तुलसीपुर महोत्सवमा आज शान्तिश्री परियार र अर्जुन सापकोटा लगायतका कलाकार आउँदै

   फागुन ११, २०८१       admin

दाङ,११ फागुन । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन्।

“स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायन संगै हास्यव्यंग्य प्रस्तुति समेत रहने छ।

महोत्सवको फागुन ११गतेको विशेष आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार, अर्जुन सापकोटा, मोडल दिपा शाही, गायक सन्दिप सेन्चुरी हास्य कलाकार कुलबहादुर ओली, नृत्यङ्गना विविका पोखरेल लगायतका थुप्रै कलाकारहरू रहेको सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी गराए

विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता, तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति समेत समावेश गरिने आयोजकले जनाएको छ।

महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ।

महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवर्द्धन गर्न आयोजकले सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चलचित्र संघद्वारा पत्रकार पुरस्कृत

   फागुन १०, २०८१       admin

दाङ,१० फागुन । चलचित्र पत्रकार संघ दाङले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिताका क्षेत्रमा सक्रिय पत्रकारहरूलाई सम्मान गरेको छ। संघका दाङ जिल्ला अध्यक्ष सन्तोष केसीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पत्रकारिताको महत्वबारे प्रकाश पार्दै भने, “स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिता लोकतन्त्रको आधारभूत स्तम्भ हो। समाजको सही मार्गनिर्देशनका लागि पत्रकारहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन आवश्यक छ।” उनले पत्रकारहरूको सम्मानले समाजमा सशक्त पत्रकारिता विकास गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् रेडियो हाइवेका समाचार सम्पादक लिला शाह, रेडियो प्रकृतिका ओपेन्द्र बस्नेत, अन्नपूर्ण दैनिकका गोपाल शर्मा भट्टराई, गोरक्ष राष्ट्रिय दैनिकका बालाराम खड्का, कान्तिपुर टेलिभिजनका अमर क्षितिज भण्डारी र दीपक कुमाललाई सम्मान गरिएको थियो।

त्यसैगरी, विभिन्न पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको छ। देवालोचन रङ्ग पत्रकारिता पुरस्कार पत्रकार धुव्रराज न्यौपानेलाई नगद एघार हजार एक सय एघार सहित प्रदान गरियो। चमनबहादुर रङ्ग पत्रकारिता पुरस्कार पत्रकार देवेन्द्र बस्नेतलाई पाँच हजार पाँच सय पचपन्न सहित प्रदान गरिएको हो।

भागवत बसन्ता रङ्ग पत्रकारिता पुरस्कार पत्रकार एकराज भण्डारी, भीम टीका रङ्ग पत्रकारिता पुरस्कार पत्रकार जयन्ती चौधरी, चलचित्र पत्रकारिता पुरस्कार पत्रकार झग्गु भण्डारी र मोफसल चलचित्र पत्रकारिता पुरस्कार पत्रकार पूर्ण केसीलाई प्रदान गरियो।

चलचित्र पत्रकार संघ दाङले आगामी दिनमा पनि पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारहरूको पहिचान गर्दै सम्मान तथा पुरस्कृत गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुनचाँदी व्यवसायी संघको पदभार ग्रहण: व्यवसायीका सुरक्षासहित नीतिगत सुधारको माग

   फागुन १०, २०८१       admin

दाङ,१० फागुन ।नेपाल सुनचाँदी व्यवसायी संघ तुलसीपुरको सातौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ।

शनिबार संघका अध्यक्ष हरिकृष्ण बिकको अध्यक्षता तथा नेपाल सुनचाँदी व्यवसाय महासंघका पूर्व अध्यक्ष मोहन सुनारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागी व्यवसायीहरूले व्यवसायी सुरक्षा, खुला सीमाका कारण उत्पन्न आर्थिक अप्ठ्यारा, मजदूरी दर स्थिरता, र नीति निर्माण प्रक्रियामा व्यवसायीहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने माग राखे।

कार्यक्रमका प्रमुख अतिथि मोहन सुनारले वैदेशिक मौद्रिक सञ्चितिकरणका कारण कोटा प्रणालीले व्यवसाय सञ्चालनमा समस्या सिर्जना गरेको बताए।

“सरकारले बिना अध्ययन नीति तथा निर्देशिका बनाउँदा व्यवसायीहरू झन्झटिलो प्रक्रियामा परेका छन्, जसले साना व्यवसायीलाई धराशायी बनाइरहेको छ,” उनले भने। महासंघ व्यवसायिक हकहित संरक्षणका लागि कानुनी ड्राफ्ट तयार पारिरहेको र सरकारका नीतिहरूमा सचेत रहेको उनको भनाइ थियो।

संघका केन्द्रिय उपाध्यक्ष बुद्धि दयालीले व्यवसायीहरूलाई एकजुट भएर संगठनलाई सशक्त बनाउन आग्रह गरे। “व्यवसायीहरू आपसमा एकजुट भए मात्र सरकारले हामीलाई गम्भीरतापूर्वक लिन्छ। नीतिगत सुधारका लागि सामूहिक दबाब आवश्यक छ,” उनले भने।

सुनचाँदी व्यवसाय महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठले सरकारले व्यवसायीहरूलाई तल्लो स्तरको दृष्टिकोणले हेरेको गुनासो गरे। “वार्षिक २५ अर्बभन्दा बढी राजस्व बुझाउँदा पनि सरकारले व्यवसायीलाई प्राथमिकतामा नराख्नु अन्याय हो। कच्चा पदार्थको मूल्य वृद्धिले व्यवसायमा गम्भीर असर पारिरहेको छ,” उनले बताए।

सुनचाँदी व्यवसाय संघ लुम्बिनी प्रदेश सभापति ध्रुवकुमार गहतराजले प्रदेशभर व्यवसायी तथा कालीगढहरूलाई प्रशिक्षण दिनका लागि प्रदेश सरकारसँग पहल भइरहेको जानकारी दिए।

तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशराज भण्डारीले खुला सीमाका कारण कारोबार व्यवस्थापन कठिन भइरहेको बताए। “खुला नाका भएकाले कारोबारको हिसाब राख्न समस्या छ। यसबारे सरकारको स्पष्ट नीति आवश्यक छ,” उनले माग गरे।

मानवअधिकारकर्मी सुशील बस्नेतले पेशागत सुरक्षाका लागि सरकार मौन रहेको भन्दै आपत्ति जनाए। “व्यवसायीहरूको सुरक्षाका लागि प्रभावकारी नीति आवश्यक छ। राज्यले चुप लागेर बस्ने होइन, व्यवसायलाई सुरक्षित बनाउने कानुन ल्याउनुपर्छ,” उनले भने।

कार्यक्रममा केन्द्रिय सदस्यहरूले महासंघलाई व्यवसायी र सरकारबीच पुलको काम गर्नुपर्ने बताए। “टाढाका साना व्यवसायीहरू झनै समस्यामा छन्। उनीहरूलाई समेत समेट्ने गरी नीति तथा निर्देशिका बनाउन महासंघले पहल गर्नुपर्छ,” उनीहरूले सुझाव दिए।

त्रिसिद्धश्वरी राप्ती यातायात समितिका अध्यक्ष सुरेश हमाल, दलित अधिकारकर्मी निर्मल नेपाली, र दलित महिला संघ दाङकी अध्यक्ष लिला विश्वकर्माले सुनचाँदी व्यवसायसँग सम्बन्धित मजदूरहरूको न्यूनतम ज्याला दर निर्धारणका लागि सरकारसँग समन्वय गर्नुपर्ने बताए। “सरकारले सुनचाँदी मजदूरहरूको पारिश्रमिक दर निश्चित गरेमा मात्रै व्यवसायिक स्थायित्व कायम हुन सक्छ,” उनीहरूले भने।

विभिन्न जिल्लाका सुनचाँदी व्यवसायी संघका अध्यक्षहरूले व्यवसायीहरूमाथि भइरहेका आक्रमणबारे गम्भीर ध्यानाकर्षण गराए। “सरकारले व्यवसायी सुरक्षा सुनिश्चित गर्न विशेष नीति ल्याउनुपर्छ। दुर्गम क्षेत्रका व्यवसायीहरू झनै जोखिममा छन्, महासंघले उनीहरूका लागि प्रभावकारी पहल गर्नुपर्छ,” उनीहरूको माग थियो।

कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार लक्ष्मण विश्वकर्माले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

३३ जना बालबालिकालाई पोषिलो आहार वितरण

   फागुन १०, २०८१       admin

दाङ,१० फागुन । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्वास्थ्य चौकीको सहकार्यमा, अजरबैजान एम्बेसीको आर्थिक सहयोग तथा सेवा प्रतिष्ठान नेपालको आयोजनामा “बालबालिकालाई पोसिलो आहार वितरण” कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम उरहरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष प्रभा परियारको अध्यक्षतामा तथा सेवा प्रतिष्ठान नेपालको अध्यक्ष सन्तोष के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा वडा नम्बर ११ का ३३ जना बालबालिकालाई पोषिलो खाना वितरण गरिएको थियो।

माघ २०८१ मा समुदायस्तरमा सञ्चालन गरिएको पोषण अवस्था अध्ययन प्रतिवेदन अनुसार ६ महिनादेखि २४ महिनाभित्रका बच्चाहरू मध्ये ८ प्रतिशतमा मध्यम शीघ्र कुपोषण रहेको तथ्यांक सार्वजनिक भएको थियो। सोही आधारमा ३३ जना बालबालिकालाई पोषण सामग्री वितरण गरिएको हो।

कार्यक्रम अन्तर्गत आमाहरूलाई पोषण परामर्शका साथै ‘हाम्रो खाना र व्यवहार परिवर्तन’ सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रम सञ्चालन जनस्वास्थ्य निरीक्षक शेरबहादुर वि.सी.ले गरेका थिए भने वडा स्तरीय प्रतिवेदन स्वास्थ्य चौकी प्रमुख चित्र बहादुर ओलीले प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लखन कप फुटबलको उपाधिका लागि सिएसए र बिएफएल भिड्ने

   फागुन ०, २०८१       admin

दाङ, ९ फागुन । नेपालका प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृतिमा घोराहीमा जारी खुला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा चौघेरा स्पोर्ट्स एकेडेमी ९सीएसए० र बिएफएल उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा घोराही उपमहानगरपालिका–१८, नवलपुर फुटबल मैदानमा जारी प्रतियोगितामा शुक्रबार सम्पन्न दुई सेमिफाइनल खेलबाट फाइनलका प्रतिस्पर्धी तय भएका हुन्।

पहिलो सेमिफाइनल खेलमा चौघेरा स्पोर्ट्स एकेडेमीले युएनबीसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ३९औँ मिनेटमा हेमन्त विकले पहिलो गोल गर्दै चौघेरालाई अग्रता दिलाए। दोस्रो हाफमा सागर पुनले लगातार ह्याट्रिक गोल ९३, ११ र १६ मिनेटमा० गर्दै टिमलाई सहज जीत दिलाए। युएनबीसीका निशान घर्तीले सान्त्वना गोल फर्काए। शानदार प्रदर्शन गरेका सागर पुन खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।

दोस्रो सेमिफाइनलमा बिएफएलले नवलपुर फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो। खेलको पहिलो हाफमा दुवै टिम गोलविहीन रह्यो। दोस्रो हाफको २२औँ मिनेटमा नवलपुरका मौसम थापाले पेनाल्टी एरियामा फल गरेपछि बिएफएलले पेनाल्टीको अवसर प्राप्त गर्यो, जसलाई प्रमोद बुढाले गोलमा परिणत गर्दै टिमलाई विजयी बनाए। उत्कृष्ट प्रदर्शन गरेका प्रमोद ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रतियोगिताको फाइनल खेल फागुन १० गते ९शनिबार० दिउँसो १ बजेपछि नवलपुर फुटबल मैदानमा हुनेछ। प्रतियोगितामा दाङ, सल्यान, र रोल्पाका गरी १६ टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमलाई ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पुरस्कार वितरण कार्यक्रम फागुन १५ गते मगर दिवसको अवसरमा गरिने सहसंयोजक अशोक घर्तीले जानकारी दिए।

नेपाल मगर संघ घोराही नगर समितिले शहीद लखन थापा मगरको सम्मानमा हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। संघका अनुसार खेलकुदको प्रवर्द्धनका साथै शहीदको योगदानलाई स्मरण गराउन प्रतियोगिता आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्थानीय उत्पादनको उज्यालो यात्रा: तुलसीपुर महोत्सवको आकर्षण

   फागुन ०, २०८१       admin

दाङ,९ फागुन । तुलसीपुरको महोत्सवको चहलपहलले महोत्सवको वातावरण तातिएको छ। महोत्सवको मुख्य ढोकाबाट भित्र पस्नेबित्तिकै स्थानीय उत्पादनले भरिएका आकर्षक स्टलहरूले स्वागत गर्छन्। विभिन्न रंगका फूलका गमला, छालाका जुत्ता, बाँसका हस्तकला सामग्री, हसिया(हथौडासहित स्थानीय उत्पादनको सुगन्धले महोत्सवलाई भव्य बनाएको छ।

रैथाने कोसेली घर स्टलभित्र छिर्दा झन् आकर्षण थपिन्छ। बाँसबाट बनाइएका साना(ठूला टोकरीहरू, काँस र मुजबाट निर्मित कलात्मक झोला, थाकलका पातबाट तयार पारिएका पर्यावरणमैत्री झोला र हस्तकलाका सामग्रीहरू झलमल गरिरहेका छन्। तुलसीपुर र दंगीशरणका उद्यमीहरूले निर्माण गरेका यी सामग्रीले स्थानीय सीपको अद्भुत परिचय दिएको छ।

दंगीशरणकी उर्मिला चौधरी मुस्कुराउँदै ग्राहकलाई कलमदानी देखाइरहेकी छन्। उनी भन्छिन्, “पहिले फुर्सद हुँदा यस्तै सामग्री बनाउँथ्यौँ, तर व्यवसायिक रूपमा अघि बढ्न सकेका थिएनौँ। अहिले यिनै हस्तकलाका सामानले राम्रो आम्दानी दिन थालेको छ।” उनका अनुसार स्थानिय स्रोतसाधनको सही सदुपयोग गरेर आत्मनिर्भर बन्न सकिन्छ।

बजारको भीडभाडमा रमाइरहेका ग्राहकहरूको आँखा कौतुहलले चम्किएको देखिन्छ। एकजना युवती बाँसको हस्तकलाका सामग्री छाम्दै भन्छिन्, “यी सामान सस्तो मात्र होइन, मौलिक पनि छन्। अहिले हामी विदेशी सामान प्रयोग गर्छौँ, तर यस्ता स्थानीय उत्पादनले हाम्रो संस्कृति बचाउनेछ।”

महोत्सवको प्रवेशद्वारमै राखिएका स्टलहरू विशेष रूपमा ध्यान तान्ने खालका छन्। दर्शकहरू गेटमै रोकिएर स्थानीय उत्पादन हेर्दै, किन्दै अघि बढिरहेका छन्। विभिन्न हस्तकलाका स्टलहरूले महोत्सवलाई मौलिक र सौन्दर्यपूर्ण बनाएका छन्।

ग्रीन फाउन्डेसन तुलसीपुरका अध्यक्ष घनश्याम पाण्डे स्थानीय उद्यमीहरूलाई हस्तकला तालिम दिन व्यस्त छन्। उनी भन्छन्, “स्थानीय स्रोतको सही सदुपयोग गरेर स्वरोजगार सिर्जना गर्न सकिन्छ। महोत्सवले उत्पादनलाई प्रवर्द्धन मात्र होइन, बजारमा चिनाउन पनि ठूलो मद्दत पुर्‍याएको छ।”

त्यही भिडभाडबीच चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारी नजिकै उभिएका छन्। उनी महोत्सवमा उत्साहित देखिन्छन्। उनी भन्छन्, “स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने हाम्रो लक्ष्य हो। यसपटकका उद्यमीहरू उत्साहित छन्, यो हाम्रो उपलब्धि हो।”

महोत्सवमा स्थानीय उत्पादनका स्टललाई निःशुल्क उपलब्ध गराइएको छ। आयोजकहरूको उद्देश्य केवल व्यापार प्रवर्द्धन मात्र होइन, स्थानीय युवालाई उद्यमशीलता तर्फ आकर्षित गर्ने हो।

दृश्यावलोकन गर्दै एक जना हस्तकलाका सामानहरू नियाल्दै भन्छन्, “हामीले बनाएका यस्ता सामग्रीलाई ठूला शहर र अन्तर्राष्ट्रिय बजारमा चिनाउन सके भविष्य उज्यालो हुने थियो।”

यसरी हेर्दा, तुलसीपुर महोत्सव केवल व्यापारिक गतिविधि मात्र होइन, स्थानीय उत्पादन, उद्यमशीलता, संस्कृति र आत्मनिर्भरतालाई जोड्ने महत्वपूर्ण अभियान पनि हो। हस्तकलाका साना- साना सामग्रीहरू, फूलका गमलाहरू, छालाका जुत्ता र कृषि उत्पादनहरूले महोत्सवलाई स्थानीयपनको जीवन्त तस्वीर बनाएका छन्।

तुलसीपुरमा सुरु भएको यो यात्रा केवल महोत्सवभरि मात्र सीमित छैन। यहाँ उत्पादन भएका सामानहरू अब विभिन्न बजारमा पुगेपछि मात्र यसको वास्तविक प्रभाव देखिनेछ। स्थानीय उत्पादन प्रवर्द्धन गर्ने यो अभियानले स्वरोजगारको सम्भावनालाई उज्यालो बनाउँदैछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर महोत्सवमा आज पशुपति शर्मा आउदै

   फागुन ०, २०८१       admin

दाङ,९ फागुन । तुलसीपुर महोत्सवमा आज चर्चित गायक पशुपति शर्मा, गायिका सिर्जना खत्री “हाउडे माया”, उषा दशौंदी लगायतका कलाकारहरूको दमदार प्रस्तुति रहने भएको छ।

साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागिताले महोत्सव झनै आकर्षक बन्ने अपेक्षा गरिएको छ। “आजको दिन पशुपति शर्मा, सिर्जना खत्री, उषा दशौंदी लगायतका कलाकारहरूले प्रस्तुति दिनेछन्, जसले दर्शकलाई भरपूर मनोरञ्जन दिनेछ,” खड्काले बताए।

तुलसीपुर चेम्बर अफ कमर्स आयोजनामा जारी महोत्सवमा दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। महोत्सवमा कृषि, व्यापार, तथा मनोरञ्जनका विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आज चर्चित कलाकारहरूको प्रस्तुति रहने भएकाले थप दर्शक आकर्षित हुने आयोजकको विश्वास छ।

तुलसीपुर महोत्सव फागुन १ गतेदेखि सुरु भएको हो र यहि फागुन १६ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा एक व्यक्ति मृतफेला

   फागुन ०८, २०८१       admin

दाङ,८ फागुन । दाङको तुलसीपुरमा एक व्यक्ति मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका १ कुमालगाउँ भन्ने ठाउँमा एक व्यक्ति मृत फेला परेका हुन्

बिहिबार बिहान पौने ९ बजे ५५ वर्षीय लोकबहादुर परियार मृत भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आफ्नै घरदेखि करिब ६०० मिटर उत्तरतर्फको बाटोमा अवस्थामा स्थानीयले फेला पारेका हुन्। घटनाबारे स्थानीयले बिहान ९ बजे इलाका प्रहरी कार्यालय खिलतपुरलाई जानकारी गराएका थिए।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक खिमबहादुर खड्काको टोली तत्काल घटनास्थलतर्फ गएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर महोत्सवमा आज ‘हाउसफुल,’

   फागुन ०७, २०८१       admin

दाङ,८ फागुन । तुलसीपुर महोत्सवमा आज दर्शकको अत्यधिक उपस्थिति देखिएको छ। आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार महोत्सव ‘हाउसफुल’ भएको छ।

आजको विशेष सांगीतिक कार्यक्रममा लोकप्रिय गायक पुष्कल शर्मा, गायिका सिम्रन परियार र एमटी महरले प्रस्तुति दिएका छन्। उनीहरूका चर्चित गीतमा दर्शक नाचगान गर्दै रमाएका थिए।

महोत्सव फागुन १ गतेदेखि सुरु भएको हो । महोत्सव फागुन १६ गतेसम्म चल्नेछ। हरेक दिन दर्शकको भीड बढ्दै गएको छ। मेलामा स्थानीय व्यवसायिक स्टलहरू राखिएका छन्, जसले व्यापार प्रवर्द्धनमा टेवा पुर्‍याएको छ।

आयोजकका अनुसार महोत्सवलाई थप व्यवस्थित बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ। दर्शकहरू मनोरञ्जनसँगै किनमेल तथा विभिन्न खानाका परिकारको स्वाद लिइरहेका छन्।

राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले प्रतिदिन दर्शकहरूको भीड बढ्दै गइरहेको महोत्सव सांस्कृतिक समितिका संयोजक सन्तोष खड्काले जानकारी गराए।

भोलि पनि चर्चित कलाकारका साथ स्थानीय कलाकार पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक खड्काले बताए ।

‘महोत्सवले स्थानीय तथा राष्ट्रिय कलाकारहरूलाई प्रस्तुत गर्ने अवसर प्रदान गरिरहेको छ ।’ उनले भने–‘दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ ।’ महोत्सवमा दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम, बाँके लगायतका जिल्लाबाट अवलोकन गर्न आउने गरेका छन् ।

मेला आयोजक तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले स्थानीय उत्पादनको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार, कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको बताए ।

‘हामीहरुले अहिले महोत्सवमा स्थानीय उत्पादन प्राथमिकता दिन निःशुल्क स्टल उपलब्ध गराएका छौँ ।’ उनले भने– ‘अहिले कृषि तथा स्थानीय उत्पादनका स्टल ल्याउनेहरु पनि उत्साहित छ्न ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रजातन्त्र दिवसमा कांग्रेस क्षेत्र नं २ को कार्यक्रम

   फागुन ०७, २०८१       admin

घोराही, ७ फागुन । नेपाली कांग्रेस क्षेत्र नं. २ को आयोजनामा ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस घोराहीमा मनाइएको छ। कार्यक्रममा प्रजातन्त्रको स्थापना, त्यसले हासिल गरेका उपलब्धिहरू तथा प्रजातान्त्रिक संस्कृतिको संवर्द्धनबारे छलफल गरिएको थियो।

कार्यक्रम क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालको प्रमुख आतिथ्यमा सम्पन्न भयो। प्रमुख अतिथि खनालले प्रजातन्त्र दिवस नेपाली जनताले मौलिक अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको उल्लेख गर्दै भने, “नेपाली जनतालाई रैतिबाट नागरिक बनाएको दिन नै प्रजातन्त्र दिवस हो।” साथै, पछिल्लो समय प्रजातन्त्र र पुराना दलहरूविरुद्ध नकारात्मक प्रचार गरिएको भन्दै उनले त्यसप्रति सजग रहनुपर्ने आवश्यकता औंल्याए।

उनले नेपाली कांग्रेसको नेतृत्वमा देशमा प्रजातन्त्र स्थापना भएको र हरेक परिवर्तनमा कांग्रेसले अग्रसरता लिएको स्मरण गराउँदै ती परिवर्तनहरूलाई संस्थागत गर्न कांग्रेसका सबै तहले जुट्नुपर्नेमा जोड दिए।

अन्य वक्ताहरूले पनि प्रजातन्त्रको मर्म जनसामान्यलाई बुझाउन आवश्यक रहेको बताए। उनीहरूले दशकौं बितिसक्दा पनि जनताले प्रजातन्त्रको पूर्ण प्रत्याभूति महसुस गर्न नसकेको उल्लेख गर्दै प्रजातान्त्रिक मूल्य, राष्ट्रियता, र समाजवादलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने धारणा राखे।

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद लोका बिक, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, सचिव अर्जुन योगी, बालिका लम्साल, नेपाली कांग्रेस क्षेत्र नं. २ का सल्लाहकार डा. बिनबहादुर सिंह वली, खड्ग बुढाथोकी, पूर्व क्षेत्रीय सभापति गोविन्द मज्गैयलगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव आर.के. शीतलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology