काठमाडौ,१८ कार्तिक। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले महाधिवेशन नगरी चुनावमा जान नहुने बताएका छन्। उनले २२ भदौअघि र हालको राजनीतिक परिस्थिति फरक रहेको उल्लेख गर्दै नयाँ नेतृत्व चयन गरेर मात्र जनतामाझ जानुपर्ने आवश्यकता औंल्याए।
केन्द्रीय समितिको बैठकमा धारणा राख्दै महामन्त्री थापाले महाधिवेशन कांग्रेसलाई जनतासँग जोडिने मञ्च भएको बताउँदै भने, –“हामी आन्दोलनको अग्रपंक्तिमा हुने पार्टी हौं, तर अहिले आन्दोलन हाम्रो विरुद्धमा छ।”
उनका अनुसार अहिले कांग्रेस एक किसिमले सडकमा फ्यालिएको अवस्थामा पुगेको छ। “कार्यकर्ता र शुभेच्छुकको प्रश्न हामीप्रति छ। यी प्रश्नहरूको जवाफ नदिई अघि बढ्यौं भने मतदाताले मतदानकै माध्यमबाट हाम्रो उत्तर दिनेछन्,” थापाले चेतावनीस्वरूप भने।
थापाले मतदाताले कांग्रेसका उम्मेदवारहरू भोट माग्न आउँछन् भनेर कुर्दैनन् भन्दै पार्टीप्रतिको असन्तुष्टि समाधान गर्नुपर्नेमा जोड दिए। “जनता हामीलाई भोट दिन आतुर भएर बसेका छैनन्, पार्टीका कमिटीहरूले पनि पर्खेर बसेका छैनन्,” उनले स्पष्ट पारे।
जेनजी आन्दोलनलाई पूर्ण रूपमा प्रायोजित थियो भनेर छुट नपाउने उल्लेख गर्दै उनले पार्टीले आफ्ना गल्तीहरूबाट सिक्नुपर्ने बताए।
त्यस क्रममा थापाले सभापति शेरबहादुर देउवाले पार्टीलाई सच्याउने र पुनर्गठन गर्ने जिम्मा दिएर उपचारका लागि सिंगापुर गएको जानकारी पनि दिए।
देश अहिले तीन विकल्पको मोडमा रहेको बताउँदै थापाले भने, “देश हिंसाको दिशामा जान सक्छ, अहिलेको जस्तै अवस्थामा रहन सक्छ, वा जनभावनालाई समेटेर नयाँ दिशा दिन सक्छ। यीमध्ये तेस्रो विकल्प कांग्रेसले अगुवाइ गर्नुपर्छ।”
थापाले पार्टीले विगतमा आफैंले नेतृत्व नगरेका आन्दोलनहरूलाई पनि संस्थागत गर्दै आएको स्मरण गराउँदै निष्कर्षमा भने, “यो अनिश्चितताको घडीमा कांग्रेसले ‘हामी छौं, हामीले सम्हाल्छौं’ भन्ने आत्मविश्वास देखाउनैपर्छ।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१८ कार्तिक ।प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र निःशुल्क बनाउन नीतिगत पहल आवश्यक रहेको बताएकी छन् । वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई सम्मानजनक र जिम्मेवार बनाउन सरकारले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिईन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेकी प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई सीप विकासमार्फत दक्ष जनशक्ति बनाउनुपर्ने बताईन् । उनका अनुसार वैदेशिक रोजगारीबाट आर्जित सीप, पूँजी, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सरकार नीति अवलम्बन गरिरहेको छ ।
प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेका ‘कल सेन्टर’ र ‘टेलिमेडिसिन’ सेवा श्रमिकको हितका लागि प्रभावकारी रहेको बताउँदै सबै कल्याणकारी सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने बोर्डको प्रयास प्रशंसनीय भएको उल्लेख गरिन् ।
उनले वैदेशिक रोजगारीको विकल्पका रूपमा स्वदेशमै सम्मानजनक रोजगारीका अवसर सृजना गर्न, सीपआधारित उद्यम विस्तार गर्न र पुनःएकीकरणका कार्यक्रमहरू बलियो बनाउन मन्त्रालयलाई कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिईन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१८ कार्तिक । उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । दर्जनौँ घाइते भएका छन् भने कतिपय क्षेत्रमा पहिरो खस्दा घरहरू ध्वस्त र प्रमुख सडक अवरुद्ध भएका छन् ।
भूकम्पको केन्द्र समानगन प्रान्तको खुल्म क्षेत्र, करिब २८ किलोमिटर गहिराइमा रहेको बताइएको छ । समानगन, बाल्ख, सार-ए-पोल, बागलान र कुन्दुजमा ठूलो क्षति पुगेको अधिकारीहरूले जनाएका छन् । विशेष गरी काबुल र मजार-ए-शरीफ बीच पर्ने पहाडी बस्तीहरू बढी प्रभावित भएका छन्, जहाँ माटो–इँटाका कम तल्लाका घरहरू ठूलो संख्यामा भत्किएका छन् ।
आफ्नो घर भत्किँदा बुहारी गुमाएका स्थानीय गुलाबुद्दिनले भावुक हुँदै भने, “राति १ बजेतिर भूकम्प गएपछि म त बाहिर निस्किन भ्याएँ, तर मेरी बुहारी ज्यान जोगाउन सकिनन् । उनी गर्भवती थिइन्, विवाह भएको १० महिना मात्रै भएको थियो । अब न घर बाँच्यो, न बस्ने ठाउँ नै छ ।”
चाइना मिडिया ग्रुपद्वारा कैद दृश्य अनुसार काबुल–मजार राजमार्गमा चट्टान खस्दा सडक बन्द भएको छ । केही सवारी साधन भग्नावशेषमा पुरिएपछि यात्रुहरू बीचमै अलपत्र परेका छन् ।
अफगान स्वास्थ्य मन्त्रालयका अनुसार उद्धार टोलीहरू घटनास्थलमा परिचालन भइसकेका छन् । अस्पतालहरूलाई उच्च सतर्कतामा राखिएको छ । भूकम्पमा परेर घाइते भएका नुर मोहम्मदले भने, “कम्पनका बेला म दोस्रो तलाबाट खस्न पुगें । अहिले उपचार भइरहेको छ ।”
भारतीय र युरेसियन प्लेटको सङ्घात क्षेत्र नजिक रहेको अफगानिस्तान उच्च भूकम्पीय जोखिमयुक्त मुलुक मानिन्छ । यस वर्षकै अगस्ट ३१ मा पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पमा २,२०० भन्दा बढीले ज्यान गुमाएका थिए । सन् २०२३ मा पनि उत्तरपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पले हजारौँको ज्यान लिएको इतिहास छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१८ कार्तिक । लामो समयदेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्ड छपाइ प्रक्रिया पुनः सुरु भएको छ। सरकारको निर्देशनमा यातायात व्यवस्था विभागले सोमबारदेखि अति आवश्यक परेका सेवाग्राहीहरूको लागि लाइसेन्स छाप्ने कार्य अघि बढाएको हो।
विभागका निर्देशक नरहरि तिवारीका अनुसार सुरक्षण मुद्रण केन्द्रलाई करिब १ हजार सेवाग्राहीहरूको डाटा पठाइएको छ। विभागले दैनिक पाँच सयदेखि एक हजारको दरले डाटा उपलब्ध गराउने योजना बनाएको छ। केन्द्रले अर्को हप्तादेखि कार्ड छाप्न सुरु गर्ने तयारी गरेको छ।
“ अति आवश्यक परेका सेवाग्राहीहरूको लागि लाइसेन्स कार्ड छाप्ने प्रक्रिया सुरु भएको हो,” तिवारीले बताए। उनका अनुसार दुई महिनाभित्र करिब १२ लाख सेवाग्राहीहरूको डाटा मुद्रण केन्द्रमा पठाइनेछ।
विदेशमा अध्ययन गर्न, वैदेशिक रोजगारीमा जान तथा शान्ति सेनामा सहभागी हुन लागेकाहरूका लागि प्राथमिकताका साथ लाइसेन्स उपलब्ध गराइने विभागले जनाएको छ। यस्तै सेवाग्राहीहरूले विभागको कार्यालयमा गई फाराम भरेर तत्काल कार्डको लागि आवेदन दिन सक्नेछन्।
‘जेनजी आन्दोलन’का क्रममा विभागको लाइसेन्स छाप्ने मेसिन र प्रणाली जलेपछि सेवा ठप्प भएको थियो। यसले हजारौं सेवाग्राहीलाई समस्या पारेपछि विभागले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेको हो।
सुरक्षण मुद्रण केन्द्र सम्बन्धी ऐन–२०८१ अनुसार बैंकनोट, पासपोर्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र र लाइसेन्स कार्डजस्ता सरकारी कागजात केन्द्रकै मार्फत छापिने व्यवस्था गरिएको छ।
विभागका अनुसार हालसम्म ३५ लाख सेवाग्राहीले लाइसेन्स कार्ड पाइसकेका छन् भने २५ लाख भन्दा बढी अझै पर्खाइमा छन्। हाल केन्द्रसँग १२ लाख कार्ड छाप्ने सम्झौता भएको छ।
यसअघिका कार्डमा रहेको चिप्स हटाएर नयाँ कार्डमा क्युआर कोड राखिएको छ। कार्डमा १८ वटा सुरक्षण फिचर हुने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार गरिने निर्देशक तिवारीले बताए।
उनका अनुसार छपाइ सम्पन्न भएपछि विभागले केन्द्रलाई प्रति कार्ड २२५ रुपैयाँ प्रदान गर्नेछ। यद्यपि सेवाग्राहीबाट शुल्क उठाउने जिम्मा प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमै रहनेछ।
विभागले निकट भविष्यमै अनलाइनबाट फाराम भर्ने, राजस्व बुझ्ने र परीक्षा प्रणाली पनि पुनः सुरु गर्ने तयारी गरेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १८ कार्तिक । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत बेलझुण्डी रंगशाला गेट नजिक सिमेन्ट बोकेको ट्रक सोमबार राति दुर्घटनामा परेको छ।
ना.६ ख ४७७० नम्बरको सोना श्री सिमेन्ट बोकेको ट्रक सडकको मोडमा नियन्त्रण गुमाएर सडक छेउमा पल्टिएको स्थानीयले बताएका छन्। दुर्घटनामा मानवीय क्षति नभए पनि ट्रक र त्यसमा रहेको सिमेन्टमा क्षति पुगेको छ।
घटनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली राति नै घटनास्थल पुगेको र ट्रक तथा मालसामानको सुरक्षा गर्दै सडकमा भएको ट्राफिक अवरोध हटाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी छ।
२२ सय व्यक्ति फरार सूचिमा
सप्तरी, १७ कार्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमस्थित मुसहर बस्तीमा झाडापखालाको प्रकोप फैलिँदा एक साताभित्र एकै परिवारका तीन जनाको ज्यान गएको छ। थप संक्रमण फैलिन नदिन सोमबारदेखि सो बस्तीलाई ‘सिल’ गरी उपचार कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार बस्तीका मानिसलाई बाहिर जान रोक लगाइएको छ र आवश्यक वस्तु त्यहीँमै उपलब्ध गराइने व्यवस्था गरिएको छ। उनले भने, “आइतबारदेखि स्वास्थ्यकर्मीको टोलीले स्थलगत उपचार सुरु गरिसकेको छ, अहिले अवस्था नियन्त्रणमा आइसकेको छ, आत्तिनुपर्ने स्थिति छैन।”
दिसा नमुना परीक्षणका क्रममा नौ जनामध्ये तीन जनामा हैजा (कोलेरा) पोजेटिभ देखिएको छ। ती नमुना प्रादेशिक प्रयोगशाला जनकपुरधाम पठाइएको छ। पोजेटिभ देखिएका व्यक्तिहरूमा स्थानीय सुरज सदाका तीन वर्षीय छोरा मनीष, शिवकुमार सदाका सात वर्षीय छोरा अमन र सुबोध सदाकी ३० वर्षीया श्रीमती रेखादेवी सदा रहेका छन्।
तीनै जनाको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ र उनीहरूको स्वास्थ्य सुधारोन्मुख रहेको अध्यक्ष चौधरीले बताए। गाउँपालिकाले विपद् व्यवस्थापन समितिको निर्णयअनुसार २४ घण्टा उपचारका लागि चार जना स्वास्थ्यकर्मी खटाएको छ।
हैजा फैलिएको वडाका विद्यालयहरू तीन दिनका लागि बन्द गरिएका छन्। दूषित पानीको स्रोत बन्द गरी प्रशोधित पानी वितरण थालिएको छ।
झाडापखालाबाट ज्यान गुमाएका बुचन सदाको परिवारलाई राहत सामग्री र किरिया खर्चका लागि सहयोग गरिएको अध्यक्ष चौधरीले जानकारी दिए। कात्तिक ६ गते उनका एक वर्षीय छोरा सञ्जीव, ११ गते ६८ वर्षीय बुवा लक्ष्मण र १४ गते चार वर्षीया छोरी राघिनीको मृत्यु भएको थियो।
सदाय समुदाय ऐलानी जमिनमा बसोबास गर्दै आएको र अधिकांशको जीविकोपार्जन मजदुरीमा निर्भर रहेको छ। सरसफाइको कमी नै रोग फैलिनुको मुख्य कारण भएको अध्यक्ष चौधरीको भनाइ छ। उनले भने, “हामीले साबुन, स्यानिटाइजर र नेल कटर वितरण गरेर प्रयोग गर्न सिकाएका हौं, तर उनीहरूले सरसफाइलाई प्राथमिकता नदिँदा समस्या दोहोरिने गरेको छ।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, १७ कार्तिक। केही दिनअघिको अविरल वर्षा र हिमपातका कारण मनास्लु क्षेत्रमा पदयात्रा र आरोहणका लागि पुगेका पर्यटकहरू कठिनाइमा परेका छन्। हिमपहिरो र ढुंगापातका घटनामा परेर केही पर्यटक घाइते भएका छन् भने केही बेपत्ता रहेका छन्।
सामागाउँबाट फर्कंदै गर्दा गत शुक्रबार चुमनुव्री गाउँपालिका–३ न्याकफेदीमा माथिबाट खसेको लेदो पहिरोमा परेर चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा बेपत्ता भएकी छन्। स्थानीयको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजी कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
यसैबीच, पाङबारी हिमाल आरोहणका क्रममा हिमपातमा फसेका दुई इटालियन नागरिक अझै सम्पर्कविहीन छन्। ६७ वर्षीय स्टेफानो फारोनाटो र ३७ वर्षीय एलेस्यान्ड्रो गपुटो सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ। उनीहरूसँगै गएका अन्य एक इटालियन र तीन नेपालीको भने उद्धार गरिएको छ।
प्रहरीका अनुसार उनीहरू यही कात्तिक १२ गतेदेखि सम्पर्कविहीन भएका हुन्। मौसम बिग्रिएपछि उनीहरूले क्याम्प बनाएर बसेका थिए तर त्यसपछि सम्पर्क टुटेको बताइन्छ। काठमाडौंबाट खटिएको पर्वतीय खोज तथा उद्धार टोली हेलिकोप्टरमार्फत साम्दो पुगेर खोजी कार्यमा जुटेको छ।
त्यस्तै, चुमनुव्री गाउँपालिका–५ बुर क्षेत्रमा माथिबाट खसेको ढुंगाले लागेर काठमाडौं टोखा नगरपालिका–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल गम्भीर घाइते भएका छन्। मौसम खराबीका कारण तीन दिनसम्म उद्धार हुन नसके पनि अन्ततः सिम्रिक एयरको हेलिकोप्टरमार्फत उनको उद्धार गरी काठमाडौं पुर्याइएको प्रहरीले जनाएको छ।
मौसम खुल्नासाथ मनास्लु क्षेत्रमा अलपत्र परेका अन्य पर्यटकहरूको उद्धार पनि धमाधम भइरहेको छ। हिजोआज हेलिकोप्टरमार्फत लगातार उद्धार उडान भइरहेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले पनि उद्धारमा सहयोग गरिरहेको छ।
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार कात्तिक २ देखि १६ गतेसम्म २ हजार ५३४ जना पर्यटक उक्त क्षेत्रमा पुगेका थिए। तीमध्ये करिब २ हजार जनाको उद्धार भइसकेको र अरूको उद्धार कार्य जारी रहेको प्रहरी स्रोतले जनाएको छ।
यसैबीच, अविरल वर्षाका कारण चुमनुब्री गाउँपालिका–३ पाङसिङमा लेदो सहितको पहिरोले चार घरमा क्षति पुर्याएको छ। स्थानीय जुकबहादुर गुरुङ, सर्किनी गुरुङ, धन्डुक गुरुङ र कमला गुरुङका घर पहिरोले क्षतिग्रस्त भएका हुन्। पहिरोले केही पशुचौपाया र घरायसी सामग्री बगाएको र पीडितहरू हाल आफन्तको घरमा आश्रय लिइरहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ ,१७ कार्तिक । ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन्। सुशीला कार्की नेतृत्वको गैरदलीय सरकारमा तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका घिसिङले राजीनामा दिएर नयाँ दल दर्ता गर्ने तयारी गरेका हुन्।
हाल घिसिङले भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। उनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसहित केही दिनभित्रै नयाँ दल दर्ता गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।
कार्की नेतृत्वको सरकार गैरदलीय भएकाले नयाँ दलमा आबद्ध भएपछि नैतिक प्रश्न उठ्ने भन्दै घिसिङले दल दर्ताका लागि निवेदन दिनुअघि नै मन्त्री पदबाट राजीनामा दिने तयारी गरेको बताइएको छ।
केही दिनअघि बालुवाटारमा सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले मन्त्रीहरूलाई चुनाव लड्ने तयारीबारे सोध्दा अरू मन्त्रीले आफूहरू त्यस्तो तयारीमा नरहेको प्रतिक्रिया दिएका थिए। तर, घिसिङले कुनै प्रतिक्रिया नदिई मौन बसेका थिए।
घिसिङ नेतृत्वमा गठन हुन लागेको नयाँ दलमा रास्वपा छाडेकी सुमना श्रेष्ठ र सागर ढकाल सहभागी हुने भएका छन्। आउँदो फागुन २१ गतेका लागि तय गरिएको चुनावी प्रयोजनका लागि दल दर्ता गर्न कात्तिक ३० गतेसम्मको समय तोकिएको छ।
निकट स्रोतका अनुसार कुलमान नेतृत्वको दललाई ‘जेनजी पार्टी’ नाम दिएर अघि बढाउने योजना रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ १७ कार्तिकनेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ। बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई डीआईजीमा पदोन्नति गरिएको हो।
गृह मन्त्रालय स्रोतका अनुसार भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्ले डीआईजीमा बढुवा भएका छन्।
गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको बढुवा समितिले केही दिनअघि उनीहरूको नाम सिफारिस गरेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
सल्यान,१७ कार्तिक । सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ४१२ जनाले स्वास्थ्य सेवा लिएका छन्।
दुई स्थानमा आयोजना गरिएको शिविरमा २५७ जना महिला र १५५ जना पुरुष सहभागी भएको दार्मा गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय सल्यानको सहयोगमा शनिबार वडा नं. ३ र आइतबार वडा नं. ५ मा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालका अनुसार उच्च ज्वरो आएका १५८ जनाको रगत परीक्षण गर्दा ५१ जनामा स्क्रब टाइफस र २ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ।
पहिलो दिन १४६ महिला र १०१ पुरुष गरी २४७ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। ज्वरोका लक्षण देखिएका ६७ जनाको रगत परीक्षण गर्दा २३ जनामा स्क्रब टाइफस र एक जनामा डेंगी पुष्टि भएको थियो। दोस्रो दिन १११ महिला र ५४ पुरुष गरी १६५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। तीमध्ये ज्वरो भएका ९१ जनाको रगत परीक्षण गर्दा २८ जनामा स्क्रब टाइफस र एक जनामा डेंगी पाइएको जनस्वास्थ्य अधिकृत रिजालले जानकारी दिए।
हाल गाउँपालिका र आसपासका क्षेत्रमा उच्च ज्वरो र अज्ञात रोगका कारण स्थानीयहरू प्रभावित भएका छन्। रोगको पहिचान र नियन्त्रणका लागि गाउँपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीका अनुसार उच्च ज्वरोका कारण मृत्यु समेत भएका र यसले स्थानीयमा त्रास फैलिएको अवस्थामा गाउँपालिकाले स्वास्थ्य जोखिम न्यूनीकरणका लागि पहल थालेको हो। उनका अनुसार, शिविरबाट रोगको प्रारम्भिक पहिचान, स्वास्थ्य जनचेतना अभिवृद्धि र समस्या समाधानमा सहयोग पुगेको छ।
स्वास्थ्य सेवा कार्यालय सल्यानको प्रथम त्रैमासिक विवरणअनुसार जिल्लामा १०७ जनामा स्क्रब टाइफस र १२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस