प्रतिनिधिसभाबाट नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

   फागुन ०५, २०८१       admin

काठमाडौं,५ फागुन । प्रतिनिधिसभाले नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेपछि सदनले अनुमोदन गरेको हो।

सभामुख घिमिरेले अब प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले संशोधन प्रस्ताव पेस गर्न सक्ने जानकारी गराएका छन्।

यसअघि आइतबार विधेयक पारित गर्ने प्रयास भए पनि गणपूरक सङ्ख्या नपुगेका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन।

राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस

सदनको सोमबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सुरक्षा परिषद्को दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन पेस गरेका छन्।

छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० र सातौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/०८१ प्रतिनिधिसभामा प्रस्तुत गरिएको हो।

यसअघि पनि प्रतिनिधिसभामा विभिन्न सरकारी निकायका वार्षिक प्रतिवेदनहरू पेस हुने क्रम जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा प्रधानमन्त्री ओली, प्रदेश सभालाई सम्बोधन गर्दै

   फागुन ०५, २०८१       admin

दाङ, ५ फागुन । लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बाेधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङकाे देउखुरी पुगेका छन ।

मुख्यमन्त्री चेतनरायण आचार्यले प्रधानमन्त्री अाेलिलाई स्वागत गरेका छन । नेपाली सेनाकाे एनए०६७ हेलिकप्टर मार्फत ओली दाङ आएका हुन ।
अहिले प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गरिरहेका छन ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरद्वारा मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनकालागि निमन्त्रण गरिएको थियो । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो ।

यस अघि २०७५ साल बैशाख १६ गते तत्कालिन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गरेका थिए ।भने गत बर्ष फागुनमा तत्कालीन प्रधानमन्ती पुष्पकमल दाहालले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सगरमाथाको १८ औं वार्षिकोत्सब सम्पन्न

   फागुन ०३, २०८१       admin

दाङ,३ फागुन । सगरमाथा बालबाटिका इङ्लिस स्कुलको १८ औं वार्षिकोत्सब सम्पन्न भएको छ। विद्यालय संचालक समितीका अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि खड्काले शिक्षा मात्र नभई संस्कार, भाषा र अनुशासन सिकाउन जरुरी रहेको उल्लेख गरे। अभिभावक बालबालिकाको पहिलो शिक्षक भएको बताउदै परिवारबाटै असल संस्कारको बिकास गराउन आग्रह गरे। पछिल्लो समय बालबालिकाहरू मोबाइलको लतमा फस्दै गएको र यसले मानसिक समस्या निम्त्याउन सक्ने भन्दै यसप्रति अभिभावक सचेत हुनुपर्ने बताए।

“घर भनेको संस्कार, अनुशासन र जिम्मेवारी सिकाउने थलो पनि हो। अनि अभिभावक पहिलो शिक्षक हुन्, जसले आफ्नो सन्तानलाई सही मार्गदर्शन दिनुपर्छ। उनले भने-“मोबाइलको दुरुपयोगले बालबालिकामा मनोसामाजिक समस्या बढ्दै गएको छ, जसमा अभिभावकले विशेष ध्यान दिनुपर्छ।”

उनले बालबालिकालाई उत्पादनशील बनाउन विद्यालय शिक्षालाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिए। विद्यालयहरुले प्राविधिक शिक्षामा ध्यान नदिदा विश्व बजारमा नेपाली युवाहरुले श्रम बेच्न बाध्य भएको बताउदै नेपालको माटोमै घुलमिल हुन सक्नेखालको शिक्षा अहिलेको आवश्यकता रहेको औल्याए।

“हाम्रो शिक्षा प्रणाली यस्तो हुनुपर्छ, जसले विद्यार्थीलाई नेपालमै अवसर दिलाओस्। प्राविधिक तथा व्यवसायिक शिक्षा दिन नसक्दा हाम्रा जनशक्ति विदेश भौतारिन बाध्य छन् । उनले भने-“हामी विदेशीएको प्रतिफलमा मख्ख छौं ,तर यसले परिवार अलग्याएको छ, राष्ट्रियता हराएको छ, संस्कार संस्कृति हराएको छ,खोइ हामी संवेदनशील बनेको ?”

विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल छविकुमार ओलीले विद्यार्थीहरूको इच्छा चाहना र आवश्यकता अनुसार पठनपाठनका क्रियाकलापहरू सञ्चालन गर्दै आएको बताए।

विद्यार्थीहरूलाई उत्पादनशील बनाउनका लागि विभिन्न उपायहरु अवलम्बन गर्दै अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको जानकारी दिए। विद्यालयले प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिँदै विद्यार्थीहरूलाई आयआर्जनमुखी बनाउन विभिन्न शिपयुक्त कक्षाहरू समेत सञ्चालन गर्दै आएको उनको भनाइ थियो।

यस्तै उनले विद्यालयको भाव योजनाबारे प्रष्ट पारेका थिए। विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राख्दै विद्यालयले निकट भविष्यमै प्लस टु, मन्टेश्वरी शिक्षा र आधुनिक पुस्तकालय सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए।

प्रधानाध्यापक वलीका अनुसार विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरिंदै आएको छ। विद्यार्थीहरूले विभिन्न समयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापमा सहभागी भई विभिन्न वस्तु उत्पादन गरी ती उत्पादित वस्तुलाई बिक्री वितरण गरेर आर्थिक लाभ समेत उठाएका छन्। यस्ता खाले प्रयोगात्मक शिक्षालाई विद्यालयले निरन्तर आयोजना गर्दै आएको प्रिन्सिपल ओलीको भनाइ थियो ।

विद्यालयको मुख्य ध्यय संस्कारसहितको शिक्षा रहेको भन्दै राष्ट्रियता झल्कने कला संस्कृति र परम्परालाई विद्यालयका हरेक क्रियाकलापमा अवलम्बन गर्दै आएको उनले जानकारी गराए। विद्यालयको शैक्षिक सुधारका लागि विभिन्न पक्षहरुसँग छलफल गर्दै अगाडि बढिरहेको समेत जानकारी दिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयले छोटो समयमै उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा समेत व्यक्त गरे। शैक्षिक गतिविधि मात्र नभई विद्यार्थीहरूको इच्छा चाहना दक्षता र क्षमता अनुसार विभिन्न अतिरिक्त कक्षाहरू समेत सञ्चालन गरी बालबालिकाको चौतर्फी विकासमा विद्यालयले सञ्चालन गर्ने गतिविधिहरू प्रशंसनीय भएको उनीहरूको भनाइ थियो।

वार्षिकोत्सव कार्यक्रममा विभिन्न साँस्कृतिक तथा शिक्षामूलक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो। विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षाको क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मजगैयाले गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न समुदायका कला संस्कृति झल्कने गायन तथा नृत्य एवं नाटक प्रस्तुत गरेका थिए। यसैगरी विभिन्न सिर्जनात्मक कला प्रदर्शनी समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा बनभेरीको टोकाइबाट आमा-छोरा घाइते

   फागुन ०३, २०८१       admin

दाङ,३ फागुन । बनभेरीको टोकाइबाट दाङमा आमा-छोरा घाइते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आज दिउँसो १ बजे खेतमा पानी सिंचाइ गर्ने क्रममा बनभेरीले टोकेर आमा-छोरा घाइते भएका छन्।

स्थानीय २३ वर्षीया भिमा बुढा र उनका ११ वर्षीय छोरा बिवश बुढालाई बनभेरीले टोकेको हो। घाइते दुबैजनालाई तत्कालै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ।

उनीहरूको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अध्यक्ष भण्डारीले गरे आफ्नो कार्यकालको उपलब्धिहरू सार्वजनिक

   फागुन ०२, २०८१       admin

दाङ,२ फागुन । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको उपलब्धिहरू सार्वजनिक गरिएको छ। संस्थाको अध्यक्ष एकान्त भण्डारीले ३ वर्षे कार्यकालमा भएका उपलब्धिहरूलाई शुक्रबार सार्वजनिक गरेका हुन्।

शुक्रबार प्रेस विज्ञप्ति मार्फत उनले आफ्नो कार्यकालमा खानेपानी व्यवस्थापन, पूर्वाधार निर्माण, प्रविधि उपयोग, तथा पारदर्शिता वृद्धि गर्दै संस्थाले तुलसीपुर क्षेत्रका उपभोक्ताहरूलाई सुविधा उपलब्ध गराउने विभिन्न कामहरू भएको जानकारी गराए।

संस्थाले तुलसीपुर क्षेत्रमा खानेपानी अभाव समाधान गर्न सह-लगानी खानेपानी तथा सरसफाई आयोजना अघि बढाएको थियो। हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिए । आयोजना पूरा भएपछि कम्तीमा १०० लिटर प्रति सेकेन्ड पानीको आपूर्ति सम्भव हुने बताइएको छ। जसले नयाबसपार्क, रानीजरुवा लगायतका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राहत दिने अपेक्षा छ।

प्रेस विज्ञप्ति जारी गर्दै भण्डारीले नेपाल सरकारको ‘एक घर, एक धारा’ नीतिअनुसार, यस क्षेत्रका खानेपानीबाट वञ्चित उपभोक्ताहरूलाई संस्थाले आफ्नै स्रोत साधन परिचालन गरी धारा स्वीकृत गरेको जानकारी गराए । संस्थाले पुराना पाइपलाइनहरूको मर्मत तथा नयाँ पाइपलाइन जडानको कामसमेत गरेको छ, जसले सेवा प्रभावकारी बन्ने उनको विश्वास छ।

यसैगरी आफ्नो कार्यकालमा मुहान संरक्षणका लागि पहल गरिएको र अवैध उत्खनन रोकिनु आफ्नो कार्यकालको महत्त्वपूर्ण उपलब्धि रहेको उनको भनाइ छ। खानेपानीको प्रमुख मुहान क्षेत्रहरू मुलकोट, राम्री, चिसापानी, घेरेनी, बाखे, छरछरे र पहरे मा हुने अनधिकृत उत्खननलाई रोक्न संस्थाले पहल गरेको उनको विज्ञप्तिमा उल्लेख छ।

भू-माफियाहरूले तुलसीपुर उपमहानगरपालिका वडा नं. ३,२, ४ अन्तर्गत उत्खननका लागि स्वीकृति लिएको थाहा पाएपछि, वन मन्त्रालय र खानी विभागमा निवेदन दर्ता गराई उत्खनन रोक्ने काम गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए।

संस्थाले रक्षाचौर र बेलवास्थित ट्रीटमेन्ट प्लान्टमा रहेको पुरानो बालुवा तथा गिट्टी प्रतिस्थापन गरेको छ। यो कार्य पूरा भइसकेकाले अब आउने वर्षायाममा धमिलो पानीको समस्या नहुने अध्यक्ष भण्डारीले बताए।

संस्थाले विभिन्न स्थानमा रहेको करिब १०० खानेपानी वितरण च्याम्बरहरू निर्माण गरी पूर्णरूपमा सुरक्षित बनाएको छ। अझै केही स्थानमा निर्माण कार्य बाँकी रहेको र चाँडै सम्पन्न गर्ने योजना रहेको जानकारी गराइएको छ।

संस्थाले जीआईएस प्रविधि तथा मोबाइल एप प्रणाली लागू गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने कार्य अघि बढाएको छ। निकट भविष्यमा स्मार्ट मिटर जडान गरी उपभोक्ताहरूलाई पारदर्शी बिलिङ प्रणाली उपलब्ध गराउने लक्ष्य लिइएको छ।


संस्थाले आगामी २०८१ चैत २ गते हुने मूल कार्यसमिति निर्वाचनलाई निष्पक्ष, पारदर्शी र सर्वसम्मत रूपमा सम्पन्न गर्न सबै राजनीतिक दलहरूलाई एकजुट भई राम्रो नेतृत्व चयन गर्न अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दिगो वन व्यवस्थापनका लागि रुख कटान

   फागुन ०२, २०८१       admin

उमा भण्डारी , दाङ २ फागुन। वन सुधार तथा दीर्घकालीन व्यवस्थापनका लागि दाङमा रूख कटान सुरु गरिएको छ। जस अन्तरगत दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित भवानी सामुदायिक वनमा रूख कटान कार्य सुरु गरिएको छ।

सरकारले राष्ट्रिय वन नीति अन्तर्गत ८० वर्षे इस्टिमेट अनुसार वैज्ञानिक वन व्यवस्थापन अघि बढाउने लक्ष्य राखेको छ। सोही अनुसार वन सुधार तथा दीर्घकालीन व्यवस्थापनका लागि पुराना, बाङ्गा-टिङ्गा र प्राविधिक रूपमा अस्वस्थ रूखहरू हटाउने काम भइरहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ।

तर वन फडानी भइरहेको छ भन्ने फैलिएको हल्ला र सामाजिक सञ्जालमा पनि रूख कटानबारे बहस चलेपछि डिभिजन वन कार्यालय दाङको टोलीले स्थलगत अनुगमन गरेको छ।

शुक्रबार रुख काटिएको स्थान बागरमा पुगेर वन कार्यालयको टोलीले अनुगमन गरेको हो। अनुगमनको टोलीले सरकारको तथ्याङ्कमा उल्लेख भएअनुसार रुख काटिएका छन् वा छैनन् रुखको क्रमसङ्ख्या मिलेको छ वा छैन उल्लेखित मापदण्डमा आधारित रहेर रुखहरू काटिएका छन् वा छैनन् लगायतका प्राविधिक जाँच समेत गरेको छ।

सामुदायिक वनमा रुख कटान भएको बारेमा स्थानीयले देखाएको चासो सकारात्मक रहेको भन्दै वन कार्यालयले निरन्तर खबरदारी गर्न आग्रह समेत गरेको छ।

वन सुधारका लागि कटान आवश्यक: वन कार्यालय

वनको प्राकृतिक सन्तुलन कायम राख्नका लागि रूख कटान आवश्यक रहने डिभिजन वन कार्यालय दाङले जनाएको छ। वनलाई स्वस्थ राख्न र जैविक विविधताको वृद्धि गर्नका लागि पुराना तथा प्रयोग गर्न अयोग्य रुखहरू हटाउन आवश्यक रहेको वन कार्यालयका वरिष्ठ वन अधिकृत ओम बहादुर ओलीले जानकारी दिए।

नागरिकले हेर्दा घना र ठूला रुखहरू भएको जंगल राम्रो मानिने भएपनि प्राविधिक रूपमा त्यस्ता जङ्गलहरू अस्वस्थ रहने उनले बताए। वर्षौँदेखिका पुराना रुखहरू मात्रै वनमा रहँदा त्यसले जैविक विविधतामा असर पुर्‍याउने भन्दै बाङ्गा निकै पुराना र प्रयोग गर्न अयोग्य रुखहरू हटाउन आवश्यक रहने उनको भनाइ थियो।

“वनको अवस्था बाहिरबाट हेर्दा मात्र राम्रो देखिन्छ। वास्तवमा, यहाँ साना तथा मझौला रूखहरू छैनन्। वन स्वस्थ हुन साना, मझौला र ठूला रूखहरूको उचित अनुपात हुनुपर्छ,” उनले भने।

उनका अनुसार राष्ट्रिय वननीति अनुरूप वैज्ञानिक वन व्यवस्थापनका लागि सिवानी एसेट (Silvani Asset) को । उक्त शिवानी एसेटको आधारमा बुढा र अस्वस्थ रूखहरू छानेर हटाउन सुरु गरिएको छ।

उक्त एसेट अनुसार १० वर्षमा २७.२५ हेक्टर वन क्षेत्रमा काम गर्नुपर्ने हुन्छ । जस अन्तर्गत एक वर्षमा भवानी सामुदायिक वनको २.७ हेक्टर क्षेत्रफलमा डिभिजन वन कार्यालयले काम गर्ने वरिष्ठ वन अधिकृत ओलीले जानकारी दिए।

उनका अनुसार १० वर्षको अवधिमा ३ हजार ४ सय १० वटा रूखहरू कटान गर्ने सरकारले योजना ल्याएको छ। सोही अनुसार यस वर्ष भवानी सामुदायिक वनमा ३सय ५० वटा रूख कटान गर्ने लक्ष्य राखिएको छ। हालसम्म ९० वटा रुखकटान भएको वन अधिकृत ओलीले जानकारी गराए।

साना, मझौला तथा ठूला मिश्रित रुखहरू नहुँदा वन अस्वस्थकर बन्दै गएको भन्दै उनले यस्तो कार्ययोजना अघि सारिएको जानकारी दिए

डिभिजन वन कार्यालयका सूचना अधिकारी टेकन आचार्यका अनुसार वन व्यवस्थापनको उद्देश्यअनुसार अनावश्यक, बाङ्गा-टिङ्गा तथा प्राविधिक रूपमा अस्वस्थ रूखहरू छानेर हटाउने काम भइरहेको छ।

उनले स्याटेलाइट प्रविधि मार्फत वनमा रहेका रूखहरू र काटिएका रुखहरूको अनुगमन र निगरानी हुने भन्दै रूखहरू हराउने वा चोरी हुने सम्भावना नभएको बताए। वन कार्यालयको कटान आदेश अनुसार वन उपभोक्ता समितिले विभिन्न मापदण्ड र प्रक्रिया पुर्याई रुख कटान गरेको जानकारी गराउँदै उनले गलत सूचना फैलाएर जनतामा त्रास सिर्जना नगर्न आग्रह समेत गरेका छन् ।

“स्याटेलाइट प्रविधिबाट निगरानी गरिएकाले रूख चोरी वा लुकाउने कुनै सम्भावना छैन। उनके भने-” गलत सूचना फैलाएर जनतामा त्रास सिर्जना नगर्न सबैमा अनुरोध गर्दछौं।”

बाहिरबाट वन घना र सुन्दर देखिए पनि प्राविधिक रूपमा कमजोर भएकाले व्यवस्थापन आवश्यक रहेको उनले बताए। । नयाँ, साना र बुट्यान रूखहरू नहुँदा पुराना रूख मासिए उक्त वन क्षेत्र रातो डाँडोको रुपमा परिणत हुन सक्ने भन्दै काटिएका रुखहरूको ठाउँमा वृक्षारोपण गर्ने योजना रहेको जानकारी दिए।

वन कार्यालयका अधिकारीहरूले वन व्यवस्थापन योजनाबारे गलत सूचना नफैलाउन आग्रह गर्दै यो प्रक्रिया वातावरणीय सन्तुलन कायम राख्न तथा वनको दीर्घकालीन स्वास्थ्य सुधार गर्न केन्द्रित रहेको स्पष्ट पारेका छन्।

वन उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर विश्वकर्माका अनुसार हालसम्म ९० वटा रूख काटिएको छ। सरकारको योजना अनुसार हरेक वर्ष ३सय ५० वटा रूखहरू काटिनुपर्ने लक्ष्य रहेको छ। वन कार्यालयको कटान आदेश अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी उपभोक्ताहरूले नै प्राविधिक टोलीको निगरानीमा रहेर वन रुख काट्ने काम गरिरहेको अध्यक्ष विश्वकर्माले जानकारी दिए।

उनका अनुसार सरकारले तोकेको मापदण्डमा आधारित रहेर उपकरण र औजारहरू प्रयोग गरिएको बताए यसका लागि रुख कटान समिति संयोजक र अनुगमन समिति समेत गठन गरिएको छ। माघ २८ गते बसेको वन उपभोक्ता समितिको बैठकको निर्णयबमोजिम डिभिजन वन कार्यालय, सबडिभिजन वन कार्यालयको निगरानीमा रहेर रुख काट्न सुरु गरिएको उनले जानकारी दिए।

सरकारको नीति अनुसार वनको दीर्घकालीन संरक्षण र उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिहरू अपनाइएको छ। स्थानीय स्तरमा जनचेतना फैलाउने र वन व्यवस्थापन प्रक्रियालाई पारदर्शी बनाउने कार्य आवश्यक रहेको स्थानीय सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ट्याक्टरको ठक्करबाट ५ वर्षीय बालक घाइते

   फागुन ०२, २०८१       admin

दाङ,२ फागुन । दाङको तुलसीपुरमा एकजना बालक घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-९ कटकुइयामा ट्याक्टरको ठक्करबाट एक ५ वर्षीय बालक घाइते भएका हुन् ।

शनिबार अपराह्न करिब ३:३० बजे कटकुइयाबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ त ९१९८ नम्बरको ट्याक्टरले पैदलयात्री अनमोल चौधरीलाई ठक्कर दिँदा उनी घाइते भएका हुन्। घाइते बालक कटकुइयाका तारा घर्तिका छोरा हुन्।

ट्याक्टरको ठक्करबाट अनमोल चौधरीको मुख, टाउको, दुवै हात र खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याएको छ। उपचारमा उनकी आमा संलग्न छन् । अस्पताल स्रोतका अनुसार बालकको अवस्था मध्यम रहेको छ।

ट्याक्टरका चालक ३२ वर्षीय ओमकार बुढामगरलाई प्रहरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महोत्सव ‘पाठशाला’को रूपमा विकास हुनुपर्छ: मन्त्री न्यौपाने

   फागुन ०१, २०८१       admin

दाङ,१ फागुन। लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले मेला महोत्सव पाठशालाको रुपमा विकास हुनुपर्ने बताएका छन।

आजदेखी तुलसीपुरमा सुरु भएको दोस्रो तुलसीपुर महोत्सव -२०८१ को उद्घाटनको अवसरमा मन्त्री न्यौपानेले मेला महोत्सव केवल मनोरञ्जनको माध्यम मात्र नभई ज्ञान, सीप र व्यवसाय प्रवर्द्धनको पाठशाला बन्नुपर्ने बताएका हुन् ।

प्रमुख अतिथिको रूपमा बोल्दै उनले यस्ता कार्यक्रमहरू अध्ययन, अनुसन्धान र व्यवसायिक विकासको थलो बन्न आवश्यक रहेको बताए।

‘मेला महोत्सवले स्थानीय कला, संस्कृति, तथा उद्योगलाई प्रवर्द्धन गर्दै सिकाइको अवसर प्रदान गर्नुपर्छ।उनले भने-‘ यी उत्सवहरूबाट युवाहरूलाई उद्यमशीलता, पर्यटन, र व्यवसायका अवसरबारे जानकारी दिन सकिन्छ।’

महोत्सवका माध्यमबाट व्यवसाय प्रवर्द्धनसँग जोड्दै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उपायहरू खोज्नुपर्नेमा जोड दिए।

पर्यटनको अपार सम्भावना बोकेको नेपाल अध्ययन, अनुसन्धान र प्रभावकारी योजनाको अभावका कारण विश्व पर्यटन नक्शामा अझै पछि परेको उनले बताउदै पर्यटन विकासका लागि दीर्घकालीन सोच, आधुनिक योजना, र लगानी अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।

देशमा प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, धार्मिक सम्पदा र साहसिक पर्यटनका सम्भावनाहरू धेरै भए पनि अनुसन्धान, प्रवर्द्धन र पूर्वाधारको अभावका कारण ती क्षेत्रहरू अपेक्षाअनुसार विकास हुन नसकेको भन्दै यसप्रति सरकारले ध्यान दिन जरुरी रहेको उल्लेख गरे।

‘सिर्फ परम्परागत शैलीका कार्यक्रमहरूले मात्र पर्यटन प्रवर्द्धन सम्भव छैन। उनले भने -‘ अध्ययन, अनुसन्धान र ठोस कार्ययोजनासँगै बजारीकरणमा ध्यान दिए पर्यटनले देशको अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छ।’

कार्यक्रम बोल्ने वक्ताहरुले स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्यमा पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र अवसर सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए। विशेष गरी युवाहरूलाई पर्यटन व्यवसायमा आकर्षित गर्न नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरे।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का उपप्रमुख स्यानी चौधरी, राष्ट्रिय सभा पूर्व सदस्य कोमल ओलि, संविधानसभा सदस्य अनारकलि मिया, लुम्बिनी प्रदेश सांसद रेखा शर्मा लगायतले मेला महोत्सवले उत्पादनको विकास,प्रवर्द्धन,व्यापार व्यवसाय चलायमान हुने अपेक्षा लिएका छन् ।

महोत्सव उद्घाटनका अवसरमा नेपाली काङ्ग्रेस नेकपा एमाले नेकपा माओवादी लगायतका विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण तुलसीपुर चेम्बर अफ कमर्सका महासचिव दुर्गा शर्मा र सनोद थापाले गरेका थिए।

उद्घाटनका अवसरमा झाँकी र्याली पन्चेबाजा सहितको शोभा कलश यात्रा प्रदर्शन गरिएको थियो। उद्घाटन कार्यक्रमको स्वागत चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष कुमार खड्काले गरेका थिए।

महोत्सवमा विभिन्न स्थानीय उत्पादन, कृषि, हस्तकला, परम्परागत परिकार, तथा पर्यटन प्रवर्द्धनका स्टलहरू राखिएका छन्। स्थानीय व्यवसायी, उद्यमी, तथा सरोकारवालाहरूले पर्यटन र उद्योग प्रवर्द्धनका लागि यस्ता महोत्सवहरू निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिएका छन्।

महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ, जसमा सांस्कृतिक कार्यक्रम, कृषि प्रदर्शनी, तथा उद्यमशीलता प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रमहरू समावेश छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सकियो थारुको ‘महाकुम्भ’:मटँवा/बरघर/भलमन्सा प्रथालाई कानुनी मान्यता दिन माग

   माघ २७, २०८१       admin

दाङ,२७ माघ। दाङको चखौरामा थारूहरूको ‘महाकुम्भ’ सकिएको छ। दुई दिनसम्म चलेको यो भेलामा विभिन्न जिल्लाका हजारौं थारुहरू सहभागी भएका थिए। र उनीहरूलाई नेपाली काँग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए।
थारुहरूको मौलिक संस्कृति जोगाउन र

केही प्रथाहरूलाई कानुनी मान्यता दिलाउनका लागि हालैमात्रै गठन भएको मटँवा/बरघर/भलमन्साहरूको संघमा आवद्ध भएका देशभरका थारुहरू दाङको चखौरामा जम्मा भएका थिए। त्यही भेलामै संघको अधिवेशन पनि भएको थियो। मटँवा/बरघर र भलमन्सा भनेको थारु समुदायका अगुवा हुन्।

खासगरी पश्चिम तराईंमा बसोबास गर्ने थारु समुदायमा अगुवा चुन्ने प्रचलन हुन्छ र हरेक वर्षको माघ १ गते प्रजातान्त्रिक विधिबाट उनीहरू चुनिने गर्छन्। यी अगुवाहरूलाई ठाउँअनुसार मटँवा/बरघर/भलमन्सा भनेर सम्बोधन गरिन्छ।

थारु समुदायमा उनीहरूको काम भनेको समुदायको रेखदेखदेखि आफ्ना समुदायका लागि कानुनहरू बनाउने र त्यसैअनुसार समुदायलाई चलाउने हुन्छ। कतिपय अवस्थामा मटँवा/बरघर/भलमन्साहरूले नै समुदायमा आइपरेका मुद्दाहरूको छिनोफानो पनि गरिदिन्छन्।

तर लोकतन्त्रको अभ्याससँगै थारु समुदायका परम्पराहरू हराउन थालेका छन् र यी मौलिक अनि सांस्कृतिक प्रथालाई जोगाउनका लागि देशभरका थारु अगुवाहरू एकजुट भएका हुन्।

हालैमात्र औपचारिकरुपमा गठन भएको मटँवा/बरघर/भलमन्सा संघको केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरी हुन्। उनी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री पनि हुन्।

पूर्वप्रधानमन्त्री तथा प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँण तथा प्रदेशका मन्त्रीहरूसमेतलाई राखेर यी थारु अगुवाहरूले थारु प्रथाजनित केही मौलिक संस्कारहरूलाई कानुनी मान्यता दिन अपिल गरेका थिए।

उनीहरूलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले थारुहरूको मौलिकता संरक्षणको जिम्मेवारी यही समुदायको अगुवाहरूको भएको भन्दै कानुनी तथा नीतिगतरुपमा भएका अप्ठ्याराहरू फुकाउनका लागि सरकारले पहल गर्ने बताए। त्यसका लागि केन्द्र सरकारमा केही गर्नुपर्ने भए आफूले सहजीकरण गर्ने बचन पनि उनले दिएका थिए।

‘थारुहरूका केही मौलिक र सांस्कृतिक परम्पराहरू छन्। तिनलाई जोगाउनुपर्छ। यो सरकारको नीतिभित्रै पर्छ’ देउवाले भनेका छन् ‘यो केन्द्रबाट गर्नुपर्ने भए पनि हामी त्यो गर्छौं। तपाईंहरूको संस्कृति र मौलिकता जोगाउनका लागि सरकारले पनि नीति कार्यक्रमहरू ल्याउँछ। राज्य निर्माणका लागि तपाईंहरूको भूमिका महत्वपूर्ण पनि रहन्छ।’

त्यस्तै थरु अगुवाहरूले थारुले परम्परागतरुपमा उत्पादन गर्ने मदिरा विश्वव्यापी ब्रान्डभन्दा कम नभएको भन्दै त्यसलाई बजारीकरण गर्नका लागि कानुन निर्माणका लागि आग्रह गरेका थिए।


‘थारुहरूले बनाउने रक्सी कुनै विदेशी ब्रान्डभन्दा कम छैनन्। ती मौलिक तरिकाले उत्पादन गरिएको रक्सी स्वास्थ्यका लागि पनि हानीकारक हुँदैन। तर त्यसलाई अहिले कानुनले बन्देज गरिदिएको छ।

यसबाट थारुहरूको मौलिक परम्परा लोप हुँदै गएको छ’ मटँवा/बरघर/भलमन्सा संघका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरी भन्छन् ‘सरकारले कानुन बनाएर त्यसको ब्रान्डिङ र लेभलिङ गर्ने अनुमति दियो भने थारुलाई धनी बनाउन केही गर्नै पर्दैन।

हाम्रा उत्पादनहरू विदेशी ब्रान्डलाई सजिलै प्रतिष्पर्धा गर्नसक्छन् र त्यो हाम्रा लागि आर्थिक उपार्जनको एउटा महत्वपूर्ण माध्यम पनि बन्नसक्छ। उनका अनुसार यसअघि नै लुम्बिनी प्रदेश सरकारले स्थानीय मदिरालाई ब्रान्डिङ गर्ने नीति ल्याइसकेको छ। तर कानुनको अभावमा त्यो कार्यान्वयन हुन सकेको छैन।

‘हामीले भनिरहेका छौं हरेक दिनरात थारुहरुको घरमा खेर गइरहेको यी रक्सीहरूलाई ब्रान्डिङ गरौं र आर्थिक उपार्जनको ढोका खोलौं भनेर तर संघीय सरकारले कानुन नबनाउँदा त्यसो हुन सकिरहेको छैन’ चौधरी भन्छन् ‘हामीले त्यसबाट अर्बौं राजश्व तिर्न तयार छौं।

त्यो राजश्व प्रदेश सरकारकै आम्दानी हुन्छ। यसरी हाम्रो समयुदाय पनि आर्थिकरुपमा बलियो हुन्छ र प्रदेश सरकारको पनि आम्दानी हुन्छ। यस्तो कामका लागि कानुन आवश्यक हुन्छ। त्यो कानुन निर्माणको लागि संघीय सरकारले ढोका खोलिदिनुपर्छ।’

काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले यस्ता मौलिक परम्परा जोगाउने नीति सरकारको भए पनि कतिपय कुरामा ऐन, कानुनहरूको आवश्यकता पर्ने भन्दै आदिवासी समुदायको हितका लागि सरकारले आवश्यक कानुन बनाउने प्रतिवद्धता व्यक्त गरे।

‘हुन त यहाँ रक्सीको कुरा उठेको छ। तर पनि कतिपय मौलिक परम्पराहरूलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न पनि सकिन्छ’ देउवाले भने ‘त्यो कुरा राम्रो हो र तपाईंहरूको समुदाय अनि देशलाई नै फइदा हुन्छ भने हामीले कानुन निर्माणका लागि पहल थाल्नुपर्छ।’
मटँवा/बरघर/भलमन्सा संघ अब थारु समुदायका हरेक वस्ती वस्ती र घरघरमा पुर्‍याइने पनि अध्यक्ष चौधरीले बताए।

उनले लोप हुँदै गएका थारु परम्परा र संस्कृति जोगाउनका लागि अब मटँवा/बरघर/भलमन्सा संघमार्फत देशभरका थारुहरू एकजुट भइसकेको भन्दै आफ्ना रैथाने परम्परालाई कानुनी मान्यतालाई लागि संघर्ष गर्नुपर्नेमा पनि जोड दिए। यो स्थानीय मुद्दामात्रै नभएर आदिवासी समुदायको विश्वव्यापी मुद्दा भएका कारण अब यो अन्तर्राष्ट्रियकरण भइसकेको पनि उनको भनाइ थियो।


‘यो अब एउटा कुनै थारु वा कुनै समुदायकोमात्रै मुद्दा रहेन। यो हरेक आदिवासी समुदायको मुद्दा भइसकेको छ। र यो अब स्थानीय र राष्ट्रियमात्रै होइन पूरै अन्तर्राष्ट्रिय मुद्दा बनिसकेको छ’ उनले भने ‘मटँवा/बरघर/भलमन्सा संघ पनि आदिवासीको विश्वमञ्चमा जोडिइसकेको छ। र हामीले हाम्रा मौलिक परम्परा अनि मौलिक प्रथा पुनर्जागृत गर्नका लागि अब अन्तर्राष्ट्रिय मञ्चहरूबाट पनि पहल गर्नेछौं।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

   माघ २७, २०८१       admin

दाङ,२७ माघ । तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। अपरान्न दिउँसो ३साढे ३० बजे तुलसीपुर उपमहानगरपालिका–६ हात्तिखौवामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो।

घोराहीबाट तुलसीपुरतर्फ जांदै गरेको ना ६ ख ५९२२ नम्बरको औषधि बोकेको ट्रकले भुस्राबाट तुलसीपुरतर्फ गइरहेको लु.प्र. ०२-००१ प २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–७ घुसेरीका ४७ वर्षीय तिर्थ बहादुर खत्री घाइते भएका छन्। उनको दाहिने कोखा र दुबै हातखुट्टामा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको छ।

मोटरसाइकलको पछाडि सवार करिब ५६ वर्षीय जंग बहादुर चौधरी को दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक चालक बारा, जितपुर सिमरा उपमहानगरपालिका–१६ पिलुवा निवासी ४५ वर्षीय जयराम अधिकारी लाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी निरीक्षक सुर्य बहादुर रानामगर नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक तराई यातायात व्यवसाय संघ, सिमरा, बारा अन्तर्गत दर्ता रहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology