सहारा सहकारीको मानव सेवा आश्रममा भोजन सेवा

   फागुन २४, २०८१       admin

दाङ , २३ फागुन । सहारा बचत तथा ऋण सहकारी संस्था तुलसीपुर दाङले आफ्नो वार्षिक उत्सवको अवसरमा तुलसीपुरमा रहेको मानव सेवा आश्रममा एक छाक भोजनको व्यवस्था गरिएको छ।

मानव सेवा आश्रममा रहेका व्यक्तिहरूलाई बेलुकाको खाना खुवाइएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा गर्ने हेतुले वार्षिक उत्सवको अवसरमा मानव सेवा आश्रममा खाना खुवाइएको संस्थाका सचिव भीमलाल मरासिनले जानकारी दिए। हो । संस्थाका अध्यक्ष वासुदेव आचार्यको अध्यक्षता तथा संस्थापक अध्यक्ष विष्णुप्रसाद शर्माको प्रमुख अतिथ्यतामा भएको हो ।

संस्थाका साधारण सदस्य गोपाल शर्मा भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका सल्लाहकार बलदेव शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव भीमलाल मरासिनीले गरेका थिए। मानव सेवा आश्रममा अहिले ५१ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्री ओली र स्वास्थ्य मन्त्री पौडेलको राजीनामा माग

   फागुन २२, २०८१       admin

काठमाडौँ,२२ फागुन । बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको राजीनामा माग गरिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले उनीहरूको राजीनामा आवश्यक रहेको बताएका छन्।

लिङ्देनले सरकारको कार्यसम्पादन मूल्याङ्कन सार्वजनिक भइसकेको भन्दै प्रधानमन्त्री कार्यालय स्वयं उत्तीर्ण हुने अङ्क ल्याउन नसकेको आरोप लगाए। उनले कमजोर कार्यसम्पादन गरेका मन्त्रीहरूलाई कारबाही हुनुपर्ने र सरकार नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्य सचिव नियुक्ति प्रक्रियामा हस्तक्षेप गरिएको भन्दै स्वास्थ्य मन्त्री पौडेललाई बर्खास्त गर्न माग गरेका छन्।

मन्त्रिपरिषद्को बुधबारको बैठकले डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। तर, सचिव पदका लागि पहिलो नम्बरमा सिफारिस भएकी डा. संगीता मिश्रलाई बेवास्ता गरिएको भन्दै सांसद सिंहले आपत्ति जनाएका छन्।

डा. मिश्र मधेसी समुदायको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै सांसद सिंहले मन्त्री पौडेलले पदमा बस्न नहुने तर्क राखेका छन्। यस विषयमा प्रधानमन्त्री ओलीको धारणा भने सार्वजनिक भएको छैन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अमेरिका लैजाने ५० बिचौलियामाथि ब्युरोले थाल्यो अनुसन्धान

   फागुन २२, २०८१       admin

काठमाडौं,२२ फागुन । नेपालबाट अवैध रूपमा अमेरिका लैजाने ५० जना बिचौलिया सक्रिय रहेको खुलासा भएको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरूको सूची तयार गरी अनुसन्धान अघि बढाएको छ।

ब्युरोका अनुसार, बिचौलियाहरू काठमाडौंबाट मेक्सिको हुँदै अमेरिका पठाउने गिरोहमा संलग्न छन्। सोही क्रममा अमेरिकाबाट डिपोर्ट भएका ९ जना नेपाली बुधबार काठमाडौं आइपुगेका छन्। तीमध्ये ८ जनालाई अमेरिकन प्रहरीले चार्टर उडानमार्फत पठाएको थियो भने एक जना महिला व्यावसायिक उडानमार्फत स्वदेश फर्किएकी हुन्।

डिपोर्ट भएकाहरूले काठमाडौंबाट दुबई, युरोप हुँदै ब्राजिलको बाटो समातेका थिए। ब्राजिलबाट मेक्सिको हुँदै अमेरिका पुग्न ५० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च भएको पाइएको छ। प्रहरी अनुसन्धान अनुसार, बिचौलियाहरूले उनीहरूबाट लाखौँ रुपैयाँ असुली अवैध बाटोबाट अमेरिका पुर्‍याउने काम गर्दै आएका छन्।

मानव तस्करी नियन्त्रणका लागि प्रहरी प्रशासनले बिचौलियाहरूको पहिचान गर्दै कडा निगरानी बढाएको छ। यस विषयमा थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङका दुई पालिकामा कपडा बैंक स्थापना

   फागुन २२, २०८१       admin

दाङ, २२ फागुन – दाङको दंगीशरण गाउँपालिका र बबई गाउँपालिकामा कपडा बैंक स्थापना गरिएको छ।

क्लोथ एण्ड फुड बैंक नेपालले बुधबार कपडा बैंक स्थापना गरेको हो। “हुनेले दिने, नहुनेले लिने” सिद्धान्तअनुसार पालिकाका कार्यालयहरूमा कपडा बैंक स्थापना गरिएको बैंकका केन्द्रीय अध्यक्ष कमल जीसीले जानकारी दिए।

यसका लागि दंगीशरण गाउँपालिकाले रु. २.५ लाख सहयोग गरेको छ भने बबई गाउँपालिकाले पनि आर्थिक सहयोग प्रदान गरेको छ। जीसीका अनुसार दुवै पालिकाको सहमतिमा कपडा बैंक स्थापना गरिएको हो, र अब नियमित रूपमा सञ्चालन गरिनेछ। बैंकको चाबी पालिकालाई हस्तान्तरण गरिएको छ।

अब पुराना कपडाहरू बैंकमा राख्न सकिनेछ, जसलाई सफा गरी आवश्यक व्यक्तिहरूलाई हस्तान्तरण गरिनेछ। साथै, कमजोर आर्थिक अवस्थाका परिवारहरूलाई केही कपडा समेत प्रदान गरिएको छ।


क्लोथ एण्ड फुड बैंक नेपालले अहिलेसम्म १६४ पालिकामा कपडा बैंक स्थापना गरिसकेको छ। एक लाखभन्दा बढी व्यक्तिलाई कपडा हस्तान्तरण गरिसकेको संस्थाको दाबी छ।


दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले कपडा बैंकले जाडोमा गरिब परिवारलाई राहत दिने बताए। बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने र वर्गीय विभाजन अन्त्य गर्न सहयोग पुग्ने बताए।

कार्यक्रममा दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पीमा कुमारी खड्का, बबई गाउँपालिकाकी उपाध्यक्ष बम कुमारी खड्का, दंगीशरणका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, बबईका प्रमुख प्रशासकीय अधिकृत चेत नारायण कडेँल, प्रेस सेन्टर दाङका सचिव दिपक बोहरालगायतले समाज रुपान्तरणका लागि कपडा बैंक महत्वपूर्ण हुने धारणा राखेका थिए।कार्यक्रमको सहजीकरण पत्रकार सागर सुवेदीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जसलाई विश्वास गरिन्, उनैले गरे हत्या

   फागुन २२, २०८१       admin

बर्दिया,२२ फागुन । बर्दियाको ठाकुर बाबामा एकल महिलाको हत्याको आरोपमा उनका भिनाजु र बुहारी पक्राउ परेका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका–१ की ५१ वर्षीया राधा बोहरा हत्याको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

एकल जीवन बिताइरहेकी बोहरा धुरीखाँबोमा बाँधिएको अवस्थामा फेला परेकी थिइन् । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि खुलासा गर्यो उनलाई हत्या पछि खाबोमा बाधिएको रहेछ।

हत्या आरोपमा उनका भिनाजु ६९ वर्षीय शान्तबहादुर खत्री र खत्रीकी बुहारी २४ वर्षीया उमाकुमारी खत्री पक्राउ परेका छन्। प्रहरीले फागुन १५ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

राधा एकल आमा थिइन्। उनकी एकमात्र छोरी अमेरिकामा छन्। आफ्नै दिदी–भिनाजुको नजिकै उनले एउटा सानो कटेरो भाडामा लिएकी थिइन्, आश्रयका लागि। गुजाराका लागि उनी रक्सी पारेर बेच्थिन्। तर, यही संघर्षले उनलाई अन्ततः मृत्युको नजिक पुर्‍यायो।

राधा र उनका भिनाजु शान्तबहादुरबीच केही वर्षदेखि लेनदेनको विवाद चलिरहेको थियो। दुई–तीन वर्ष अघि राधाले भिनाजुलाई ९० हजार रुपैयाँ ऋण दिएकी थिइन्। तर, पैसा फिर्ता माग्दा शान्तबहादुरले साटोमा जग्गा दिने आश्वासन दिए। जब उनले देखाएको जग्गा विद्युतको हाइटेन्सन लाइनमुनि परेको थाहा पाइन्, राधाले जग्गा नलिने बताइन् र नगद नै फिर्ता गर्न आग्रह गरिन्।

तर, अत्यन्तै रिसाहा स्वभावका शान्तबहादुरले त्यो कुरा मनमा राखे। लेनदेनकै कारण दुई वर्षदेखि उनीहरूबीचको सम्बन्ध चिसिएको थियो। यही रिस र वैमनस्यताले अन्ततः हत्याको योजना बुनियो।

प्रहरीका अनुसार, शान्तबहादुरले आफ्नो बुहारी उमाकुमारीसँग मिलेर हत्या गरेका थिए। घटनाको राति, दुई बजेदेखि तीन बजेसम्म शान्तबहादुर र उमाकुमारीको मोबाइलमा लामो कुराकानी भएको देखिएको छ।

अनुसन्धानमा प्रयोग गरिएको तालिमप्राप्त कुकुर बारम्बार शान्तबहादुर बाख्रा चराउने ठाउँसम्म पुगेर अलमलिएको थियो।

हत्या भएलगत्तै प्रहरी घटनास्थलमा पुग्दा शान्तबहादुर बाख्रा चराउन गएका थिए। तर, प्रमाणहरूले उनी र उनकी बुहारी नै घटनाका प्रमुख योजनाकार रहेको पुष्टि गर्दै लगे।

राधाकी दिदीको घटनामा संलग्नता देखिएको छैन। घटनामा राधाकी दिदीको भने संलग्नता नदेखिएको एसपी खनालले बताए।

राधा मृत भेटिएको घटनापछि प्रहरी पुग्दा शान्तबहादुर बाख्रा चराउन गएका थिए। अनुसन्धानका लागि प्रहरीले लगेको तालिमप्राप्त कुकुर पनि पटकपटक शान्तबहादुर बाख्रा चराइरहेको ठाउँसम्म पुगेर अलमलिने गरेको एसपी खनालले बताए।

‘कुकुर दुई पटक शान्तबहादुर कहाँ पच्छ्याउँदै पुगेको हो,’ एसपी खनालले भने ‘ शान्तबहादुरले बाख्रा चराउन लगेको हुँदा बाख्राकै गन्धले कुकुर केही अलमलिएको थियो, उनले भने।

अनुसन्धानकै क्रममा घटना भएको राति २र३ बजेको बीचमा शान्तबहादुर र उनको बुहारी उमाकुमारीको फोन लामो समय व्यस्त रहेको देखिएको छ।

घटनामा उनीहरूको संलग्नता पुष्टि हुने प्रशस्त आधारहरू भेटिएको एसपी खनालले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बेपत्ता भएको पाँच दिनपछि मृत फेला

   फागुन २२, २०८१       admin

कास्की,२२ फागुन । बेपत्ता भएको पाँच दिनपछि महेश सुवेदी मृत फेला परेका छन्। तनहुँको भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट बेपत्ता भएका ३६ वर्षीय सुवेदी पाँच दिनपछि मृत फेला परेका हुन् ।

फागुन १७ गते बिहान घरबाट बेपत्ता भएका सुवेदीको खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएका थिए। तनहुँको भीमादसहित स्याङ्जा क्षेत्रमा व्यापक खोजी भए पनि उनी फागुन २२ गते भीमाद वडा नम्बर २ को सालिमे पुछार र स्याङ्जाको हरिनास गाउँपालिकाको सीमामा रहेको कुलुङखोला किनारमा मृत अवस्थामा भेटिए।

राति परिवारसँग सुतेका सुवेदी बिहान बेपत्ता भएपछि परिवारले खोजी थालेका थिए। खोजीका क्रममा बिहान सवा ५ बजे उनले परिवारसँग सम्पर्क गरेका थिए। त्यतिबेला उनले आफू कहाँ छु भन्ने थाहा नभएको बताएका थिए। त्यसपछि उनको मोबाइल अफ भएको थियो।

उनको शव फेला परेपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर पोषण केसी नेतृत्वको प्रहरी टोली पुगेको थियो। सुवेदीको शव पोस्टमार्टमका लागि दमौली जिल्ला अस्पताल तनहुँमा पठाइएको छ।

पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।

महेश हाल कावासोती नगरपालिका वडा नम्बर ३, मध्यविन्दु टोलमा बस्दै आएका थिए। भतिजहरूको व्रतबन्धका लागि उनी धरमपानी गएका थिए।

उनकी श्रीमती स्वास्थ्यकर्मी हुन्, जो सानी छोरीसहित लमजुङमा बस्दै आएकी छन्, भने सुवेदी ठूली छोरीसहित कावासोतीमा बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रशासकीय अधिकृत डाँगीको अछाम सरुवा, तुलसीपुरमा पार्धेे आउँदै

   फागुन २२, २०८१       admin

दाङ, २२फागुन । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी सहित ९२ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले ३९ जना नयाँ उपसचिवको पदस्थापन र ५३ जना कार्यरत उपसचिवको सरुवा गरेको हो।

सोही क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीको अछामको मङ्गलसेन नगरपालिकामा सरुवा भएको छ। गत वर्ष चैतमा तुलसीपुर आएका डाँगी पछिल्लो समय एकपछि अर्को विवादमा तानिँदै आएका थिए। कार्यपालिकाको बैठकमा एजेन्डाबाहिरका विषय राखेर निर्णय गराउने, जनप्रतिनिधि तथा कर्मचारीहरूसँग समन्वय नगर्ने जस्ता कारणले उनको कार्यशैलीप्रति व्यापक असन्तुष्टि थियो।

तुलसीपुर उपमहानगरपालिकाका मेयरका स्वकीय सचिव तथा प्रेस संयोजक हटाइएको निर्णयबारे समेत आफूहरूलाई जानकारी नदिएको एमालेबाट निर्वाचित एक जनप्रतिनिधिले बताएका छन्। उनले डाँगीको एकलौटी शैलीका कारण पालिका विवादित बनेको आरोप लगाए।

डाँगीको सरुवा भएसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव केशवराज पार्धेलाई पठाएको छ। निजामती सेवामा शालिन र भद्र स्वभावका अधिकृतका रूपमा चिनिने पार्धेेलाई तुलसीपुरमा समन्वयात्मक र सौहार्दपूर्ण प्रशासनिक वातावरण बनाउने जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रिय सभामा पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदै

   फागुन २२, २०८१       admin

काठमाडौं, २२फागुन । सरकारले करिब ३४ दिनपछि राष्ट्रिय सभामा पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्न लागेको छ। संविधानअनुसार अध्यादेश पेस भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए स्वतः निष्क्रिय हुने व्यवस्था रहेकाले सरकारले ती अध्यादेश निर्णयार्थ पेस गर्न लागेको हो।

माघ १८ गतेको राष्ट्रिय सभाको बैठकमा सरकारले छ वटा अध्यादेश पेस गरेको थियो, तर भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशबाहेकका पाँच वटा अध्यादेश मात्र निर्णयार्थ प्रस्तुत गरिने भएको छ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले दलका नेता तथा सचेतकहरूसँगको छलफलका आधारमा राष्ट्रिय सभाको बैठकका लागि कार्यसूची तयार पारिएको जानकारी दिएका छन् ।

राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ। बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण, आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा सहकारीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिनेछ।

राष्ट्रिय सभामा अध्यादेश पारित गर्न ३० जना सदस्यको बहुमत आवश्यक रहे पनि हाल अध्यादेशको पक्षमा अधिकतम २८ जना मात्र रहेका छन्। सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा), नेपालले भूमिसम्बन्धी अध्यादेशलाई अस्वीकार गर्ने अडान लिएपछि सहमति जुटाउन सरकारलाई समय लागेको थियो।

राष्ट्रिय सभामा जसपाका तीन जना सदस्य रहेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले समेत भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जनाएपछि सरकारले सो अध्यादेशलाई अलग गर्दै अन्य पाँच वटा अध्यादेश मात्र अघि बढाउने निर्णय गरेको हो।

जसपा, नेपालका संसदीय दलका नेता मृगेन्द्रसिंह यादवले आफ्नो पार्टीले ती पाँच वटा अध्यादेशलाई स्वीकार गर्ने पक्षमा मतदान गर्ने बताएका छन्। तर, निर्णयार्थ प्रस्तुत हुन लागेका अध्यादेशहरूका विपक्षमा १२ वटा अस्वीकार प्रस्ताव दर्ता भइसकेका छन्।

सङ्घीय संसद् सचिवालयका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गर्ने अध्यादेशविरुद्ध चार वटा, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह अध्यादेशविरुद्ध दुई वटा, निजीकरण अध्यादेशविरुद्ध दुई वटा तथा आर्थिक तथा व्यावसायिक वातावरण सुधार अध्यादेशविरुद्ध दुई वटा अस्वीकार प्रस्ताव दर्ता भएका छन्।

राष्ट्रिय सभा नियमावलीअनुसार, अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता गराएका सदस्यहरूले आफ्नो प्रस्ताव सभामा पेस गर्नेछन्। सो प्रस्तावमाथि छलफल गरिनेछ, जस क्रममा सदस्यहरूले आफ्ना धारणा राख्नेछन्।

छलफलपछि सम्बन्धित मन्त्रीले उठेका प्रश्नहरूको जवाफ दिनेछन्। त्यसपछि अस्वीकार प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। अस्वीकार प्रस्ताव पारित नभएमा मात्र अध्यादेश पारित गर्ने प्रस्ताव पेस गरिने नियमावलीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पहाडी भेगमा हिमपातको सम्भावना: सतर्कता अपनाउन आग्रह

   फागुन २२, २०८१       admin

काठमाडौं,२२ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले केही पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकका अधिकांश भागमा मौसम सफा भए पनि तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो पहाडी क्षेत्रको मौसम आंशिक बदली रहनेछ भने बाँकी भेगमा मौसम सफा रहनेछ। यस्तै, राति पनि पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाले कोशी, गण्डकी, र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। साथै, शुक्रबार बिहान तराईका केही स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा आंशिक असर पर्ने चेतावनी दिइएको छ।

महाशाखाले सम्बन्धित निकाय र नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पत्रकार पास निलम्बनमाथि सोविताको प्रश्न: ‘प्रश्न सोध्न पाइँदैन?

   फागुन २१, २०८१       admin

दाङ,२१ फागुन ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘हिटलर’ भनेर प्रश्न सोधेका दुई पत्रकारको संसद भवन प्रवेश पास निलम्बन गरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले त्यसको कडा आलोचना गरेकी छन्। उनले फेसबुकमा लेख्दै प्रश्न गर्ने अधिकारको रक्षा गर्नुपर्ने बताएकी छन्।

गौतमले आफ्नो स्टाटसमा लेखेकी छन्, “एक समय थियो, जब मिडियामा देखिन नेताहरू आफैं माइक खोज्थे। तर अब जनताले आफैं प्रश्न गर्न थालेका छन्, सत्ता बोल्न बाध्य पार्दैछन्। संसद जनताको आवाज उठ्ने थलो हो, सत्ता चलाउनेको अहंकारको महल होइन!”

गत फागुन ४ गते ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठले संसद भवन परिसरमा प्रधानमन्त्री ओलीलाई ‘हिटलर’ र ‘तानाशाह’ भनेर प्रश्न गरेका थिए। त्यसपछि संसदीय मर्यादा उल्लंघन भएको भन्दै संसद सचिवालयले उनीहरूको पास एक महिनाका लागि निलम्बन गरेको हो।

सांसद गौतमले पत्रकारहरूको निलम्बन फुकुवा गर्न माग गर्दै लेखेकी छन्, “प्रश्नहरू टर्टा लाग्नु स्वाभाविक हो, तर यदि देशको अवस्था मिठो हुन्थ्यो भने, प्रश्नहरू पनि मिठा आउँथे। प्रश्नलाई दबाउनु सट्टा सबैले समेट्ने गरी काम गर्नुस्। खुशीले जोडेर लैजानुस । संख्याको शक्ति त कुनै बेला भत्किन सक्छ ।प्रकाश ओली र किशोरकुमार श्रेष्ठको निलम्बन फुकुवा गर्नुस ।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology