अमेरिकामा कार दुर्घटनामा दाङका एकसहित दुई नेपाली विद्यार्थीको निधन

   असार ३१, २०८२       admin

काठमाडौं, ३१ असार। अमेरिकाको लुजियाना राज्यमा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

प्राप्त जानकारीअनुसार लुजियाना राज्यस्थित युनिभर्सिटी अफ लुजियाना मा अध्ययनरत दाङका २० वर्षीय रोजिन ओली र २२ वर्षीय राजन यादवको उक्त दुर्घटनामा निधन भएको हो। राजन यादवको स्थायी ठेगाना भने खुल्न बाँकी रहेको जनाइएको छ।

दुर्घटना कहिले र कसरी भएको भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी भए पनि घटनाले अमेरिकामा रहेका नेपाली समुदायमा गहिरो शोक छाएको छ।

लुजियाना राज्यका नेपाली समुदायसहित विभिन्न संघ–संस्थाहरूले घटनाबारे थप जानकारी लिन र पीडित परिवारलाई आवश्यक सहयोग गर्न अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लामिछाने हत्या प्रकरणमा टेकबहादुरलाई आजीवन कारावास

   असार ३१, २०८२       admin

दाङ, ३१ असार। दाङमा एक महिलाको क्रुरतापूर्वक हत्या गरेको अभियोगमा जिल्ला अदालत दाङले एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएको छ।

तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराका ३८ वर्षीय टेकबहादुर हमाललाई अदालतले ४२ वर्षीया रिता लामिछानेको हत्या गरेको प्रमाणित ठहर गर्दै सोमबार पाँच लाख रुपैयाँ जरिवानासहित आजीवन कारावासको फैसला सुनाएको हो।

जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले हमालमाथि दोष सिद्ध भएको निर्णय सुनाएको अदालतका श्रेष्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो। अभियुक्त हमालले २०८० असोज ६ गते बिहान लामिछानेमाथि खुकुरी प्रहार गरेका थिए। घरमै काम गरिरहेकी लामिछानेको घटनास्थलमै मृत्यु भएको थियो।

त्यसै दिन हमालले सोही वडाकी ६५ वर्षीया कमला कुमारी हमालमाथि पनि खुकुरी प्रहार गरी घाइते बनाएका थिए। बारीमा काम गरिरहेकी कमलाको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

प्रहरीले हमाललाई घटनाको केही घण्टापछि घरबाटै पक्राउ गरेको थियो। कार्तिक १२ गते कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भई अदालतमा सुनुवाइ सुरु भएको थियो। बहस र प्रमाणका आधारमा अदालतले उनलाई बाँकी जीवन कारागारमै बिताउनुपर्ने फैसला गरेको हो।

अदालतको निर्णयसँगै हमालले अब आजीवन कैद भोग्नुका साथै पाँच लाख रुपैयाँ जरिवाना पनि तिर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

क्यान्सरपीडितका नाममा चन्दा समिती : १२ कर्मचारीलाई मासिक १८ हजार तलब ,बिरामीले पाएनन् रकम

   असार ३०, २०८२       admin

दाङ,३० असार। क्यान्सरपीडितको नाममा समिति नै गठन गरी मासिक तलबमा कर्मचारी राखेर चन्दा उठाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

दाङ प्रहरीले आइतबार दिउँसो घोराहीबाट बिरामीको फोटो देखाउँदै रकम संकलन गरिरहेका हेटौंडा उपमहानगरपालिका–१८ का २७ वर्षीय ईश्वर अधिकारीलाई पक्राउ गरेको हो।

उनले बोनम्यारो क्यान्सर पीडित ललितपुरका ३७ वर्षीय युवराज भोलानको नाममा ‘युवराज भोलान बचाऊ अभियान समिति’ बनाएर सहयोग संकलन गरिरहेका थिए। प्रहरीका अनुसार यस अभियानको प्रमुख योजनाकार इटहरीका सुवास विक नामका युट्युबर हुन्।

एसपी अर्जुन तिमिल्सिनाका अनुसार सुवास विकले जिल्ला प्रशासन वा कुनै आधिकारिक अनुमति नलिई आफ्नै तर्फबाट रसिद छपाएर रकम संकलन थालेका थिए। मासिक १८ हजार तलब दिने सर्तमा १२ जना कर्मचारी खटाएर बाँके र दाङ क्षेत्रमा चन्दा उठाउँदै आएको पाइएको छ।

पक्राउ परेका अधिकारीले आफैंले ४० हजार रुपैयाँ संकलन गरेको बताएका छन्। तर ती रकम बिरामीलाई पुगेको छैन। पीडित युवराज भोलानले हालसम्म जम्मा २ हजार १ सय रुपैयाँ मात्र प्राप्त भएको बताएका छन्।

“मलाई कतैबाट संकलित रकमको जानकारी दिइएन, न त रकम नै बुझाइयो,” भोलानले भने।

प्रहरीले सोमबार बिहान ११ बजेसम्म संकलित रकम पीडित वा उनका आफन्तलाई बुझाउन समय दिएको थियो। तर सोमबार बेलुकासम्म पनि रकम नपुगेपछि अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरेर अधिकारीलाई हिरासतमा राखिएको एसपी तिमिल्सिनाले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बिद्युत मर्मतका क्रममा करेन्ट लागेर युवकको मृत्यु

   असार ३०, २०८२       admin

जाजरकोट,३० असार । विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जाजरकोट जिल्लाको नलगाड नगरपालिका–४, गुवारा क्षेत्रमा बिद्युत मर्मतका क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो।

रुकुम पश्चिम ११ घर भइ हाल जाजरकोट नलगाड–७ मा बसोबास गर्दै आएका १९ वर्षीय शिशिर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार चन्द बिद्युत मर्मत गर्न गएका थिए। मर्मतका क्रममा उनी पोलमा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनी सोमबार बिहान पोलमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनको घटनास्थलमै उनको मृत्यु भएको पुष्टि भएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बबईमा डुबेर दुई किशोरको मृत्यु : बिधानलाई बचाउन नदीमा पसेका थिए कुशल

   असार ३०, २०८२       admin

दाङ, ३० असार। पश्चिम दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको ज्यान गएको छ। तुलसीपुर उपमहानगरपालिका–७ का १७ वर्षीय बिधान केसी र उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगरको सोमबार दिउँसो डुबेर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय खितलपुरका इन्स्पेक्टर खिम बहादुर खड्काका अनुसार उनीहरू ६ जनाको समूहमा घुमफिरका लागि पुरन्धारा छहरा पुगेका थिए। सोही क्रममा दिउँसो करिब २ बजेतिर बिधान नदीमा नुहाउन पसेका थिए। पानीको बहाव तेज भएका कारण उनी बग्न थालेपछि साथीलाई बचाउन कुशल पनि नदीमा हाम फालेका थिए। तर, दुबै जना डुबेर बेपत्ता भए।

खोजीपछि उनीहरूको शव घटनास्थलदेखि केही मिटर तल फेला परेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु ,एकजना बेपत्ता

   असार ३०, २०८२       admin

दाङ,३० असार । पश्चिम दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका एक किशोरको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता छन्। बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै बबई नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता भएकामध्ये तुलसीपुर उपमहानगरपालिका–२ निवासी १७ वर्षीय बिधान केसीको शव फेला परेको छ भने १६ वर्षीय कुशल बुढामगरको खोजी भइरहेको प्रहरीले बताएको छ। साथीहरूसँग पौडी खेल्न गएका उनीहरू नदीमा डुबेर हराएको इलाका प्रहरी कार्यालय हापुरेका प्रहरी प्रमुख देव केसीले जानकारी गराए।

सब पोस्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल मा लग्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

टयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

   असार ३०, २०८२       admin


जाजरकोट, ३० असार। जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भेरी नगरपालिका–१० फेराबजारदेखि छेडाचौर जाँदै गरेको खाली टयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। सहचालक वीरेन्द्र परियार गम्भीर घाइते भएको छन् । दुर्घटना सोमवार बिहान भएको हो ।

कर्णाली प्रदेश ०१००२ त ०६०७ नम्बरको टयाक्टर भेरी नगरपालिका – १० आलीगाँउ नजिक सडकदेखि करिब ५० मिटर तल खसेपछि टयाक्टर चालक भेरी नगरपालिका ९ का २० वर्षीय धनबहदुर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए।

उनका अनुसार टयाक्टरसहित मृत्यु भएका चालक विकको शव टयाक्टरमै च्यापिएपछि भेरी नगरपालिको जेसिबीले शव निकालिएको हो । सोही टयाक्टरका सहचालक भेरी नगरापालिका७ का १५ वर्षीय वीरेन्द्र परियार घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक हरिराम डाँगीले जानकारी गराए।

टयाक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका परियारलाई उपचारका लागि जाजरकोट अस्पतालमा ल्याएको छ । टयाक्टरले च्यापिएको शव निकालेपछि पोष्टमार्टमका लागि जाजरकोट अस्पताल ल्याउने प्रहरी निरीक्षक डाँगीले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रपतिद्धारा अर्थसम्बन्धी तीन विधयेक प्रमाणीकरण

   असार ३०, २०८२       admin


काठमाडौं, ३० असार। राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधयेक प्रमाणीकरण गरेका छन् । सोमबार अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गरेका हुन् । दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिए ।

उनका अनुसार राष्ट्रपतिले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हावाहुरीका कारण विद्युत अवरुद्ध

   असार ३०, २०८२       admin

गुल्मी, ३० असार। आइतबार रातिदेखिको हावाहुरीका कारण गुल्मी जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ। कपिलवस्तुको मोतिपुर नजिक रहेको १३२ केभी प्रसारण लाइनको टावरमा क्षति पुग्दा गुल्मी वितरण केन्द्रअन्तर्गतको सेवा प्रभावित भएको हो।

नेपाल विद्युत प्राधिकरण, गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार प्रसारण लाइनमा समस्या देखिएपछि सेवा पूर्ण रूपमा बन्द भएको हो। विद्युत अवरुद्ध हुँदा प्रशासनिक सेवा, सञ्चार, उद्योगधन्दा, घरायसी कार्यलगायत सर्वसाधारणको दैनिक जीवनमा प्रभाव परेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एमाले सांसद साहले मागे संघीय मामिला मन्त्री गुप्ताको बर्खास्ती

   असार ३०, २०८२       admin

काठमाडौँ,३० असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको बर्खास्तीको माग गरिएको छ ।

नेकपा एमाले सांसद किरणकुमार साहले मन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ ? भन्दै प्रश्न गरे । प्रत्येक व्यक्तिसम्म पुगेको, सुनिएको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान भएको उनले बताए ।

सांसद साहले भनेका छन्,‘‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ रु दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत माग गर्दछु, गुप्ताज्युलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस् ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology