काठमाडौं,४ फागुन । इजरायली कब्जा बल (IOF) ले सोमबार वेस्ट ब्याङ्क का विभिन्न क्षेत्रबाट दुई महिलासहित २० जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको छ।
वफा समाचार एजेन्सी का अनुसार तुलकार्म गभर्नरेटबाट आठ जना र अल–खलिल गभर्नरेटबाट सात जना पक्राउ परेका छन्। जेरुसेलमको उत्तरबाट एक युवक, कल्किल्या सहरबाट एक जना र अल–अघवार अल–शामालियाबाट अर्का एक जनालाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ।
पछिल्लो समय वेस्ट ब्याङ्क र अल–कुद्स क्षेत्रमा इजरायली फौजले नियमित छापा र पक्राउ अभियान सञ्चालन गर्दै आएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,४ फागुन । लुम्बिनी प्रदेश सरकारले सुरक्षित मातृत्व अभियान सुरु गरेको छ। गर्भवती जाँच ८२ प्रतिशत र संस्थागत सुत्केरी ८७ प्रतिशत पुगे पनि सुत्केरीपछिको जाँच (पिएनसी) ६६ प्रतिशतमा सीमित रहेपछि प्रदेश सरकारले सेवाको निरन्तरतामै कमजोरी देखिएको निष्कर्ष निकालेको थियो। जसका कारण लुम्बिनी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश ले ‘सुरक्षित मातृत्व अभियान’ सुरु गरेको हो।
रुपन्देही र नवलपरासीका स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालासँग अन्तरक्रिया गर्दै मन्त्रालयले अभियानको अवधारणा सार्वजनिक गरेको छ। सेवामा पहुँच बढाउने मात्र नभई निःशुल्क प्रयोगशाला परीक्षण, युएसजी सेवा, सम्मानजनक व्यवहार र स्थानीय तहस्तरीय अनुगमनलाई एकीकृत रूपमा अघि बढाइने जनाइएको छ।
आर्थिक वर्ष २०८१/८२ मा प्रदेशभर ७९ हजार ५३६ संस्थागत सुत्केरी र ७१४ घरमै सुत्केरी भएका छन्। १०९ स्थानीय तहमध्ये ४८ ले ‘शून्य घर सुत्केरी’ उपलब्धि हासिल गरे पनि ६१ स्थानीय तहमा घरमै सुत्केरी कायम रहनुले व्यवहार परिवर्तन र सेवा पहुँच दुवैमा थप काम आवश्यक रहेको मन्त्रालयको भनाइ छ।
प्रदेशको कुल प्रजनन दर ३.६ रहेको तथ्याङ्कले पनि मातृ–नवजात स्वास्थ्य क्षेत्रमा सघन प्रयास आवश्यक देखाएको छ। मन्त्रालयले गर्भावस्थाको चरणअनुसार प्याकेज ए, बी (वान), बी (टू) र सी लागू गरेको छ।
सिबिसी, आरबिएस, युरिन आरएमई, क्रिटिनाइन, एसजिओटी, एसजिपिटी, टिएसएच, रक्त समूह, एचबिएसएजी, भिडिआरएललगायत परीक्षण निःशुल्क गरिने व्यवस्था गरिएको छ। १२ हप्ताभित्र पहिलो गर्भ जाँच, २०–२४ हप्तामा अनिवार्य पुनःजाँच र जटिलता देखिएमा तोकिएका जिल्ला–स्थित सरकारी प्रेषण अस्पतालमा सन्दर्भ गर्ने प्रावधान राखिएको छ।
प्रदेश स्वास्थ्य मन्त्री खेमबहादुर सारूले सेवा सम्मानजनक, गोपनीय र भेदभावरहित बनाउन अभियान केन्द्रित रहने बताए। प्रमाणमा आधारित उपचार, प्रभावकारी प्रेषण प्रणाली, तथ्याङ्कको उपयोग र दक्ष जनशक्ति व्यवस्थापनमार्फत गुणस्तरीय सेवा सुनिश्चित गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
अभियानअन्तर्गत प्रत्येक स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा अनुगमन समिति सक्रिय गरिनेछ। गर्भ जाँचका लागि दर्ता भएका महिलामध्ये शतप्रतिशतले तोकिएको जाँच पूरा गराएको सुनिश्चित गर्ने स्थानीय तहलाई प्रोत्साहनस्वरूप मासिक दुई हजार रुपैयाँ उपलब्ध गराइनेछ। त्रैमासिक रूपमा आवश्यक कागजातसहित भुक्तानी माग गर्ने स्पष्ट प्रक्रिया तोकिएको मन्त्रालयले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले फागुन ५ गते(भोलि) देशव्यापी नेपाल बन्दको आह्वान गरेको छ। फागुन २१ गते हुन गइरहेको भनिएको निर्वाचन खारेज गर्न, वैदेशिक हस्तक्षेपको विरोध गर्न तथा राष्ट्रिय स्वाधीनताको पक्षमा संघर्ष गर्ने उद्देश्यले बन्द आयोजना गरिएको पार्टीले जनाएको छ।
पार्टीका महासचिव कञ्चनद्वारा जारी विज्ञप्तिमा वर्तमान संसदीय व्यवस्थालाई एकाधिकारवादी, अलोकतान्त्रिक र जनविरोधी भएको आरोप लगाइएको छ। संविधानमा परिवर्तन र राजनीतिक व्यवस्थामा सुधार नगरी देशको विद्यमान समस्या समाधान नहुने पार्टीको दाबी छ।
विज्ञप्तिमा भ्रष्टाचार, बेरोजगारी, मिटरब्याज, बैंकिङ शोषण, कुशासन लगायतका समस्या वर्तमान राजनीतिक व्यवस्थाबाट सिर्जित भएको उल्लेख गर्दै केही दल, गुट र व्यक्तिको एकाधिकार, सिण्डिकेट र कार्टेलिङका कारण जनताको अवस्था झन् जटिल बन्दै गएको आरोप लगाइएको छ।
देशको राजनीतिक समस्या समाधान नगरी निर्वाचन गरिनु पुरानै समस्याको पुनरावृत्ति हुने दाबी गर्दै पार्टीले ‘स्वाधीन संयुक्त सरकार’ गठन र ‘जनसंविधान’ निर्माणको दिशामा अघि बढ्न आह्वान गरेको छ।
घोषित नेपाल बन्दका क्रममा दुध बोक्ने सवारी, एम्बुलेन्स, कूटनीतिक नियोग, विवाह तथा तत्काल जीवनरक्षासँग सम्बन्धित यातायात बाहेक अन्य सबै क्षेत्र बन्द गर्न आग्रह गरिएको छ। उद्योगी, व्यवसायी, यातायात व्यवसायी, शैक्षिक संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणलाई बन्द सफल बनाउन सहयोग गर्न पार्टीले अपिल गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,४ फागुन । नेपाल विद्युत प्राधिकरणले प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित ‘एनइए एआई साथी’ प्रणाली (एप) ल्याउने तयारी गरेको छ। संस्थालाई प्रविधिमैत्री, सरल, सक्षम र भविष्यउन्मुख बनाउने दीर्घकालीन रणनीतिअनुसार उक्त एप प्रयोगमा ल्याउन लागिएको प्राधिकरणले जनाएको छ।
कृत्रिम बुद्धिमत्ता (एआई)लाई जटिल प्रविधिका रूपमा नभई संस्थागत ‘सहयोगी साथी’का रूपमा आत्मसात गर्ने अवधारणासहित यो प्रणाली विकास गरिएको हो। सोही उद्देश्यले प्राधिकरणले ‘ह्याकाथन इभेन्ट–२०८२’ आयोजना गरेको जानकारी दिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले एआईलाई आवश्यक पर्दा सम्झिने र सहयोग लिने साथीका रूपमा स्थापित गर्ने सोचका साथ कार्यक्रम अघि बढाइएको बताए। उनका अनुसार ‘एआई साथी’ नाम आफैंमा जनमैत्री अवधारणा हो, जसले प्रविधिलाई सहज र प्रयोगमैत्री बनाउने लक्ष्य राखेको छ।
‘ह्याकाथन’मा संस्थाभित्रकै कर्मचारीबाट २७ वटा प्रस्ताव प्रस्तुत भएका थिए। ती प्रस्ताव ग्राहक सेवा सुधार, प्रशासनिक कार्यप्रवाह सरलीकरण, डेटा विश्लेषण, नीतिगत तथा कानुनी सहजीकरणलगायत विषयमा केन्द्रित रहेका छन्। प्रस्तुतीकरणपछि विस्तृत मूल्यांकन गरी उत्कृष्ट तथा व्यवहारिक अवधारणालाई कार्यान्वयनमा लैजाने तयारी गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले प्रारम्भिक चरणमा ‘एआई साथी’लाई ग्राहक सेवा र सूचना प्रवाहमा केन्द्रित गर्ने योजना बनाएको छ। विस्तारै प्राविधिक विश्लेषण, लोड व्यवस्थापन, पूर्वानुमान तथा डेटा–आधारित निर्णय प्रक्रियासम्म प्रणाली विस्तार गरिने बताइएको छ। सार्वजनिक निकायमध्ये यो एआई प्रयोगको प्रारम्भिक प्रयास हुन सक्ने प्राधिकरणको दाबी छ
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,४ फागुन । नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। बैंकले एक वर्ष अवधिका लागि उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा राख्न लागेको हो।
राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई दरखास्त आह्वान गरेको जनाएको छ। आवेदन दिन चाहने संस्थाहरूले १० फागुन २०८२ बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म निवेदन पेस गर्न सक्नेछन्।
लगानी रकममध्ये वाणिज्य बैंकहरूका लागि ७ अर्ब ४८ करोड रुपैयाँ छुट्टाइएको छ। यस्तै विकास बैंकहरूका लागि १ अर्ब ४० करोड २५ लाख रुपैयाँ तथा राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि ४६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
उक्त निक्षेप प्राप्त गर्न चाहने संस्थाहरूका लागि विभिन्न योग्यता र सर्त तोकिएको छ। कुल निक्षेप लगानीको ८ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा भएका संस्थाहरू अयोग्य ठहरिनेछन्। साथै सम्बन्धित संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, न्यूनतम कुल पुँजी कोष कायम गरेको तथा खुद तरल सम्पत्ति अनुपात राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्र राखेको हुनुपर्नेछ।
यसैगरी कर्जा–निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेको, पछिल्लो आर्थिक वर्षको वित्तीय विवरणअनुसार खुद मुनाफामा रहेको र शीघ्र सुधारात्मक कारबाहीमा परेका संस्थाको हकमा फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने सर्त राखिएको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८को दफा ८६ (९ख) बमोजिम कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, वा घोषणा भएको भए फुकुवा भएको ६ महिना पूरा भएको हुनुपर्ने प्रावधान पनि उल्लेख गरिएको छ। साथै सर्वसाधारणका लागि छुट्टाइएको शेयर जारी गरिसकेको हुनुपर्ने सर्तसमेत राखिएको छ।
राष्ट्र बैंकको उक्त निर्णयले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन र कोषको प्रभावकारी उपयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,४ फागुन । प्रतिनिधिसभा निर्वाचनका लागि ६३ राजनीतिक दल दर्ता भए पनि सोमबारसम्म निर्वाचन आयोग नेपालमा २८ दलले मात्रै घोषणापत्र बुझाएका छन्।
आयोगले फागुन ३ गतेभित्र घोषणापत्र पेस गर्न निर्देशन दिएको थियो। हालसम्म २८ वटा दलले सार्वजनिक रूपमा घोषणापत्र वा प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन्।
घोषणापत्र सार्वजनिक गर्ने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत रहेका छन्।
आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दलहरूले तोकिएको मितिमा घोषणापत्र सार्वजनिक गर्नुपर्ने कानुनी दायित्व रहेको बताए। निर्वाचनमा प्रतिस्पर्धा गर्ने दलहरूले आफ्ना योजना, कार्यक्रम, विकास निर्माण, सुशासन र मुलुकको अग्रगामी निकासका विषय समेटिएको घोषणापत्र वा प्रतिबद्धता पत्र आयोगमा पेस गर्नुपर्ने उनले स्पष्ट पारे।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार केन्द्रमा चार दलको मात्रै घोषणापत्र दर्ता भएको तथ्याङ्क छ। केही दलले जिल्ला निर्वाचन कार्यालयमा घोषणापत्र बुझाएको जानकारी आए पनि केन्द्रमा तोकिएको समयसीमाभित्र चार दलले मात्रै पेस गरेका हुन्। आइतबार सार्वजनिक बिदा परेकाले अधिकांश दलले सोमबार दिनभरिमा घोषणापत्र बुझाउने सम्भावना रहेको उनले बताए।
आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचार–प्रसार गर्न पाइने व्यवस्था गरेको छ। फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ। मौन अवधिमा कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न पाइने छैन। साथै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न दल तथा उम्मेदवारलाई आयोगले आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,४फागुन । रौतहटमा एक महिलाको बीभत्स हत्या भएको छ। फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा निवासी महन्थ यादवकी २८ वर्षीया श्रीमती आरती देवी यादव मृत अवस्थामा फेला परेकी हुन्। प्रहरीका अनुसार आरती आफ्नै सुत्ने कोठामा घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा भेटिएकी थिइन्।
आइतबार अबेरसम्म घर नखुलेपछि स्थानीयको आग्रहमा इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाको टोली पुगेको थियो। ढोका खोलेपछि उनी खाटमै घाँटी काटिएको अवस्थामा फेला परेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार घटनापछि मृतकका श्रीमान् महन्थ राय यादव फरार छन्।
प्रारम्भिक अनुसन्धानबाट श्रीमानले नै हत्या गरेर फरार भएको आशंका गरिएको छ। उनको तीव्र खोजी भइरहेको प्रहरीले जनाएको छ।
मृतक आरतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,४ फागुन । स्थानीय बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँ पुगेको थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला चार हजार ८६० रुपैयाँ कायम भएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,४ फागुन । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले आगामी पाँच वर्षभित्र नेपाललाई डिजिटल प्रविधिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले पाँच वर्षभित्र चार खर्ब रुपैयाँ बराबरको आईटी तथा डिजिटल प्रविधि निर्यात गर्न सकिने सम्भावना रहेको बताए। उनका अनुसार नेपालमै दुई लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिनेछ।
थापाले कम्तीमा तीनदेखि पाँचवटा आईटी कम्पनी धितोपत्र बजारमा सूचीकृत हुन सक्ने आधार तयार रहेको उल्लेख गर्दै सही नीतिगत सुधार र प्रविधिको प्रभावकारी प्रयोग गरिए ठूलो उपलब्धि हासिल गर्न सकिने दाबी गरे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३फागुन । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पाकेटमार्ने, धकेला–धकेल गर्ने, गाँजा सेवन गर्ने तथा अन्य उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
शिवरात्रिको अवसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी पशुपति क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। आइतबार बिहानैदेखि दर्शनार्थीहरूको पशुपति क्षेत्रमा घुइँचो लागेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस