काठमाडौँ,१३ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच ७ बुँदे सहमति भएको छ। आइतबार बिहान करिब ३ बजे भएको सहमतिपत्रमा दुवै नेताले हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार पार्टीको नाम एकीकरणपछि पनि राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ भने पार्टीको चुनाव चिह्न घण्टी कायम रहनेछ। पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ।
त्यसैगरी पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र निलो घण्टीको आकृति रहनेछ भने केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकाभित्र रहने उल्लेख गरिएको छ।
सहमतिपत्रमा दुवै नेताले नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा सहिद परिवारका मागहरू यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यस्तै , समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य पूरा गर्न आवश्यक गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयनमा प्रतिबद्ध रहने उल्लेख गरिएको छ।
पार्टी एकीकरणपछि संगठनलाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने सहमति पनि भएको छ।
यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक कागजात निर्वाचन आयोगमा अद्यावधिक गर्ने सहमति गरिएको
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१२ पुस । सुर्तिजन्य पदार्थको बट्टा, प्याकेट तथा प्याकेजिङमा १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश अनिवार्य गर्नुपर्ने कानुन कार्यान्वयन गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट मञ्चका सचिव अधिवक्ता जयप्रसाद पौडेल र कानुन अधिकृत अधिवक्ता आकृति त्रिपाठीले संविधानको धारा ४६ र १३३ बमोजिम उत्प्रेषण तथा परमादेश माग गर्दै रिट दायर गरेका हुन् । रिटमा संघीय सरकार, सातै प्रदेश सरकार, सम्बन्धित मन्त्रालयहरू तथा सुर्तिजन्य उद्योगलाई विपक्षी बनाइएको छ । आइतबारका लागि पेशी तोकिएको मञ्चले जनाएको छ ।
रिट निवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘सुर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने निर्देशिका, २०८१’ पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत निकायबाट निर्देशिका कार्यान्वयनमा अवरोध सिर्जना गरिएको भन्दै त्यससम्बन्धी निर्णय र पत्राचार बदर गर्न माग गरिएको छ ।
निवेदनमा सुर्तिजन्य पदार्थ सेवनका कारण नेपालमा वार्षिक ३९ हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको र क्यान्सर, मुटुरोग तथा दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगको प्रमुख कारण सुर्ती रहेको उल्लेख गरिएको छ । यस्तो अवस्थामा प्रभावकारी चेतावनीमूलक चित्र र सन्देश उपभोक्तालाई सचेत गराउने सबैभन्दा प्रभावशाली माध्यम भएको जिकिर गरिएको छ ।
नेपाल पक्ष रहेको विश्व स्वास्थ्य संगठनको तम्बाकु नियन्त्रण महासन्धि (डब्लुएचओ–एफसीटीसी), सुर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ तथा यसअघि सर्वोच्च अदालतबाट भएका फैसलाहरू कार्यान्वयन नहुँदा संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हक उल्लङ्घन भएको दाबी पनि रिटमा गरिएको छ ।
निवेदकहरूले संघ, प्रदेश र स्थानीय तहलाई निर्देशिका कार्यान्वयन गर्न बाध्यकारी आदेश दिन, सुर्तिजन्य उद्योगसँग नीति निर्माणमा साझेदारी नगर्न तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संयोजनमा उच्चस्तरीय अनुगमन समिति गठन गर्न माग गरेका छन् ।
सार्वजनिक स्वास्थ्य र भावी पुस्ताको सुरक्षासँग जोडिएको विषय भएकाले रिटलाई प्राथमिकताका साथ सुनुवाइ गर्न सर्वोच्च अदालतसँग आग्रह गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१२ पुस। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन दर्ता भएका सबै राजनीतिक दललाई कानुनबमोजिम उम्मेदवारको बन्दसूची तयार गर्न अनुरोध गरेको छ। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ तथा प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ अनुसारको विधि, प्रक्रिया र आवश्यक प्रमाण कागजात पूरा गरी बन्दसूची तयार गर्न निर्देशन दिएको हो।
आयोगका अनुसार तयार पारिएको बन्दसूची तोकिएको समयभित्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ। आयोगले २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको निर्वाचन कार्यक्रम यसअघि नै निर्धारण गरिसकेको जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम तय गरिएको उक्त कार्यक्रम २०८२ साल ७ महिना ३० गते नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ।
प्रकाशित निर्वाचन कार्यक्रमअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने मिति २०८२ साल ९ महिना १३ र १४ गते तोकिएको छ। राजनीतिक दलहरूले यी दुई दिन अपराह्न ४ बजेसम्म कार्यालय समयभित्र आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची पेस गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ।
यसैगरी, आयोगले राजनीतिक दलहरूले समानुपातिक निर्वाचनका लागि तयार पारेको उम्मेदवारको बन्दसूची निर्वाचन कार्यक्रममा उल्लेख गरिएको समयभित्र पेस गरेपछि वा पेस गर्नुअघि नै सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्न सक्ने जनाएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र तोकिएको समयसीमाको कडाइका साथ पालना गर्न सबै सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१२ पुस। कर्णाली प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा बहुवर्षीय पूर्वाधार आयोजना कार्यान्वयन गर्ने भएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार आवश्यकताका आधारमा आयोजना छनोट गरी यो कार्यक्रम अघि बढाइने भएको छ ।
यसअघि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत योजना कार्यान्वयन हुँदै आए पनि अब यसमा सांसदहरूको संलग्नता रहने छैन। मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार प्रदेश सरकारले नीति परिवर्तन गर्दै ‘एक निर्वाचन क्षेत्र–एक बहुवर्षीय आयोजना’ कार्यक्रम सुरु गर्न लागेको हो। यो कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा चार करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन हुने गरी योजना छनोट गरिनेछ।
आवश्यकताका आधारमा सडक, पुल, विद्यालय भवनलगायतका पूर्वाधारसम्बन्धी योजनाहरू छनोट गरिने मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशमा अझै पनि पर्याप्त पूर्वाधार विकास हुन नसकेकाले दीर्घकालीन प्रभाव पर्ने आयोजनामा जोड दिइने बताइएको छ। गत वर्षदेखि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनमा छैन।
यसैबीच, चालु आर्थिक वर्षमा कार्यान्वयन हुने सडक आयोजनाका लागि प्रदेश सरकारले चार अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ। प्रादेशिक लोकमार्ग, प्रादेशिक सडक तथा अन्य सडक निर्माणका लागि कुल चार अर्ब ३६ करोड रुपैयाँ छुट्याइएको हो। लोकमार्गअन्तर्गत सडक मर्मत तथा निर्माणका योजना अघि बढाइएका छन्।
चालु आर्थिक वर्षमा १२० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यअनुसार सडक पूर्वाधार निर्माणका काम तीव्र रूपमा भइरहेको प्रदेश सरकारले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
सल्यान, ११ पुस । सल्यानको कालिमाटी गाउँपालिकामा बढ्दै गएको बालविवाहको समस्या न्यूनीकरण गर्न विद्यालय र अभिभावक लक्षित सचेतना अभियान सञ्चालन गरिएको छ । “बिहेवारी २० वर्ष पारी” भन्ने सन्देशसहित पालिकाभर यो कार्यक्रम अघि बढाइएको हो ।
गाउँपालिकाका सातै वडामा सञ्चालन गरिएको अभियानमा १० वटा माध्यमिक विद्यालयका १ हजार २५५ जना विद्यार्थी प्रत्यक्ष सहभागी बनेका छन् । यस्तै, ५ सय ४१ जना अभिभावकले पनि कार्यक्रममा सहभागिता जनाउँदै बालविवाहका जोखिम र असरबारे जानकारी लिएका छन् ।
कार्यक्रममा बालविवाहका कारण, यसले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा पार्ने असर, अभिभावक र समुदायको भूमिका, साथै रोकथामका उपाय र कानुनी व्यवस्थाबारे जानकारी दिइएको थियो ।
गाउँपालिकाका प्रशासकीय अधिकृत यज्ञबहादुर खत्री र इलाका प्रहरी कार्यालय कालिमाटीका प्रहरी वरिष्ठ नायब निरीक्षक कुलबहादुर खड्काले प्रशिक्षण दिएका थिए ।
कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्री केसीको अगुवाइमा सञ्चालित कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफू बालविवाह नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागी अभिभावकहरूले पनि सामाजिक दबाब र ‘कुरा मिलाउने’ चलनका कारण बालविवाह हुँदै आएको स्वीकार्दै अबदेखि सचेत भई यसको अन्त्यका लागि भूमिका खेल्ने बताएका छन् ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार २० वर्ष नपुगी विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुने र कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
बालविवाह भएको थाहा पाएमा विवाह भएको तीन महिनाभित्र जो कोहीले पनि उजुरी दिन सक्ने प्रावधान रहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ पुस । विद्यार्थी सवार जीप दुर्घटना हुंदा अर्घाखाँचीमा एकजनाको मृत्यु भएको छ। जिल्लाको भूमिकास्थान नगरपालिकामा विद्यार्थी सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी लिएर भूमिकास्थान–१० धनचौरबाट नुवाकोटतर्फ जाँदै गरेको लु२च ५१७९ नम्बरको जीप भूमिकास्थान–७ छिर्लिङ खोलानजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा जीप चालक धनचौर निवासी ४५ वर्षीय रुद्रबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।
पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन गएका विद्यार्थी सवार जीप दुर्घटनामा परेको हो । दुर्घटनापछि प्रतियोगिताअन्तर्गत आज (पुस ११) का सबै खेल स्थगन गरिएको भूमिकास्थान नगरपालिकाले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१० पुस। अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमै हुने बताए।
बिहीबार एक कार्यक्रममा बोल्दै उनले निर्वाचन गराउन सरकार पूर्ण रूपमा तयार रहेको भने। उनले अफवाह र हल्लाको पछि नलाग्न आम नागरिकलाई आग्रह गरे। “सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ, भ्रममा नपर्न म सबैलाई आग्रह गर्छु,” उनले भने।
खनालले अहिलेको सरकार जेनजी आन्दोलनपछि बनेको बताए। उनले सरकारको मुख्य जिम्मेवारी निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गरे। निर्वाचनपछि देशको अर्थतन्त्र बिस्तारै सुधार हुँदै जाने विश्वास पनि उनले व्यक्त गरे।
कार्यक्रममा ४७ वर्षदेखि रोकिएको अस्पतालको जग्गा दर्ता प्रक्रिया हालै पूरा भएको जानकारी दिइयो। खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले ४७ दिनमै एक करोड २४ लाख रुपैयाँ लाभकर मिनाहा गरी दाता मुरारका र शारडा परिवारको चाहना पूरा गरेको बताए।
दाता परिवारका तर्फबाट मुरारीलाल मुरारका र पवनकुमार शारडाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलले ४७ वर्षदेखि अड्किएको काम पूरा भएको भन्दै सरकारलाई धन्यवाद दिए।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, दाता परिवारका प्रतिनिधि, उद्योगी–व्यापारी र अस्पताल व्यवस्थापनका पदाधिकारीको उपस्थिति थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१० पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा देखिएका राजनीतिक, प्रशासनिक तथा कानुनी जटिलता समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने जनाएको छ ।
नवौँ केन्द्रीय समितिको चौथो विशेष बैठकका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव नेत्रविक्रम चन्दले समस्या यथावत् राखेर गरिने निर्वाचनले देशलाई निकास नदिने स्पष्ट पारे ।
महासचिव चन्दले समाजवादी सङ्घीयताअनुरूप राज्य संरचना निर्माण गर्नुपर्ने, अग्राधिकारसहितको सङ्घीय व्यवस्था लागू गर्नुपर्ने र राज्यका सबै अङ्गलाई जनताले अपनत्व महसुस गर्ने गरी पुनःसंरचना गर्नुपर्ने पार्टीको दृष्टिकोण रहेको बताए ।
अन्तरिम कालको नेतृत्व आफ्नो पार्टीलाई दिइए आन्दोलनकारी जनता सहित सबै राजनीतिक शक्तिलाई स्वीकार्य हुने गरी निकास खोजिने उनको भनाइ थियो । यदि त्यो सम्भव नभए राजनीतिक शक्तिहरूबीच सहमतिका आधारमा उपयुक्त समाधान निकाल्नुपर्ने उनले जोड दिए ।
जेन–जी विद्रोहपछि पनि जनताले उठाएका मुद्दाहरू सम्बोधन हुन नसक्नु दुःखद भएको उल्लेख गर्दै उनले सरकारलाई निर्वाचनमा मात्र केन्द्रित नहुन आग्रह गरे ।
भ्रष्टाचार अन्त्य, भ्रष्टाचारीलाई कारबाही र सुशासन प्रवर्द्धनमा गम्भीर रूपमा लाग्नुपर्ने उनको सुझाव थियो ।
महासचिव चन्दले भ्रष्टाचारको अन्त्य, संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था जेन–जी आन्दोलनको मुख्य म्यान्डेट भएको स्मरण गराउँदै पछिल्लो अन्तरिम सरकारले चुनावलाई मात्रै प्राथमिकता दिँदा ती एजेन्डा ओझेलमा परेको टिप्पणी गरे ।
२२ सय व्यक्ति फरार सूचिमा
लक्ष्मण बस्नेत,९ पुस। ज्ञान ज्योति इन्ट्रा कलेज टि-२० क्रीकेट प्रतियोगिता-२०८२ को उपाधि ज्ञान ज्योति स्नातक दोस्रो वर्षले जितेको छ ।
ज्ञान ज्योति फाउन्डेसनको आयोजनामा फाउन्डेसन मैदान गोलौरामा आज सम्पन्न फाईनल खेलमा ज्ञान ज्योति बिज्ञान संकाय ए टिम लाई २८ रनले पराजित गर्दै स्नातक दोस्रो वर्ष टिमले उपाधि जितेको हो ।
उपाधि संगै उसले नगद १५ हजार र ट्रफि हात पार्यो । फाईनलमा पराजित बिज्ञान संकाय ए टिम उपबिजेतामा सिमित रहदै नगद १० हजार र ट्रफीमा चित्त बिझाउन बाध्य भयो ।
टस जितेर ब्याटिङ गर्ने सुनौलो अवसर पाएको स्नातक दोस्रो वर्ष टिमले १५ ओभरको समाप्तिमा १०४ रन बनाउन सफल भयो । जसमा बिजय डागिले सर्वाधिक ३१ रनको योगदान दिए भने निराजले १५ रन जोड्न सफल भए । बलिङ तर्फ बिज्ञान संकाय ए का सागर रिजालले ४ विकेट लिए ।
प्रतिउत्तरमा १०५ रनको लक्ष्य पछ्याएको बिज्ञान संकाय ए १३ दशमलव ४ ओभरमा अलआउट हुँदै ७६ रनमा सिमित भयो । जसमा समीर नेपालीले ब्याक टु ब्याक ४ छक्का प्रहार गर्दै सर्वाधिक ४४ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यान खासै चल्न सकेन् ।
प्रतियोगिताको म्याच द फाईनल स्नातक दोस्रो वर्षका सागर रिजाल भए । प्रतियोगिता अवधिभर अम्पायरको भुमिकामा सुदिप नेपाली, गोपाल केसी,बिपिन बस्नेत र निश्चल लामिछाने रहेका थिए।
यसैबिच प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह ज्ञानज्योती कलेजका भाईस प्रीन्सिपल मनोज केसीको अध्यक्षता तथा युवा संजाल दाङका अध्यक्ष ऋषिराज लहरे अरुणको प्रमुख आतिथ्य एवं दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतको विशिष्ट आतिथ्यमा भएको थियो ।
कार्यक्रममा ज्ञानज्योती कलेजका एकेडेमिक कोर्डिनेटर शरद गौतम, आदर्श एकेडेमिका प्रीन्सिपल वसन्त टन्डन लगाएतले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा प्रतियोगिताका बिजेता, उपविजेता टिम तथा खेलाडी, ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने प्लेयर अफ द टुर्नामेट बिजय डागी, वेष्ट ब्याट्म्यान गोपाल केसी,वेस्ट बलर सागर रिजाल लाई ट्रफी, मेडल, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
पुस ३ गते देखि सुरु भएको प्रतियोगितामा फाउन्डेसनका ९ टिमको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन ज्ञान ज्योति कलेजका शिक्षक सन्तोष केसीले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ पुस। दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयले उपकुलपति प्रा।डा। धनेश्वर नेपालमाथि लगाइएका आरोपहरू कपोलकल्पित, प्रमाणहीन र भ्रामक भएको स्पष्ट पारेको छ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. भोजराज जोशीले जारी गरेको विज्ञप्तिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) को नाममा पुस ६ गते प्रकाशित विज्ञप्तिमार्फत् उपकुलपति प्रा.डा. नेपाल र कुलसचिव माधवप्रसाद अधिकारीमाथि लगाइएका आरोपहरू निराधार रहेको उल्लेख गरिएको छ।
पुस ६ गते बिहान उपकुलपति नेपालको निवासमै पुगेर मोसो दल्ने तथा कुटपिट गर्ने जस्ता दुर्व्यवहारका घटना भएका थिए। घटनापछि नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश समिति इञ्चार्ज प्रेमप्रशान्त बोहराले विज्ञप्तिमार्फत् घटनाको जिम्मेवारी लिँदै उपकुलपति नेपालमाथि आठ बुँदे आरोप लगाएका थिए।
ती आरोपमध्ये विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीमाथि भ्रष्टाचारको अभियोग लागेको अवस्थामा उपकुलपति नेपालले रकम असुली पुनः रजिष्ट्रारमा सिफारिस गरेको भन्ने आरोपलाई शिक्षाध्यक्ष जोशीले पूर्ण रूपमा खण्डन गरेका छन्। उनले यस्ता दाबीहरू मिथ्या र कपोलकल्पित भएको बताएका छन्।
विज्ञप्तिमा शिक्षाध्यक्ष जोशीले पूर्वाग्रह, गलत सूचना र स्वार्थी तत्वबाट फैलाइएका अप्रमाणित स्रोतमा भरोसा नगरी सत्य र सही सूचनाका आधारमा धारणा बनाउन सबै पक्षलाई आग्रह गरेका छन्। साथै, प्राज्ञिक संस्थाको मूल्य, मर्यादा र गरिमा जोगाउन सहयोगी भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ।
शिक्षाध्यक्ष जोशीले उपकुलपतिको निवासमा अनधिकृत प्रवेश गरी नेपाल कम्युनिस्ट पार्टी ९(बहुमत) तथा सोसँग सम्बद्ध विद्यार्थी संगठनका नाममा उपकुलपति प्रा.डा. नेपाल, उपप्रशासक खिमबहादुर केसी र उपकुलपतिका स्वकीय सचिव चोलेन्द्र रिजालमाथि सुनियोजित रूपमा गरिएको दुर्व्यवहार र आक्रमणको कडा निन्दा गरेका छन्।
घटनाले विश्वविद्यालयको शान्त, मर्यादित र शैक्षिक वातावरणमा प्रत्यक्ष असर पारेको जनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायसँग माग गरिएको छ। साथै, विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी तथा विभिन्न पेसागत संगठनका प्रतिनिधिहरूले पनि घटनाप्रति दुःख व्यक्त गर्दै निन्दा गरेका छन्।
नेपाल संस्कृत विश्वविद्यालय संस्कृत, संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा अध्ययन–अनुसन्धानमा निरन्तर सक्रिय ऐतिहासिक शैक्षिक संस्था भएको उल्लेख गर्दै यस्ता हिंसात्मक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने विज्ञप्तिमा भनिएको छ।
विश्वविद्यालयले सबै समस्या वार्ता, संवाद र सहमतिमार्फत समाधान सम्भव हुने विश्वास व्यक्त गर्दै शैक्षिक संस्थाको गरिमा, मूल्य र मर्यादा कायम राख्न सबै पक्षलाई संयम र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस