको छ।
महिला बालबालिका शाखाको आयोजनामा तथा शिक्षा शाखा, नगर स्तरीय बाल सञ्जाल, वडा नं–३, नवजागरण महिला तथा बाल संरक्षण केन्द्र र जनता आ.वि हरनेटीको समन्वयमा सम्पन्न भएको हो।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष भीमा कुमारी घर्तीको अध्यक्षता र उपमहानगरपालिकाका नगर उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीबीच स्मरण शक्ति परीक्षण (Memory Test) गराइएको थियो। सो प्रतिस्पर्धामा मेघराज राणा प्रथम, अर्णय पुन मगर द्वितीय, नारायण बुढाथोकी तृतीय र खुमा वली सान्त्वना बने।
यसैगरी, कक्षा १ देखि ३ का बालबालिकाबीच भएको कुर्सी दौड प्रतियोगितामा रितु वली प्रथम, गीता बुढा द्वितीय, प्रसन्न पुन तृतीय तथा समीर पुन सान्त्वना घोषित भए। कक्षा ४ र ५ का विद्यार्थीबीच सञ्चालन गरिएको हिसाब दौड प्रतियोगितामा सुदिप पुनले प्रथम स्थान प्राप्त गरे भने आयुष्मा थापा, कमला कवर र आयुसा सिन्जाली क्रमशः द्वितीय, तृतीय र सान्त्वना बने।
विविध रमाइलो तथा शैक्षिक गतिविधिमार्फत बालअधिकारको महत्व स्मरण गराउँदै विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै कार्यक्रम सम्पन्न गरिएको आयोजकले जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पाँचौँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजमाथि ६ विकेटको शानदार जित हासिल गरेको छ।
चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। लक्ष्य पछ्याउने क्रममा छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका विदेशी खेलाडी गुलबदिन नाइबले २४ बलमा ३ चौका र ३ छक्कासहित अविजित ४४ रन बनाएर टिमलाई जितको नजिक पुर्याए, जसमा जेजे स्मितले अन्त्यमा उनको साथ दिए।
यसअघि कप्तान रोहित पौडेलले ४४ बलमा ३९ रन बनाउँदै इनिङ्स सम्हालेका थिए भने सन्दीप जोराले १८ बलमा २८ रन, डार्सी सर्टले ११ रन र दिलिप नाथले १० रनको योगदान दिएका थिए।
चितवनको बलिङतर्फ रिजन ढकालले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए भने सोहेल तनवीरले १ विकेट लिन सफल रहे। टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १४२ रन बनाएको थियो, जसमा इनिङ्सको दोस्रो बलमै डेभिड मलान बोल्ड भएपछि टिम दबाबमा परेको थियो।
दीपक बोहरा १० रन र देव खनाल १४ रनमा आउट हुँदा चितवन ४३/३ को अवस्थामा पुगेको थियो। संकटको घडीमा रवि बोपाराले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन बनाएर टिमलाई उकासे, जसलाई कप्तान कुशल मल्लले १८ बलमा २१ रन र सैफ जैबले ७ बलमा १५ रन जोडेर थप मजबुत बनाए।
लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए भने नाइब र अभिषेक गौतमले २–२ विकेट हात पारे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ मंसिर ।प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका ५१ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न मितिमा चोरी भएका ३३ मोटरसाइकल र १८ स्कुटर गरी ५१ सवारीसाधन फेला पारिएको हो।
सवारीसाधनलाई आज एक कार्यक्रममार्फत काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख डीआईजी ओमप्रसाद अधिकारी र ट्राफिक कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले संयुक्त रूपमा धनीलाई हस्तान्तरण गरे।
कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार ट्राफिक कार्यालयमा परेको निवेदनका आधारमा खोजतलास गरेर सवारी धनीलाई बुझाइएको हो। केही सवारी वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट जडान गरिएको अवस्थामा फेला पारिएको थियो।
गोङ्गबु, नयाँबसपार्क, बालाजु, सीतापाइला, बौद्ध, कोटेश्वर, पुतलीसडक, सिंहदरबार, मालिगाउँ, गठ्ठाघरलगायत विभिन्न स्थानबाट यी सवारीसाधन फेला पर्न सफल भएको ट्राफिक प्रहरीले जनाएको छ।
चालु आर्थिक वर्षमा मात्रै ट्राफिक प्रहरीले उपत्यकाबाट हराएका ९१ दुईपाङ्ग्रे सवारी फेला पारी धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न १९ जनालाई पक्राउ गरेको छ।
गत आर्थिक वर्षमा ४१७ र चालु वर्षमा ५०३ वटा हराए–चोरी भएका सवारीसाधन फेला पारेर धनीलाई बुझाइसकेको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीको अनुरोध अनुसार सवारीसाधन चोरी रोक्न ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन प्रयोग गर्न, एकान्त ठाउँमा पार्किङ नगर्न तथा हराएमा १०३ वा १०० नम्बरमा सम्पर्क गर्न सूचित गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ मंसिर । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेशसहित प्रसाईंलाई सशरीर उपस्थित गराउन निर्देशन दिएको हो।
विरोध प्रदर्शनको चेतावनी दिएपछि सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ परेका प्रसाईंलाई प्रशासनको अनुमति लिएर चार दिन थुनामा राखिएको थियो। थुना गैरन्यायिक रहेको दाबी गर्दै निराजनले उनलाई तत्काल थुनामुक्त गर्न मागसहित बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ मंसिर । बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकको राजीनामा औपचारिक रूपले स्वीकृत गरिएको छ।
प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा पाठकले २०८२ असोज १ गते उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गरी पदबाट राजीनामा दिएको उल्लेख छ। प्रदेश सभा नियमावली २०७४ को नियम १८४(२) अनुसार प्रदेशसभा सदस्यहरूलाई जानकारी गराउन सूचना प्रकाशित गरिएको प्रदेश सभा सचिव रामकुमार पौडेलले जनाएका छन्।
राप्रपाबाट निर्वाचित पाठक प्रदेशसभाको सभामुख बनेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ मंसिर । महाधिवेशनको तयारी भइरहेकै बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र केन्द्रीय निर्वाचन समिति नै विवादमा तानिएको छ। निर्वाचन समितिले अधिवेशन प्रक्रियामा प्रभाव पार्ने निर्णय जारी गर्दै देशभर पत्राचार गरेपछि समितिको निष्पक्षता, अधिकार र वैधानिकता प्रति नेताकर्मीले गम्भीर प्रश्न उठाएका छन्।
पार्टी विधानअनुसार निर्वाचन समितिको काम अधिवेशनका नियमन कार्यान्वयन गर्ने हो, नयाँ नियम बनाउने होइन। तर तोरणबहादुर गुरुङ अध्यक्षतामा बसेको समितिले ‘कसले माथिल्लो तहमा उम्मेदवारी दिन पाउने’ भन्ने निर्णय गरेको भन्दै नेताहरूले आपत्ति जनाएका छन्। एक केन्द्रीय नेताले भने— “विधानभन्दा माथि निर्वाचन समिति हुनै सक्दैन, तर समितिको निर्णयले नै यसको पक्षपात र वैधानिक कमजोरी प्रस्ट देखिन्छ।”
समितिका सदस्य सचिव श्याम शाही समेत खुलेर एक पक्षको वकालत गरिरहेका छन्, जसले समितिको विश्वसनीयता घटाएको छ। यसैबीच अध्यक्ष राजेन्द्र लिङदेनमाथि पनि विधान मिचेको, महाधिवेशन नजिकिँदै गर्दा विपक्षी नेताहरूलाई छानीछानी निष्कासन गरेको आरोप यथावत रहेको उनीहरूले बताएका छन्।
कास्कीको नगर अधिवेशनमा ‘माइक्रो म्यानेजमेन्ट’ गरेको आरोप पनि निर्वाचन समितिमाथि लागेको छ। यसैको प्रभाव राष्ट्रव्यापी बनेपछि विवाद चर्किएको हो।
निर्वाचन समितिले मंसिर ३ मा ७७ जिल्लामा पत्र पठाउँदै भनेको थियो— “तल्लो तहको अध्यक्ष भएका व्यक्तिले केन्द्रीय महाधिवेशन नभएसम्म माथिल्लो तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ।”
यो निर्णयप्रति महामन्त्री डा. धवलशम्सेर राणाले कडा आपत्ति जनाउँदै भने— “विधानमा यसरी रोक लगाइएको छैन। समितिले नयाँ परिभाषा सिर्जना गरेर महाधिवेशनको निष्पक्षता नै प्रश्नमा पारेको छ।”
कास्कीमा राणा पक्षधर उम्मेद्वारले जित्ने अवस्थामा देखिएपछि केन्द्रबाटै चलखेल भएको आरोप लागेको छ। स्थानीय कार्यकर्ताले भने— “अध्यक्ष सबैको अभिभावक हुनुपर्ने हो, तर व्यवहारमा एक पक्षधरजस्तै देखिन्छ।”
युवा नेता निराजन बम बलाँताले समितिको व्याख्या ‘पूर्णतः विधानविपरीत’ भएको टिप्पणी गर्दै भने—
“तल्लो पदमा निर्वाचित भएपछि माथिल्लो पदमा जाँदा तल्लो पद स्वतः खारेज हुन्छ भन्ने प्रावधान छ। तर समितिले नै मूल विधानको भावना परिवर्तन गर्न खोज्नु अस्वीकार्य छ।”
नेताहरूको भनाइमा निर्वाचन समितिले वैधानिक सीमाभन्दा बाहिर गएर एकांगी निर्णय गरिरहेको छ, तर लिङदेन पक्षले यसविरुद्ध कुनै वैधानिक तर्क पेश गर्न सकेको छैन। “नेतालाई व्यक्तिगत रूपमा गाली गरेर ध्यान मोड्ने प्रयास भइरहेको छ, तर प्रश्न भने अधिवेशनको नियम, प्रक्रिया र समितिको निष्पक्षता नै हो”, एक सचिवालय सदस्यले भने।
उनीहरूका अनुसार सफल र विश्वासिलो महाधिवेशनका लागि निर्वाचन समितिको विवाद समाधान गर्नुपर्ने तत्कालीन आवश्यकता बनेको छ।

२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस