मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

   कार्तिक २४, २०८२       admin

मनाङ,२३ कार्तिक । कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव सशस्त्र प्रहरीले फेला पारेको छ।

फेला पर्नेमा ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेल रहेका छन्।

सशस्त्र प्रहरीका अनुसार उनीहरू मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलमा बसोबास गर्दै आएका थिए। कार्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जाँदै हिँडेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए।

सम्पर्क टुटेपछि ग्याल्सेन होटलले सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो। प्रारम्भिक खोजीमा उनीहरू नभेटिएपछि कार्तिक २३ गते सशस्त्र प्रहरी नायब उपरीक्षक हिरा बहादुर जिसीको कमाण्डमा खटिएको पर्वतीय उद्धार टोलीले उनीहरूको शव फेला पारेको हो।

टोलीले मलेरिपा गुम्बाबाट करिब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा उनीहरूको शव भेटेको जनाएको छ। शवलाई घटनास्थलबाट तल झार्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युवाहरूलाई सडकमा उत्रन ओलीको निर्देशन

   कार्तिक २४, २०८२       admin

काठमाडौ,२३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीसम्बद्ध युवाहरुलाई प्रशासनले अनुमति नदिए पनि सडकमा उत्रिन निर्देशन दिएका छन्।

राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै उनले आन्दोलन र प्रदर्शन गर्न प्रशासनको अनुमति आवश्यक नपर्ने बताएका हुन्।

ओलिले भने, “प्रशासनलाई जानकारी दिनुस्, लुकेर गर्नुपर्ने छैन। हामी यसरी गर्दैछौं, स्वीकृति दिनुहोस् भन्नुहोस्। स्वीकृति नदिए पनि सडकमा उत्रनुस्। संविधानभन्दा सीडीओको आदेश माथि हुँदैन।”

उनले युवाहरुलाई देश र जनताको पक्षमा दृढतापूर्वक आवाज उठाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

१३ वर्षीय बालिकामाथि करणी गर्ने ५२ वर्षीय पुरुष पक्राउ

   कार्तिक २४, २०८२       admin

दिपायल, २३ कार्तिक । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दिपायल सिलगढी नगरपालिका–१ ढार्चुम्माका ५२ वर्षीय ओमप्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ।

बालिकामाथि जबरजस्ती करणी भएको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको टोलीले चन्दलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घटनासम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दार्मामा १२८ जनामा स्क्रबटाइफस: चारजनाको मृत्यु

   कार्तिक २४, २०८२       admin

सल्यान, २३ कार्तिक । सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफस संक्रमण तीव्र गतिमा फैलिएको छ। गाउँपालिकाका ४९८ जनाको स्वास्थ्य परीक्षण गर्दा १२८ जनामा स्क्रबटाइफस पोजिटिभ देखिएको हो।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार असोजदेखि कात्तिक पहिलो सातासम्म उच्च ज्वरोका कारण चार महिलाको मृत्यु भइसकेको छ। पछिल्लो समय पनि गाउँभर ज्वरोका बिरामी बढिरहेका छन्।

दुई दिन शिविर र पाँच दिन घरघरमै स्वास्थ्य परीक्षण गर्दा १२८ जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये करिब ७० प्रतिशत महिला रहेका बस्नेतले बताए।

उनका अनुसार स्वास्थ्य सेवा कार्यालयसँग समन्वय गरेर सञ्चालन गरिएको शिविरमा ५१ जना, प्रदेश सरकारसँगको सहकार्यमा घरघरमा परीक्षण गर्दा ७३ जना र गाउँपालिकाका स्वास्थ्य संस्थामा परीक्षण गर्दा ४ जनामा स्क्रबटाइफस पोजिटिभ देखिएको छ।

‘असोज र कात्तिक पहिलो साता चार महिलाको मृत्यु भए पनि अहिले पोजिटिभ देखिएका बिरामीलाई गाउँमै उपचार गर्न थालेपछि मृत्यु हुन रोकिएको छ,’ बस्नेतले बताए।

हाल पनि गाउँघरमा ज्वरोका बिरामी छन्। प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी आइतबार फर्किएका छन्। बस्नेतका अनुसार स्क्रबटाइफस परीक्षणका किटको अभावका कारण थप परीक्षणमा समस्या भइरहेको छ।

‘केही स्वास्थ्य संस्थामा किट उपलब्ध गराइएका छन्,’ उनले भने, ‘तर ती समाप्त भएपछि बिरामी भएका ठाउँमा पुगेर परीक्षण गर्न कठिनाइ हुने अवस्था आएको छ।’

गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले स्क्रबटाइफसले स्थानीयस्तरमा गम्भीर समस्या उत्पन्न गरेको बताए। उनका अनुसार अहिले संक्रमण केही घट्दै गए पनि जोखिम भने कायम छ।

अध्यक्ष केसीले संक्रमणबाट बच्न सरसफाइमा ध्यान दिन, जंगल वा घर नजिक बारीमा काम गर्दा सावधानी अपनाउन आग्रह गरेका छन्। साथै, परीक्षण किटका लागि सम्बन्धित निकायसँग माग गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युएईसँग नेपाल पराजित

   कार्तिक २४, २०८२       admin

काठमाडौ,२३ कार्तिक । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४३ रनले पराजित भएको छ ।

यूएईले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका लागि मोहमद आदिल आलमले ३२ र सन्दीप जोराले अविजित ३१ रन जोडे ।

त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै १२९ रनको योगफल बनाएको थियो । उसका लागि निलाश केसवानीले सर्वाधिक ७३ रन र जाहिद अलीले ३० रन जोडे ।

नेपालका लागि राशिद खानले दुई विकेट लिए भने रुपेश सिंहले एक विकेट लिए । यो हारसँगै जारी प्रतियोगितमा नेपालको यात्रा समाप्त भएको छ ।

विभिन्न १२ टोली सहभागी यस प्रतियोगितामा नेपालले भारतलाई मात्र पराजित गर्न सक्यो । त्यसबाहेक सबै खेलमा नेपाल पराजित भयो । नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका र श्रीलंकासँग पराजित भएको थियो

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रहरीको ट्र्याकसुट लगाएर लुटपाट गर्ने युवक पक्राउ

   कार्तिक २४, २०८२       admin

काठमाडौं, २३ कार्तिक ।नेपाल प्रहरीको ट्र्याकसुट लगाएर हिँडेका एक व्यक्ति लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति अछाम मल्लेक गाउँपालिका–७ घर भई हाल काठमाडौंको कपनमा बस्दै आएका २२ वर्षीय अमृत साउँद हुन्। उनलाई आइतबार बिहान ७ बजे प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो।

साउँद भदौ २४ गते प्रहरी प्रभाग कपनमा भएको लुटपाट घटनामा संलग्न रहेको खुलेको प्रहरीको भनाइ छ। प्रहरीले उनलाई ट्र्याकसुट लगाएर हिँडिरहेको अवस्थामा फेला पारेपछि उनको डेरामा तलासी लिएको थियो।

तलासीका क्रममा कपन प्रहरी प्रभागबाट लुटिएका कम्प्युटर, सिपियू, प्रिन्टर, प्रहरीको रेनकोट, बुट र तरबार फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा जुकाको औषधि खाने क्रममा एक बालिकाको मृत्यु

   कार्तिक २३, २०८२       admin

दाङ, २२ कार्तिक । दाङको गढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गढवा गाउँपालिका–४ अजगढवाका शिवकुमार यादवकी छोरी जमुना यादव रहेकी छन्, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए।

प्रहरीका अनुसार स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले औषधि खुवाउने क्रममा औषधि घाँटीमा अड्किएपछि बालिकाको श्वासप्रश्वास रोकिएको थियो। सोही कारण दुई मिनेटमै उनको मृत्यु भएको बताइएको छ।

घटना गढवा गाउँपालिका–४ रामनगरमा भएको हो। मृतक बालिकाको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको र पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मधेसका सांसदले दले आफ्नै मुखमा मोसो

   कार्तिक २३, २०८२       admin

जनकपुर,२२ कार्तिक । मधेस प्रदेशका माओवादी केन्द्रका सांसद रहबर अन्सारीले प्रदेशसभा बैठकमै आफ्नै मुखमा मोसो दलेका छन्। उनले कुनै पनि सरकारले मधेसी जनताको पक्षमा काम नगरेको भन्दै विरोधस्वरूप यस्तो कदम उठाएका हुन्।

प्रदेशसभा बैठकमा रोस्ट्रममा भाषण गर्दै अन्सारीले मधेसका जनतालाई लगातार बेवास्ता गरिँदै आएको भन्दै आफ्नो सांसदको भूमिकाप्रति आत्मग्लानि प्रकट गरे। “कुनै पनि सरकारले मधेसी जनताको पक्षमा काम गरेन, हरेक सरकारले मधेसलाई लज्जित बनायो,” उनले भने, “त्यसैले मैले आज आफ्नो अनुहारमा कालो मोसो दल्दै सार्वजनिक अपराध स्वीकार गरेको छु।”

अन्सारीले प्रदेशमा रहेका सबै सरकार जनताको पक्षमा नउत्रिएको आरोप लगाए। उनले मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) को पक्षमा विश्वासको मत नदिने घोषणा पनि गरे।

मुख्यमन्त्री सोनारले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै गर्दा दलका सांसदहरूलाई बोल्ने अवसर दिइएको थियो। यही क्रममा माओवादी केन्द्रका सांसद अन्सारीले बोल्ने क्रममा आफ्नो अनुहारमा मोसो दलेका हुन्।

उनको यो कदमलाई प्रदेशसभा हलमै उपस्थित सांसदहरू र दर्शकहरूले अचम्मका साथ हेरिरहेका थिए। अन्सारीको कार्यलाई केही सांसदहरूले असन्तोषजनक भनेका छन् भने केहीले यो जनताको पीडा अभिव्यक्त गर्ने असामान्य तर प्रभावशाली विरोधको रूप भएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

   कार्तिक २३, २०८२       admin

कपिलवस्तु,२२ कार्तिक । मोटरसाइकल दुर्घटनामा परि एकजना प्रहरीको मृत्यु भएको छ । लुम्बिनी–तौलिहवा सडकखण्डको लवनीमा भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरीको मृत्यु भएको छ। रूपन्देहीको रोहिणी गाउँपालिका–७ का ३५ वर्षीय राम विलास यादवको घटनास्थलमै मृत्यु भएको हो। यादव हाल कपिलवस्तुको कोपवा प्रहरी चौकीमा सहायक हवल्दारका रूपमा कार्यरत थिए।

सुद्धोधन गाउँपालिका–३ स्थित गाउँपालिका कार्यालय नजिक दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा लु ८३ प ७६९२ नम्बरको मोटरसाइकलमा सवार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए।

दुर्घटनामा अर्को मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् र उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

डिएसपी सिंहका अनुसार सहायक हवल्दार यादव ड्युटीको सिलसिलामा रहेका बेला दुर्घटनामा परेका हुन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महोत्तरीका ११ सीमा नाका ७२ घण्टाका लागि बन्द

   कार्तिक २३, २०८२       admin

महोत्तरी,२२ कार्तिक । महोत्तरीका ११ सिमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ। भारतको बिहार राज्यमा आउँदो मंगलबार हुने विधानसभा निर्वाचनलाई लक्षित गरी नेपाल-भारत सिमानाका आजदेखि तीन दिनका लागि बन्द गरिएका छन्। महोत्तरीसँग जोडिएका ११ वटा सीमानाका शनिबार साँझ ६ बजेदेखि २५ कात्तिकको साँझ ६ बजेसम्म पूर्ण रूपमा बन्द रहने भएका छन्।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बिहारको विभिन्न सिटमा यही २५ कात्तिकमा हुने दोस्रो चरणको मतदानलाई दृष्टिगत गरी सिमानामा उच्च सतर्कता अपनाइएको छ। चुनावी सुरक्षालाई ध्यानमा राख्दै आवागमनमा कडाइ गरिएको उनले बताए।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले सूचना जारी गर्दै शान्ति–सुरक्षा व्यवस्थापनका लागि मानवीय आकस्मिक सेवा बाहेक सिमानाका सबै प्रकारका आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ।

यस अवधिमा आवश्यक सुरक्षाकर्मीहरूको निगरानी बढाइने र कुनै पनि गैरकानुनी गतिविधि हुन नदिन कडाइका साथ अनुगमन गरिने प्रशासनले जनाएको छ।

भारतमा हुने निर्वाचनका कारण सीमा क्षेत्रमा अस्थिरता आउन नदिन नेपाल पक्षले अपनाएको यो कदमले सिमावर्ती क्षेत्रमा सुरक्षात्मक वातावरण कायम हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology