निर्वाचन आचारसंहिता अनुगमन प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

   माघ २५, २०८२       admin

काठमाडौँ,२४ माघ । केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी वैकल्पिक सञ्चार व्यवस्था मिलाउने निर्णय गरेको हो।

साथै निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति फैलाउने व्यक्तिको निगरानी गर्ने निर्णय पनि गरिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्ने विषयमा बैठक केन्द्रीत रहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

बैठकले निर्वाचनसम्बन्धी सही र भरपर्दो सूचनामा सर्वसाधारणको पहुँच सुनिश्चित गर्ने तथा सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरीको विशेष संयन्त्रलाई सशक्त र जिम्मेवार बनाउने निर्णय गरेको छ।

यसैगरी निर्वाचन विरोधी गतिविधि नियन्त्रण गरी कानुनी दायरामा ल्याउने, पेट्रोलियम पदार्थको खुला खरिद–बिक्री तथा दुरुपयोग नियन्त्रण गर्ने विषयमा पनि निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

निर्वाचनमा सुरक्षाकर्मीको परिचालन, उम्मेदवारको सुरक्षा व्यवस्थापनलगायत विषयमा समेत छलफल भएको प्रवक्ता काफ्लेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निर्वाचन प्रयोजनको खाता दुरुपयोग भए कारबाही हुन्छ: आयोग

   माघ २४, २०८२       admin

काठमाडौं ,२३ माघ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि खोलिएका खाताको दुरुपयोग भए कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेको छ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोगले निर्वाचन प्रचार–प्रसारका लागि खोलिएका खाताको दुरुपयोग नहुनेमा आयोग विश्वस्त रहेको उल्लेख गर्दै दुरुपयोग भएको पाइएमा कानुन अनुसार कारबाही हुने जनाएको हो।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि खोलिने खातासम्बन्धी विषयमा आयोगले आवश्यक निर्देशिका जारी गरिसकेको जानकारी दिए।

उम्मेदवारले तोकेर सहयोग माग्न नपाइने भए पनि स्वेच्छाले प्रदान गरिने सहयोगलाई कानुनले गैरकानुनी नमान्ने उनले बताए। चुनावका नाममा नियतवश आर्थिक दुरुपयोग भएको देखिए कानुन बमोजिम त्यसको समाधान गरिने उनको भनाइ थियो।

प्रवक्ता भट्टराईले मतदाता शिक्षाका लागि आवश्यक सामग्रीहरू जिल्ला सदरमुकामसम्म पुगिसकेको जानकारी दिँदै फागुन ४ गतेदेखि निर्वाचन प्रचार–प्रसार सुरु हुने बताए। सो अवधिमा मतदातामाथि कुनै किसिमको दबाब परेको छ कि छैन भन्ने विषयमा आयोगले निगरानी गर्ने उनले स्पष्ट पारे।

सरकारका सुरक्षा निकायहरूले आवश्यक सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएकाले सुरक्षामा कुनै समस्या आउने अनुभूति आयोगलाई नभएको पनि उनले बताए।


यस्तै, निर्वाचनका लागि समानुपातिकतर्फका मतपत्र प्याकिङ भई मौज्दात अवस्थामा रहेको जानकारी दिँदै प्रत्यक्षतर्फका मतपत्र छपाइको काम तीव्र रूपमा भइरहेको बताए। हालसम्म करिब ८४ लाख ४० हजारभन्दा बढी मतपत्र छपाइ भइसकेको प्रवक्ता भट्टराईले जानकारी दिए

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जलपन्छी गणनामा गिरावटः प्रजाति र सङ्ख्या दुवै घटे

   माघ २३, २०८२       admin

दाङ,२२ माघ । देशभर यस वर्ष सम्पन्न एसियन वाटरबर्ड सेन्सस–२०२६ को नतिजाले नेपालमा जलपन्छीको प्रजाति र कुल सङ्ख्या दुवैमा कमी आएको देखाएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छीविद् सङ्घको संयुक्त प्रयासमा गरिएको गणनाअनुसार देशभर ८९ प्रजातिका ९० हजार ६८८ जलपन्छी अभिलेख गरिएका छन्।

गत वर्ष सन् २०२५ मा गरिएको गणनामा ९४ प्रजातिका ९६ हजार ५६५ जलपन्छी भेटिएका थिए। यससँग तुलना गर्दा यस वर्ष प्रजातिमा पाँच र सङ्ख्यामा पाँच हजार ८७७ ले कमी आएको हो।

विभागका वरिष्ठ पारिस्थितिकविद् तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार सन् १९८७ देखि ‘वेटल्याण्ड्स इन्टरनेशनल’को विश्वव्यापी समन्वयमा नेपालमा निरन्तर जलपन्छी गणना हुँदै आएको छ। यस वर्षको गणना जनवरी ३ देखि १८ ९पुस १९ देखि माघ ५० सम्म सञ्चालन गरिएको थियो। यसको नतिजा विश्व सिमसार दिवस ९फेब्रुअरी २० को अवसरमा सार्वजनिक गरिएको हो।

यस वर्ष देशभरका १८ प्रमुख सिमसार क्षेत्र र तिनअन्तर्गतका ७८ उप–क्षेत्र मा ४११ स्वयंसेवक गणक, पन्छीविद् र कर्मचारी परिचालन गरिएको थियो।

तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्ज र वरपर सबैभन्दा धेरै २५ हजार ३५८ जलपन्छी फेला परेका छन्। यद्यपि यो सङ्ख्या गत वर्षको २७ हजार ५६४ भन्दा कम हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज दोस्रो स्थानमा रहँदै यस वर्ष २२ हजार ८१७ जलपन्छी अभिलेख भएको छ, जुन गत वर्षको २० हजार ४८६ भन्दा बढी हो।

जगदीशपुर जलाशय मा यस वर्ष १० हजार २८२ जलपन्छी फेला परेका छन् भने गत वर्ष १२ हजार ८३२ देखिएका थिए।
कोशीटप्पु वन्यजन्तु आरक्ष मा चराको सङ्ख्यामा ठूलो गिरावट आएको छ। गत वर्ष १० हजार १८५ चरा भेटिएको क्षेत्रमा यस वर्ष पाँच हजार ८९० मात्र अभिलेख गरिएको छ।

त्यसैगरी रारा ताल ९रारा राष्ट्रिय निकुञ्ज० मा जलपन्छीको सङ्ख्या ५०२ बाट घटेर २५३ मा झरेको छ। बाँके राष्ट्रिय निकुञ्ज मा पनि सङ्ख्या एक हजार ६७८ बाट ५३६ मा सीमित भएको छ। बर्जुताल मा यस वर्ष चार हजार ५२ जलपन्छी देखिएका छन् भने गत वर्ष छ हजार २३८ थिए।

अर्कोतर्फ केही क्षेत्रमा सुधार पनि देखिएको छ। धनुषाधाम र कमला नदी क्षेत्र मा दुई हजार ५१, लुम्बिनी क्षेत्र मा चार हजार २०९, राप्ती नदी (दाङ) मा एक हजार १९४, घोडाघोडी ताल (कैलाली) मा एक हजार १५०, पोखरा उपत्यकाका सिमसार मा तीन हजार ७६४ जलपन्छी फेला परेका छन्।

नेपाल पन्छीविद् सङ्घका वरिष्ठ चरा तथा वन्यजन्तुविद् लक्ष्मण पौड्यालका अनुसार पुरैनी र बन्धा ताल ९बेलौरी, कञ्चनपुर० मा यस वर्ष दुई हजार ३५२ जलपन्छी भेटिएका छन्, जुन गत वर्षको एक हजार ३४९ भन्दा उल्लेख्य वृद्धि हो।

काठमाडौँ उपत्यकामा मनहराफाँट मा ३७९ चरा फेला परेका छन् भने टौदह र बागमती नदी क्षेत्र मा सङ्ख्या घटेर १६४ मा झरेको छ। सो क्षेत्रमा गत वर्ष २०४ जलपन्छी अभिलेख गरिएको थियो।

“सिमसारमा आश्रित चराहरूको अवस्था बुझ्न, संरक्षणप्रति जनचेतना बढाउन र नीति निर्माणमा सहयोग पुर्‍याउन यो गणना गरिएको हो,” वरिष्ठ चरा तथा वन्यजन्तुविद् पौड्यालले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा सहकारी नियमावली संशोधनसहित स्वीकृत

   माघ २३, २०८२       admin

दाङ,२२ माघ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सहकारी तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ। आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले उक्त नियमावलीलाई अनुमोदन गर्ने निर्णय गरेको हो।

त्यसैगरी बैठकले वन तथा वातावरण मन्त्रालयद्वारा प्रस्तावित प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक लुम्बिनी प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ। यसबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले निर्णय सार्वजनिक गरे
मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेस गरेको अस्थायी संगठन संरचना पनि स्वीकृत गरेको छ। साथै आर्थिक वर्ष २०८२र८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ।

यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्रस्तावित ज्ञान व्यवस्थापन तथा संस्थागत स्मृति हस्तान्तरण सम्बन्धी कार्यविधि, २०८२ पनि स्वीकृत गरिएको सरकारका प्रवक्ता पन्थीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा विद्यालय केन्द्रित नियमित HPV खोप अभियानबारे अन्तरक्रिया

   माघ २३, २०८२       admin


दाङ, २२माघ । दाङमा एचपिभी खोपका बारेमा अन्तरक्रिया कार्यक्रम सन्चालन भएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङले एचपिभी खोप अभियानको प्रगति मूल्याङ्कन गर्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

स्वास्थ कार्यालयले नियमित खोप कार्यक्रममा विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियान सञ्चालनका विषयमा बिहिवार जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवालाहरूबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो।

स्वास्थ्य कार्यालय दाङको आयोजनामा सम्पन्न कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक तथा जिल्ला खोप समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यकममा दाङका प्रमुख जिल्ला अधिकारी अर्यालले विद्यालयभित्रका साथै विद्यालयबाहिर रहेका यस उमेर समूहका किशोरीलाई समेत खोपको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै खोपको भण्डारण, व्यवस्थापन तथा खोप खेर जाने चुनौतीप्रति सम्बन्धित निकायलाई गम्भीर हुन निर्देशन दिए।

क्षयरोग/कुष्ठरोग/सु.निरीक्षक ओलीले HPV खोपका सम्भावित साइड इफेक्टबारे स्पष्ट जानकारी गराउँदै खोप सुरक्षित रहेको बताए। सामान्य साइड इफेक्ट देखिएमा खोप केन्द्रमै स्वास्थ्य हेल्पडेस्क तथा प्रत्येक पालिकाका अस्पतालमा स्थानीय चिकित्सक उपलब्ध रहेको जानकारी उनले गराए।

जिल्ला खोप समन्वय समितिका प्रमुखसमेत रहेका जिल्ला समन्वय समितिका संयोजक शर्माले अभिभावक र विद्यालयको सहकार्यबिनाको खोप कार्यक्रम सफल नहुने उल्लेख गर्दै अभियानको पूर्ण सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सुवेदीले लक्षित उमेर समूहका सबै किशोरीलाई खोपको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए। कुनै पनि किशोरी खोपबाट वञ्चित नहुने गरी योजना बनाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख ठगबहादुर गुरुङ, क्षयरोग/कुष्ठरोग/सु.निरीक्षक भानुज्योति ओली, सुवेदी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विकास गौचनलगायत सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


सो अवसरमा , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गौतनले HPV खोपलाई छोरीका लागि उत्कृष्ट उपहारको संज्ञा दिँदै खोप सुरक्षित र प्रभावकारी रहेको बताए। उनले सबै अभिभावकलाई ढुक्क भएर आफ्ना छोरीलाई खोप लगाउन आग्रह गरे।

साथै तुलसीपुर क्षेत्रमा प्रादेशिक अस्पताल र घोराही–लमही क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा उपलब्ध रहेको बताए।

स्वास्थ्य कार्यालयका अनुसार माघ २५ देखि फागुन १५ सम्म नियमित HPV खोप कार्यक्रम सञ्चालन हुनेछ। यसअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय नजाने १० वर्ष उमेरका किशोरी, गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरका किशोरीलाई लक्षित गरिएको छ।

कार्यक्रममा HPV खोप निःशुल्क, सुरक्षित तथा जीवनरक्षक रहेको जानकारी गराउँदै गर्भाशयमुखको क्यान्सर रोकथाममा यो खोप अत्यन्त प्रभावकारी हुने बताइएको छ। विद्यालय केन्द्रित खोप अभियानलाई थप प्रभावकारी बनाउन स्वास्थ्य संस्था, विद्यालय र समुदाय अझ जिम्मेवार हुनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्वास्थ्य बीमामा १४ अर्बको संकट

   माघ २३, २०८२       admin


काठमाडौं,२२ माघ। तत्काल १४ अर्ब रुपैयाँ बजेटको व्यवस्था नभए स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने जोखिममा पुगेको छ।

स्वास्थ्यमन्त्री डा. सुधा शर्माले बुधबार भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की र अर्थ सचिव घनश्याम उपाध्यायसँग उक्त रकमको व्यवस्था गर्न आग्रह गरेकी थिइन्। रकम निकासा नभए बीमा कार्यक्रम सञ्चालन गर्न नसकिने मन्त्री शर्माको भनाइ थियो।

तर अर्थ मन्त्रालयले भने तत्काल थप बजेट दिन नसकिने स्पष्ट पारेको छ। अर्थ सचिव उपाध्यायले यसअघि नै चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ निकासा गरिसकेको उल्लेख गर्दै थप बजेट सम्भव नभएको बताए।

‘बीमा कार्यक्रम सञ्चालनमा सुधार आवश्यक छ, कार्यक्रम बीमा जस्तो प्रभावकारी देखिएको छैन,’ उनले भने।

हाल स्वास्थ्य बीमा बोर्डले देशभरका ५१० अस्पताललाई बीमाअन्तर्गतको उपचार वापत करिब १४ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

बोर्डको वार्षिक बजेट २६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। गएको आर्थिक वर्ष बोर्डले २३ अर्ब रुपैयाँ बराबरको दायित्व बोकेको थियो भने बीमा प्रिमियमबाट पौने ४ अर्ब रुपैयाँ मात्रै संकलन भएको थियो।

सरकारले २०८०/०८१ सम्म वार्षिक ७ देखि १० अर्ब रुपैयाँसम्म अनुदान दिँदै आएको थियो। चालु आर्थिक वर्षका लागि छुट्याइएको १० अर्ब रुपैयाँ सकिएर बोर्डले थप १ अर्ब रुपैयाँसमेत खर्च गरिसकेको छ।

बजेट अभावका कारण बीमा कार्यक्रम बन्द हुने अवस्था आएपछि प्रधानमन्त्री कार्कीले ऋण गरेर भए पनि कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएकी छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा छहजार बढी सुरक्षाकर्मी परिचालन गरिने

   माघ २३, २०८२       admin

दाङ, २२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दाङ जिल्लामा ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ। शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग तथा निर्वाचन प्रहरी गरी जिल्लाभरि कुल ६ हजार ६२५ जना सुरक्षाकर्मी परिचालन गरिनेछ। तीन वटै निर्वाचन क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।

माघ २१ गते बुधबारदेखि नै दाङमा ६०९ जना नेपाली सेना परिचालन भइसकेको छ। नेपाली सेनाले जिल्लामा रहेका दुई वटा कारागार कार्यालय, विमानस्थल लगायतका संवेदनशील स्थानको सुरक्षा गर्ने प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।

यस्तै निर्वाचनका क्रममा हुन सक्ने अवाञ्छित गतिविधिलाई सूक्ष्म रूपमा निगरानी गर्न राष्ट्रिय अनुसन्धान विभागका २१ जना कर्मचारी परिचालन गरिएको छ।

सुरक्षा निकायअनुसार नेपाल प्रहरी १ हजार ३८१ जना, सशस्त्र प्रहरी ४६९ जना, नेपाली सेना ६०९ जना तथा ४ हजार १६५ जना निर्वाचन प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पर्यटक तान्दै बबईको बगर

   माघ २२, २०८२       admin

दाङ,२१ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ र १३ को संगमस्थल बबई नदी । एक समय आकर्षक र मनोहर थियो। उत्तरतिरको समथर फाँट, दक्षिण र पूर्वतर्फ फैलिएको चूरे शिवालिक । हरिया फाँट, तरकारी अन्नपातले सजिएको क्षेत्र लोभलाग्दो र निकै रमणीय थियो।

तर, वि.स. २०७२ सालमा आएको भीषण बाढीले यस क्षेत्रको अनुहार नै बदलिदियो। नदीको बहावले बस्ती डुबायो, कयौँ घर भत्किए, खेतीयोग्य जमिन ढुंगामाटोले भरियो। हरियालीको सट्टा कंक्रिट र बगर बन्न थाल्यो। बस्ती उजाडियो, मानिस विस्थापित भए।

विपद्का कारण वर्षौँसम्म सुनसान र उराठ झै बनेको यही भूमि अहिले भने आन्तिक र बाह्य पर्यटकहरूको गन्तव्य स्थलबन्न थालेको छ। नागरिकका लागि मनोरञ्जनको केन्द्र बन्दै गएको छ। नदी कटानले बाँझिएको, ढुंगा र बालुवामात्रै देखिने जमिनलाई सदुपयोग गर्दै स्थानीय युवाको सिर्जनशील सोचले आकर्षकको केन्द्र बनेको छ ।


तुलसीपुर–१७ कि कौशिला खड्काले यो क्षेत्रमा पछिल्लो समय जिल्लाबाट र जिल्ला बाहिरबाट मान्छेहरू आउने क्रम बढेको बताइन् ।

बर्दियाबाट आएका अर्जुन चौधरीले जिपलाइन र वाटर साइकलले यस ठाउँको आर्कषण बढाएको बताए ।‘ साथीहरूसँग मिनि एड्भेन्चर गर्न यो ठाउँ उपयुक्त रहेछ ।’ उनले भने रमाउन पनि पाइने खाना पनि पाइने ।’

तुलसीपुर उपमहानगरपालिका–१३, बखरियामा बबई एग्रो फार्म तथा रिसोर्ट आकर्षक पर्यटकीय गन्तव्यमा रूपान्तरण रहेको हो । करिब १ करोड १५ लाख रुपैयाँको लगानी मा निर्माण गरिएको यो रिसोर्ट पाँच जना स्थानीय युवाले सञ्चालन गरेका छन । मा आएको हो।

यसका कारण अहिले सुनसान रहने बबई किनारमा चहलपहल बढेको छ। शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिन यहाँ अत्यधिक भीड लाग्ने गरेको छ, जसले यस क्षेत्रको पर्यटन गतिविधिमा थप उत्साह थपेको छ।

४ विगाहा जमिन मा सञ्चालन गरिएको रिसोर्ट बबई नदीको किनार, वरिपरि फैलिएको वनजंगल र नजिकैको बजार क्षेत्रका कारण प्राकृतिक सौन्दर्यसँगै मानसिक शान्तिको अनुभूति दिने गन्तव्य बनेको देखिन्छ ।

म्यानेजर हेमन्त बस्नेतका अनुसार मनोरञ्जनका दृष्टिले बबई रिसोर्ट आकर्षणको केन्द्र बन्दै गएको छ। यहाँ वाटर साइकल, जिपलाइन र वाटर बेलुन जस्ता गतिविधि सञ्चालनमा छन्। विशेष गरी जिपलाइनप्रति पर्यटकको आकर्षण उल्लेखनीय छ। छिल्लीकोट क्षेत्रमा जिपलाइन प्रभावकारी हुन नसकेपछि ‘एकपटक प्रयास’ का रूपमा यहाँ सुरु गरिएको जिपलाइन अहिले प्रमुख आकर्षण बनेको बस्नेत बताउँछन्।

चिल्ड्रेन पार्क, टिकटक जोन तथा स्थानीय पहिचान झल्कने थप संरचना निर्माण गर्ने तयारी भइरहेको उनले बताए । यसले यहाँ आउने पर्यटकको संख्या थप बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङ र झापामा नेकपालाई चुनावी सहकार्य गर्न एमालेको प्रस्ताव

   माघ २२, २०८२       admin

काठमाडौं,२१ माघ । नेकपा (एमाले) ले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग आगामी निर्वाचनमा चुनावी सहकार्यका लागि औपचारिक प्रस्ताव गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)सँग प्रत्यक्ष संवाद गर्दै सहकार्यको प्रस्ताव राखेका हुन्।

नेकपा स्रोतका अनुसार ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ तथा एमाले महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र दाङ–२ मा सहकार्यका लागि प्रस्ताव गरेका छन्।

स्रोतका अनुसार ती दुई क्षेत्रमा सहयोगको बदलामा ओलीले नेकपालाई चार सिटमा सहयोग गर्ने वचन दिएका छन्। नेकपाका एक नेताका अनुसार ओलीले प्रचण्डसँग ‘जुन क्षेत्र चाहियो, त्यसमा सहयोग गर्न तयार’ रहेको प्रस्तावसमेत गरेका हुन्।

तर, नेकपा स्रोतका अनुसार प्रचण्डले उक्त प्रस्तावमा अहिलेसम्म स्पष्ट प्रतिबद्धता जनाइसकेका छैनन्। एमालेसँग चुनावी सहकार्य नगर्नुपर्ने अडानमा नेकपाका शीर्ष नेताहरू रहेकाले प्रचण्डमाथि आन्तरिक दबाब बढेको स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आजदेखि नेपाली सेना परिचालन

   माघ २२, २०८२       admin

दाङ,२१ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आजदेखि नेपाली सेना परिचालन गरिएको छ। निर्वाचनपूर्व सुरक्षा योजना अनुसार बुधबार (माघ २१) देखि सेना फिल्ड गस्तीमा निस्किएको हो।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार माघ २१ गतेदेखि सेना परिचालन सुरु गरिएको हो।

निर्वाचन सुरक्षाका लागि देशभर ७९ हजार ७२७ जना नेपाली सेना खटाइनेछ। आवश्यकताअनुसार गस्ती तथा पेट्रोलिङ गरिने र संवेदनशील क्षेत्र तथा मतदानस्थलमा संयुक्त गस्तीसमेत हुने बताइएको छ।

योजना अनुसार हाल सेना परिचालनसँगै सुरक्षासम्बन्धी अन्य ड्युटीहरू पनि सुरु भएका छन्। निर्वाचन अवधिभर सेनाले हवाई गस्तीसमेत गर्नेछ।

विशेषगरी विकट र अतिसंवेदनशील क्षेत्रमा हवाई गस्तीको व्यवस्था मिलाइएको छ। आगामी निर्वाचनका लागि कुल ३ लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology