दाङमा हत्या आरोपमा फरार महिला २३ वर्षपछि पक्राउ

   श्रावण २२, २०८२       admin

दाङ, २१ साउन । हत्याको आरोपमा फरार एक महिला २३ वर्षपछि पक्राउ परेकी छन् । दाङको गढवा गाउँपालिका–७ मानपुरकी ५० वर्षीया बसन्ता शर्मा पण्डितलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । उनले आफ्नै सौताको ९ वर्षीय छोराको हत्या गरेको अभियोगमा २०६० सालमा अदालतबाट १० वर्ष कैद सजाय पाएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार, शर्मालाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो ।

२०५९ साल असार १९ गते बसन्ताले सौताको छोरा शरद शर्मामाथि लाठी प्रहार गरी हत्या गरेपछि शव मलखादमा गाडेकी थिइन् । यस घटनामा जिल्ला अदालत दाङले २०६० साल असोज २६ गते उनलाई दुई वर्ष कैद सजाय सुनाएको थियो । तर सोही वर्ष माघ ३ गते पुनरावेदन अदालत तुलसीपुरले सजाय बढाएर १० वर्ष पुर्‍याएपछि उनी फरार भएको डीएसपी शाहले जानकारी दिए ।

शर्मा फरार भएपछि प्रहरीले खोजी कार्य जारी राखेको थियो । पछिल्लो समय उनी काठमाडौंमा छोरा केशवराज शर्मासँग बस्दै आएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंसँग समन्वय गरी उनीमाथि निगरानी बढाएको थियो ।

त्यसक्रममा हिजो मंगलबार बिहान करिब साढे ८ बजे नयाँ बसपार्क क्षेत्रको सडक खण्डबाट उनलाई पक्राउ गरिएको डीएसपी शाहले बताए ।

शर्मालाई अब दाङ जिल्ला अदालतमार्फत कैद सजाय भुक्तानका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चामल किन्न बजार गएका रत्न १९ दिनदेखि बेपत्ता

   श्रावण २२, २०८२       admin


दाङ, २१ साउन । दाङको तुलसीपुरका एक व्यक्ति १९ दिनदेखि बेपत्ता भएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीका ३२ वर्षीय रत्नबहादुर बुढाथोकी १९ दिनदेखि बेपत्ता छन् । साउन ३ गते चामल किन्न तुलसीपुर बजार गएका उनी अहिलेसम्म घर फर्किएका छैनन् ।

श्रीमती कमला बुढाथोकीका अनुसार, साउन ३ गते दिउँसो करिब १२ बजे दुई हजार रुपैयाँ दिएर चामल किन्न घरबाट निस्किएका थिए । घरबाट निस्किएलगत्तै रत्नको मोबाइल फोन स्विच अफ भएको कमलाले जानकारी दिइन् ।

ू‘निस्किएलगत्तै फोन अफ भयो । त्यसपछि उहाँसँग सम्पर्क हुन सकेन । उनले भनिन्–‘कतै महिला लिएर भाग्नुभयो कि भन्ने शंका लागेर सोही दिन दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय तुलसीपुर पुगेर मिसिङ रिपोर्ट गरे । अँझै पत्ता लागेन ।’

उनका अनुसार, बेपत्ता हुनु अघिल्लो दिन साँझ पति–पत्नीबीच सामान्य विवाद भएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सूर्य रानाले रत्नबहादुर बेपत्ता भएको जानकारी आएपछि खोजी कार्य अघि बढाइएको बताए ।

‘श्रीमतीले मिसिङ रिपोर्ट दिनुभएको छ । उहाँले सिकाएका एक जनालाई पनि सोधपुछ गर्यौं, तर हालसम्म केही उपलब्धि छैन । उनले भने–‘कल डिटेल मागेका छौं, त्यसको रिपोर्ट आएपछि थप जानकारी आउला भन्ने अपेक्षा छ । ’

बेपत्ता रत्नबहादुरकी बहिनी घना बुढाथोकीका अनुसार, दाजुले स्मार्टफोन प्रयोग नगर्ने र फेसबुकसमेत चलाउने नगरेकाले पनि खोजीमा समस्या भएको छ ।

‘उहाँसँग सानो पिटपिटे मोबाइल मात्र छ । त्यसैले पनि ट्र्याक गर्न गाह्रो भएको छ। ’घनाले भनिन् ।

परिवारजनले रत्नबहादुरको सकुशल फिर्तीको लागि सबैसँग सहयोगको अपील गरेका छन् । यदि कसैले देखेको वा जानकारी पाएको खण्डमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जलस्रोत तथा सिँचाइ डिभिजनको सार्वजनिक सुनवाई: आयोजनाको स्थायित्व हुनुपर्नेमा जोड

   श्रावण २२, २०८२       admin

दाङ,२१ साउन। जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरले सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यालयले आर्थिक वर्ष २०८१/ ८२ मा सम्पन्न कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत समेत गरेको हो।


उक्त कार्यक्रममा आयोजनाको प्रभावकारिता चुनौती स्थानीय सहभागिता र वातावरण मैत्री विकासको विषयमा छलफल समेत गरिएको थियो।

कार्यक्रममा डिभिजन प्रमुख कृष्णबहादुर विकले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएका योजना र कार्यक्रमबारे जानकारी गराएका थिए। प्रगति विवरणको बारेमा जानकारी गराउँदै उनले सिँचाइ क्षेत्रको विकाससँगै देखिएको यथार्थ र जटिलताहरूको प्रस्तुति गरेका छन् ।

उनले केही योजनाहरू स्रोतमै पानीको उपलब्धता नहुँदा प्रभावहीन बनेको स्वीकार गरे। उनका अनुसार, सम्भाव्यता अध्ययन नगरी केवल निवेदनका भरमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्दा योजनाहरू बीचमै अलपत्र पर्ने, अपेक्षित परिणाम नआउने समस्या देखिने समस्या रहेको बताए ।

राज्य पुनःसंरचनापछि सिँचाइ पूर्वाधार विस्तारमा तीव्र गति आएको उनले बताए।

उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ११२ वटा बाँध/मुहान सिँचाइ, १४४ वटा पक्की कुलो, ६७ वटा लिफ्ट सिँचाइ, ६७ वटा पम्प हाउस निर्माण भइसकेका छन्।

यस्ता संरचनाहरूले करिब ७ हजार छसय ३२ किलोमिटर क्षेत्रमा पाइपलाइन विस्तार गर्दै छहजार पाँचसय ४९ घरधुरीमा सिँचाइ सुविधा पुर्‍याएको छ भने १२ हजार तीनसय हेक्टर जमिन उत्पादन योग्य बनाइएको छ।

अघिल्लो आर्थिक वर्षमा मात्र मझौला तथा वैकल्पिक प्रविधिमा आधारित ६ वटा योजना सम्पन्न भए जसबाट ५५९ घर लाभान्वित भएका छन्। यस्तै ३०३६.७० हेक्टर जमिन सिँचाइ क्षेत्रभित्र आएको र ८५८ घर तटबन्धबाट सुरक्षित भएका छन्। जलासय निर्माण, पोखरी संरक्षण र जल प्रकोप न्यूनीकरणतर्फ पनि ठोस कामहरू भएको विवरणमा उल्लेख छ।

कार्यक्रममा विकासको लयले सबैलाई सन्तुष्ट बनाउन नसकेको कार्यक्रममा सहभागी वक्ताहरूले बताएका थिए।

पत्रकार नारायण खड्का, दीपक बोहरा, सुशील बस्नेतलगायत सहभागीहरूले पहुँचका आधारमा योजना चयन नगर्ने/नगराउन आग्रह गरे।

खड्काले विकासका नाममा जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा असर नपर्ने खालका संरचना निर्माणमा जोड दिनुपर्ने बताए। “कंक्रिट संरचनाले सतह सिँचाइ प्रणाली र जैविक विविधतामा प्रत्यक्ष असर पारिरहेको छ,” उनले भने।

स्थानीय तहका जनप्रतिनिधिहरूले पनि सिँचाइ संरचनाको महत्त्व औंल्याए। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष घनश्याम ढकाल, वडा नं. ११ का अध्यक्ष खुसीराम थारु र वडा नं. ५ का अध्यक्ष मोहन पौडेलले तटबन्ध र बाँध निर्माणले खेती मात्र नभई बाढीको जोखिम न्यूनीकरणमा पनि ठूलो टेवा पु-याएको बताए। उनीहरूले पुलसम्म तटबन्ध नजोडिँदा अझै ६५ घर जोखिममा रहेको चेतावनी पनि दिए।

डिभिजन प्रमुख विकले बहुवर्षीय योजनाको अध्ययन नगरी ल्याइने योजनाहरूले प्रगतिको निरन्तरता तोड्ने र स्रोत खेर जाने खतरा रहेको पनि बताए। यसपटक तटबन्ध र जाली वितरणका लागि प्रदेश सरकारले ३२ करोड ७३ लाख रुपैयाँ बजेट दिएको थियो, भने आगामी वर्षका लागि ३२ करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी उनले दिए।

सिँचाइ योजनाहरूको उपलब्धि मात्र होइन, ती योजनाका सम्भाव्यता, पहुँच, स्थानीय सन्तुलन र वातावरणीय प्रभावलाई ध्यानमा राख्दै आगामी योजनाहरू सम्पूर्ण हुनुपर्ने धारणा व्यक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मदिरा भनेर डिजेल सेवन गर्दा एकजनाको मृत्यु

   श्रावण २२, २०८२       admin

काठमाडौँ, २१ साउन। उदयपुरमा मदिरा सम्झेर डिजेल सेवन गरेका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–६ सुगारेका ९३ वर्षीय अन्तनारायण श्रेष्ठले घरमै राखिएको डिजेल मदिरा ठानी पिएपछि बिरामी परेका थिए।

मंगलबार साँझ करिब ७ः३० बजे डिजेल सेवन गरेका श्रेष्ठलाई सुरुमा नगर अस्पताल बेलटार लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिराटनगरस्थित बिराट टिचिङ अस्पताल लगिएको थियो। तर, बुधबार बिहान ६ः३० बजे उपचारकै क्रममा वृद्धको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलटारले जानकारी दिएको छ।

हाल मृतकको शव अस्पतालमै राखिएको र घर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले यस विषयमा अनुसन्धान अगाडि बढाइएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रातभर रुखमा बाँधेर राखिएका सोरेनको मृत्युः चारजना पक्राउ

   श्रावण २२, २०८२       admin

झापा, २१ साउन । रातभर रुखमा बाँधेर राखिएका एक व्यक्तिको ज्यान गएको छ । झापा गाउँपालिका–१ लसुनामा मादक पदार्थ सेवन गरी छिमेकीको घर ६० वर्षीय जतन सोरेनको ज्यान गएको हो ।

रुखमा बाँधेर राखेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । सो घटनामा संलग्न फरार व्यक्तिको खोजी भइरहेको छ ।

मंगलबार राति करिब १०ः३० बजे सोरेन मादक पदार्थ सेवन गरेको अवस्थामा छिमेकी महादेव टुडूको घर पुगेका थिए। त्यहाँ पुगेर उनी काम्न थालेपछि महादेव टुडू र अन्य स्थानीय व्यक्तिले उनलाई घर नजिकैको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेका थिए।

बुधबार बिहान करिब ४ बजेतिर सोरेन मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय कुमरखोदबाट घटनास्थल पुगेको टोलीले चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, ५० वर्षीय महादेव टुडू, २० वर्षीय लुखिराम टुडू र २१ वर्षीय लखिराम टुडू रहेका छन्। सबै झापा गाउँपालिका–१, लसुनाका स्थायी बासिन्दा हुन्।

प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ। घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको र थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा अर्को टोली घटनास्थलमा परिचालित गरिएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तस्करी रोक्न पुगेका प्रहरी स्थानीयको घेराबन्दीमा, झडपमा एकको मृत्यु

   श्रावण २२, २०८२       admin

सप्तरी,२१ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा तस्करी रोक्न पुगेका सुरक्षाकर्मीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको छ। मंगलबार राति भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको हो।

मृतक ३६ वर्षीय लालु यादवको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। झडपमा बायाँ तिघ्रामा गोली लागेका यादवलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको थियो, जहाँ उपचारका क्रममा उनको ज्यान गएको हो।

प्रहरीका अनुसार, तस्करी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली मंगलबार राति कमलपुर पुग्दा केही स्थानीयले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बन्यो। अवस्था नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड गोली प्रहार गरेको थियो।

प्रहरीका अनुसार, झडपमा एक प्रहरी पनि घाइते भएका छन्। साथै, भारततर्फ तस्करी गर्न लागिएको केही कार्टुन मदिरा पनि नियन्त्रणमा लिएको जानकारी दिइएको छ।

यसैबीच, घटनाको विरोधमा मृतकका आफन्त तथा स्थानीयले बुधबार बिहानैदेखि राजविराजमा प्रदर्शन गरिरहेका छन्। निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शनकारीले सडकमा टायर बालेर आवागमन अवरुद्ध पारेका छन्।

प्रदर्शनका कारण राजविराज बजार क्षेत्रमा सामान्य त्रासको वातावरण देखिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

करेन्ट लागेर गैँडाको मृत्यु

   श्रावण २२, २०८२       admin


दाङ,२१ साउन । करेन्ट लागेर चितवनमा एउटा भाले गैँडाको मृत्यु भएको छ । माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको गैँडा मरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज बुधबार बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो ।

गैँडाको खाग, खुर सुरक्षित रहेको उनले जानकारी दिए । कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एक वृद्द घाइते

   श्रावण २१, २०८२       admin

दाङ,२० साउन । दाङको तुलसीपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एक वृद्ध घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–६ स्थित गुल्म चोकमा स्कुल बस र स्कुटर एक आपसमा ठोक्किँदा एक जना वृद्ध घाइते भएका हुन् ।

मंगलबार दिउँसो करिब ३:२० बजे संस्कार पाठशालाबाट विद्यार्थी छोड्न निस्किएको लु.प्र.०६-०२-०१ क ०१३६ नम्बरको स्कुल बस र विपरीत दिशाबाट आइरहेको रा.६.प ९१ नम्बरको स्कुटर ठोक्किँदा तुलसीपुर–७ निवासी ६३ वर्षीय खगेश्वर पराजुली घाइते भएका हुन्।

घाइते पराजुलीको दुबै खुट्टामा सामान्य चोट लागेको र उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। प्रारम्भिक उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

दुर्घटना भएको स्थलमा प्रहरी निरीक्षक विष्णु बस्नेतको कमाण्डमा खटिएको टोलीले आवश्यक कारबाही र अनुसन्धान थालेको छ। दुबै सवारी साधनमा क्षति पुगेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शर्मिला वाइबा पक्राउ

   श्रावण २१, २०८२       admin


दाङ,२० साउन । आफूलाई अभियान्ता दाबी गर्ने शर्मिला वाइबालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

मंगलबार पोखराको लेकसाइड क्षेत्रबाट पक्राउ परेकी वाइबामाथि साइबर अपराध सम्बन्धी मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले जानकारी दिए।

डीएसपी बस्नेतका अनुसार, काठमाडौँ जिल्ला अदालतबाट वाइबाको पक्राउ पुर्जी जारी भएको थियो।

वाइबालाई अनुसन्धान र म्याद थपका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीका सामाजिक विकास मन्त्रीद्वारा कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई बधाई

   श्रावण २१, २०८२       admin

दाङ, २०साउन। लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन्।

राष्ट्रिय परीक्षा बोर्डद्वारा साउन १९ गते प्रकाशित नतिजामा लुम्बिनी प्रदेश सहित देशभरका वर्गीकृत विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेका हुन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले कक्षा १२ मा उत्तीर्ण अर्थात् वर्गीकृत भएका सम्पूर्ण विद्यार्थीलाई बधाई ज्ञापन गरेका हुन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरबाट सहभागी ३ लाख ९६ हजार ३४७ मध्ये २ लाख ४२ हजार ४६५ जना परीक्षार्थी वर्गीकृत भएका छन्।

राष्ट्रिय तथ्यांकअनुसार ६१.१७ प्रतिशत विद्यार्थी वर्गीकृत भएका छन् भने लुम्बिनी प्रदेशमा नियमित परीक्षार्थी ६६ हजार ८६ जना मध्ये ३६ हजार ७६३ जना (५५.६३ प्रतिशत) विद्यार्थी वर्गीकृत भएका छन्।

तीमध्ये ३.६१ जिपिए देखि ४ जिपिएसम्म १ हजार ५४३ जना, ३.२१ देखि ३.६० जिपिएसम्म ८ हजार ९९ जना, २.८१ देखि ३.२० जिपिएसम्म १४ हजार ४४७ जना रहेका छन्।

अवर्गीकृत परीक्षार्थीको सङ्ख्या लुम्बिनीमा २९ हजार ३२३ रहेको छ। मन्त्री तिमिल्सिनाले अवर्गीकृत विद्यार्थीहरूलाई आगामी परीक्षामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्दै, आफूहरू सधैं विद्यार्थी हितमा काम गर्ने प्रतिबद्धता जनाए।

परीक्षा व्यवस्थापनमा संलग्न शिक्षक, अभिभावक, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश तथा जिल्ला परीक्षा समिति, सुरक्षा निकाय, सञ्चारमाध्यम र अन्य सरोकारवालाहरूलाई समेत उनले आभार व्यक्त गरे

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology