दाङ,३ पुस । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र तोकेको छ।
आयोगका प्रवक्ता तथा सह–सचिव नारायणप्रसाद भट्टराईका अनुसार हिजो सातै प्रदेशका लागि मतदानस्थल निर्धारण गरिएको हो।
सातै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहने गरी स्थान तय गरिएको र प्रत्येक मतदानस्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो।
आयोगका अनुसार मतदान केन्द्र ‘क’ प्रदेशसभा सदस्यहरूका लागि तोकिएको छ भने मतदान केन्द्र ‘ख’ गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका मेयर–उपमेयरका लागि निर्धारण गरिएको छ।
निर्वाचन आयोगले मतदान प्रक्रिया व्यवस्थित र सहज बनाउन आवश्यक तयारी पूरा गरिएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२ पुस । तुलसीपुरमा आधुनिक क्युएफएक्स (QFX) सिनेमा हल निर्माण हुन लागेको छ। लामो समयपछि आधुनिक चलचित्र घर सञ्चालनको तयारी सुरु भएसँगै तुलसीपुर सिनेमा नगरीका रूपमा पुनः उदाउने अपेक्षा गरिएको छ।
क्युएफएक्सका सञ्चालक बसन्त लम्सालको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीको प्रमुख आतिथ्यतामा आयोजित पत्रकार सम्मेलनमा क्युएफएक्स हल निर्माणबारे जानकारी दिइएको हो।
प्रमुख अतिथि विनिल केसीले निजी क्षेत्रको लगानीमा आधुनिक सिनेमा हल निर्माण हुनु स्वागतयोग्य भएको जानकारी दिए। उनले आधुनिक चलचित्र घर नहुँदा यस क्षेत्र मनोरञ्जन र चलचित्र व्यवसायमा पछाडि परेको उल्लेख गर्दै अब यसले गति लिने विश्वास व्यक्त गरे । साथै यसको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व भएको उनले जोड दिए ।
संगीत लेखक तथा निर्माता लम्सालले कर्मा समूहका कलाका अनिल बुढाथोकीको संयुक्त लगानीमा करिब २० करोड रुपैयाँको लागतमा सिनेमा हल निर्माण हुन लागेको जानकारी दिए।
उनका अनुसार निर्माण अघि माटो नमुना परीक्षण सम्पन्न भइसकेको छ। दुई वटा हल रहने र करिब ५ सय सिट क्षमताको सिनेमा घर निर्माण गरिने जानकारी दिए। हल अपाङ्गमैत्री संरचनामा निर्माण गरिने पनि उनले बताए ।
चलचित्र पत्रकार सङ्घ लुम्बिनी प्रदेश संयोजक शिव पुनले तुलसीपुरमा आधुनिक सिनेमा हल सञ्चालन हुन लागेको विषय सकारात्मक रहेको जानकारी दिए। उनले दाङ सिनेमा व्यवसायका लागि उर्वर भूमि भए पनि पुराना हल बन्द हुँदै जाँदा लामो समयदेखि आधुनिक सिनेमा घरको अभाव रहेको उल्लेख गरे।
नारायणपुरमा हल सञ्चालनमा आएपछि दाङ पुनः नेपाली सिने क्षेत्रमा पहिचान बनाउन थालेको र अहिले तुलसीपुरमा क्युएफएक्स हल निर्माण हुनुले त्यो अभियानलाई थप बल पुगेको उनको भनाइ थियो।
पत्रकार सम्मेलनको सहजीकरण पत्रकार बसन्त पौडेलले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२ पुस । हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित सर्केगाड बजारमा भिरबाट खसेको ढुङ्गा घरमा लाग्दा चार जना घाइते भएका छन्।
गएराति स्थानीय दनबहादुर रावतको दुईतले कच्ची घरमा माथिल्लो वन क्षेत्रबाट अचानक ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। ढुङ्गा लाग्दा घरमा क्षति पुगेको र सोही घरमा कोठा भाडामा लिएर बस्दै आएका व्यक्तिहरू घाइते भएका हुन्।
घाइते हुनेमा सर्केगाड–८ राहदेउ घर भई हाल सर्केगाड बजारमा बस्दै आएका सुन्दरलाल विककी २८ वर्षीया श्रीमती सरिता विक, सर्केगाड–४ रायागाउँकी २१ वर्षीया लालसरा विक, उनकी ६ वर्षीया छोरी रेविका तथा सर्केगाड–८ की प्रवीणा विक रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शङ्कर खड्काका अनुसार सरिता विकको अवस्था मध्यम रहेको छ। उनको दाहिने गाला र हातमा चोट लागेको छ। स्थानीय साया स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल हुम्ला पठाइएको छ।
टाउको र निधारमा सामान्य चोट लागेका अन्य तीन जनालाई भने स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
सर्केगाड बजारमाथिको वन क्षेत्र भिरालो र चट्टानी भएकाले उक्त बस्ती ढुङ्गा खस्ने उच्च जोखिममा रहेको छ। यसअघि पनि सो स्थानमा पटक–पटक ढुङ्गा खस्ने गरेको स्थानीय प्रकाश शाहीले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२ पुस। घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित व्यावसायिक कागतीखेती गर्दै नमूना किसानको पहिचान बनाएका छन्। सिभिल इन्जिनियर पेसाबाट कृषि उद्यमतर्फ मोडिएका उनले रासायनिक विषादी प्रयोग नगरी कागतीखेतीमा आफूलाई स्थापित गरेका छन्।
चार बिघा १० कट्ठा जमिनबाट कागतीखेती सुरु गरेका ४१ वर्षीय लोहनीले हाल खेती क्षेत्र विस्तार गर्दै ६ बिघा पुर्याएका छन्। अहिलेसम्म करिब एक करोड रुपैयाँ लगानी गरिसकेका उनले आफ्नो बगैँचामा ‘सुन कागती–१’ जातका दुई हजारभन्दा बढी बिरुवा रोपेका छन्।
‘सुन कागतीको बिरुवाले रोपेको करिब तीन वर्षपछि उत्पादन दिन थाल्छ,’ लोहनी भन्छन्, ‘हाल घोराही बजारसँगै काठमाडौंसम्म कागती पठाइरहेका छौं।’ उनले थोपा सिँचाइ प्रविधि प्रयोग गर्दै उत्पादन लागत घटाउनुका साथै गुणस्तरमा ध्यान दिएको बताए।
लोहनीको बगैँचाले स्थानीयस्तरमै १० जनालाई रोजगारी दिएको छ। खेती अझै विस्तार गर्ने योजनामा रहेका उनले प्रतिकट्ठा वार्षिक तीन हजार रुपैयाँ भाडा तिर्दै जमिन उपयोग गरिरहेका छन्। कृषि व्यवसायसँगै तेरौटे गाउँलाई ‘ग्रिन भिलेज’का रूपमा विकास गर्ने उनको दीर्घकालीन लक्ष्य छ।
काठमाडौंमा अध्यापन र हाइड्रोपावर कम्पनीमा काम गरेको अनुभव रहेका लोहनी भन्छन्, ‘सागसब्जीको तुलनामा कागतीमा रोगको जोखिम कम हुन्छ र उत्पादन पनि राम्रो हुने भएकाले यही खेती रोजेँ।’
गत वर्ष प्रतिकेजी १५० रुपैयाँसम्म मूल्य पाएको कागती यस वर्ष ८० रुपैयाँमा झरे पनि उनी निराश छैनन्। ‘मूल्य घटबढ भइरहन्छ, तर दीर्घकालीन रूपमा कागतीखेती सम्भावनायुक्त छ,’ उनी आत्मविश्वासका साथ भन्छन्।
इन्जिनियरिङ पेसाबाट कृषि उद्यममा रुपान्तरण भएका प्रतीकराज लोहनीको कागतीखेती यात्रा धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,२ पुस। वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
कास्कीको पोखरा महानगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१२ बस्दै आएका ५० वर्षीय लालबहादुर बराइलीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका लागि युके लैजाने आश्वासन दिई ५२ लाख रुपैयाँ लिएका थिए। लामो समयसम्म झुक्याएर राखी युके नपठाई सम्पर्कविहीन भएपछि परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका बराइलीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले जानकारी दिए। वैदेशिक रोजगारीका नाममा ठगीका घटना बढ्दै गएकाले प्रहरीले सबैलाई सचेत रहन आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,१ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न उच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले आदेश दिएको हो।
अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते सूचना प्रकाशित गरेको थियो। तर प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले रिट दायर गरेपछि अदालतले पुस ८ गते छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश दिएको छ।
८ गतेसम्म नियुक्ति प्रक्रिया अघि नबढाउने र अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नगर्नेबारे आगामी सुनुवाइपछि मात्रै निर्णय हुनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
धनगढी,१ पुस। नवजात शिशुलाई झाडिमा फाल्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिकाकी ३० वर्षीया विवाहित महिलालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको हो। ती महिलाका श्रीमान रोजगारीका सिलसिलामा विदेशमा रहेका जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।
प्रहरीका अनुसार प्रसव पीडाका कारण महिला हाल धेरै बोल्न सक्ने अवस्थामा नरहेकाले नवजात शिशु फाल्नुको कारण पछि मात्रै खुल्ने बताइएको छ।
आज बिहान धनगढी उपमहानगरपालिका–८ भद्रटोलमा नालानजिक नवजात शिशु फालिएको अवस्थामा फेला परेको थियो। करिब साढे ९ बजेतिर सालनालसहित कपडाले बेरिएको अवस्थामा शिशु भेटिएको हो। उद्धारपछि उपचारका लागि शिशुलाई सेती प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।
नवजात शिशुको अवस्था हाल सकुशल रहेको प्रहरी निरीक्षक विष्टले बताए। शिशु बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले आमाको खोजबिन गर्दै महिलालाई नियन्त्रणमा लिएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१ पुस। नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट सरकारलाई दिइएको भन्दै तोकिएको मितिमा चुनाव हुनैपर्ने बताए। निर्वाचन मिति सार्न सकिन्छ भन्ने तर्कको कुनै आधार नरहेको उनको भनाइ छ।
उनले भने, “चुनाव सर्नुको अर्थ यो सरकारको औचित्य सकिन्छ। ६ महिनाभित्र चुनाव गर्छु भनेर कमिटमेन्ट गरेर म्यान्डेट लिएको सरकारले चुनाव नगराउने भन्न पाउँदैन। परामर्श गरेर नै मिति तय गरिएको हो। ६ महिनाभित्र चुनाव नगराए सरकारको म्यान्डेट सिद्धिन्छ।”
नेता पुनले तोकिएको मितिमा निर्वाचन गरेर अघि बढे मात्र मुलुकलाई संकटबाट निकास दिन सकिने बताए।
उनले सरकारलाई अर्थतन्त्र चलायमान बनाउने गरी पूँजीगत खर्च बढाउनुपर्ने सुझाव पनि दिए। साथै जेनजी आन्दोलनका कारण प्रभावित निजी क्षेत्रका उद्योग र व्यवसायलाई राहत दिने व्यवस्था गर्न सरकारलाई सचेत गराए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१ पुस । रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा ७ मा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो।
मंगलबार मकवानपुरको राक्सिराङ गाउँपालिका वडा ८ टोक्चेराङ घर भइ हाल मनहरी ७ लामाटोलस्थित काका डिसा लामाको घरमा बस्दै आएका सुरेश लामाको मङ्गलबार उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानीय मनकामना सामुदायिक वनमा घाँस काट्न गएका ३५ वर्षीय सुरेस साजको रुखमा चढेर घाँस झार्ने क्रममा एक्कासि रुख बाट खस्दा गम्भीर घाइते भएका थिए ।
रुखबाट खसेर गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले उपचारको क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
उनका अनुसार घटनाको आवश्यक अनुसन्धान भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा तोकिएको छ।
आजका लागि युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ। त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ र बिक्रीदर १८२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा, क्यानडियन डलर एकको खरिददर १०५ रुपैयाँ २० पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११२ रुपैयाँ ८५ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६४ पैसा कायम भएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७७ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९२ पैसा तोकिएको छ।
त्यसैगरी, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४ रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा रहेको छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ९ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९१ पैसा तथा ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी पनि दिइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस