दाङ,३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सुरु गर्ने भएको छ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे जानकारी गराइने पार्टीका प्रवक्ता मनिष झा ले जानकारी दिएका छन्। साथै पार्टीले अवलम्बन गर्ने नीतिबारे पनि छलफल गरिनेछ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक प्रणालीबाट १ सय ८२ सिट हासिल गरेको छ। पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी ले नवनिर्वाचित सांसदहरूलाई कार्यक्रममा अनिवार्य उपस्थित हुन आग्रह गर्दै छ बुँदे निर्देशन जारी गरेका छन्।
निर्देशनअनुसार कार्यक्रम हलभित्र मोबाइल फोन प्रयोग गर्न पाइने छैन भने अन्य व्यक्ति वा पाहुनाको प्रवेशसमेत निषेध गरिएको छ। परिवारका सदस्य, साथी वा अन्य अतिथिलाई होटलमा आमन्त्रण नगर्न पनि भनिएको छ।
सांसदहरूका चालक तथा अन्य सहयोगीको भोजन र आवासको व्यवस्था सम्बन्धित सांसदहरूले आफैं गर्नुपर्नेछ। साथै कार्यक्रममा सहभागी सांसदहरूले परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न पनि निर्देशन दिइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ३ चैत । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ पुनः बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले वृद्धि भई ३ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा ७० रुपैयाँले बढ्दै ५ हजार ३३५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य ५ हजार २६५ रुपैयाँ रहेको थियो।
यसअघि गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँसम्म पुगेको रेकर्ड रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,३ चैत । स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय सर्बाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार धनबहादुर र उनका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा सर्बाशको घटनास्थलमै मृत्यु भएको हो। घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट मुक्तिकोट बाट खटिएको टोलीले धनबहादुरलाई पक्राउ गरेको जनाएको छ।
घटनामा संलग्न भनिएका उनका छोरा फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। साथै घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३ चैत । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाट गाँजाजस्तो देखिने करिब ३ किलो १६० ग्राम पदार्थसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
थाइल्याण्ड को बैंककबाट नेपाल एअरलायन्स को विमानमार्फत आएका उनीहरूलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार देशका विभिन्न स्थानबाट पनि लागूऔषधसहित अन्य व्यक्तिहरू पक्राउ परेका छन्।
चन्द्रागिरि नगरपालिका–२ नागढुंगा, बेलौरी नगरपालिका–६ कञ्चनपुर, सोही क्षेत्रका विभिन्न स्थान, भीमदत्त नगरपालिका–११, बढैयाताल गाउँपालिका–७ बर्दिया, धनगढी उपमहानगरपालिका का विभिन्न स्थान, लुम्बिनी सांस्कृतिक नगरपालिका–६ रुपन्देही तथा पोखरा–२ बागलुङ बसपार्कबाट पनि लागूऔषधसहित विभिन्न व्यक्तिहरू पक्राउ परेका प्रहरीले जनाएको छ।
प्रहरीले सबै घटनामा थप अनुसन्धान जारी राखेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३ चैत । पाकिस्तानले सोमबार राति अफगानिस्तानमा फेरि हवाई आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाका लडाकु विमानले राजधानी काबुलका विभिन्न क्षेत्रमा आक्रमण गरेका हुन्।
आक्रमणमा करिब ४०० जनाको मृत्यु भएको र २५० भन्दा बढी घाइते भएको बताइएको छ। दारुल अमान, अर्जन किमात, खैरखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा विस्फोट र गोलीबारीको आवाज सुनिएको जनाइएको छ।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलको लागुऔषध पुनर्स्थापना अस्पतालमा बमबारी गरेको आरोप लगाएका छन्।
तालिबानले उक्त आक्रमणको कडा निन्दा गर्दै यसलाई मानवताविरुद्धको अपराध भनेको छ र पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लङ्घन गरेको दाबी गरेको छ।
यता सहबाज सरिफका प्रवक्ता मोशरफ जैदीले आरोप निराधार भएको भन्दै काबुलको कुनै पनि अस्पतालमा आक्रमण नगरिएको बताएका छन्।
पाकिस्तानको सूचना मन्त्रालयले काबुल र नान्गारहारमा रहेका सैन्य अड्डा, प्राविधिक उपकरण डिपो र हतियार भण्डारलाई निसाना बनाइएको जनाएको छ। ती स्थानहरू पाकिस्तानी नागरिकविरुद्ध आक्रमणका लागि प्रयोग भइरहेका थिए भन्ने दाबी गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हरिसिद्धिमा रहेको श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ।
विभागका अनुसार उद्योगको गोदाममा १४.२ किलो क्षमताका ६ हजार ३ सय ७७ वटा ग्यास सिलिन्डर अत्यधिक मात्रामा भण्डारण गरिएको अवस्थामा फेला परेको थियो। यसरी ठूलो संख्यामा स्टक राख्नुको उद्देश्य ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि प्रभाव पार्ने रहेको विभागको ठहर छ।
निर्देशनअनुसार उद्योगले नेपाल आयल निगमसँग समन्वय गरी मौज्दात सिलिन्डर बिक्री–वितरण सुनिश्चित गर्नुपर्ने विभागले जनाएको छ।
उपभोक्ता संरक्षण ऐन २०७५को दफा १६(२) अनुसार कुनै पनि वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने वा जम्माखोरी गर्नु गैरकानुनी मानिन्छ।
सोही ऐनको दफा ३९(१)(ख) अनुसार २ देखि ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधानका आधारमा श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
साथै, विभागले उद्योगहरूलाई व्यावसायिक गतिविधिमा अनुचित अभ्यास नगर्न चेतावनी पनि दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बाँके,२ चैत । डुडुवा गाउँपालिका–२ रामनगर पाझा गाउँमा आज दिउँसो आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन्।
आगलागीबाट पाँचवटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। नेपालगञ्जबाट गएको बारुणयन्त्र र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
सामुदायिक विपद् व्यवस्थापन समितिका राममनोहर यादवका अनुसार आगलागीबाट स्थानीय लल्लन यादवका, बाँके यादवका, बल्ले गोडियाका, बाबादीन गोडियाका र शिवबक्स गोडियाका घर जलेर नष्ट भएका हुन्।
आगलागीबाट घरभित्र रहेको नगद, गैरखाद्य सामग्री र लत्ताकपडा जलेर नष्ट भएको छ। क्षतिको पूर्ण विवरण भने अझै आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र प्रहरीले क्षतिको तथ्यांक संकलन गरिरहेका छन्।
डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आगलागी घटनाप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल राहत उपलब्ध गराइने बताएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२ चैत । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सिकार खेल्न गएका सुर्खेतका एक युवकको मृत्यु भएको आशंका गरिएको छ भने पाँच जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बराहताल गाउँपालिका–२ का ३३ वर्षीय टोपबहादुर खत्री फागुन २३ गते केही साथीसहित सिकार खेल्न घरबाट करिब १७ किलोमिटर दक्षिणतर्फ पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ गएका थिए। त्यसपछि उनी घर फर्किएनन्।
बराहताल–२ का आसे महतराले आफ्ना साला नाता पर्ने खत्रीको सिकार खेल्ने क्रममा मृत्यु भएको जानकारी प्रहरीलाई दिएका छन्। साथै सँगै गएका व्यक्तिमध्ये एक जना सुनिल समसेलीकी आमामार्फत पनि खत्रीको मृत्यु भएको खबर आएको बताइएको छ।
घटनाबारे जानकारी प्राप्त भएपछि सोमबार बिहान प्रहरी चौकी रानीघाटबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। घटनास्थल सुर्खेतबाट करिब १७ किलोमिटर दक्षिणतर्फ बर्दिया जिल्ला क्षेत्रभित्र पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय बर्दियासँग समन्वय गरेर खोजी तथा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए।
खत्रीसँगै सिकार खेल्न गएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रबिलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ति, ३० वर्षीय सुनिल समसेली तथा लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दियामा बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका प्रहरीले जनाएको छ।
घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी टोली घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
उमा भण्डारी, दाङ। ‘निद्रा लाग्दैन, भोक लाग्दैन। कहिलेकाहीँ त मर्नु बेस हुन्छ जस्तो लाग्छ।’ दाङकी ४० वर्षीया ‘क’ (नाम परिवर्तन) आफ्नो जीवनका दुई दशक लामो पीडा सम्झिँदै भन्छिन्।
विवाह भएको एक हप्ता नबित्दै श्रीमानको कुटपिट सुरु भयो। त्यसपछि उनका दिनहरू गाली, अपमान, कुटपिट र जबर्जस्ती यौन सम्बन्धको यातनाबीच बित्न थाले। गर्भावस्था र सुत्केरी अवस्थासमेत उनले हिंसाबाट मुक्त हुन पाइन्न।
‘गर्भमा बच्चा हुँदा पनि जबर्जस्ती यौन सम्बन्ध राख्न बाध्य पारिन्थ्यो। उनले भनिन् -‘ नदिने, गाली गर्ने, कुट्ने सबै सहनु पर्यो।’
उनका श्रीमान् सरकारी विद्यालयका शिक्षक हुन्। सामाजिक प्रतिष्ठा र पहुँचका कारण आफुले न्याय पाउन अझ कठिन भएको उनको अनुभव छ। सहन नसकेर प्रहरीमा उजुरी दिँदा समेत मिलापत्र गराइएको उनले बताइन्।
गत चैत २१ गते राति भएको कुटपिटले उनको दाहिने खुट्टा नै भाँचियो। लगातारको हिंसाले उनी अहिले गम्भीर मानसिक समस्यासँग जुधिरहेकी छन्।
‘प्रहरी, न्यायिक समिति सबै ठाउँ धाएँ, तर आजसम्म न्याय पाइएन,’ उनले भनिन्।
दाङकै १९ वर्षीया एक किशोरीको पीडा पनि उस्तै छ। गरिब परिवारकी उनी सानै उमेरमा होटलमा काम गर्न बाध्य भइन्। त्यही क्रममा होटल सञ्चालकका छोराले उनीमाथि जबर्जस्ती करणी गरे।
समाज र परिवारको “इज्जत जोगाउने” नाममा उनलाई त्यही व्यक्तिसँग विवाह गर्न बाध्य पारियो। तर विवाहपछि पनि हिंसा रोकिएन।
उनका अनुसार श्रीमान्का जेठाजुले समेत यौन दुर्व्यवहार गरे। त्यसबारे आवाज उठाउँदा परिवारले नै अस्वीकार गर्दै घरबाट निकालिदियो।
श्रीमान् वैदेशिक रोजगारीका लागि कुवेत गएपछि सुरुमा सम्पर्कमा रहे पनि पछि सम्पर्क टुट्यो। अहिले नेपालमै बस्दै उनले अर्कै विवाह गर्ने धम्की दिँदै कुटपिट र डर देखाउने गरेको किशोरी बताउँछिन्।
दुई साना छोरीसहित भाडाको घरमा बस्दै आएकी उनले आर्थिक अभाव र निराशाका कारण आत्महत्याको प्रयाससमेत गरेको बताइन्। ‘प्रहरी चौकी, नगरपालिका सबै ठाउँ धाएँ, तर न्याय पाइएन,’उनले भनिन्।
यी घटना प्रतिनिधिमुलक हुन् । उनीहरू जस्तै अझपनि थुप्रै महिलाहरु परिवार र समाजको प्रतिष्ठा जोगाउने बाहानामा हिंसाको शिकार बन्न बाध्य छन्
लुम्बिनी प्रदेशमा महिलामाथि हुने हिंसाका घटनाहरू निरन्तर बढिरहेको तथ्यांकले देखाएको छ। महिला पुनःस्थापना केन्द्र (ओरेक) ले दाङ, कपिलवस्तु र रुपन्देही जिल्लाबाट सन् २०२५ जुलाईदेखि डिसेम्बरसम्म संकलन गरेको तथ्यांक अनुसार यस अवधिमा लैंगिक विभेदमा आधारित ९३ वटा हिंसाका घटना अभिलेखन भएका छन्।
तीमध्ये ८२.८० प्रतिशत अर्थात ७७ वटा घटना घरेलु हिंसासँग सम्बन्धित छन्। तथ्यांकले सबै ९३ घटनामा पीडित महिलाले मानसिक हिंसा भोगेको देखाएको छ।
यसका साथै ४० प्रतिशत घटनामा शारीरिक हिंसा भएको छ भने ४.३० प्रतिशत अर्थात ४ घटनामा यौन हिंसा भएको तथ्यांकमा उल्लेख छ। त्यस्तै १०.७५ प्रतिशत अर्थात १० वटा सामाजिक हिंसाका घटना अभिलेख भएका छन्।
ओरेकका अनुसार धेरै महिलाले साहस गरेर आवाज उठाए पनि प्रभावशाली व्यक्ति वा परिवारको पहुँचका कारण पीडकलाई संरक्षण दिने प्रवृत्ति अझै देखिन्छ। राजनीतिक र सामाजिक दबाबमा मिलापत्र गराउने, घटनालाई दबाउने वा गुपचुप राख्ने अवस्था अझै रहेको संस्थाले जनाएको छ।
ओरेकका अनुसार यस्ता घटनाहरूले महिलामाथि हुने हिंसा केवल व्यक्तिगत समस्या नभई सामाजिक संरचनासँग जोडिएको गम्भीर समस्या भएको देखाउँछ।
संस्थाले पीडित महिलाका लागि सुरक्षित आवास, उपचार, कानुनी सहायता र पीडकलाई कडा कारबाही सुनिश्चित गर्न राज्यलाई आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२ चैत । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका तुलसीपुर–१२ रझेनीका ५८ वर्षीय सुरेन्द्र आचार्यको उपचारका क्रममा निधन भएको छ।
गत फागुन २० गते साँझ करिब साढे ६ बजेतिर राप्ती राजमार्ग मा मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। घाइते आचार्यको मेडिसिटी अस्पताल, काठमाडौँमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो।
स्थानीय चुर्ण केसीका अनुसार साँझको समयमा पैदल हिँडिरहेका आचार्यलाई घरदेखि करिब २०० मिटर तल राजमार्गमा मोटरसाइकलले ठक्कर दिएको थियो। तर ठक्कर दिने मोटरसाइकलको हालसम्म पहिचान हुन सकेको छैन।
इलाका प्रहरी कार्यालय तुलसीपुर का प्रमुख होमबहादुर पराजुली ले घटनाको समयमा चुनावका कारण जनशक्ति कम भए पनि खोजी कार्य जारी राखिएको तर हालसम्म मोटरसाइकलको पहिचान हुन नसकेको जानकारी दिएका छन्।
दुर्घटनापछि आचार्यलाई तत्काल सिटी अस्पताल तुलसीपुरमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही हुँदै अन्ततः काठमाडौँको मेडिसिटी अस्पताल लगिएको थियो।
आचार्य सिर्जनशील महिला बचत तथा ऋण सहकारी संस्थामा कार्यरत थिए। उनकी श्रीमती रमा आचार्य पशुपति मावि हरिपौरामा कार्यरत छिन्। उनका एक छोरा अष्ट्रेलियामा बस्दै आएका छन्।
पारिवारिक स्रोतका अनुसार छोरा र श्रीमती काठमाडौँ आइपुगेका छन् भने आचार्यको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस