काठमाडौं,५ पुस।। सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण र शुल्कसम्बन्धी हालै लागू गरिएको नयाँ मापदण्ड खारेज गरेको छ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत उक्त मापदण्ड खारेज गरेका हुन् ।
गत ३० कात्तिकमा श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्ने उद्देश्यसहित स्वास्थ्य परीक्षणको दायरा विस्तार गर्दै ३४ प्रकारका परीक्षण अनिवार्य गरेको थियो । सोही निर्णयअनुसार स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो ।
तर उक्त निर्णयप्रति वैदेशिक रोजगारीमा जाने श्रमिक, वैदेशिक रोजगार व्यवसायी संघलगायत सरोकारवाला पक्षबाट शुल्क वृद्धि श्रमिक हितविपरीत भएको भन्दै गुनासो आएपछि प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा मापदण्ड खारेज गरिएको श्रममन्त्री भण्डारीले जानकारी दिए ।
श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिमा ३० कात्तिकको निर्णयअनुसार बढाइएको स्वास्थ्य परीक्षण शुल्क श्रमिकमैत्री नभएको भन्दै सच्याउन प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको उल्लेख छ । सोही निर्देशनका आधारमा मन्त्रीस्तरीय निर्णयबाट शुल्क वृद्धि खारेज गरिएको विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रालयले अब वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाले साविककै मापदण्डअनुसार परीक्षण र शुल्क लिने गरी कार्यान्वयन गर्न निर्देशन दिएको छ । यसअघि लागू रहेको स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रुपैयाँ थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,५ पुस। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागू गरेको छ । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन तथा फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटमा मापदण्ड लागू गरेको हो।
पार्टीले जारी गरेको आन्तरिक परिपत्रअनुसार उम्मेदवार कानुनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण रूपमा स्वच्छ हुनुपर्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभाका उम्मेदवार कम्तीमा २५ वर्ष र राष्ट्रियसभाका लागि ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्नेछ । साथै, मतदाता नामावलीमा नाम दर्ता भएको र संविधान तथा कानुनले अयोग्य ठहर्याएको व्यक्ति हुन नहुने स्पष्ट गरिएको छ ।
बहालवाला राष्ट्रियसभा, प्रदेशसभा तथा स्थानीय तहका पदाधिकारीलाई उम्मेदवारी दिन नपाउने व्यवस्था गरिएको छ । आर्थिक पारदर्शितालाई विशेष महत्व दिँदै भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने उल्लेख छ । कर–राजस्व अद्यावधिक, कालोसूचीमा नाम नपरेको र सम्पत्ति तथा आयस्रोत खुला रूपमा घोषणा गर्न तयार हुनुपर्ने सर्त अनिवार्य गरिएको छ । पार्टीको आर्थिक अनुशासन उल्लंघन गर्नेहरू पनि उम्मेदवारीबाट बाहिरिनेछन् ।
सामाजिक आचरणका सवालमा पनि पार्टीले कडा नीति अवलम्बन गरेको छ । जातीय वा लैंगिक विभेद, घरेलु हिंसा, यौन उत्पीडन, मानव बेचबिखनजस्ता अपराधमा दोषी ठहरिएका व्यक्ति पार्टीबाट उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ ।
राजनीतिक रूपमा पार्टीको नीति, कार्यक्रम र विचारप्रति पूर्ण प्रतिबद्धता, आन्दोलनमा निरन्तर योगदान, सामाजिक प्रतिष्ठा तथा जनताबीच लोकप्रियता उम्मेदवारका अनिवार्य मापदण्ड तोकिएका छन् । उम्मेदवार सिफारिस गर्दा विषयगत विज्ञता, नीति निर्माण क्षमता र सार्वजनिक संवाद कौशललाई पनि आधार बनाइनेछ ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रत्येक क्षेत्रबाट कम्तीमा एक युवा र एक महिलासहित बढीमा पाँच जना उम्मेदवार सिफारिस गर्नुपर्नेछ । जित्ने सम्भावना भएका लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिन निर्देशन दिइएको छ ।
समानुपातिक प्रणालीतर्फ महिला, दलित, जनजाति, मधेसीलगायत क्लस्टरको अनिवार्य समावेशीकरण गर्दै सहिद तथा बेपत्ता परिवार, द्वन्द्वपीडित र विपन्न वर्गलाई विशेष प्राथमिकता दिनुपर्ने उल्लेख छ । एकै परिवारबाट एकभन्दा बढी व्यक्ति सिफारिस गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
राष्ट्रियसभातर्फ प्रदेशस्तरबाट प्रत्येक क्लस्टरका लागि बढीमा पाँच–पाँच जना सिफारिस गर्ने प्रावधान राखिएको छ ।
पार्टी नेतृत्वले यी मापदण्ड कडाइका साथ कार्यान्वयन गरी स्वच्छ, सक्षम र जनमुखी उम्मेदवार मात्र निर्वाचन मैदानमा उतार्ने प्रतिबद्धता जनाएको छ । यस कदमले आगामी निर्वाचनमा पार्टीको छवि थप सुदृढ हुने अपेक्षा गरिएको छ । पार्टीका अनुसार परिपत्र सबै तहका कमिटीसम्म पुगिसकेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,५ पुस । मधेश प्रदेशमा रिक्त सभामुख पदका लागि सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेशसभा सदस्य राम अशिष यादवले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ताका क्रममा प्रस्तावकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य बिरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य फकिरा महतो रहेका छन्।
मधेश प्रदेशसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता प्रक्रिया सम्पन्न हुँदैछ भने भोलि निर्वाचन हुने कार्यतालिका तय गरिएको छ। सभामुख पदका उम्मेदवार यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्।
गत मङ्सिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पदअनुकूल आचरण नगरेको आरोपमा सात दलीय गठबन्धनले दुई तिहाई बहुमतका आधारमा पदमुक्त गरेपछि सभामुख पद रिक्त भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,४ पुस। अमेरिकाले ‘डाइभर्सिटी भिसा’ (डीभी) लोटरी कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार अमेरिकी गृह सुरक्षा विभागले डीभी कार्यक्रम रोक्ने निर्णय गरेको हो। हालै रोड आइल्याण्डस्थित ब्राउन युनिभर्सिटीमा भएको घातक गोलीकाण्डमा संलग्न मुख्य संदिग्ध व्यक्ति डीभी लोटरीमार्फत अमेरिका प्रवेश गरेको तथ्य खुलेपछि कार्यक्रम स्थगित गरिएको बताइएको छ।
अमेरिकी गृह सुरक्षा मन्त्री क्रिस्टी नोमले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ब्राउन युनिभर्सिटी गोलीकाण्डका संदिग्ध क्लाउडियो म्यानुअल नेभ्स भ्यालेन्टे सन् २०१७ मा डीभी–१ कार्यक्रममार्फत अमेरिका आएको उल्लेख गरेकी छन्। राष्ट्रपति ट्रम्पको निर्देशनमा तत्काल लागू हुने गरी डीभी कार्यक्रम स्थगित गरिएको उनको भनाइ छ।
गत हप्ता ब्राउन युनिभर्सिटी परिसरमा भएको अन्धाधुन्ध गोली प्रहारमा दुई जना विद्यार्थीको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। घटनाका मुख्य आरोपी ४८ वर्षीय पोर्चुगाली नागरिक रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी दुई दशकअघि ब्राउन युनिभर्सिटीमै विद्यार्थी थिए र पछि डीभी लोटरीमार्फत स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) प्राप्त गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,४ पुस। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका कपिलवस्तु शिवराज नगरपालिका–५ का ५४ वर्षीय पवित्र प्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३३ वर्षीया बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने २५ वर्षीय साइरज सुबेदी रहेका छन्।
प्रहरीका अनुसार पवित्र प्रकाश अधिकारीले अल्बानिया पठाइदिन्छु भन्दै चार जना पीडितबाट १९ लाख रुपैयाँ, बबिता विश्वकर्माले क्यानडा पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १९ लाख रुपैयाँ तथा साइरज सुबेदीले अमेरिका पठाइदिन्छु भन्दै तीन जना पीडितबाट ११ लाख १४ हजार ५ सय रुपैयाँ लिई ठगी गरेको आरोप छ।
पीडितहरूले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले पवित्र प्रकाश अधिकारी र बबिता विश्वकर्मालाई काठमाडौं महानगरपालिका–३२ बाट तथा साइरज सुबेदीलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,४ पुस। नेपाल प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्पा, होटल तथा मनोरञ्जन स्थलबाट आठ जना नाबालिकाको उद्धार गरेको छ। नाबालिकालाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।
ब्यूरोले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अनुसन्धानका क्रममा नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको पाइएपछि प्रहरी कारबाहीमा उत्रिएको हो। सोही क्रममा विभिन्न स्थानबाट आठ जना बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१३ का ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–१२ की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका–४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ का ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगङ्गा नगरपालिका–६ का ४९ वर्षीय भीमबहादुर साउद रहेका छन्।
काठमाडौं उपत्यकाका विभिन्न डान्सबार, क्लब, दोहोरी सेन्टर, खाजाघर, स्पा सेन्टर तथा गेस्टहाउसहरूमा आर्थिक लाभ लिई नाबालिकालाई यौनशोषण र वेश्यावृत्तिमा संलग्न गराउने गरिएको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले छापा मारेको हो।
प्रहरीले ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लब, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजाघर तथा खप्तड सुदूरपश्चिम गेस्टहाउसबाट ती बालिकाको उद्धार गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई मानव बेचबिखन तथा बालबालिकाविरुद्धको कसूरसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३ पुस । जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयलाई तथ्यमा आधारित, संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्नु पत्रकारको प्रमुख दायित्व भएको सरोकारवालाले बताएका छन्। जनस्वास्थ्यका मुद्दामा सही सूचना प्रवाह र गलत सूचना नियन्त्रणका लागि सञ्चारमाध्यमको भूमिका निर्णायक हुने उनीहरूको जोड रहेको छ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा घोराहीमा आयोजित जनस्वास्थ्य सचेतना तथा सिकलसेल एनेमिया न्यूनीकरणमा पत्रकारको भूमिका विषयक कार्यशालामा वक्ताहरूले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानले हालसम्म सञ्चालन गरेका स्वास्थ्य सेवा, कार्यक्रम र जनस्वास्थ्य सुधारका प्रयासबारे जानकारी गराउँदै संस्थागत पहलले समुदायस्तरमा स्वास्थ्य सचेतना बढाउन महत्वपूर्ण योगदान दिएको बताए।
वरिष्ठ नेत्र रोग विशेषज्ञ तथा अस्पतालका सह–निर्देशक डा. सुरेश रसाइलीले चिकित्सकका लागि आचारसंहिता र व्यवसायिक नैतिकताको महत्व औंल्याउँदै नैतिक अभ्यासबिनाको स्वास्थ्य सेवा दीगो हुन नसक्ने बताए। उनले स्वास्थ्य सेवाप्रति जनविश्वास कायम राख्न नैतिकता अपरिहार्य रहेको उल्लेख गरे।
सिकलसेल एनेमियाबारे प्रस्तुति दिँदै अजयराज गौतमले रोगको कारण, लक्षण, परीक्षण, उपचार तथा न्यूनीकरणका उपायबारे जानकारी दिए। सिकलसेल एनेमिया जनस्वास्थ्यको चुनौती भएकाले समयमै पहिचान र निरन्तर सचेतना आवश्यक रहेको उनको भनाइ थियो।
स्वास्थ्य पत्रकारिताबारे आफ्नो प्रस्तुतिकरण दिँदै डा. सुदिप गौतमले तथ्यपरक र उत्तरदायी रिपोर्टिङले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए। गलत सूचना फैलिन नदिन र सही सन्देश समुदायसम्म पुर्याउन पत्रकारले विशेष सावधानी अपनाउनुपर्ने उनले बताए।
त्यस्तै, डा. सुलभ रेग्मीले जनस्वास्थ्यका समसामयिक विषय, रोग निवारणमा समुदायको सहभागिता र सञ्चारको भूमिकाबारे धारणा राखे। पत्रकारिता र स्वास्थ्य क्षेत्रबीचको सहकार्यले नीति निर्माणदेखि व्यवहार परिवर्तनसम्म प्रभाव पार्ने उनले उल्लेख गरे।
कार्यशालामा सहभागी पत्रकारहरूले जनस्वास्थ्य र सिकलसेल एनेमियाजस्ता विषयमा जिम्मेवार र प्रभावकारी रिपोर्टिङका लागि समय-समयमा क्षमता अभिवृद्धि गराइनु पर्ने बताएका थिए दिएका छन्। आयोजकका अनुसार यस्ता कार्यक्रमले पत्रकार र स्वास्थ्य क्षेत्रबीचको सहकार्य सुदृढ गर्ने भन्दै प्रतिष्ठानले आगामी दिनमा पत्रकार महासंघसँगको सहकार्यमा अन्य कार्यक्रमहरू समेत सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३पुस । भोलिदेखि दाङको तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव सन्चालन हुन लागेको छ। शुक्रबार देखी सुरु हुने महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले गर्ने भएका छन्। नेपाल घरेलु तथा साना उद्योग संघ तुलसीपुरको आयोजनामा सञ्चालन हुन लागेको छ। महोत्सवबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन सो कुराको जानकारी गराइएको हो ।
महोत्सव उद्घाटनका अवसरमा बिहान ११ बजे तुलसीपुर बसपार्कबाट र्याली सुरु हुने आयोजकले जनाएको छ। कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती रहनेछन्।
“स्थानीय उत्पादनलाई प्रवर्द्धन गरौं, औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको सुधार” भन्ने मूल नारासहित महोत्सव सञ्चालन हुन लागेको हो। महोत्सवमा ४० वर्षमुनिका युवालाई लक्षित गरी आइडिया कन्स्टेस्ट तथा २५ वर्षमुनिका युवायुवतीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ।
सुरक्षाका लागि ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने र महोत्सव स्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको आयोजकले जानकारी दिएको छ।
कृषि तथा स्थानीय उत्पादन प्रवर्द्धनका लागि ५० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछ। साथै बिक्री–वितरणको आधारमा उत्कृष्ट स्टललाई प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरिने जनाइएको छ।
महोत्सव सञ्चालनका लागि २५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने व्यवस्थापनका लागि २७ वटा विभिन्न उपसमिति बनाइएको आयोजकले जनाएको छ।महोत्सव पुस ४ गतेदेखि १९ गतेसम्म सन्चालन हुनेछ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३ पुस । झुठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न रहेको आरोपमा दाङका यमबहादुर बस्नेतसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न व्यक्तिले झुठा विवरण प्रयोग गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाएर तेस्रो मुलुक जाने गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकबल गाउँपालिका–३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल र झापाको भद्रपुर नगरपालिका–९ का ४१ वर्षीय सूर्यबहादुर खड्का रहेका छन्।
प्रहरीका अनुसार उनीहरू झुठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।
पक्राउ परेका तीनै जनालाई नागरिकता, लिखत किर्ते तथा सङ्गठित अपराधसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,३ पुस । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम सार्वजनिक भएको छ। उपाध्यक्ष पदतर्फ केपी शर्मा ओली पक्षका चार जना उम्मेदवार विजयी भएका छन्।
उपाध्यक्ष पदमा ओली पक्षबाट पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा र रघुजी पन्त निर्वाचित भएका हुन्।
त्यस्तै, उपाध्यक्ष पदमा ईश्वर पोखरेल पक्षबाट गोकर्णराज विष्ट मात्रै विजयी भएका छन्।
उपाध्यक्ष पदको नतिजासँगै महाधिवेशनमा ओली पक्षको वर्चस्व देखिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस