पाँचदिने मिनि टिलर मर्मत तालिम सञ्चालन

   असार ०८, २०८३       admin

दाङ,८ असार । दाङको तुलसीपुरमा पाँचदिने मिनि टिलर मर्मत तालिम सञ्चालन भएको छ। कृषि क्षेत्रलाई आधुनिक र प्रभावकारी बनाउनने उदेश्यले कृषकहरूलाई लक्षित गरी उक्त तालिम सञ्चालन गरिएको हो।
तालिम उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि एवम् तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले कृषि क्षेत्रलाई अर्थतन्त्रसँग जोड्न कृषि यान्त्रीकरण अपरिहार्य रहेको बताए। उनले यान्त्रीकरणको विस्तारसँगै उपकरणको व्यवस्थापन र मर्मत ठूलो चुनौती बनेको उल्लेख गर्दै वडा तहमै कृषि मर्मतशाला स्थापना गर्न सके कृषिमा ठूलो योगदान पुग्ने धारणा राखेका थिए। यस तालिमले कृषि लागत घटाउने र आम्दानी बढाउने काम गर्ने उनले विश्वास व्यक्त गरे।

कृषि पेशालाई आकर्षक बनाउन बाली र मौसमअनुसार योजना बनाउनु पर्नेमा जोड दिँदै कृषिलाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष दुजमान भण्डारीले स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता तालिम सञ्चालन गरिँदै आएको बताए। उनले सीप सिकेर आत्मनिर्भर बन्न आग्रह गर्दै यस तालिमले आर्थिक रूपमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

मिनि टिलर वितरणसँगै आउने समस्या समाधानका लागि अब घरमै पुगेर सेवा दिन सकिनेछ उनले बताए। उनका अनुसार यसले एकातर्फ रोजगारी सिर्जना गर्छ भने अर्कोतर्फ किसानलाई सहज सेवा उपलब्ध गराउँछ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर खत्रीले कृषकहरूमा मिनि टिलर प्रयोग बढ्दो अवस्थामा रहेको भन्दै यस्तो तालिम निकै उपयोगी हुने बताए।

तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख कुलराज चौधरीले मिनि टिलर वितरण मात्र पर्याप्त नभई त्यसको मर्मतका लागि दक्ष जनशक्ति आवश्यक भएकोले तालिम सञ्चालन गरिएको जानकारी दिए।

उपमहानगरका सहायक प्रशासन अधिकृत शिवप्रसाद शर्माले कार्यक्रमबारे जानकारी गराउँदै कृषि विकास शाखा अन्तर्गत सञ्चालन गरिएको यस तालिमले औजार प्रयोग र मर्मत सम्बन्धी ज्ञान दिने अपेक्षा व्यक्त गरे।

तुलसीपुर उपमहानगरपालिका र नेचर प्रिजर्वेसन फोरुमको संयुक्त आयोजनामा सञ्चालन गरिएको तालिममा प्रमुख प्रशिक्षकमा राजेन्द्र पोख्रेल रहेका छन् । उद्घाटन तालिमको सहजीकरण केवी ओलीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर-१३ मा खरको छानो हटाउने अभियान

   असार ०८, २०८३       admin

दाङ,८ असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१३ ले वडाभित्र रहेका खरका छाना हटाउने अभियान सुरु गर्ने भएको छ। आर्थिक वर्ष २०८३/०८४ भित्र वडाका ४० वटा घरका खरका छाना हटाइने वडा अध्यक्ष मोहनलाल पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार आगलागी तथा अन्य प्राकृतिक जोखिम न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। आवश्यक बजेट व्यवस्थापन गरी कार्यान्वयन सुरु गरिने उनले बताए।
अध्यक्ष पौडेलले यो कार्यक्रमबाट विशेषगरी आर्थिक रूपमा कमजोर तथा जोखिमयुक्त बस्तीका नागरिकलाई राहत पुग्ने विश्वास व्यक्त गरे।

वडा कार्यालयका अनुसार खरका छाना विस्थापन भएपछि सुरक्षित आवास निर्माणमा टेवा पुग्नुका साथै स्थानीयवासीको जीवनस्तर सुधारमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते

   असार ०८, २०८३       admin

रोल्पा,८ असार । रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्लाको माडी गाउँपालिका–२ खोलवाङस्थित घोराही–थवाङ शहीद मार्गमा बस दुर्घटना भएको हो।

थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक फेल भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ। बसमा चालकसहित २९ जना सवार रहेका थिए।

दुर्घटनामा सामान्य घाइते भएका १२ जनाको स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि माडी गाउँपालिका–२ घर्तिगाउँस्थित स्मृति अस्पताल पठाइएको छ।

बस चालक माडी गाउँपालिका–३ मिरुल निवासी अन्दाजी ३२ वर्षीय सन्तोष कामी रहेका छन्।

दुर्घटनापछि उक्त सडक केही समय अवरुद्ध भएको छ भने दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कतारको ग्यास प्लान्टमा विस्फोट : ५४ घाइते, १८ बेपत्ता

   असार ०८, २०८३       admin

काठमाडौ,८ असार । कतारको रास लाफान औद्योगिक सहरस्थित एक ग्यास प्लान्टमा विस्फोट हुँदा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन्।

कतार प्रशासनका अनुसार विस्फोटपछि औद्योगिक क्षेत्रमा व्यापक आगलागी भएको थियो। घटनालगत्तै आपत्कालीन उद्धार टोली परिचालन गरिएको र केही समयमै आगो नियन्त्रणमा लिइएको जनाइएको छ।

कतारको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार घाइतेहरूको उपचार भइरहेको छ भने बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ। मन्त्रालयले विस्फोट प्राविधिक कारणले भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

घटनापछि ग्यास चुहावट भएको पुष्टि भए पनि त्यसले सर्वसाधारणको सुरक्षामा कुनै जोखिम नपुगेको मन्त्रालयले स्पष्ट पारेको छ।

“कतार अन्तर्राष्ट्रिय खोज तथा उद्धार समूह नागरिक सुरक्षा टोलीसँग मिलेर बेपत्ता व्यक्तिहरूको खोजीमा जुटेको छ,” मन्त्रालयको भनाइ उद्धृत गर्दै जनाइएको छ।

विस्फोटबाट घरेलु बजारमा ग्यास आपूर्ति गर्ने उक्त प्लान्टमा कति क्षति पुगेको छ भन्नेबारे भने अझै विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

यसैबीच, एक प्रत्यक्षदर्शीले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै विस्फोटको ठूलो आवाज राजधानी दोहासम्म सुनिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विधायनको अद्यावधिक विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

   असार ०८, २०८३       admin

काठमाडौ,८ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका विभाग तथा संघीय अस्पतालहरूलाई आफूअन्तर्गत लागू भएका प्रचलित विधायनहरूको अद्यावधिक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

मन्त्रालयको प्रशासन महाशाखा (कानुन शाखा) ले जारी गरेको पत्रमा विधायन ऐन, २०५१ को दफा ३० अनुसार नेपाल सरकार, मन्त्रिपरिषद् वा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत वा जारी भएका विधायनहरूको विवरण संकलन गर्न लागिएको उल्लेख गरिएको छ।

उक्त विवरण कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अद्यावधिक तथा प्रकाशनका लागि पठाउनुपर्ने भएकाले सम्बन्धित निकायहरूलाई निर्धारित ढाँचामा विवरण तयार गरी पठाउन अनुरोध गरिएको छ।

पत्रअनुसार विधायनको नाम, जारी गर्ने अधिकार प्रदान गर्ने कानुनी व्यवस्था, स्वीकृत गर्ने निकाय, कुल पृष्ठ संख्या, स्वीकृत मिति, लागू मिति तथा कैफियतसहितको विवरण उपलब्ध गराउनुपर्नेछ।

मन्त्रालयले सबै सम्बन्धित निकायलाई २०८३ असार १० गतेभित्र विवरण पठाइसक्न आग्रह गरेको छ। पत्र स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा सबै संघीय अस्पतालहरूलाई सम्बोधन गरिएको छ।

कानुन अधिकृत सुरेश प्रसाद चौलागाईंले हस्ताक्षर गरेको उक्त पत्रको बोधार्थ सूचना प्रविधि शाखालाई मन्त्रालयको वेबसाइटमा प्रकाशनका लागि पठाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सीप र उद्यमले नै मुलुकलाई सम्वृद्द बनाउछ : पूर्वमुख्यमन्त्री चौधरी

   असार ०७, २०८३       admin

दाङ,७ असार । लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक समृद्धिको मुख्य आधार सीप र उद्यमशीलता रहेको बताएका छन् । उनले स्रोत, सीप र सम्भावनालाई उद्यममा रूपान्तरण गर्न सके मात्र मुलुकमा दिगो विकास सम्भव हुने बताएका हुन ।

तुलसीपुरमा महिला उद्यम विकास तालिम अन्तर्गत सञ्चालन गरिएको ३ महिने एड्भान्स ब्युटिसियन तथा ७५ दिने सुनचाँदीका गहना बनाउने तालिमको समापन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा उनले भने-“आर्थिक समृद्धिको आधार रोजगारी सिर्जना हो, र त्यसका लागि सीपलाई व्यवसायसँग जोड्नैपर्छ।”

उनले स्थानीय स्रोत, सीप र सम्भावनालाई उद्यममा रूपान्तरण गर्न सके मात्र दिगो विकास सम्भव हुने धारणा राखे।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको अध्यक्षता सम्पन्न कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका चौधरीले प्रशिक्षार्थीहरुलाजी तालिम लिएर मात्र नबस्न आग्रह गरे। उनले व्यवसायमा नलागे बजेट, समय र श्रम खेर जाने भन्दै सीपलाई आर्थोपार्जनसंग जोडेर लैजान आग्रह गरे। उनले व्यवसाय सुरु गर्न चाहानेहरुका लागि प्रदेश सरकारले सहयोग गर्ने आश्वासन समेत दिए।


उनले भने- “सरकारले तालिम दिन्छ, अब रोजगारी र उद्यम सिर्जना गर्ने जिम्मा निजी क्षेत्रले पनि लिनुपर्छ।”

सीप तथा उद्यमशीलताका लागि आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले करिब २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।

उनले साना उद्यमलाई प्रवर्द्धन गर्न सरकारले सहजीकरण गर्ने बताए। दर्ता भएका व्यवसायलाई निर्व्याज ऋण उपलब्ध गराउने तथा १५देखि २० लाखसम्मका व्यवसायलाई विशेष सहयोग गर्ने उनको भनाइ थियो।

तालिमबाट २६ जना महिलाले एड्भान्स ब्युटिसियन र २० जनाले सुनचाँदीका गहना निर्माण सीप हासिल गरेका छन्। यसअघि बेसिक तालिम लिएका ४० जनामध्ये छनोट गरेर उनीहरूलाई एड्भान्स तालिम दिइएको हो।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले तालिमलाई प्रमाणपत्रमै सीमित नगर्न आग्रह गरे। उनले सीपलाई उद्यममा रूपान्तरण गर्न सके अवसर प्रशस्त रहेको बताउँदै सामूहिक व्यवसायमा जोड दिनुपर्ने धारणा राखे।

“सुनचाँदीसम्बन्धी तालिम लुम्बिनी प्रदेशमै नयाँ अभ्यास हो,” उनले भने, “सुरुमा सहभागी जुटाउन गाह्रो भए पनि यसको महत्व बुझिएपछि चासो बढेको छ।”

प्रशिक्षक एलिना राज भण्डारीले सिकेको सीप स्वदेश तथा विदेश दुवै ठाउँमा उपयोग गर्न सकिने बताइन्। उनले सीपलाई आम्दानीसँग जोड्न आग्रह गरिन्।

त्यस्तै, सहायक प्रशिक्षक दीपक सुनारले पनि सहभागीलाई व्यवसायतर्फ अग्रसर हुन प्रेरित गरे।

कार्यक्रममा संघका उपाध्यक्ष देबबहादुर केसीले तालिमको उद्देश्य र विषयवस्तु प्रस्तुत गरेका थिए।

सुनचाँदी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष हरिचन्द्र विकले तालिम प्राप्त जनशक्तिलाई रोजगारीमा जोड्न सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रशिक्षार्थी नम्रता चौधरी र लिला गिरीले तालिमले आफूहरूमा आत्मनिर्भर बन्ने आत्मविश्वास बढाएको बताए। उनीहरूले अब आफ्नै व्यवसाय सुरु गर्ने तयारीमा रहेको जानकारी दिए।

सामाजिक विकास डिभिजन कार्यालय दाङको समन्वय, तुलसीपुर उद्योग वाणिज्य संघको आयोजना तथा लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।

कार्यक्रमको समापनमा तालिम संयोजक कोमल डिसीले धन्यवाद ज्ञापन गर्दै सम्भावना, आवश्यकता र अवसरको खोजी गर्दै सीपलाई व्यवहारमा उतार्न आग्रह गरे।

कार्यक्रमको सहजीकरण महासचिव केशवराज केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युवाहरूका लागि तीन दिने नेतृत्व विकास तालिम सुरु

   असार ०६, २०८३       admin

दाङ,६ असार । दाङको दंगीशरण गाउँपालिका–६ श्रीगाउँमा युवाहरूका लागि तीनदिने नेतृत्व विकास तालिम सुरु भएको छ।

दंगीशरण गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा तुलसीपुर मिडिया प्रा.लि.को आयोजनामा सञ्चालन भएको उक्त तालिम शुक्रबारदेखि सुरु भएको हो।

तालिमको उद्देश्यबारे जानकारी दिँदै तुलसीपुर मिडिया प्रालिका प्रबन्ध निर्देशक दर्शन आचार्यले वर्तमान समयमा युवाहरूमा नेतृत्व विकास क्षमता अभिवृद्धि अत्यावश्यक भएकाले कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य कान्छुराम चौधरीले सक्षम समाज निर्माणका लागि जिम्मेवार र सक्षम नागरिक आवश्यक पर्ने उल्लेख गर्दै त्यसका लागि नेतृत्व विकास अपरिहार्य रहेको बताए। उनले युवाहरूलाई यस्ता सीपमूलक तालिममार्फत आफूलाई सशक्त बनाउन आग्रह गरे।

तालिमका मुख्य प्रशिक्षक पत्रकार गोपाल शर्मा भट्टराई रहेका छन्। तालिममा सहभागी युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकास तथा सामाजिक जिम्मेवारीसम्बन्धी विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सातै प्रदेशमा ब्लु बस सन्चालन गर्ने सरकारको तयारी

   असार ०६, २०८३       admin

काठमाडौ,६ असार । सरकारले सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षालाई प्राथमिकता दिँदै ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ। कार्ययोजनाअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

यसअन्तर्गत काठमाडौं उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा सात वटा बस ‘ब्लु बस’का रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ। उपत्यका बाहिर भने सबै प्रदेशका यातायात व्यवसायी संघसँग समन्वय गरी कम्तीमा १८ वटा बस सञ्चालन गर्ने योजना छ।

मन्त्रालयका अनुसार ब्लु बस सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समय तालिका, लागत अनुमान तथा सञ्चालन जिम्मेवारीसम्बन्धी मस्यौदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ। सो प्रस्तावका आधारमा प्रशासनिक तथा प्राविधिक तयारी अघि बढाइएको जनाइएको छ।

ब्लु बस सेवा विस्तार गर्दै आगामी आर्थिक वर्षमा सातै प्रदेशमा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रमसमेत प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ।

यो सेवा सञ्चालनमा आएपछि विशेष गरी विद्यार्थी, श्रमिक, कर्मचारी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलालाई सुरक्षित र सहज यात्रा सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ। साथै सार्वजनिक यातायातमा हुने दुर्व्यवहार तथा असुरक्षाको अनुभूति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

यसैबीच सार्वजनिक यातायातलाई सुरक्षित बनाउन सीसीटीभी र ड्यासक्याम जडानलाई प्राथमिकता दिइएको छ। हालसम्म साझा यातायातका १११, महानगर यातायातका ४६ तथा पाँचपोखरी सुनौलो यातायातका तीन बसमा सीसीटीभी र ड्यासक्याम जडान गरी सञ्चालनमा ल्याइएको छ।

अन्य सवारी साधनमा पनि यस्तो प्रणाली विस्तार गर्ने काम जारी रहेको छ भने ट्राफिक प्रहरीमार्फत अनुगमन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

सार्वजनिक सवारीलाई प्रविधिमैत्री, सुरक्षित र यात्रुमैत्री बनाउने मापदण्डसम्बन्धी मस्यौदा तयार गरी स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बस दुर्घटना हुदा १ जनाको मृत्यु,३० जना घाइते

   असार ०६, २०८३       admin

काठमाडौ,६ असार । स्टाफ बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

प्रहरीका अनुसार महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको बा २ ख ६४३८ नम्बरको बस शुक्रबार बिहान करिब ८ः५० बजे अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खस्दा दुर्घटना भएको हो।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ।

उपचारका क्रममा बर्दिबास नगरपालिका निवासी करिब ५५ वर्षीय विमलेश दत्तको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देश कुमार चौधरीलाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको छ।
अन्य २८ जना घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।

बस चालक महोत्तरीको गौशाला नगरपालिका–१० निवासी २८ वर्षीय जीवन आले सकुशल रहेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दुईवटा अटो आपसमा ठोकिँदा नौ जना घाइते

   असार ०६, २०८३       admin

दाङ,६ असार । दाङको तुलसीपुरमा दुईवटा अटो आपसमा ठोकिएर दुर्घटना भएको छ। दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका–१३ स्थित सानो लेख नजिक दुईवटा अटो एक आपसमा ठोकिएका हुन्

दुर्घटनामा घाइते भएका सबैको उपचार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था तथा परिचय खुल्न बाँकी रहेको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण र क्षतिको विवरण संकलन भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको तथा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology