दाङमा किसान ठग्ने व्यापारी पक्राउ: ग्रामीण बस्तीमा पुगेर राँगाभैंसी खरिदबिक्री गर्ने गर्दथे मोहम्मदले

   श्रावण ०२, २०८२       admin


दाङ, १ साउन।दाङमा राँगा खरिद गर्ने निहुँमा किसानलाई ठग्दै हिँड्ने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति गढवा गाउँपालिका–४ पर्साका ४४ वर्षीय मोहम्मद जमिल मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सेनाले जानकारी दिए।

प्रहरीका अनुसार मुसलमानले विभिन्न गाउँबाट दर्जनौं राँगा भैँसी उधारोमा लिएर पैसा नतिरी फरार हुँदै आएका थिए। दंगीशरण गाउँपालिका–४ का तेजमान चौधरीसहित तीन जनाको २ लाख ८० हजार रुपैयाँ बराबरका ६ वटा राँगा २०८० माघ २३ गते उधारोमा लिएर मुसलमान फरार भएपछि पीडितले जिल्ला प्रशासन कार्यालय दाङमा उजुरी दिएका थिए।

२०८१ मंसिर २१ गते मुसलमानविरुद्ध ठगीको आरोपमा जिल्ला प्रशासनमा निवेदन दर्ता भएपछि प्रहरीले दुई महिना लगाएर अनुसन्धान गर्दै बुधबार पक्राउ गरेको हो।

प्रहरीले जनाएअनुसार मुसलमानले चलनचल्तिको मूल्यभन्दा २/३ हजार रुपैयाँ बढी दिने भन्दै विश्वास जित्ने तर पछि पैसा नदिई फरार हुने गरेका थिए।

“दाङका धेरै ठाउँमा राँगा–भैँसी लिएर ठगी गरेको भन्ने उजुरीहरू प्राप्त भइरहेका छन्। पीडितहरूलाई प्रहरी कार्यालयमा निवेदन दिन अनुरोध गर्दछौं,” प्रहरी उपरीक्षक तिमिल्सेनाले भने ।

मुसलमानले विगत केही वर्षदेखि दाङका ग्रामीण बस्तीमा पुगेर किसानलाई झुक्याई राँगा भैँसी लाने, पैसा नतिरी बेपत्ता हुने गरेको प्रहरीले जनाएको छ। यतिबेला प्रहरी थप अनुसन्धानमा जुटेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दङ्गीशरणमा ट्याक्टर दुर्घटना हुँदा प्रहरी जवानसहित दुई जना घाइते

   श्रावण ०२, २०८२       admin


दाङ, १साउन । पश्चिम दाङको दङ्गीशरणमा ट्याक्टर दुर्घटना हुँदा एक प्रहरी जवानसहित दुईजना घाइते भएका छन्। दंगीशरण गाउँपालिका–१ बाँकीमा बिहीबार भएको दुर्घटनामा परेर उनीहरू घाइते भएका हुन्।

आज दिउँसो पौने ३ बजेतिर बाँकीबाट रहरपुरतर्फ जाँदै गरेको रा १ त ४९९८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा परेर दंगीशरण–१, रहरपुर निवासी २५ वर्षीय सिभन चौधरी र १८ वर्षीय छितिज चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएकामध्ये सिभन चौधरी प्रहरी चौकी हिबुवा काभ्रेमा दरबन्दी भई हाल काभ्रेको रोसीमा कार्यरत प्रहरी जवान हुन्। उनको बाँया खुट्टामा चोट लागेको छ भने छितिज चौधरीको दायाँ खुट्टा र मुखमा चोट लागेको जनाइएको छ।

घाइते दुबै जनाको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।

घटना लगत्तै प्रहरी चौकी गोल्टाकुरीबाट प्रहरी निरीक्षक कन्हैलाल चौधरीको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। ट्याक्टर चालक ३१ वर्षीय रामबहादुर चौधरीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाको विस्तृत विवरण संकलनका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

   श्रावण ०२, २०८२       admin

काठमाडौँ,१ साउन । अमेरिकी राज्य अलास्काको तटमा बुधबार ७ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पपछि अलास्काको तटीय क्षेत्रमा सुनामी चेतावनी जारी गरिए पनि केही घण्टामै फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ।

भूकम्प स्यान्ड पोइन्ट टापु नजिकै, समुद्र सतहबाट करिब १२ माइल गहिराइमा गएको हो। भूकम्प स्थानीय समय दिउँसो करिब १२ः३७ बजे (२०ः३७ जिएमटी )गएको थियो । यसको केन्द्रविन्दु स्यान्ड पोइन्ट टापुको सहरबाट करिब ५४ माइल (८७ किलोमिटर) दक्षिणमा अवस्थित थियो । भूकम्पपछि ५.२ म्याग्निच्युडसम्मका पराकम्पनहरू पनि मापन गरिएको छ।

स्यान्ड पोइन्टमा ६ सेन्टिमिटर जतिको सानो सुनामी देखिए पनि ठूलो क्षतिको रिपोर्ट छैन। अलास्का भूकम्पीय रूपमा सक्रिय क्षेत्र रिङ अफ फायर मा पर्ने भएकाले यस्ता घटनाहरू बारम्बार हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तीन महिनामा ९३ जनाको मृत्युः२२ जना अँझै बेपत्ता

   श्रावण ०२, २०८२       admin

काठमाडौँ,१ साउन । मुलुकभर भएका विभिन्न विपद्जन्य घटना घटेका छन् । यसवर्षको वैशाख देखि असारसम्मको तीन महिनाको अवधिमा ९३ जनाको विपद्जन्य घटनामा परेर मृत्यु भएको छ । २२ जना बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा मुलुकभर दुई हजार ६५ वटा प्राकृतिक विपद् घटना घटेका छन्।

प्राधिकरणका प्रवक्ता सुरेश सुनारका अनुसार, विभिन्न विपद् घटनामा परेर ४ सय ४५ जना घाइते भएका छन् भने ४ हजार १ सय ३६ परिवार प्रभावित भएका छन्। यो अवधिमा सबैभन्दा धेरै मृत्यु चट्याङबाट भएको हो। उनका अनुसार २६ जनाले चट्याङको कारण ज्यान गुमाएका छन्।

त्यस्तै, आगलागीबाट १४, जनावरको आक्रमणबाट १२, र लेक लागेर ११ जनाको मृत्यु भएको छ। बाढीका १३ वटा घटनामा २२ जना बेपत्ता र १३ जनाको मृत्यु भएको उल्लेख गरिएको छ।

बाढीबाट मात्रै १ हजार २४६ परिवार प्रभावित भएका छन्, भने आगलागीले १ हजार ४८ परिवारलाई असर गरेको छ। केही दिनअघि, रसुवा जिल्लाको भोटेकोशीमा असार २४ गते आएको बाढीले सबैभन्दा धेरै क्षति पुर्‍याएको थियो।

उक्त बाढीको कारण माथिल्लो क्षेत्रमा भएको हिमताल विष्फोट भएको प्राधिकरणले जनाएको छ।

यस्तै, पहिरो, भारी वर्षा, सर्पदंश, हावाहुरी, र वन डढेलोजस्ता अन्य प्राकृतिक घटनाबाट पनि सयौँ परिवार प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सपिङ मलमा आगलागी,५० जनाको मृत्यु

   श्रावण ०२, २०८२       admin

एजेन्सी । पूर्वी इराकी सहर कुटको सपिङ मलमा रातभर लागेको आगलागीमा करिब ५० जनाको मृत्यु भएको र घाइते भएको सरकारी मिडियाले बिहीबार जनाएको छ ।

‘एउटा प्रमुख सपिङ सेन्टरमा भएको दुःखद आगलागीमा पीडित, शहीद र घाइतेको सङ्ख्या करिब ५० जना पुगेको छ’, वासित प्रान्तका गभर्नर मोहम्मद अल–मियाहीले आधिकारिक आइएनए समाचार एजेन्सीलाई भने । आगलागी बुधबार राति सुरु भएको थियो । आगोले कथित रूपमा पहिलो तलाबाट सुरु भएर छिट्टै हाइपर मललाई घेरेको थियो । कारण तुरुन्तै थाहा हुन सकेको छैन ।

एम्बुलेन्सहरूले बिहान ४ः०० बजेसम्म घाइतेहरूलाई अस्पतालमा लगिरहेका थिए । बगदादबाट करिब एक सय ६० किलोमिटर ९एक सय माइल० दक्षिणपूर्वमा रहेको कुटको अस्पतालका वार्डहरू भरिएका थिए । एएफपीका एक संवाददाताले मल पाँच दिनअघि मात्र खोलिएको र अस्पतालमा जलेका शवहरू देखेको रिपोर्ट गरेको बताए ।

आगलागी अहिले नियन्त्रणमा आएको छ तर दमकलकर्मीहरूले बेपत्ता पीडितहरूलाई खोज्न जारी राखेका छन् ।सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरूमा विचलित आफन्तहरू समाचारको प्रतीक्षामा रहेको देखाइएको छ । तीमध्ये केही एम्बुलेन्सहरू आइपुग्दा शोकमा डुबेका छन् ।

एक व्यक्ति भुईँमा बसेर छाती पिट्दै र ‘हे मेरो बुबा, हे मेरो हृदय’ भनेर रोएको देखिएको थियो ।एम्बुलेन्सहरू आइपुग्दा जाँच गर्दै दर्जनौँ मानिस अस्पताल अगाडि भेला भएका थिए र केही मानिस पीडामा भुईँमा बेहोस भएका थिए ।

तीमध्ये एक ५० वर्ष उमेरका चिकित्सक नासिर अल–कुरैशीले आगलागीमा परिवारका पाँच जना सदस्य गुमाएको बताए ।

‘हामीमाथि एउटा विपत्ति आएको छ’, उनले एएफपीलाई भने, ‘हामी केही खाना खान, रातिको खाना खान र घरमा बिजुली कटौतीबाट बच्न मलमा गएका थियौँ । दोस्रो तलामा एयर कन्डिसनर विस्फोट भयो र त्यसपछि आगो लाग्यो र हामी यसबाट उम्कन सकेनौँ ।’

गभर्नर मियाहीले तीन दिनको शोक घोषणा गरेका छन् र स्थानीय अधिकारीहरूले मलको मालिक र भवन ठेकेदार विरुद्ध मुद्दा दायर गर्ने बताएका छन् ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको र प्रारम्भिक निष्कर्ष ४८ घण्टाभित्र आउने अपेक्षा गरिएको गभर्नरले बताए ।

‘यो त्रासदी एउटा ठूलो आघात हो र सबै सुरक्षा उपायहरूको गम्भीर समीक्षा आवश्यक छ’, उनले भने ।

इराकको निर्माण क्षेत्रमा सुरक्षा मापदण्डहरू प्रायः बेवास्ता गरिन्छ र दशकौँको द्वन्द्वपछि पूर्वाधार बिग्रिएको यो देश प्रायः घातक आगलागी र दुर्घटनाहरूको दृश्य हुन्छ । तापक्रम ५० डिग्री सेल्सियस ९१२२ डिग्री फारेनहाइट० पुग्ने गर्मीमा आगलागी बढ्छ ।

सन् २०२३ सेप्टेम्बरमा भीडभाड भएको इराकी विवाह हलमा आगलागी भएपछि बाहिर निस्कनका लागि आतङ्कित भागदौड हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको थियो ।

सन् २०२१ जुलाईमा दक्षिणी इराकको अस्पतालको कोभिड युनिटमा आगलागी हुँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो । एएफपी

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ससुराली गएका प्रकाशको हत्या, दाजु निरोज गम्भीर घाइते

   श्रावण ०२, २०८२       admin

इलाम,१ साउन । इलामको सूर्योदय नगरपालिकामा गएराति ससुराली गएका एक युवकको हत्या गरिएको छ भने उनका दाजु गम्भीर घाइते भएका छन्।

सूर्योदय नगरपालिका–१ शिरिसेमा बुधबार राति भएको घटनामा इलाम माइजोगमाई गाउँपालिका–२ का २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रहरीका अनुसार प्रकाश आफ्ना ३२ वर्षीय दाजु निरोज चापागाईंसँगै ससुराली गएका थिए। उनीहरू स्थानीय काजी तामाङको घरमा रहेका बेला विवाद उत्पन्न भएको र सोही क्रममा ३३ वर्षीय किरण शेर्पाले धारिलो हतियार प्रहार गरेका थिए।

हतियारको प्रहारबाट प्रकाशको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोही घटनामा उनका दाजु निरोजको पेटमा गम्भीर चोट लागेको र उनलाई तत्काल उपचारका लागि फिक्कल पठाइएको छ।

घटनापछि भाग्न खोजेका आरोपी किरण शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको कारणबारे विस्तृत विवरण दिन बाँकी रहेको जनाएको छ भने स्थानीयहरूबीचको भनाभनबाट विवाद चर्किएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज साउने सङ्क्रान्ति : लुतो फाल्ने दिन

   श्रावण ०२, २०८२       admin

काठमाडौँ, १ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान, लुतो फाल्ने र आफन्तसँग रमाइलो गरेर मनाइँदैछ।

सूर्यले मिथुन राशिको यात्रा पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले साउने सङ्क्रान्तिको विशेष महत्त्व रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराई बताउँछन्। यही दिनदेखि सूर्य दक्षिणायन सुरु गर्छ भने माघ १ गतेदेखि उत्तरायण सुरु हुने मानिन्छ। यी दुई दिनलाई धार्मिक र सांस्कृतिक हिसाबले विशेष पर्वका रूपमा लिने गरिन्छ।

लुतो फाल्ने चलन: कृषिकर्ममा व्यस्त असार महिनाभरको हिलोमैलोका कारण लाग्ने छालासम्बन्धी रोग निको पार्न लुतो फाल्ने परम्परा रहिआएको हो। आजको दिनलाई स्वास्थ्य र शुद्धिकरणसँग पनि जोडिन्छ। लुतो फाल्दा विभिन्न वनस्पति—कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि प्रयोग गरिन्छ, जसले रोगनाशक औषधिको काम गर्छ।

साथै, परम्पराअनुसार ‘कण्डारक’ नामका राक्षसको पूजा गरेर अगुल्टो फाल्ने गरिन्छ। यो कार्य गर्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्नेजस्ता कर्म गरिन्छ, जसले लुतो अर्थात नकारात्मक शक्ति टाढा भगाउने जनविश्वास छ।

शिवभक्तिको सुरुवात: साउन महिनालाई भगवान् शिवको आराधना गर्ने पवित्र महिनाका रूपमा लिने चलन छ। विशेषगरी महिलाले हरियो चुरा, हरियो पहिरन र रातो सजावटका माध्यमबाट प्रकृतिसँग नजिक भएको प्रदर्शन गर्छन्। यसै कारण साउन महिनामा हरियो र रातो चुरा तथा पहिरनको व्यापारसमेत बढ्ने गर्छ।

साउन १ गतेको दिन किसानहरू महिनौंको श्रमपछि आफन्तसँग भेटघाट र भोजभतेरसहित सामाजिक मेलमिलाप गर्ने अवसरका रूपमा लिन्छन्। गाउँघरमा विशेष चहलपहल रहने आजको दिन नेपाली समाजमा स्वास्थ्य, परम्परा, श्रद्धा र सामाजिक एकताको संगम बनेर आएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

११ कारण देखाउँदै जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन: (यस्ता छन् कारण)

   श्रावण ०१, २०८२       admin

काठमाडौँ,३२ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। साथै अब पार्टीले प्रतिपक्षमा बस्ने घोषणा गरेको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको संसदीय दलको बैठकले सरकारको कार्यसम्पादनको समीक्षा गर्दै यस्तो निर्णय गरेको हो। जसपाले सरकारलाई दिएको समर्थनको औचित्य नरहेको ठहर गर्दै ११ बुँदामा विभिन्न असफलता र कमजोरीका आरोप लगाएको छ।

जसपाका अनुसार यी कारणहरूले सरकार असफल प्रमाणित भएको छ र पार्टीले समर्थनलाई निरन्तरता दिनु अर्थहीन भएको निष्कर्ष निकालेको हो।

जसपाले सरकारमाथि लगाएका मुख्य ११ आरोप यस्ता छन्:

१. सुशासनको अभाव: सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन नसक्नु।
२. भ्रष्टाचार र अनियमितता :भ्रष्टाचार, अनियमितता, दण्डहीनता, कमिशनतन्त्र र बिचौलियाको चलखेल नियन्त्रण गर्न नसक्नु।
३. आर्थिक असफलता :मुलुकको अर्थतन्त्र सुधार गर्न र आर्थिक विकास अगाडि बढाउन असफल हुनु, साथै आर्थिक वर्ष २०८२/८३ को बजेट असन्तुलित र पूर्वाग्रही ढङ्गले ल्याउनु।
४. संघीयताको कार्यान्वयनमा निष्क्रियता : संघीयता कार्यान्वयनका लागि ठोस प्रयास नगर्नु।
५. गरिबी र बेरोजगारी अन्त्यमा असफलता: कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिबी र बेरोजगारी न्यूनीकरण गर्न नसक्नु।
६. सेवा प्रवाहमा कमजोरी: स्वच्छ खानेपानी, शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन असफल हुनु।
७. सामाजिक न्यायको अभाव : मधेसी, आदिवासी जनजाति, दलित, महिला, थारू, अल्पसङ्ख्यक लगायत उत्पीडित समुदायका समस्या समाधान नगर्नु।
८. राजबन्दी रिहाइमा उदासीनता: मधेस, थरुहट र लिम्बुवान आन्दोलनका क्रममा झूटा मुद्दामा थुनिएका राजबन्दीहरूलाई रिहा नगर्नु।
९. संविधान संशोधनमा पहलविहीनता: संविधान संशोधनका लागि कुनै ठोस प्रयास नगर्नु।
१०. कृषक समस्यामा बेवास्ता: किसानलाई कृषि बजार, सिँचाइ, मलखाद, बीउबिजन र सहुलियत ऋण उपलब्ध गराउन असफल हुनु।
११. रोजगारी सृजनामा असफलता: बेरोजगारी समस्याको समाधानका लागि रोजगारीका अवसर सिर्जना गर्न नसक्नु।

जसपाले आफ्नो निर्णय अब संसदमा औपचारिक रूपमा प्रस्तुत गर्ने र प्रतिपक्षको भूमिकामा सक्रिय हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एक लाख घुससहित मेयर साह पक्राउ

   श्रावण ०१, २०८२       admin

काठमाडौं, ३२ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

अख्तियारको टोलीले बुधबार मेयर साहलाई कार्यालयमै घुस रकम बुझ्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। आयोग स्रोतका अनुसार उनले उपभोक्ता समितिबाट गैरकानुनी रूपमा रकम लिँदै गरेको सूचनाका आधारमा निगरानी राखिएको थियो।

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर साह अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।

हाल उनलाई थप अनुसन्धानका लागि अख्तियारको कार्यालयमा राखिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एउटै घरमा २३ वटा गोमन सर्प !

   श्रावण ०१, २०८२       admin

रुपन्देही,३२ साउन। रुपन्देहीमा विषालु गोमन सर्पको बिगबिगी देखिएको छ। तिलोत्तमा नगरपालिका–५ प्रेमनगर, बुटवल ११ देवसिद्धचोक र देवदह नगरपालिका ८ टटेराका विभिन्न घरहरूमा यत्रा विषालु गोमन सर्पहरू भेटिएका छन्।

तिलोत्तमा प्रेमनगरका डिलाराम अर्यालको घरमा खाना पकाउँदै गर्दा उनलाई सर्पले डसेर अस्पताल भर्ना भएको थियो। घटनापछि घरमा सर्प खोजतलास गर्दा तीन दिनको अवधिमा २३ वटा गोमन सर्प फेला परेका थिए। भान्सा कोठामा केही भाग फुटेको देखिएपछि सर्प उद्धारकर्तालाई बोलाएर हेरियो। पहिलो दिन ५ वटा सर्प फेला परेपछि दोस्रो दिन थप १२ वटा सर्प भेटिए। तेस्रो दिन पनि ६ वटा थपेर कुल २३ वटा गोमन सर्पलाई उद्धारकर्ताले समेटेर जंगलमा पुर्‍याएर छाडे।

यसको केही समयपछि बुटवल ११ देवसिद्धचोकका शान्ति घिमिरेको घरमा एकै दिन ८ वटा गोमन सर्प भेटिए। त्यहाँ पनि सर्प उद्धारकर्ता विशाल पाण्डे र उनका टिमले सर्पलाई समेटेर जंगलमा लगेर छाडेका छन्।

यस घटनाले सर्प बासस्थानको अभावका कारण घरघरमा सर्पको आगमन बढिरहेको संकेत गरेको छ। विशाल पाण्डे अनुसार, “विगतमा वन जंगल भएका स्थानहरू अब आवासीय क्षेत्र बनेका छन्, जसका कारण सर्पहरूको बासस्थान नष्ट भएको छ र उनीहरू अब घर–घर आउन थालेका छन्।”

यस घटनाको क्रममा तिलोत्तमा १ का विशाल पाण्डे र उनका टिमले सबै सर्पहरूलाई उद्धार गरी सुरक्षित स्थानमा छाडेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology