जापानका पूर्वप्रधानमन्त्री मुरयामाको १०१ वर्षको उमेरमा निधन

   कार्तिक ०१, २०८२       admin

काठमाडौ,३१ असोज । जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन्।

दोस्रो विश्वयुद्धका बेला जापानले एसियाली देशहरूमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’ व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण मुरयामा विशेष रूपमा चिनिएका थिए।

सोसल डेमोक्रेटिक पार्टीकी नेत्री मिजुहो फुकुसिमाले एक्समार्फत जानकारी दिँदै लेखिन्, “जापानी राजनीतिको पिता मुरयामा तोमिचीको आज बिहान ११ः२८ बजे ओइटा सिटीस्थित अस्पतालमा १०१ वर्षको उमेरमा निधन भएको छ।”

उनको गृहनगर ओइटाका सोसल डेमोक्रेटिक पार्टीका महासचिव हिरोयुकी टाकानोले मुरयामाको बुढ्यौलीका कारण निधन भएको पुष्टि गरे।

सन् १९९५ मा जापानको आत्मसमर्पणको ५०औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको आफ्नो प्रसिद्ध वक्तव्यमा मुरयामाले भनेका थिए, “जापानले औपनिवेशिक शासन र आक्रामक नीतिहरूका माध्यमबाट धेरै देशका, विशेष गरी एसियाली मुलुकका नागरिकहरूलाई ठूलो क्षति र पीडा पुर्‍यायो। भविष्यमा यस्ता गल्तीहरू दोहोरिन नदिनका लागि म गहिरो नम्रता र पश्चातापका साथ यी इतिहासका अकाट्य सत्यहरूलाई सम्मान गर्दछु र हार्दिक माफी प्रकट गर्दछु।”

यो वक्तव्य जापानले दोस्रो विश्वयुद्धमा गरेका अपराधबारे माफी माग्ने क्रममा अपनाइने स्थायी मापदण्ड बन्यो। त्यसपछि आएका प्रधानमन्त्रीहरूले पनि युद्धका ६०औँ र ७०औँ वार्षिकोत्सवमा ‘गहिरो पश्चाताप’ र ‘हार्दिक माफी’ जस्ता शब्दहरू प्रयोग गर्दै मुरयामाको भावना दोहोर्‍याएका थिए।

घना आँखीभौँका कारण चिनिने मुरयामाले जापानको युद्धपछिको प्रमुख राजनीतिक शक्ति लिबरल डेमोक्रेटिक पार्टीसमेत समावेश भएको गठबन्धन सरकारको नेतृत्व गरेका थिए। उनी सन् १९९४ देखि १९९६ सम्म प्रधानमन्त्री रहे।

उनको कार्यकाल जापानका लागि अत्यन्त चुनौतीपूर्ण रह्यो। सन् १९९५ मा पश्चिमी जापानमा विनाशकारी भूकम्प आएको थियो भने त्यही वर्ष टोकियोको सबवेमा भएको सारिन ग्यास आक्रमणमा दर्जनौँ नागरिकको मृत्यु र करिब ५ हजार ८०० जना घाइते भएका थिए।

मुरयामाले आफ्नो जीवनको आरम्भिक चरणमै जापानको इतिहाससँग प्रत्यक्ष सम्बन्ध राखेका थिए। सन् १९४४ मा विश्वविद्यालयमा अध्ययनरत रहँदै उनी जापानी शाही सेनामा भर्ती भएका थिए।

सन् २०१५ मा जापानको सार्वजनिक प्रसारक एनएचकेसँगको अन्तर्वार्तामा उनले सेनामा बिताएको समय स्मरण गर्दै भनेका थिए, “सेना भनेको डरलाग्दो कुरा थियो। त्यहाँ विद्रोह वा तर्क गर्न पूर्ण रूपमा निषेध गरिएको थियो।”

उनले युद्धको अन्त्यतिरको कठिन अवस्थाको पनि स्मरण गरेका थिए, “त्यो समयसम्म खाना निकै अभावमा थियो, हतियारहरू पनि समाप्तप्रायः भइसकेका थिए। बाँसबाट बनेका हतियार मात्र बाँकी थिए। यस्तो अवस्थामा हामी कसरी युद्ध गर्न सक्थ्यौँ भनेर सोच्दा अहिले पनि डर लाग्छ।”

जापानको राजनीतिक इतिहासमा तोमिची मुरयामा नम्रता, आत्मआलोचना र मानवताको पक्षमा दृढ रहने नेता मानिन्छन्। उनको निधनले जापानी राजनीतिको एउटा युगको अन्त्य भएको रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एकैदिनमा ७ हजार १ सयले बढ्यो सुन

   कार्तिक ०१, २०८२       admin

काठमाडौं ,३१ असोज । सुनको मूल्य आज एकैदिनमा प्रतितोला ७ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ।

हिजो प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज फेरि बढेको हो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले वृद्धि भई आज चाँदीको मूल्य ३ हजार ३५० रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य ३ हजार २७५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ल्याब सन्चालक पक्राउ

   कार्तिक ०१, २०८२       admin

काठमाडौ ,३१ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले भेटेरेनरी औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका सञ्चालक हेमराज बडाललाई पक्राउ गरेको छ।

भन्सार शुल्क लाग्नेगरी आयात गर्न दिइएको सिफारिसपत्र कीर्ते गरेर दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको अभियोगमा बडाललाई आज नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक डा मनोजकुमार केसीले जानकारी दिए।

उनले भने, ‘उक्त प्रकरणमा बडालकी श्रीमती सुना सुवेदीलाई सिआइबीले चार दिनअघि नियन्त्रणमा लिइएको थियो। बिहिबार साझ बडाललाई बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा

   कार्तिक ०१, २०८२       admin

दाङ,३१ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले सूचना जारी गरेर नतिजा प्रकाशन गरेकोबारे जानकारी गराएको हो।

आंशिक परीक्षामा ९ हजार ९३४ विद्यार्थी सहभागी भएकामा ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्। त्यस्तै, ग्रेड वृद्धि परीक्षामा ४ हजार ९७६ जनाले भाग लिएकामा ३ हजार ५४० जना सफल भएका छन्। बोर्डका अनुसार कुल १४ हजार ९१० विद्यार्थी सहभागी भएकोमा ९ हजार ४५६ जना उत्तीर्ण भएका छन्। बोर्डले दुई जनाको परीक्षा रद्द गरेको जनाएको छ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिन्छ। नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर वा १६०० र ८१६०१३ डायल गरी निर्देशनअनुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भुमि आयोगको पुनर्स्थापनाको माग

   कार्तिक ०१, २०८२       admin

धनगढी,३१ असोज । कञ्चनपुरका श्रमजीवी किसानको प्रतिनिधित्व गर्ने दुई सङ्गठनले भूमि समस्या समाधान आयोग पुनर्स्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन्।

अखिल नेपाल किसान महासङ्घ र भूमि अधिकार तथा श्रमिक सङ्गठनले बिहीबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूले सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीमार्फत ज्ञापनपत्र पठाएका थिए।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग वर्तमान सरकारले असोज २३ गते खारेज गरेको थियो। आयोग खारेज भएपछि भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी थप संकटमा परेको भन्दै सङ्गठनहरूले आपत्ति जनाएका छन्।

भूमि अधिकार तथा श्रमिक सङ्गठनका जिल्ला अध्यक्ष सुरेश विकले सरकार परिवर्तनसँगै आफ्नो समस्या झन् बल्झिँदै गएको बताउँदै, “जुनसुकै सरकार आए पनि पहिलो निसानामा यो आयोग नै पर्दै आएको छ,” भन्नुभयो। उहाँले दलित, गरिब र किसानका समस्या समाधान आयोगमार्फत मात्र सम्भव हुने भएकाले सरकारले यसप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।

सङ्गठनहरूले अन्तरिम सरकारले पूर्वाग्रही ढङ्गले आयोग विघटन गरेको आरोप लगाएका छन्। उनीहरूले खारेज गरिएको निर्णय फिर्ता लिएर आयोगलाई निरन्तरता दिन माग गरेका छन्।

ज्ञापनपत्रमा भनिएको छ, “भूमिसम्बन्धी समस्याको दिगो समाधानका लागि दस महिना अघि गठन गरिएको भूमि समस्या समाधान आयोगले सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीन दलितको तथ्याङ्क संकलन, ऐन–नियमका कमजोरी पहिचान र संशोधन, दक्ष कर्मचारी संरचना निर्माण तथा जग्गाधनी प्रमाणपत्र वितरणको काम द्रुतगतिमा अघि बढाइरहेको थियो।”

भूमि, आवास र पहिचान नागरिकको संविधान प्रदत्त मौलिक अधिकार भएको भन्दै सङ्गठनहरूले राज्यलाई दलित, भूमिहीन र सुकुम्बासी समुदायका समस्या सामाजिक न्याय र समानताको दृष्टिकोणबाट समाधान गर्न आग्रह गरेका छन्।

सङ्गठनहरूले आयोग पुनर्स्थापना नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा जुवा खेल्दै गरेका सात जना पक्राउ

   कार्तिक ०१, २०८२       admin

दाङ,३१ असोज । प्रहरीले दाङको तुलसीपुरबाट जुवा तास खेल्दै गरेका ७ जनालाई पक्राउ गरेको छ।

बिहीबार राति ११:४५ बजे तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

स्थानीय कुबेर रेउलेको घरमा अवैध रूपमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश भण्डारीको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो।

खानतलासीका क्रममा उक्त घरबाट तास ५२ पत्ता (१ गड्डी) र नगद रु ६६ हजार ५ सय ६० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले तुलसीपुर–३ दमारगाउँका ५८ वर्षीय कुबेर रेउले, ३२ वर्षीय डम्मरराज वली, २८ वर्षीय सन्दीप सुनार, २४ वर्षीय मनिष चन्द, ३२ वर्षीय टिकाराम केसी, ३२ वर्षीय अरुणकुमार चन्द र ३६ वर्षीय अजय गिरीलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा जुवा खेल्दै गरेका ११ जना पक्राउ

   असोज ३०, २०८२       admin

दाङ, ३० असोज । दाङमा जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा तुलसीपुर–६ का ४८ वर्षीय सुरेन्द्र हमाल, तुलसीपुर–९ का ४५ वर्षीय गुमबहादुर चलाउने, सोही ठाउँका ५० वर्षीय विरबहादुर बस्याल, घोराही–१४ का ५० वर्षीय विष्णु गुप्ता, घोराही–१५ का ३९ वर्षीय खिमबहादुर डाँगी, सोही ठाउँका ३१ वर्षीय पंकज न्यौपाने, घोराही–१३ का ३३ वर्षीय सूर्य बोहरा, सोही ठाउँका ३१ वर्षीय आकाश लम्साल, घोराही–११ का २७ वर्षीय गोबिन्द डाँगी, घोराही–१७ का ३१ वर्षीय रजनिस चौधरी र घोराही–३ का २० वर्षीय सुरज पुन रहेका छन्।

प्रहरीका अनुसार गएराति करिब १ बजेतिर घोराही उपमहानगरपालिका–१५ शहीद गेट नजिक रहेको होटल सुपर लजको कोठा नम्बर १०३ मा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूको साथबाट एक लाख ८८ हजार ८ सय २० रुपैयाँ नगद र ११ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय दाङबाट ७ दिनको म्याद थप गरी उनीहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको दाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा खुकुरी प्रहारबाट एकजना घाइते

   असोज ३०, २०८२       admin

दाङ, ३० असोज । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एकजना युवक घाइते भएका छन्।

घाइते हुनेमा तुलसीपुर–५ रानीजरुवा बस्ने २५ वर्षीय पोषण डाँगी रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार, बिहीबार दिउँसो करिब १ बजेतिर तुलसीपुर–८ कृष्ण मन्दिर नजिक अश्वारा निवासी करिब २४/२५ वर्षीय सन्दीप नामका व्यक्तिले डाँगीमाथि खुकुरी प्रहार गरेका हुन्।

मोटरसाइकलमा आएका सन्दीपले अचानक आक्रमण गर्दा डाँगीको दायाँ हातको चोरऔंला र माझऔंला काटिएको प्रहरीका सूचना अधिकारी सूर्य रानाले जानकारी दिए। घाइते डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि डिस्चार्ज गरिएको छ।

घटनामा संलग्न २२ वर्षीय रिजन विकलाई प्रहरीले रानीजरुवा क्षेत्रबाट पक्राउ गरेको छ भने अन्य फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको आदेश

   असोज ३०, २०८२       admin

काठमाडौँ,३० असोज । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्।

प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर नर्सहरूको आन्दोलनका विषयमा जानकारी लिएपछि समस्या शीघ्र समाधान गर्न आदेश दिएकी हुन्। स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत सम्हालेकी कार्कीले आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित हुन नदिन तत्काल कदम चाल्न र प्रगतिबारे आफूलाई जानकारी गराउन निर्देशन दिइन्।

उनले दक्ष जनशक्तिलाई न्यून पारिश्रमिकमा राख्नु अनुचित भएको भन्दै यस्तो अवस्था जारी रहँदा ठूलो संख्यामा स्वास्थ्यकर्मी विदेश पलायन हुने जोखिम बढ्ने बताइन्।

स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार पाँचौँ तह बराबरको पारिश्रमिक माग गर्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनरत छन्। मन्त्रालयले गत मङ्सिरमा सबै स्वास्थ्य संस्थाका नर्सहरूको पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ निर्धारण गरेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

   असोज ३०, २०८२       admin

अर्घाखाँची,३० असोज । अर्घाखाँचीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

गएराति छत्रदेव गाउँपालिका–१ सौरेखोलामा लु ५८ प ७९७८ नम्बरको मोटरसाइकल र लु ३३ प ६५४४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए।

मृत्यु हुनेमा पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मी छत्रकोट गाउँपालिका–६ का ३५ वर्षीय सुमन सुनार रहेका छन्। उपचारका क्रममा राति करिब पौने ११ बजे दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलका पछाडि सवार पाणिनीकी १८ वर्षीया दीपा कोइराला र गुल्मी छत्रकोटका ४४ वर्षीय सुरज सुनार घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी सिटी अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।

दुवै मोटरसाइकल तीव्र गतिमा रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology