प्यूठानमा भीरबाट लडेर एकको मृत्यु, करेन्ट लागेर युवक गम्भीर

   असार ०५, २०८३       admin


प्यूठान। प्यूठानमा दुई छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–६ लुङलेखका ५१ वर्षीय मतबहादुर केसीको भीरबाट लडेर मृत्यु भएको हो। गुल्मीबाट घर फर्किँदै गर्दा लुङलेखस्थित गोरेटो बाटोबाट करिब १५० मिटर तल घोप्टे भीरमा लडेर बिहीबार साँझ उनको ज्यान गएको प्रहरीले जनाएको छ।


त्यस्तै, ऐरावती गाउँपालिका–४ कैरनमा करेन्ट लागेर एक युवक घाइते भएका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका १८ वर्षीय सुधन राना ट्रकको छतमा रस्सी खोल्ने क्रममा विद्युत् तार छोएपछि करेन्ट लागेर गम्भीर घाइते भएका हुन्।

घाइते रानालाई निमतारा पोलिक्लिनिकमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्काउट दिवसमा मुख्यमन्त्री आचार्यको शुभकामना

   असार ०५, २०८३       admin

दाङ,५ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्काउटको ७५ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्र निर्माण, सामाजिक सेवा तथा युवा नेतृत्व विकासमा स्काउटको योगदान प्रशंसनीय रहेको बताएका छन्।

उनले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमार्फत जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यका साथ वि.सं. २००९ सालदेखि नेपालमा स्काउट अभियान सञ्चालन हुँदै आएको उल्लेख गरेका छन्।

मुख्यमन्त्री आचार्यले स्काउटले व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, अनुशासन, साहस, आत्मनिर्भरता तथा सेवाभावको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । ‘सधैँ तयार’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै स्काउटले समाज रूपान्तरणमा सकारात्मक योगदान पुर्‍याएको उनले बताए।

शुभकामना सन्देशमा विद्यालय तथा समुदायस्तरमा असल नागरिक, जिम्मेवार नेतृत्वकर्ता तथा राष्ट्रप्रति समर्पित जनशक्ति निर्माणमा स्काउटले निरन्तर प्रेरणा दिँदै आएको उल्लेख गरिएको छ।

त्यसैगरी स्वयंसेवा, सहकार्य, सामाजिक सद्भाव र विविधताप्रति सम्मानको भावना विकास गरी युवाहरूलाई सक्षम र उत्तरदायी नागरिकका रूपमा स्थापित गर्न स्काउटको भूमिका उल्लेखनीय रहेको उनले बताए।

प्राकृतिक विपद्, महामारी तथा अन्य मानवीय संकटका समयमा स्काउटका स्वयंसेवकहरूले उद्धार, राहत वितरण, जनचेतना अभिवृद्धि, रक्तदान, सरसफाइ तथा सामुदायिक सेवामा पुर्‍याएको योगदान अत्यन्त प्रेरणादायी रहेको उनले उल्लेख गरे।

भूकम्प, बाढी पहिरो, आगलागी तथा कोभिड–१९ महामारीका समयमा स्काउटका युवाहरूले देखाएको समर्पणले स्वयंसेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सन्देशमा जनाइएको छ।

यसैगरी वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, वृक्षारोपण, सरसफाइ अभियान, लैङ्गिक समानता, समावेशिता, शान्ति स्थापना तथा दिगो विकास लक्ष्य हासिल गर्न पनि स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मुख्यमन्त्री आचार्यले बताएका छन्।

लुम्बिनी प्रदेश सरकारले युवा तथा बालबालिकाको सर्वाङ्गीण विकास, स्वयंसेवी भावना अभिवृद्धि, विपद् व्यवस्थापन तथा सामाजिक रूपान्तरणमा स्काउटले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्ने उल्लेख गरे।

उनले आगामी दिनमा पनि स्काउटले आफ्नो गौरवशाली इतिहासलाई अझ सुदृढ बनाउँदै राष्ट्र निर्माण र सक्षम युवा नेतृत्व विकासमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रि-मनसुनमा ४५ वर्षयताकै उच्च वर्षा

   असार ०५, २०८३       admin

काठमाडौ,५ असार । यस वर्षको प्रि-मनसुन अवधिमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको तथ्य सार्वजनिक भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष औसतभन्दा निकै बढी वर्षा मापन गरिएको हो।

विभागका अनुसार प्रि-मनसुन याममा नेपालमा औसत २२६ दशमलव ३ मिलिमिटर वर्षा हुने गर्दछ। तर यस वर्ष भने औसतको १४५ दशमलव ५ प्रतिशत अर्थात् ३३९ दशमलव ७ मिलिमिटर वर्षा भएको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए।

यसैबीच पछिल्लो २४ घण्टामा झापाको अनारमनी बिर्ता क्षेत्रमा सबैभन्दा बढी वर्षा मापन भएको छ। सो क्षेत्रमा २०८ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए। उनका अनुसार २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा ‘अति भारी वर्षा’ मानिन्छ।

झापा क्षेत्रमा पछिल्लो केही दिनदेखि निरन्तर वर्षा भइरहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार केही स्थानमा खण्डवृष्टि भए पनि ठूलो क्षति वा प्रभावको विवरण हालसम्म प्राप्त भएको छैन।

विभागका अनुसार सो क्षेत्रबाट मनसुन नेपाल भित्रिने तयारीमा रहेको छ। त्यस्तै इलाम, मोरङ, सुनसरी र सिन्धुलीका केही मापन केन्द्रमा पनि भारी वर्षा भएको छ। पश्चिमतर्फ कास्की, लमजुङ र गोरखाका केही स्थानमा समेत भारी वर्षा मापन गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले सन् १९८१ देखि १२६ वटा वर्षा मापन केन्द्रको तथ्यांकका आधारमा प्रि-मनसुन विश्लेषण गर्दै आएको छ। सोही आधारमा यस वर्ष ४५ वर्षयताकै उच्च वर्षा भएको निष्कर्ष निकालिएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुनको मुल्यमा भारी गिरावट

   असार ०५, २०८३       admin

दाङ,५ असार । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सुन प्रतितोला १० हजार ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ। बिहीबार भने सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी प्रतितोला ३०५ रुपैयाँले घट्दै ४ हजार ६४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको भाउ प्रतितोला ४ हजार ९४५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कक्षा १२ को नतिजा सार्वजनिक

   असार ०५, २०८३       admin

काठमाडौ,५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा सम्पन्न भएको ३५ दिनमै नतिजा प्रकाशन गरिएको हो।

गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कूल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए।

नियमिततर्फ सहभागीमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १३७ छात्रा तथा अन्य २९० जना रहेका छन्।

परीक्षा देशभर १ हजार ४२० केन्द्रमा सञ्चालन गरिएको थियो भने जापानमा १ केन्द्र गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र निर्धारण गरिएको थियो।

सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १६१ रहेको थियो भने सबैभन्दा कम मनाङ र मुस्ताङमा १/१ केन्द्र रहेको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

असारको तेस्रो सातादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण सुरु गरिने

   असार ०४, २०८३       admin

दाङ,४ असार । सरकारले यही असारको तेस्रो सातादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण सुरु गर्ने तयारी गरेको जनाएको छ।

प्रतिनिधिसभामा आउँदो आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्वासी समस्या समाधानका लागि लालपुर्जा वितरणको काम अगाडि बढाइएको जानकारी दिए।

उनका अनुसार विगतमा गठन भएका भूमि आयोगहरू प्रभावकारी रूपमा काम गर्न नसकेको र राजनीतिक भर्ती केन्द्रका रूपमा सीमित भएकाले अपेक्षित उपलब्धि हासिल हुन सकेको थिएन। पछिल्लो सरकारले भूमिसम्बन्धी समिति गठन गरी नयाँ ढंगले काम अघि बढाएको मन्त्री रावलले बताए।

मन्त्री रावलका अनुसार पछिल्लो ३० वर्षमा करिब १२ लाख निवेदन परे पनि अहिलेसम्म जम्मा ९ हजारले मात्र लालपुर्जा पाउनु लज्जास्पद अवस्था हो। यसलाई सुधार गर्न संरचनात्मक परिवर्तन गरिएको उनको भनाइ छ।

यसैबीच, काठमाडौंका सुकुम्वासीहरूलाई विस्थापन गरेर होल्डिङ सेन्टरमा राखिएको विषयमा पनि चासो बढेको छ।

लामो समयसम्म होल्डिङ सेन्टरमा राखिँदा विभिन्न समस्या आएको भन्दै सुकुम्वासीहरूले तत्काल उचित व्यवस्थापनको माग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

डेरामा बस्दै आएकी युवती मृत फेला

   असार ०४, २०८३       admin

काठमाडौ,४ असार। काठमाडौं महानगरपालिका–८ गुहेश्वरीमा डेरा गरी बस्दै आएकी एक युवती मृत अवस्थामा फेला परेकी छन्।

मृतक २५ वर्षीया सलनी केसी रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। उनको स्थायी घर सिन्धुपाल्चोक रहेको बताइएको छ।

प्रहरीका अनुसार केसी बिहीबार आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी हुन्। घटनाबारे थप विवरण खुल्न बाँकी रहेको छ।

उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

‘नागरिक चौतारी’ डिजिटल प्लेटफर्म ल्याउने सरकारको तयारी

   असार ०४, २०८३       admin

काठमाडौ,४ असार ।सरकारले ‘नागरिक चौतारी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ। देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति, योजना र गतिविधिसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले उक्त प्लेटफर्म ल्याउन लागेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त प्रणालीको प्रारम्भिक संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।

प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालका अनुसार यो प्लेटफर्म सरकारका नीतिमाथि छलफल गर्ने मात्र नभई समसामयिक विषय, सरकारी योजना तथा अभ्यासमा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने माध्यमका रूपमा विकास गरिँदैछ।

यस प्रणालीमार्फत नागरिकले मोबाइल वा कम्प्युटर प्रयोग गरेर देशका समस्या उठाउन, सरकारसँग दुईतर्फी संवाद गर्न तथा व्यवहारिक समाधानका सुझाव प्रत्यक्ष रूपमा पेश गर्न सक्नेछन्। साथै, सरकारले प्रतिभाशाली स्वयंसेवक तथा विज्ञ नागरिक पहिचान गर्न समेत यस प्लेटफर्म उपयोगी हुने अपेक्षा गरेको छ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले ‘नागरिक चौतारी’ सुशासन सुदृढ गर्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे। उनका अनुसार यसले सरकारी नीति तथा अभ्यासलाई अझ नागरिकमैत्री र परिणाममुखी बनाउनेछ।

सरकारले डिजिटल प्लेटफर्मसँगै देशभर नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया हुने ‘इन-पर्सन’ कार्यक्रममार्फत पनि यस पहललाई जोड्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विपदमा निरीक्षण भन्दा जनताको सुरक्षा प्राथमिकतामा हुनुपर्छ : गृहमन्त्री गुरुङ

   असार ०४, २०८३       admin

काठमाडौ,४ असार । गृहमन्त्री सुधन गुरुङले यस वर्ष मनसुनजन्य विपद व्यवस्थापनमा मन्त्रीस्तरीय निरीक्षणभन्दा जनताको सुरक्षालाई प्राथमिकतामा राखिएको बताएका छन्।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन विभिन्न तयारी गरिएको जानकारी दिए।

उनका अनुसार आवश्यक परे हेलिकप्टर परिचालनदेखि मोबाइल एपमार्फत पहिरो प्रभावित क्षेत्र पहिचान गर्ने व्यवस्था गरिएको छ।

“हाम्रो लाइन मन्त्रालयले एउटा एप विकास गरेको छ, जसबाट डोजरहरू कहाँ-कहाँ छन् भन्ने जानकारी तत्काल प्राप्त हुन्छ,” उनले भने,-“आवश्यक परेको ठाउँमा तुरुन्तै प्रतिक्रिया जनाउँदै बाटो खुलाउने व्यवस्था मिलाइएको छ।”

मन्त्री गुरुङले आफू विगतमा पनि विपद्का बेला उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा खटिएको उल्लेख गर्दै अघिल्ला वर्षका कमजोरी दोहोरिन नदिने प्रतिबद्धता जनाए।

उनले विपद्का कारण नागरिकले लामो समय सडकमा अलपत्र पर्नु नपरोस् भन्ने लक्ष्यसहित काम भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लायन्स क्लव अफ दाङमा नयाँ नेतृत्व:अध्यक्षमा बिष्ट सर्वसम्मत

   असार ०४, २०८३       admin

दाङ,४ असार । लायन्स क्लव अफ दाङको लायन वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। क्लवको वर्ष २०२6/२६ को अध्यक्षमा लोकबहादुर बिष्ट निर्वाचित भएका छन् ।


नवनिर्वाचित कार्यसमिति अन्तर्गत प्रथम उपाध्यक्षमा कोपाल रावत, द्वितीय उपाध्यक्षमा सरोजकुमार लामिछाने, तृतीय उपाध्यक्षमा कोमल डिसी चयन भएका छन् ।

त्यसैगरी सचिवमा रोमप्रसाद भट्टराई, सहसचिवमा माधव पोख्रेल, कोषाध्यक्षमा हरिश गिरी र सहकोषाध्यक्षमा सूर्यप्रसाद शर्मा निर्वाचित भएका छन् ।


अन्य विभिन्न पद तथा जिम्मेवारीहरूमा समेत क्लवका सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका छन्।

क्लबले नयाँ नेतृत्वहरुलाई एक कार्यक्रमकाबिच पद हस्तान्तरण समेत गरेको छ। वर्ष २०२५/२६ का अध्यक्ष लायन बिनिल केसीको अध्यक्षतामा कार्यक्रम गरि नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो।

बुधबार लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एन नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन विनोदकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा वर्ष २०२६/२७ का नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तारण गरिएको हो।

कार्यक्रममा ध्रुव गौतम, क्लवका पूर्व अध्यक्षहरू, पदाधिकारीहरू, सदस्यहरू, विभिन्न क्षेत्रका व्यक्तित्व तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रममा वक्ताहरूले लायन्स क्लव अफ दाङले सामाजिक सेवा, मानवीय सहयोग, नेतृत्व विकास तथा सामुदायिक हितका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।


नवनिर्वाचित अध्यक्ष बिष्टले क्लवलाई अझ सक्रिय, प्रभावकारी र सेवामुखी बनाउँदै समाजसेवाका कार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । लायन्स क्लव अफ दाङको नयाँ नेतृत्व चयन तथा पद हस्तान्तरण कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology