दाङमा एक महिनामा ८१ मुद्दा दर्ता, ८९ जना पक्राउ

   २ मिनेट अगाडि       admin

दाङ, १० असार। दाङमा एक महिनाको अवधिमा विभिन्न प्रकृतिका आपराधिक गतिविधिसम्बन्धी ८१ वटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका उजुरीका आधारमा ८९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार दर्ता भएका मुद्दामध्ये २३ वटा फछ्र्योट भएका छन् भने ५८ वटा अनुसन्धान तथा कानुनी प्रक्रियामा रहेका छन्। घटनामा संलग्न १४ जना अझै फरार रहेका छन्।

दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका १९ वटा, लागुऔषधसम्बन्धी १५ वटा, आर्थिक अपराधसम्बन्धी १३ वटा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी एक वटा तथा अन्य प्रकृतिका ३३ वटा मुद्दा रहेका छन्।

त्यसैगरी, जेठ महिनामा जिल्लाका विभिन्न स्थानबाट ६८ जना फरार प्रतिवादी पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले बढाएको सक्रियताका कारण विभिन्न समयमा फैसला भएर फरार रहेका प्रतिवादीहरू पक्राउ गरिएको हो।

पक्राउ परेका प्रतिवादीबाट एक लाख ४५ हजार ५० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि अदालतबाट सुनाइएको १६ वर्ष तीन महिना १५ दिन कैद सजाय कार्यान्वयनका लागि कारागार चलान गरिएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये दुई जना दश वर्षपछि, छ जना पाँच वर्षपछि तथा ६० जना पाँच वर्षभन्दा कम अवधिमा पक्राउ परेका हुन्।
लागुऔषध दुव्र्यसन तथा ओसारपसारसम्बन्धी घटनामा २९ जनालाई पक्राउ गरिएको छ।

उनीहरूको साथबाट २१ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर, ३३ ग्राम ४१० मिलिग्राम गाँजा तथा ४०८ वटा मनोदीपक पदार्थका ट्याब्लेट बरामद गरिएको सूचना अधिकारी केसीले जानकारी दिए।

एक महिनाको अवधिमा घरेलु हिंसासम्बन्धी १६ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये घरायसी झैझगडाका सात, मादक पदार्थ सेवन गरी गालीगलौजका छ, कुटपिटका चार तथा खाना र बस्न नदिएको तथा विवाह दर्ता नगरेको सम्बन्धी तीन–तीन वटा उजुरी रहेका छन्।

दर्ता भएका उजुरीमध्ये १४ वटा फछ्र्योट भएका छन् भने दुई वटा प्रक्रियामा रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्रिय रहेको बताए।

उनका अनुसार सामान्य प्रकृतिका झैझगडा तथा लागुऔषधसम्बन्धी घटना देखिए पनि ठूला प्रकृतिका आपराधिक गतिविधि भने देखिएका छैनन्।

प्रहरीले लागुऔषध नियन्त्रण, अपराध न्यूनीकरण तथा समुदायमा सुरक्षा अनुभूति अभिवृद्धिलाई प्राथमिकतामा राखेर गस्ती, सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै अपराधमा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउँदै आएको जनाएको

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुनचाँदीको मुल्य घट्यो

   १ घण्टा अगाडि       admin

दाङ,१० असार ।नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेको हो।
यससँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा झरेको छ।मंगलबार पनि सुनको मूल्य घटेको थियो। मंगलबार प्रतितोला १ हजार ६०० रुपैयाँले घटेर २ लाख ८७ हजार १०० रुपैयाँ कायम भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य पनि प्रतितोला १४० रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा सर्प उद्धार तथा व्यवस्थापन तालिम सुरु

   २२ घण्टा अगाडि       admin

दाङ,९ असार । दाङको तुलसीपुरमा सर्प उद्धार तथा व्यवस्थापनसम्बन्धी दुई दिने तालिम सुरु भएको छ।
“वन, वन्यजन्तु र जैविक विविधताको संरक्षण गरौँ” भन्ने नारासहित डिभिजन वन कार्यालय दाङ (घोराही) को आयोजनामा सोमबारदेखि तालिम सञ्चालनमा आएको हो।

डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत ओम प्रसाद वलीको अध्यक्षता तथा नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भट्टराई प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न यस्ता तालिम प्रभावकारी हुने बताए। सर्पहरूको सुरक्षित उद्धार तथा व्यवस्थापनले वातावरणीय सन्तुलन कायम गर्न मद्दत पुग्ने उनले बताए।

वरिष्ठ वन अधिकृत वलीले सर्पको टोकाइबाट बच्ने उपाय तथा सर्प संरक्षणलाई ध्यानमा राख्दै तालिम आयोजना गरिएको जानकारी गराए। उनले वन कर्मचारी तथा सरोकारवालाहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताए।

असार ९ र १० गतेसम्म सञ्चालन हुने तालिमका प्रमुख प्रशिक्षक वसन्त सुवेदी रहेका छन्। उनले सर्पको पहिचान, व्यवहार, सुरक्षित रूपमा उद्धार गर्ने तरिका तथा व्यवस्थापनका विषयमा प्रशिक्षण दिइरहेका छन्। तालिमका क्रममा व्यावहारिक प्रदर्शन (डेमो) समेत गरिएको थियो।

तालिममा वन कार्यालयका कर्मचारी, वन रक्षक, स्थानीय समुदायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बालबालिकालाई पोषणयुक्त खाना वितरण

   २३ घण्टा अगाडि       admin

दाङ,९ असार । सेवा प्रतिष्ठान नेपालले तुलसीपुरका विभिन्न वडाका बालबालिकालाई पोषणयुक्त खाना वितरण गरेको छ। बालबालिकाको स्वास्थ्य सुधार तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले सेवा प्रतिष्ठानले  बालबालिकालाई पोषणयुक्त खाना वितरण गरेको हो ।

प्रतिष्ठानद्वारा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १०, १३, १४ र १५ का २५९ जना बालबालिकालाई लक्षित गरी पोषणयुक्त खाना वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वडा नम्बर १० का वडा अध्यक्ष यमबहादुर केसीले समय सापेक्ष सबै कुराहरू विकसित बन्दै गए पनि कुपोषणको अवस्था भने जटिल बन्दै गएको बताए।

पोषणयुक्त खानेकुराका बारेमा बेवास्ता गरिँदा बालबालिकाहरूको शारीरिक ,मानसिक ,सामाजिक र संवेगात्मक विकास उमेर अनुसार हुन नसकेको उल्लेख गरे। उनले घरमा पाइने खानेकुराहरूको मात्रा मिलाएर खुवाउन सके खान सकेपनि ठूलो राहत पुग्ने बताएका थिए।

पोषणयुक्त खाना वितरण गर्दै  सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा. नहकुल केसीले आमा र बालबालिकाको स्वास्थ्य सुधारमा विशेष ध्यान दिन आवश्यक रहेको बताए। उनले  स्वस्थ आमा र स्वस्थ बालबालिकाले नै समग्र समाजको स्वास्थ्य सुनिश्चित गर्ने उल्लेख गरे।


जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले स्वास्थ्य नै समृद्धिको प्रमुख आधार भएको बताउँदै यस क्षेत्रमा राज्यले पर्याप्त लगानी गर्नुपर्ने धारणा राखे। उनका अनुसार समुदायमा अझै कडा तथा मध्यम कुपोषण भएका बालबालिका रहेका छन्। खानपानसम्बन्धी व्यवहारमा सुधार नआउँदा बालबालिकाको तौलसमेत अपेक्षाअनुसार वृद्धि हुन नसकेको उनले बताए।

गर्भवती महिलामा समेत पोषणको अभाव देखिएको उल्लेख गर्दै हाल करिब ४१ प्रतिशत गर्भवती महिलामा रक्तअल्पताको समस्या रहेको जानकारी दिए।

त्यस्तै, स्वास्थ्यचौकी इन्चार्ज बिना केसी खड्काले बालबालिकाको समुचित वृद्धि विकासका लागि पोषणयुक्त खाना अत्यावश्यक रहेको बताइन।

पोषण फोकल पर्सन टरिगाउँ स्वास्थ्यचौकीकी उषा कडेलले गत वर्ष पनि यस्तै कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै यस वर्ष ५ वर्षमुनिका  कुपोषित बालबालिकालाई विशेष प्राथमिकतामा राखिएको बताइन् ।

उनले  बालबालिकाको वृद्धि विकासको करिब ८० प्रतिशत भाग दुई वर्षभित्र नै हुने भएकाले सो अवधिमा पोषणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिईन।

स्वास्थ्यचौकीबाट नियमित रूपमा पोषणसम्बन्धी परामर्श प्रदान गरिँदै आएको र बालबालिकालाई विशेषगरी सर्वोत्तम लिटो बनाएर खुवाउन आग्रह गरिएको उनले बताइन् ।

कार्यक्रम सेवा फाउन्डेसन नेपालका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

२ करोड बढीको अवैध भेप बरामद

   असार ०, २०८३       admin

काठमाडौ,९ असार । प्रहरीले २ करोड भन्दा बढीको अवैध भेप बरामद गरेको छ। सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ खाग्दलस्थित चेकजाँचका क्रममा २ करोड ६९ लाख ५० हजार रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरी टोलीले तातोपानीबाट बाह्रबिसेतर्फ जादै गरेको प्रदेश ३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा उक्त परिमाणमा भेप फेला पारेको हो।

प्रहरीका अनुसार अवैध रूपमा पैठारी गरी ल्याइएको ७ हजार ७ सय थान भेप बरामद गरिएको हो, जसको अनुमानित बजार मूल्य २ करोड ६९ लाख ५० हजार रुपैयाँ रहेको छ।

घटनामा संलग्न भन्दै बोलेरो चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ निवासी ३६ वर्षीय रामकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ। बरामद सामग्री तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि भोटेकोशी गाउँपालिका–३ स्थित ड्राइपोर्ट भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इभी भ्यान दुर्घटना हुँदा चालकसहित ८ जना घाइते

   असार ०८, २०८३       admin

चितवन,८ असार । पूर्व–पश्चिम राजमार्गमा इभी भ्यान दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। नवलपुरको गैँडाकोट नगरपालिका–१० पितौजीस्थित एपीएफ क्याम्प नजिक पोखराबाट कपिलवस्तुतर्फ जाँदै गरेको बा.प्र.०२–०३ च १२०५ नम्बरको इभी भ्यान अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको छ। घाइतेमध्ये प्युठान माण्डवी गाउँपालिका–२ निवासी २४ वर्षीय चालक विष्णु घर्तीको शरीरका विभिन्न भागमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको छ।

त्यसैगरी कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ निवासी ३१ वर्षीय अर्बिन्द्र अग्रवालको हातखुट्टामा चोट लागेको छ भने अवस्था सामान्य रहेको छ।

उनकी २६ वर्षीया श्रीमती प्रभा अग्रवालको पनि हातखुट्टामा चोट लागेको छ र अवस्था सामान्य रहेको छ। उनीहरूका १८ महिनाका छोरा ऋषी अग्रवालको टाउको तथा हातखुट्टामा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको छ।


यस्तै, कृष्णनगर–२ निवासी २६ वर्षीया रिधि सिंहघानियाको दाहिने कान तथा हातखुट्टामा चोट लागेको छ र अवस्था सामान्य रहेको छ।

सोही स्थानका २३ वर्षीया शेरी सिंह, १७ वर्षीया सिवानी अग्रवाल र २६ वर्षीय रिषभ अग्रवाल पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युवा लक्षित  तीनदिने नेतृत्व विकास तालिम सम्पन्न

   असार ०८, २०८३       admin

दाङ,८ असार । पश्चिम दाङको दंगीशरणमा युवाहरूको लागि सञ्चालन गरिएको तीन दिने नेतृत्व विकास तालिमको समापन भएको छ।

युवाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दंगीशरण गाउँपालिका वडा नम्बर ६ मा सञ्चालन गरिएको तीन दिने आधारभूत नेतृत्व विकास तालिम सोमवार सम्पन्न भएको हो ।

तुलसीपुर मिडिया प्रालिको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालित तालिमको समापन रन्जिता वलीको अध्यक्षता तथा वडा अध्यक्ष रोशन जंग शाहको प्रमुख आतिथ्यता रहेको थियो।

समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष शाहले छोटो अवधिमै युवाहरूले कार्यक्रम सञ्चालन गर्न सक्ने क्षमता विकास गरेकोमा खुसी व्यक्त गरे। उनले वडाले गरेको लगानी सार्थक भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता युवा लक्षित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

तालिमका प्रमुख प्रशिक्षक गोपाल शर्मा भट्टराईले सिकेका सीप व्यवहारमा लागू गर्न सके मात्र नेतृत्व विकास सम्भव हुने बताए। तीन दिनको तालिममा नेतृत्वका गुण, नेतृत्वका प्रकार, उद्घोषण कला, टिप्पणी लेखन, टिपोट तथा समाचार लेखन जस्ता व्यावहारिक विषयमा प्रशिक्षण दिइएको उनले जानकारी दिए।

कार्यक्रमको सुरुवात सहभागी रिता बिस्टको स्वागत मन्तव्यबाट भएको थियो भने सञ्चालन सीता बिस्टले गरेकी थिइन्।

तालिममा सहभागीहरूको तर्फबाट भरत लामिछाने, बिमला पुन मगर र रोशनी रसाइलीले आफ्नो अनुभव सुनाउँदै यस्ता तालिमले आत्मविश्वास वृद्धि गर्नुका साथै नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुगेको बताए।

कार्यक्रमको अवसरमा सहभागी सम्पूर्ण युवाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरको बजेट २ अर्ब ४४ करोड: पूर्वाधार र उद्योग प्राथमिकतामा

   असार ०८, २०८३       admin

दाङ,८ असोज । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले रु. २ अर्ब ४४ करोड १५ लाख १९ हजार बराबरको बजेट सार्वजनिक गरेको हो। १९औँ नगरसभाको दोस्रो बैठकमा उपप्रमुख स्यानी चौधरीले बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, उद्योग प्रवर्द्धन र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्।

उपमहानगरपालिकाका अनुसार बजेट आन्तरिक स्रोत, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, सडक बोर्ड, नगर विकास कोष तथा बैंक मौज्दातबाट व्यवस्थापन गरिनेछ। आगामी वर्ष आन्तरिक स्रोतबाट रु. ५४ करोड तथा मालपोत रजिस्ट्रेशन शुल्कबाट रु. २४ करोड राजस्व संकलन हुने अनुमान गरिएको छ।

संघीय र प्रदेश सरकारबाट प्राप्त समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदानलाई पनि आयको प्रमुख आधारका रूपमा लिइएको छ।
व्ययतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि रु. ४५ करोड ३ लाख २१ हजार विनियोजन गरिएको छ।

यस्तै विषयगत शाखा, वडा स्तरीय योजना, नगरस्तरीय आयोजना, गौरवका आयोजना तथा बहुवर्षीय योजनाका लागि आवश्यक बजेट छुट्याइएको छ। कुल बजेटमध्ये ५६ प्रतिशत चालु खर्च, ४२.३४ प्रतिशत पूँजीगत खर्च तथा १.६५ प्रतिशत वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको छ।

उद्योग प्रवर्द्धनका लागि तुलसीपुर–१६ स्थित औद्योगिक ग्रामको पूर्वाधार निर्माणमा १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

उपप्रमुख चौधरीका अनुसार औद्योगिक ग्रामलाई सञ्चालनयोग्य बनाउन आवश्यक संरचना निर्माण गरिनेछ, जसले स्थानीय उद्योग स्थापना, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यसैगरी, नगरको मुख्य बजार क्षेत्रमा पैदलयात्रीको सुरक्षालाई ध्यानमा राख्दै आकाशे पुल (स्काइ वाक) निर्माण गर्ने योजना अघि सारिएको छ।

यसका लागि आगामी आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ। सवारी चाप बढ्दै जाँदा सडक पार गर्न कठिनाइ भइरहेका कारण दुर्घटना न्यूनीकरण तथा सुरक्षित आवागमन सुनिश्चित गर्न यो योजना ल्याइएको हो।

उपमहानगरपालिकाले सडक पूर्वाधार, नगरस्तरीय आयोजना, वडा केन्द्रित योजना तथा बहुवर्षीय परियोजनालाई समेत प्राथमिकतामा राख्दै सेवा प्रवाह सुधार गर्ने लक्ष्य लिएको जनाएको छ।

नयाँ बजेटमार्फत उत्पादन, लगानी र रोजगारी अभिवृद्धि गर्दै समग्र नगर विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पाँचदिने मिनि टिलर मर्मत तालिम सञ्चालन

   असार ०८, २०८३       admin

दाङ,८ असार । दाङको तुलसीपुरमा पाँचदिने मिनि टिलर मर्मत तालिम सञ्चालन भएको छ। कृषि क्षेत्रलाई आधुनिक र प्रभावकारी बनाउनने उदेश्यले कृषकहरूलाई लक्षित गरी उक्त तालिम सञ्चालन गरिएको हो।
तालिम उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि एवम् तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले कृषि क्षेत्रलाई अर्थतन्त्रसँग जोड्न कृषि यान्त्रीकरण अपरिहार्य रहेको बताए। उनले यान्त्रीकरणको विस्तारसँगै उपकरणको व्यवस्थापन र मर्मत ठूलो चुनौती बनेको उल्लेख गर्दै वडा तहमै कृषि मर्मतशाला स्थापना गर्न सके कृषिमा ठूलो योगदान पुग्ने धारणा राखेका थिए। यस तालिमले कृषि लागत घटाउने र आम्दानी बढाउने काम गर्ने उनले विश्वास व्यक्त गरे।

कृषि पेशालाई आकर्षक बनाउन बाली र मौसमअनुसार योजना बनाउनु पर्नेमा जोड दिँदै कृषिलाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष दुजमान भण्डारीले स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता तालिम सञ्चालन गरिँदै आएको बताए। उनले सीप सिकेर आत्मनिर्भर बन्न आग्रह गर्दै यस तालिमले आर्थिक रूपमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

मिनि टिलर वितरणसँगै आउने समस्या समाधानका लागि अब घरमै पुगेर सेवा दिन सकिनेछ उनले बताए। उनका अनुसार यसले एकातर्फ रोजगारी सिर्जना गर्छ भने अर्कोतर्फ किसानलाई सहज सेवा उपलब्ध गराउँछ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर खत्रीले कृषकहरूमा मिनि टिलर प्रयोग बढ्दो अवस्थामा रहेको भन्दै यस्तो तालिम निकै उपयोगी हुने बताए।

तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख कुलराज चौधरीले मिनि टिलर वितरण मात्र पर्याप्त नभई त्यसको मर्मतका लागि दक्ष जनशक्ति आवश्यक भएकोले तालिम सञ्चालन गरिएको जानकारी दिए।

उपमहानगरका सहायक प्रशासन अधिकृत शिवप्रसाद शर्माले कार्यक्रमबारे जानकारी गराउँदै कृषि विकास शाखा अन्तर्गत सञ्चालन गरिएको यस तालिमले औजार प्रयोग र मर्मत सम्बन्धी ज्ञान दिने अपेक्षा व्यक्त गरे।

तुलसीपुर उपमहानगरपालिका र नेचर प्रिजर्वेसन फोरुमको संयुक्त आयोजनामा सञ्चालन गरिएको तालिममा प्रमुख प्रशिक्षकमा राजेन्द्र पोख्रेल रहेका छन् । उद्घाटन तालिमको सहजीकरण केवी ओलीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर-१३ मा खरको छानो हटाउने अभियान

   असार ०८, २०८३       admin

दाङ,८ असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१३ ले वडाभित्र रहेका खरका छाना हटाउने अभियान सुरु गर्ने भएको छ। आर्थिक वर्ष २०८३/०८४ भित्र वडाका ४० वटा घरका खरका छाना हटाइने वडा अध्यक्ष मोहनलाल पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार आगलागी तथा अन्य प्राकृतिक जोखिम न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। आवश्यक बजेट व्यवस्थापन गरी कार्यान्वयन सुरु गरिने उनले बताए।
अध्यक्ष पौडेलले यो कार्यक्रमबाट विशेषगरी आर्थिक रूपमा कमजोर तथा जोखिमयुक्त बस्तीका नागरिकलाई राहत पुग्ने विश्वास व्यक्त गरे।

वडा कार्यालयका अनुसार खरका छाना विस्थापन भएपछि सुरक्षित आवास निर्माणमा टेवा पुग्नुका साथै स्थानीयवासीको जीवनस्तर सुधारमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology