नीतिगत अन्योलले स्थानीय अर्थतन्त्र सङ्कटमा

   पुष ०६, २०८२       admin

दाङ,६ पुस। नीतिगत स्पष्टता र प्रभावकारी कार्यान्वयनको अभावका कारण स्थानीय अर्थतन्त्र गम्भीर सङ्कटतर्फ धकेलिँदै गएको सरोकारवालाहरूले बताएका छन्। स्थानीय तहमा युवालाई अर्थतन्त्रसँग जोड्ने स्पष्ट नीति, सिपयुक्त कार्यक्रम र परिणाममुखी योजना नहुँदा बेरोजगारी समस्या जटिल बन्दै गएको उनीहरूको भनाइ छ ।

तुलसीपुर उद्योग वाणिज्य संघ र सेवा प्रतिष्ठान नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा आयोजित स्थानीय अर्थतन्त्रको सवलीकरणका लागि युवा सहभागिता विषयक नीति संवाद तथा कार्यशाला गोष्ठीमा वक्ताहरूले यस्तो बताएका हुन्। उनीहरुले नीति बनाउने भन्दा पनि त्यसको कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षित उपलब्धि नआएको बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले माटो सुहाउँदो उद्यमशीलता बिना अर्थतन्त्र सुधार सम्भव नहुने स्पष्ट पारे । “स्थानीय स्रोत र कृषि उत्पादनमा आधारित उद्यम प्रवर्द्धन गर्न सके रोजगारी सिर्जना हुन्छ,” उनले भने । विदेशीने मानसिकताका कारण युवाहरु कृषि र स्थानीय उद्यममा उपेक्षित हुँदा बेरोजगारी बढेको उनको भनाइ थियो ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले स्थानीय तहमा युवाको वास्तविक अवस्था, सिप र दक्षतासम्बन्धी तथ्यांक नहुँदा नीति प्रभावकारी हुन नसकेको बताए । “तालिम दिएर मात्र हुँदैन, त्यसको निरन्तरता, बजारसँगको सम्बन्ध र ट्रेसर स्टडी अनिवार्य छ,” उनले भने । डिजिटल प्रणाली बिना रोजगारदाता र जनशक्तिबीचको दूरी घटाउन कठिन हुने उनको भनाइ थियो ।

उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले बेरोजगारी अन्त्यमा सरकार र निजी क्षेत्रसँगै परिवारको पनि भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । कम ब्याजदरमा ऋण, जिम्मेवारीपूर्ण सोच र अवसरको सदुपयोग गर्न सके स्थानीय स्तरमै सम्भावना प्रशस्त रहेको उनले बताए ।

योजना विद् डा। नहकुल केसीले लुम्बिनी प्रदेशमा अझै ११ प्रतिशत युवा पूर्ण बेरोजगार रहेको उल्लेख गर्दै राष्ट्रिय युवा नीति लागू भए पनि स्थानीय तहमा त्यसको प्रभाव नदेखिएको बताए । युवाको आवश्यकता, चाहना र रोजगारी सिर्जनासम्बन्धी तथ्यांक संकलन, विश्लेषण र त्यसअनुसार बजेट तथा कार्यक्रम ल्याउन स्थानीय सरकार गम्भीर हुनुपर्ने उनको जोड थियो ।

कार्यक्रमले स्पष्ट नीति, स्थानीय तहको नेतृत्व, युवामैत्री बजेट र प्रभावकारी कार्यान्वयन बिना स्थानीय अर्थतन्त्र सवलीकरण सम्भव हुने सहभागीहरुको भनाई थियो। कार्यक्रमको सहजीकरण उद्योग वाणिज्य संघका कर्मचारी पारेश्वर भट्टराईले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालोमोसो दलेर कुटपिट

   पुष ०६, २०८२       admin

दाङ,६ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि अनेरास्ववियू (क्रान्तिकारी) निकट विद्यार्थीले मोसो दल्नुका साथै कुटपिट गरेका छन्।

आइतबार बिहान ५/६ जनाको समूहमा आएका अखिल (क्रान्तिकारी)का विद्यार्थीले बेलझुण्डीस्थित निवासमा पुगेर उपकुलपति नेपालमाथि दुर्व्यवहार र कुटपिट गरेको विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले जानकारी दिए।

घटनामा उपकुलपति नेपालसँगै विश्वविद्यालयका अन्य दुई कर्मचारी पनि कुटपिटमा परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले बताए। घटनामा संलग्न विद्यार्थीहरूको खोजी भइरहेको र आवश्यक अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।

विद्यार्थीहरूले उपकुलपति नेपालमाथि भ्रष्टाचारको आरोप लगाउँदै मोसो दल्ने र कुटपिट गरेको जनाइएको छ। घटनाका क्रममा उनीहरूले नेकपा (बहुमत) र अनेरास्ववियू (क्रान्तिकारी) पक्षधर नारा समेत लगाएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अभिभावकलाई आन्दोलनमा उत्रिन शिक्षा मन्त्रीको आह्वान

   पुष ०६, २०८२       admin

काठमाडौं,६ पुस । शिक्षामन्त्री महावीर पुनले विद्यालय सुधारका लागि अभिभावकलाई सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्। उनले देशका धेरै विद्यालयमा बेथिति, भ्रष्टाचार र अत्यधिक राजनीतीकरण बढ्दै गएको उल्लेख गर्दै त्यसविरुद्ध स्थानीय स्तरमै एकजुट भएर आवाज उठाउन आग्रह गरेका हुन्।

विद्यालयमा देखिएको मनपरी र राजनीतिक हस्तक्षेप अन्त्यका लागि अभिभावकको दबाब आवश्यक रहेको भन्दै मन्त्री पुनले सुधारका लागि आन्दोलन अपरिहार्य भएको बताए।

“स्थानीय अभिभावकहरू एकजुट भएर कडा चेतावनी र दबाब नदिएसम्म विद्यालयको अवस्था सुधारिन गाह्रो छ,” उनले स्पष्ट पारे।

शिक्षामन्त्री पुनले संविधानले नै अभिभावकलाई आफ्नो सन्तानको शिक्षासम्बन्धी सवालमा आवाज उठाउने पूर्ण अधिकार दिएको उल्लेख गरे। केन्द्रबाट मात्रै निर्देशन दिएर समस्या समाधान नहुने अनुभव भएको बताउँदै उनले स्थानीय स्तरको सक्रिय सहभागिता अनिवार्य रहेको धारणा राखे।

“अब काठमाडौंबाट मात्रै निर्देशन दिएर पुग्ने अवस्था छैन,” उनले भने, “आफ्ना छोराछोरीको भविष्य सुरक्षित गर्न अभिभावक स्वयं जाग्नुपर्छ।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’घोषणा

   पुष ०६, २०८२       admin

दाङ,६ पुस । दाङको तुलसीपुर उपमहानगरपालिकालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा गरिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाले सडकमा आश्रित भएर जीवन बिताइरहेका व्यक्तिको उद्धार र सम्मानजनक जीवनको सुनिश्चितताका लागि ऐतिहासिक कदम चालेको हो।

मानवसेवा आश्रमसँगको सहकार्यमा तुलसीपुरलाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ उपमहानगरपालिका घोषणा गरिएको हो। आइतबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्मा, राजनीतिक दलका प्रतिनिधि, संघ–संस्था तथा सरोकारवालाको उपस्थितिमा नगरप्रमुख टिकाराम खड्काले उक्त घोषणा गरेका हुन्। यस अवसरमा घोषणापत्र मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरिएको थियो।


कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख शर्माले सडक जीवन कुनै व्यक्तिको रोजाइ नभई परिस्थितिको उपज हुने उल्लेख गर्दै पीडितलाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा जोड दिए। मानवीय सेवाभन्दा ठूलो धर्म अरू नहुने उनको भनाइ थियो।

नगरप्रमुख खड्काले यो अभियान औपचारिकतामा सीमित नराखी व्यवहारमै लागू गरिने प्रतिबद्धता जनाए। लुम्बिनी प्रदेशमै पहिलो पटक यस्तो घोषणा गर्न पाउँदा गर्व महसुस भएको भन्दै उनले उपमहानगरवासीलाई सडकमा आश्रित व्यक्तिलाई देखे तत्काल मानवसेवा आश्रमसम्म पुर्‍याउन सहयोग गर्न आग्रह गरे।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले २०८२ सालभित्र देशभरका स्थानीय तह तथा सातै प्रदेशलाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ बनाउने लक्ष्य रहेको जानकारी दिए। चालु वर्षको अन्त्यसम्म नेपाललाई नै यस्तो घोषणा गर्ने तयारी भइरहेको उनको भनाइ थियो।

घोषणासँगै तुलसीपुरमा मनोसामाजिक समस्या भएका, खुला आकाशमुनि बस्न बाध्य, खाने–बस्ने व्यवस्था नभएका ज्येष्ठ नागरिक, अनाथ, अपाङ्गता भएका, मनोरोगी तथा जीवन संकटमा परेका व्यक्तिको उद्धार, संरक्षण र व्यवस्थापन मानवसेवा आश्रमले उपमहानगरपालिकाको आर्थिक सहयोगमा गर्नेछ।

उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महिला विकास शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर महोत्सव: आज आउँदैछन् यी कलाकारहरू

   पुष ०६, २०८२       admin


दाङ ,६ पुस। स्थानीय उत्पादनको प्रवर्द्धन, घरेलु तथा साना उद्योगको विकास तथा सांस्कृतिक पहिचानलाई मजबुत बनाउने उद्देश्यका साथ सञ्चालन भइरहेको प्रथम तुलसीपुर महोत्सव–२०८२ अन्तर्गत आज पुस ६ गते चर्चित कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति हुने भएको छ।


नेपाल साना घरेलु तथा उद्योग महासंघ तुलसीपुर, दाङको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा सञ्चालन भइरहेको महोत्सवमा आज गायक कुलेन्द्र बि.क., गायिका सिता थापा, गायक प्रेम शर्मा र उद्घोषिका प्रेरणा गिरीको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।


कार्यक्रममा लोकदोहोरी गीत, सामूहिक लोकनृत्य तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति समेत रहनेछ। पुस ४ गतेदेखि सुरु भएको महोत्सव पुस १५ गतेसम्म तुलसीपुर–६ घोराही रोडस्थित शान्ति सिनेमा हलको पूर्वतर्फ रहेको खुल्ला मैदानमा सञ्चालन हुनेछ।


आयोजकले आजको सांस्कृतिक कार्यक्रममा उपस्थित भई कलाकारहरूको प्रस्तुति अवलोकन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर महोत्सवमा शनिबार ‘हाउसफुल’

   पुष ०५, २०८२       admin

दाङ, ५ पुस । दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सव दोस्रो दिन शनिबार ‘हाउसफुल’ बनेको छ। चर्चित कलाकारहरूको प्रस्तुति हेर्न दर्शकको अत्यधिक भीड लागेपछि महोत्सवस्थल पूरै भरिभराउ देखिएको थियो।

महोत्सवको मुख्य आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायक रामजी खाँड र गायिका भूमिका गिरीले प्रस्तुति दिएसँगै दर्शकको उत्साह बढेको थियो।

गायक रामजी खाँडले ‘तिम्रो त बोलिमा मन्त्र मोहनी’, ‘डाली नुह्यो चरीले टेकेर’, ‘मन परेको मान्छेको नाम दिलमै लेखिन्छ’, ‘अमिलो रसैले’ लगायतका चर्चित गीत प्रस्तुत गर्दा दर्शक छमछम नाचेका थिए। उनका सदाबहार लोकदोहोरी गीतमा दर्शकले ताली र हुटिङ गर्दै साथ दिएका थिए।

यस्तै, गायिका भूमिका गिरीले ‘सरर आउ माया’, ‘मिनी बसमा चढेर जाउ माया’, ‘चिसोमा चिसो बतासै सरर’, ‘चोली मैलो भो’ र ‘तारासँगै जुन’ जस्ता लोकप्रिय गीत गाएर दर्शकलाई झुमाएकी थिइन्। मञ्च अगाडि ठूलो जनसागर नाचगानमा रमाएको थियो।

शनिबारको कार्यक्रममा गायक गायिकासँगै रचना चौधरी, राजमान खत्री लगायत स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहेको थियो। कलाकारहरूले गीतसंगीतसँगै दाङको स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवर्द्धनमा महोत्सवको भूमिकाबारे पनि धारणा राखेका थिए।

महोत्सव अवलोकन गर्न रुकुम पश्चिम, सल्यानलगायत टाढा–टाढाबाट दर्शक आएका थिए। रुकुम पश्चिमबाट आएकी टिका वलीले सय रुपैयाँको टिकटमा धेरै मनोरञ्जन लिन पाएको बताइन्। “पहिलाको भन्दा यो पटकको महोत्सव सबै हिसाबले राम्रो लाग्यो,” उनले भनिन्।

महोत्सवस्थलमा निर्माण गरिएको लण्डन ब्रिजको नमूना र जलपरी आकर्षणका केन्द्र बनेका छन्। ती संरचना हेर्न युवापुस्ता र बालबालिकाको लामो लाइन देखिएको थियो। सल्यानबाट आएकी सीता साहुले यसपटकको व्यवस्थापन र आकर्षणले महोत्सव झनै रमाइलो बनेको बताइन्।

महोत्सवमा राखिएका स्टलहरूमा पनि शनिबार राम्रो चहलपहल देखिएको थियो। स्थानीय कृषि उपज, हस्तकला र होटल व्यवसायमा राम्रो कारोबार भएको व्यवसायीहरूले बताएका छन्।

महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले शनिबार दर्शकको अत्यधिक उपस्थिति रहेको जानकारी दिए। उनका शुक्रबार औपचारिक उद्घाटन भएपछि शनिबारदेखि मनोरञ्जनात्मक कार्यक्रम सुरु भएका हुन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सञ्चालन भइरहेको यो महोत्सवले दाङको पर्यटन प्रवर्द्धन र स्थानीय व्यापारलाई चलायमान बनाउने विश्वास गरिएको छ। महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ।

महोत्सवका महासचिव भद्रबहादुर वलीका अनुसार आइतबार पनि राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरूको प्रस्तुति रहनेछ। आइतबार चर्चित गायक कुलेन्द्र विश्वकर्मा, प्रेम शर्मा र गायिका सीता थापा लगायत कलाकारहरूले प्रस्तुति दिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संसद् पुनःस्थापनाबारे कांग्रेस–एमाले नेताबीच छलफल

   पुष ०५, २०८२       admin

काठमाडौं,५ पुस। नेपाली कांग्रेसका नेता श्याम घिमिरे र नेकपा एमालेका नेता महेश बर्तौलाबीच संसद् पुनःस्थापनासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा भएको भेटघाटमा दुबै नेताले पछिल्लो राजनीतिक अवस्थाबारे विचार विमर्श गरेका हुन् । कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफल समसामयिक विषयमा केन्द्रित रहेको एमाले नेता बर्तौलाले जानकारी दिए ।

बर्तौला विघटित प्रतिनिधिसभामा नेकपा एमाले संसदीय दलका मुख्य सचेतक हुन् भने घिमिरे नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् । छलफलका क्रममा संसद् पुनःस्थापना र त्यसपछिको राजनीतिक प्रक्रियाबारे विशेष ध्यान दिइएको बताइएको छ ।

यसअघि शनिबार बिहान मात्रै नेता बर्तौलाले प्रतिनिधिसभा पुनःस्थापना गरी संसद्को बैठक आव्हान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कञ्चनपुर कारागारमा झडपः आठ कैदीबन्दी घाइते

   पुष ०५, २०८२       admin

कञ्चनपुर, ५ पुस। कञ्चनपुर कारागारमा कैदीबन्दीबीच भएको झडपमा आठ जना घाइते भएका छन् । शुक्रबार साँझ कारागारको आन्तरिक प्रशासन सञ्चालन गर्दै आएका नाइके र चौकीदारसँग अन्य कैदीबन्दीबीच विवाद बढ्दै जाँदा झडपको अवस्था सिर्जना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराका अनुसार झडपमा घाइते भएका सबै कैदीबन्दीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नाइके र चौकीदारले व्यवहारमा विभेद गरेको आरोपपछि विवाद सुरु भएको थियो । सो विवाद नियन्त्रण बाहिर गएपछि झडपमा परिणत भएको बताइएको छ । हाल कारागारको अवस्था सामान्य रहेको र सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले घटनाको छानबिन गर्न समिति गठन गरिने जानकारी दिएका छन् । उनले कारागारको आन्तरिक प्रशासनमा देखिएका कमजोरीबारे छानबिन गरी आवश्यक सुधारात्मक कदम चालिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर महोत्सवः आज रामजी खाँणसहित चर्चित कलाकारको प्रस्तुति

   पुष ०५, २०८२       admin

दाङ, ५ पुस। दाङको प्रथम तुलसीपुर महोत्सवमा आज चर्चित लोकदोहोरी गायक रामजी खाँणसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ । महोत्सवको मूल आयोजक समितिका अनुसार आजको सांस्कृतिक कार्यक्रममा दर्शकलाई मनोरञ्जन दिने विविध प्रस्तुति समावेश गरिएका छन् ।

आज हुने कार्यक्रममा लोकदोहोरी गायक रामजी खाँणसँगै चर्चित गायिका भूमिका गिरी, गायिका रचना चौधरी, गायक राजमान खत्री, सोनी डान्स ग्रुप तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ ।

हिजो भव्य रूपमा उद्घाटन भएको महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुने छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले महोत्सवको उद्घाटन गरेसँगै कार्यक्रम औपचारिक रूपमा सुरु भएको हो ।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरद्वारा आयोजना गरिएको महोत्सवमा युवाहरूका लागि व्यवसायिक आइडिया सेयरिङ कार्यक्रमसमेत राखिएको छ । महोत्सवमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न ५० वटा स्टल किसानलाई निःशुल्क उपलब्ध गराइएको छ भने उत्कृष्ट कारोबार गर्ने कृषकलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वैदेशिक रोजगारीका श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज

   पुष ०५, २०८२       admin

काठमाडौं,५ पुस।। सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण र शुल्कसम्बन्धी हालै लागू गरिएको नयाँ मापदण्ड खारेज गरेको छ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत उक्त मापदण्ड खारेज गरेका हुन् ।

गत ३० कात्तिकमा श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्ने उद्देश्यसहित स्वास्थ्य परीक्षणको दायरा विस्तार गर्दै ३४ प्रकारका परीक्षण अनिवार्य गरेको थियो । सोही निर्णयअनुसार स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

तर उक्त निर्णयप्रति वैदेशिक रोजगारीमा जाने श्रमिक, वैदेशिक रोजगार व्यवसायी संघलगायत सरोकारवाला पक्षबाट शुल्क वृद्धि श्रमिक हितविपरीत भएको भन्दै गुनासो आएपछि प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा मापदण्ड खारेज गरिएको श्रममन्त्री भण्डारीले जानकारी दिए ।

श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिमा ३० कात्तिकको निर्णयअनुसार बढाइएको स्वास्थ्य परीक्षण शुल्क श्रमिकमैत्री नभएको भन्दै सच्याउन प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको उल्लेख छ । सोही निर्देशनका आधारमा मन्त्रीस्तरीय निर्णयबाट शुल्क वृद्धि खारेज गरिएको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयले अब वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाले साविककै मापदण्डअनुसार परीक्षण र शुल्क लिने गरी कार्यान्वयन गर्न निर्देशन दिएको छ । यसअघि लागू रहेको स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology