दाङ,१६ फागुन । सिरहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुरका सत्यनारायण साफीले संघर्षपूर्ण यात्रापछि सेतो एप्रोन लगाएका छन् । सत्यनारायणले पुर्ण छात्रवृत्तिमा नाम निकालेपछि उनको सेतो एप्रोन लगाएर पढ्ने चाहाउने इच्छा पुरा भएको हो।
दैनिक मजदुरी गर्दै तयारी गरेका उनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भर्ना भएका हुन्।
प्रतिष्ठानले दोस्रो वर्षका ५० विद्यार्थीका लागि आयोजना गरेको ‘ह्वाइट कोट सेरेमनी’ कार्यक्रममा सत्यनारायणसहित विद्यार्थीहरूलाई औपचारिक रूपमा सेतो कोट प्रदान गरिएको थियो।
कार्यक्रममा निमित्त उपकुलपति प्रा. श्याम लम्साल, निमित्त डिन प्राडा. रमेश कडेल र निमित्त अस्पताल निर्देशक प्राडा. जनार्दन पन्थीले सेतो एप्रोन प्रदान गर्दै चिकित्सा पेशाको मर्यादा, अनुशासन र नैतिकताबारे विद्यार्थीलाई मार्गदर्शन दिएका थिए।
दलित समुदायका सत्यनारायणको परिवारसँग साढे चार धुर घडेरीबाहेक अन्य सम्पत्ति छैन। उनका बुबा मधुरी साफी मजदुरी गर्दै परिवार चलाउँदै आएका छन्। पाँच सन्तानमध्ये जेठा सत्यनारायणले २०७७ मा एसईई उत्तीर्ण गरेपछि २०७९ मा विराटनगरबाट कक्षा १२ विज्ञान विषयमा उत्तीर्ण गरेका थिए।
एमबीबीएस पढ्ने लक्ष्य राखेका उनले आर्थिक अभावका कारण काठमाडौंमा लामो समय तयारी गर्न सकेनन्। गाउँ फर्किएपछि निर्माण क्षेत्रमा मजदुरी गर्दै स्वाध्ययनमार्फत तयारी गरेका थिए। बिहान काम र बेलुका ६–७ घण्टा अध्ययन गर्ने नियमित अभ्यासले उनलाई दोस्रो प्रयासमा छात्रवृत्तिमा नाम निकाल्न सफल बनायो।
भर्नाका लागि उनकी आमाले छिमेकीसँग ८० हजार रुपैयाँ सापटी लिएपछि गत ८ पुसमा उनी प्रतिष्ठानमा भर्ना भएका हुन्। छात्रवृत्तिमा अध्ययनको अवसर पाए पनि बसोबास, खानपान, यातायात र अध्ययन सामग्रीमा ठूलो खर्च लाग्ने भएकाले परिवारमा आर्थिक चुनौती कायम रहेको छ।
सेतो कोट ग्रहण गरेपछि सत्यनारायणले स्वास्थ्य सेवा क्षेत्रमा समर्पित भएर अध्ययन र सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
‘गुणस्तरीय र उपयोगी शिक्षामा प्रतिबद्ध’
दाङ ,१५ फागुन । लुम्बिनी स्मार्ट स्कुल दोघरेको प्रधानाध्यापक बामदेव सापकोटा नियुक्त भएका छन्। सञ्चालक समितिले प्रधानाध्यापकमा बामदेव सापकोटालाई नियुक्त गरेको हो।
अध्यक्ष मोहन सुनारले विद्यालयमा सापकोटालाई ५ बर्षको लागि प्रधानाध्यापकमा नियुक्त गरिएको जानकारी दिए । आजदेखि नै उनले प्रधानाध्यापकको कार्यभार सम्हालेका छन् ।
लुम्बिनी फ्युचर पाथ दाङद्वारा सञ्चालित लुम्बिनी स्मार्ट स्कुल दोघरेको शैक्षिक अवस्था र विद्यालयको बारेमा बिहीबार जानकारी गराइएको छ। पत्रकार सम्मेलनको आयोजना गरी विद्यालयको भवन सञ्चालन तथा शैक्षिक गतिविधिका बारेमा जानकारी गराइएको हो। शैक्षिक गतिविधिका बारेमा जानकारी गराउँदै प्रधानाध्यापक सापकोटाले पहिलोपटक जिल्लामा अभिभावकले खोजेजस्तो स्मार्ट स्कुल सञ्चालन गरिएको बताए
प्रधानाध्यापक सापकोटाले अभिभावकले चाहेअनुसारको पूर्णकालीन समयको शिक्षासमेत विद्यालय दिन तयार रहेको बताए।
विद्यार्थीको पढाइको बोझलाई हटाएर सिप सिक्दै र पढ्दै गर्ने अवस्था विद्यालयले सिर्जना गर्ने उनको भनाइ छ। आधा झोला पुस्तक बोकेर पुरा ज्ञान लिएर विद्यार्थीहरु फर्किने वातावरण विद्यालयले निर्माण गरेको उनले बताए ।
विद्यार्थीहरूलाई सीप सिकाइका लागि न्यूनतम दैनिक एक घण्टा श्रम र उत्पादनमा लगाउने तयारी समेत विद्यालयले गरेको सापकोटाले जानकारी दिए। उनले हरेक सिकाइलाई गतिविधि मार्फत पूर्णता दिने बताए। प्रत्येक कक्षा स्मार्ट कक्षाको रूपमा रूपान्तरण गरिएको र विद्यार्थीहरूलाई पढ्ने वातावरण कक्षाभित्र पूर्ण रुपमा रहेको बताए ।
पाठ्यक्रममा आधारित रहेर न्यूनतम शुल्कमा गुणस्तरीय तथा योग्य पठनपाठन सुरु गर्न लागिएको अध्यक्ष मोहन सुनारले जानकारी दिए । अध्यक्ष सुनारले दाङमै उत्कृष्ट विद्यालय बनाउने गरी आफूहरूले विद्यालय सञ्चालनमा ल्याएको र अभिभावकहरूको पूर्ण विश्वास रहेको बताए। कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक कमल भण्डारीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ १३ फागुन। दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा दुई दिने अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलन सञ्चालन हुने भएको छ। शैक्षिक वातावरणलाई अनुसन्धानमुखी बनाउने उद्देश्यले क्याम्पसले आगामी चैत ६ र ७ गते उक्त सम्मेलन सञ्चालन गर्न लागेको हो। दुई दिन सञ्चालन हुने उक्त सम्मेलनको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।
पत्रकारहरुसंग कुराकानी गर्दै क्याम्पस प्रमुख गणेश पार्धेले दाङ र आसपासमा अनुसन्धानको क्षेत्रमा अपेक्षित उपलब्धि हुन नसकेको अवस्थामा शैक्षिक वातावरणलाई अनुसन्धानमुखी बनाउन सम्मेलन आयोजना गरिएको बताए। उनका अनुसार सम्मेलनमा काठमाडौं, पोखरा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित अमेरिका र भारतका प्रतिष्ठित प्राज्ञिक वक्ताको सहभागिता रहनेछ।
क्याम्पसका उपप्राध्यापक तथा सह–संयोजक सूर्यप्रसाद शर्माले एमफिल र पिएचडी गर्न इच्छुक तथा अनुसन्धानात्मक लेखनमा रुचि राख्नेहरूका लागि सम्मेलन महत्वपूर्ण हुने बताए। शिक्षा, विज्ञान तथा प्रविधि, नेपाली र अंग्रेजी भाषा लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा १ सयभन्दा बढी सहभागी रहने अपेक्षा गरिएको छ।
तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले यसलाई शिक्षा क्षेत्रमा नयाँ अभ्यासको रूपमा लिँदै अनुसन्धानको संस्कृतिलाई प्रोत्साहन गर्ने अवसर भएको बताए।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीले क्षेत्रमै उच्च अध्ययन र अनुसन्धानको वातावरण बनाउन सम्मेलन सहयोगी हुने धारणा राखे।
क्याम्पस संचालक समितिका कोषाध्यक्ष बिनिल केसीले अनुसन्धान गरेर केहि सिक्न चाहनेका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । सम्मेलनलाई सफल बनाउनका लागि नीजि क्षेत्र सहकार्य गर्न तयार रहेको पनि उनको भनाई छ ।
सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा.देवराज अधिकारीले गर्नेछन् । सम्मेलनका संयोजक डा. प्रेम योगीको विषय प्रवेशबाट शुरु भएको पत्रकार सम्मेलनको सहजीकरण कर्मचारी भीमार्जुन रेग्मीले गरेका हुन् ।आयोजकका अनुसार हालसम्म तयारी करिब ७० प्रतिशत पूरा भइसकेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ फागुन। दाङको घोराहीस्थित भरतपुरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानको भवन निर्माण कार्य सुरु भएको छ।
घोराहीको महेन्द्र बहुमुखी क्याम्पस परिसरमा संस्थानको पाँच तले, २० कोठे भवन निर्माण थालिएको हो। करिब २० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त भवनका लागि झन्डै २१ करोड रुपैयाँको लगानी रहने जनाइएको छ।
भवन निर्माणको ठेक्का ‘खड्का निर्माण सेवा प्रालि’ले पाएको छ। निर्माण कम्पनीसँग फागुन ८ गते सम्झौता सम्पन्न भइसकेको छ र सम्झौताअनुसार २०८४ सालभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ।
यसअघि गत वैशाख २३ गते भवन निर्माणका लागि ३० करोड रुपैयाँ बजेट स्रोत सुनिश्चित गरिएको थियो। त्यसपछि बोलपत्र आह्वान गरी निर्माण प्रक्रिया अघि बढाइएको हो। बजेट सुनिश्चिततामा शंकर पोखरेल ले विशेष पहल गरेको जनाइएको छ। हाल उनलाई नेकपा एमालेले दाङ क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारका रूपमा अघि सारेको छ।
फागुन २१ गते हुने निर्वाचनका कारण आचारसंहिता लागू भएकाले भवनको शिलान्यास कार्यक्रम भने हुन सकेको छैन। निर्वाचन सम्पन्न भएपछि मात्रै शिलान्यासको औपचारिक कार्यक्रम गरिने बताइएको छ।
निर्धारित समयमै निर्माण कार्य सम्पन्न भए दाङमै पहिलोपटक विश्वविद्यालय तहबाट सूचना प्रविधि विषयको अध्ययन–अध्यापन सुरु हुने अपेक्षा गरिएको छ। यस क्याम्पसले दाङलाई सूचना प्रविधिको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
घोराहीमा इन्जिनियरिङ क्याम्पस स्थापनाको पहल सफल बन्दै जाँदा जिल्लावासी उत्साहित बनेका छन्। भविष्यमा दाङलाई स्वास्थ्य तथा सूचना प्रविधिको हबका रूपमा विकास गर्ने लक्ष्यमा यसले टेवा पुग्ने अपेक्षा गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ फागुन । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा स्थित सगरमाथा इंग्लिस बोर्डिङ स्कुलले शनिबार आफ्नो १९औँ वार्षिकोत्सव मनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमकान्त खरेलको अध्यक्षतामा र नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
प्रमुख अतिथि अधिकारीले शिक्षाले मानिसको ज्ञानको आँखा खोल्ने बताउँदै केवल किताबी ज्ञान पर्याप्त नभएको र बालबालिकाको रुचि र क्षमता अनुसार सिक्ने वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए।
विद्यालयका प्रिन्सिपल छबिकुमार वलीले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने विद्यार्थीहरूले नृत्य, गायन र सांस्कृतिक प्रस्तुतीमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। सो अवसरमा गायिका रेखा पोख्रेलको सांगीतिक प्रस्तुति समेत रहेको थियो ।
कार्यक्रम भाइस प्रिन्सिपल केशर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रम संयोजक शरद शर्मा मज्गैँले कार्यक्रमको सहजीकरण गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ फागुन । डिभाइन एजुकेसन फाउन्डेसन अन्तर्गत सञ्चालित डिभाइन मन्टेश्वरीले आफ्नो १०औँ वार्षिकोत्सव सम्पन्न गरेको छ।
फाउन्डेसनका सिइओ भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा उक्ति कार्यक्रम सम्पन्न भएको हो।
एनप्याब्सन अध्यक्ष न्यौपानेले मन्टेश्वरी शिक्षाले बालबालिकाको जग बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । जिल्ला सचिव हरिप्रसाद भण्डारीले निजी क्षेत्रबाट सञ्चालित विद्यालयको गुणस्तरीय शिक्षा र समाजमा योगदानको प्रशंसा गरे।
उक्त अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, चेतनामूलक नाटक, सामाजिक सञ्जालका जोखिमबारे सन्देशमूलक प्रस्तुति दिएका थिए। साथै नेपालका विभिन्न जातजाति र पेशालाई झल्काउने भेषभूषा प्रदर्शनले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।
कार्यक्रमको सहजीकरण शिक्षिका सुजाता डाँगीले गरेकी थिइन् भने कार्यक्रमको स्वागत विद्यालयकी प्रिन्सिपल बिन्दु न्यौपानेले गरेकी थिइन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,७ फागुन। तुलसीपुरमा रहेको सप्तरंगी इंगलिस मिडियम स्कुल (सक्सेस)ले सक्सेस एक्पो तथा विद्यालयको वार्षिकोत्सव कार्यक्रम गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललितजंग शाहको अध्यक्षता तथा वडा नं. ९ का वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वडा अध्यक्ष ढकालले शिक्षा नीति एउटै नभएसम्म मुलुकको समग्र विकास सम्भव नहुने बताए । विद्यालयप्रति राज्यको दृष्टिकोण नै विभेदपूर्ण रहेको उल्लेख गर्दै उनले सरकारी र निजी विद्यालयबीच फरक व्यवहार गरिँदा शिक्षा क्षेत्रमा असमानता बढेको धारणा राखे ।
सरकारी विद्यालयले राज्यबाट विभिन्न सेवा–सुविधा पाइरहँदा पनि सोचेअनुसारको शैक्षिक उपलब्धि दिन नसकेको अवस्थामा निजी विद्यालयले भने अब्बल शिक्षा दिँदै आएको बताए ।
राज्य उदार बन्ने हो भने सबै विद्यालयलाई समान व्यवहार गर्नुपर्ने उनको भनाइ थियो । उनले निजी विद्यालयले पनि विपन्न परिवारका बालबालिकालाई सहज रूपमा निःशुल्क गुणस्तरीय शिक्षा दिनुपर्ने बताए ।
ढकालले स्थानीय सरकार सरकारी विद्यालयको अवस्थाप्रति पूर्ण रूपमा सन्तुष्ट नरहेको संकेत गर्दै निजी विद्यालयको शिक्षण सिकाइ पद्धति गौरवको विषय बनेको बताए । निजी विद्यालयको सफलताले सरकारी विद्यालयको कमजोरी ढाकिएको उनको भनाइ छ । विद्यालयमा राजनीतिक हस्तक्षेप बढ्दा शिक्षा क्षेत्र धरासायी बन्दै गएको र विद्यालयहरू राजनीतिक अखडा बन्न थालेकोप्रति उनले चिन्ता व्यक्त गरे ।
कार्यक्रममा वक्ताहरूले सक्सेस स्कुलले बालमैत्री शिक्षण विधि अपनाउँदै बालबालिकाको सिप र ज्ञानलाई प्राथमिकतामा राखेको बताएका थिए । किताबी ज्ञानभन्दा व्यवहारिक शिक्षामा जोड दिँदै आएको भन्दै विद्यालयको प्रशंसा गरिएको थियो ।
मावि दोघरेकी प्रधानाध्यापक सुनिता यादवले बालबालिकाको सिर्जनशीलताले विद्यालयको शिक्षण उत्कृष्ट रहेको प्रमाणित गरेको बताइन् । शिक्षक महासंघ बबई गाउँपालिकाका अध्यक्ष मानबहादुर बस्नेतले शिक्षकको मेहनत र अभिभावकको भूमिकाले नै विद्यार्थीको सिर्जनशीलता उजागर हुने बताए ।
विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापमार्फत शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको कार्यक्रमका सहभागीहरूको धारणा थियो । कार्यक्रम विद्यालयका सहायक प्रिन्सीपल गोपाल गिरीले सहजीकरण गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ फागुन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। बोर्डको निर्णयअनुसार २०८३ सालको वार्षिक परीक्षा वैशाख १४ गतेदेखि सुरु भई वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ।
सार्वजनिक सूचनाअनुसार साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका) परीक्षार्थीहरूको परीक्षा बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म सञ्चालन हुनेछ।
वैशाख १४ गते अनिवार्य अङ्ग्रेजी (नियमित परीक्षार्थीका लागि) परीक्षा हुनेछ। वैशाख १५ गते अनिवार्य नेपाली विषयको परीक्षा तोकिएको छ। अनिवार्य नेपालीको सट्टा ऐच्छिक अङ्ग्रेजी अध्ययन गर्ने विदेशी विद्यार्थीको परीक्षा पनि सोही दिन सञ्चालन हुनेछ।
वैशाख १६ गते अनिवार्य अङ्ग्रेजी (आंशिक) र सामाजिक अध्ययन (प्राविधिक धार) को परीक्षा हुनेछ।
त्यसपछिका दिनहरूमा क्रमशः भौतिकशास्त्र, लेखा, रसायनशास्त्र, जीवविज्ञान, अर्थशास्त्रलगायत विषयहरूको परीक्षा तालिका अनुसार सञ्चालन गरिनेछ।
बोर्डले परीक्षार्थीहरूलाई परीक्षा सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा उपस्थित हुन निर्देशन दिएको छ। परीक्षा सुरु भएको १५ मिनेटपछि आउने परीक्षार्थीलाई सहभागी गराइने छैन। साथै, परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय उपकरण प्रयोग गर्न निषेध गरिएको छ।
जीवविज्ञान विषयका परीक्षार्थीहरूले बोटनी र जुलोजीका लागि एउटै उत्तरपुस्तिका प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। कुनै विद्यार्थीको एकभन्दा बढी विषय एकै दिन जुधेमा सूचना प्रकाशित भएको १५ दिनभित्र बोर्डका सम्बन्धित कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।
अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षाको व्यवस्था नहुने बोर्डले स्पष्ट पारेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२९ माघ । हिमाल एकेडेमीको २२औँ स्थापना दिवस दुईदिने कार्यक्रमका साथ सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनयकुमार मिश्रको सभापतित्व तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने विशिष्ट अतिथि रहेका कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का कोषाध्यक्ष मुक्तीप्रसाद न्यौपाने र शिक्षक–अभिभावक संघका अध्यक्ष श्रमलाल चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमका अवसरमा आयोजित रक्तदान कार्यक्रममा १० जनाले रक्तदान गरेका थिए। त्यसैगरी गायक तथा संगीतकार गोविन्द मधुर आचार्य, गायक प्रेम विवश घर्ती र गजलकार सुशील पुन ‘विरही’ ले सांगीतिक प्रस्तुति दिएका थिए।
विद्यालयका प्रिन्सिपल मधुसुदन केसीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सो अवसरमा उत्कृष्ट शिक्षकका रूपमा भीमलाल मरासिनी, नवराज पोख्रेल, निर्मला योगी र विनया योगी तथा उत्कृष्ट कर्मचारीका रूपमा सावित्रा पोख्रेल सम्मानित भएका छन्।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२५ माघ । तुलसीपुर–९ बेलुवामा रहेको सगरमाथा स्कूल दाङले ‘फुड फेस्टिवल–२०८२’ सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक गुणस्तर बढाउनुका साथै विद्यार्थीहरूमा व्यवहारिक सीप, उद्यमशीलता र आत्मनिर्भरता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
फुड फेस्टिवलमा विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूले सेलरोटी, सुख्खा रोटी, पकौडा, आलुचप, चना, अण्डा, दही–चिउरा, सागसब्जी लगायतका परिकार आफैं तयार गरी प्रदर्शनी तथा बिक्री गरेका थिए। आफ्ना छोराछोरीले बनाएको परिकार चाख्न अभिभावकहरू सहभागी भएका थिए।
कार्यक्रममा बोल्दै पत्रकार बसन्त पौडेलले यस्ता कार्यक्रमले बालबालिकामा व्यवहारिक सीप, सिर्जनशीलता र आत्मविश्वास विकास गर्न सहयोग पुग्ने बताउँदै कार्यक्रम सफल भएकोमा विद्यालयलाई बधाई दिए।
विद्यालयका प्रधानाध्यापक छवि ओलीले फुड फेस्टिवल शैक्षिक तथा सीपमूलक सिकाइको प्रभावकारी माध्यम भएको बताए। यस कार्यक्रममार्फत विद्यार्थीहरूले परिकार बनाउन लाग्ने लागत निर्धारण, मूल्य तोक्ने तरिका, बिक्री–वितरण प्रक्रिया र मुनाफा निकाल्ने जस्ता व्यवहारिक तथा गणितीय ज्ञान हासिल गर्ने अवसर पाएको उनले बताए।
हरेक काम सफल बनाउन टिमवर्क आवश्यक हुने उल्लेख गर्दै उनले सगरमाथा स्कूलले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक र सीपमूलक शिक्षामा जोड दिँदै आएको जानकारी दिए।
विद्यालयका अनुसार फुड फेस्टिवलले विद्यार्थीहरूको सिकाइलाई व्यवहारमा उतार्ने, रमाइलो र सिर्जनात्मक वातावरणमा ज्ञान हासिल गर्ने अवसर प्रदान गरेको छ। कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक शरद शर्मा मजगैयाँलीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस