दाङ,२ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विशेषाधिकार समितीमार्फत संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुत बनाउने बताएका छन्। मंगलबार प्रदेश सभाका विशेषाधिकार समितिहरूबीचको समन्वय, अनुभव आदानप्रदान र साझा सिकाइले बलियो आधार निर्माण गरेको उनले बताएका हुन् ।
लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा दाङको राप्ती उपत्यकास्थित लुम्बिनी सभाहलमा मंगलबारदेखि सुरु भएको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो धारणा व्यक्त गरेका हुन्। बागमती, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको सहभागितामा भइरहेको यो सम्मेलनलाई उनले संघीयता सुदृढीकरणतर्फको ‘कोसेढुङ्गा’का रूपमा व्याख्या गरे।
उनले प्रदेशहरू स्वायत्त र सक्षम बन्दै गएको उल्लेख गर्दै आपसी अन्तरसंवाद र अनुभव साटासाटले कमजोरी सुधार्न मद्दत पुग्ने बताए। सीमित स्रोत साधनका बाबजुद प्रदेश सरकारले उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गर्दै उनले विकास निर्माणमा पूँजीगत खर्चलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
मुख्यमन्त्री आचार्यले संघीयताविरुद्ध फैलाइने भ्रम र अफवाहलाई तथ्यका आधारमा खण्डन गर्न विशेषाधिकार समितिहरूको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। संघीयतामाथि विभिन्न कोणबाट चुनौती आउने गरेको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत रूपमा बलियो बनाउन प्रदेश सभाको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए।
उनले लुम्बिनी प्रदेशले भौतिक पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गरेको र आगामी आर्थिक वर्षमा अझ प्रभावकारी परिणाम आउने विश्वास व्यक्त गरे।
लुम्बिनी प्रादेशिक अस्पताल, प्राविधिक विश्वविद्यालय लगायतका प्रदेश गौरवका आयोजना अघि बढिरहेको उनले बताए। साथै, मन्त्रालय संख्या १२ बाट घटाएर ८ मा झार्दै प्रशासनिक खर्च नियन्त्रण र कार्यक्षमता सुधार गर्ने प्रयास भइरहेको जानकारी दिए।
कार्यक्रममा विशेषाधिकार समिति लुम्बिनी प्रदेश सभाका सभापति गिरधारीलाल न्यौपानेले प्रस्तुत गरेको अवधारणा पत्रमा प्रदेश सभाको गरिमा, स्वतन्त्रता, प्रभावकारिता र उत्तरदायित्व सुदृढ गर्न समितिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिएको छ। सम्मेलनको उद्देश्य समितिहरूबीच समन्वय बढाउने, संसदीय अभ्यासको समीक्षा गर्ने, साझा मापदण्ड तयार गर्ने र अन्तरसंसदीय सहकार्य विस्तार गर्ने रहेको जनाइएको छ।
त्यसै अवसरमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाँड केसी, संविधानसभा सदस्य खिमलाल देवकोटा, बागमती प्रदेशकी मायाँदेवी शर्मा र सुदूरपश्चिमका तुलसी देवकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम विशेषाधिकार समिति सदस्य अम्बिका काफ्लेको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण सदस्य निमा गिरीले गरेकी थिइन्। सम्मेलनमा तीनै प्रदेशका प्रतिनिधि, विज्ञ तथा कर्मचारीहरूको सहभागिता रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२ असार। लुम्बिनी प्रदेश सरकारले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटमा अस्पताललाई २०० शैयाको बनाउने लक्ष्यसहित स्तरोन्नतिको कार्यक्रम समेटिएको हो।
यस्तै तुलसीपुर उपमहानगरपालिका–११ सकौरास्थित ऐतिहासिक दंगीशरण थारु राजाको दरबार क्षेत्रको संरक्षण तथा विकासका लागि पनि चार करोड रुपैयाँ बजेट छुट्याइएको छ। उक्त बजेटबाट पर्यटकीय पूर्वाधार निर्माण र थारु संग्रहालय स्थापना गर्ने योजना रहेको छ।
प्रदेश सरकारले बालविवाह न्यूनीकरण तथा नियन्त्रणका लागि प्रदेशका १२ जिल्लाका १०९ स्थानीय तहमा कार्यान्वयन हुने गरी १० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
यसैगरी घोराहीस्थित प्याराडाइज बोटानिकल उद्यान र रुटाहा ताल क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि ११ करोड रुपैयाँ छुट्याइएको छ।
दाङ–देउखुरी क्षेत्रमा रहेको प्रगन्ना सिँचाइ कुलोलगायत सिँचाइ प्रणालीको सुदृढीकरण र व्यवस्थापनका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) को निर्माण कार्यलाई तीव्रता दिँदै आगामी आर्थिक वर्षभित्र दोस्रो चरणको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ। राजधानीभित्र आवश्यक पूर्वाधार, सडक र फोहर व्यवस्थापनका लागि पनि बजेट व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२ असार । इलाका प्रहरी कार्यालय तुलसीपुरको अतिक्रमित जग्गा खाली गर्ने प्रक्रिया सुरु भएको छ। स्थानीय बासिन्दाले प्रहरीसँगको सहमतिपछि आफैं घर खाली गर्न थालेका हुन्।
कार्यालयको उत्तरतर्फ करिब २ कठ्ठा जग्गा अतिक्रमणमा परेको थियो, जहाँ ९ वटा घर निर्माण गरिएका थिए। ती सबै घरधनीले अहिले सामान सार्दै जग्गा खाली गर्न थालेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए।
उनका अनुसार ९ घरमध्ये दुई परिवार सुकुम्बासी भएकाले उनीहरूको व्यवस्थापन तुलसीपुर उपमहानगरपालिकाले गर्ने सहमति भएको छ।
प्रहरी कार्यालयको कुल ५ कठ्ठा १० धुर जग्गामध्ये २ कठ्ठा अतिक्रमणमा परेको थियो। कार्यालयले जेठ १२ गते १५ दिने सूचना जारी गर्दै जग्गा खाली गर्न आग्रह गरेको थियो। हाल प्रहरीकै सहयोगमा सामान ओसारपसार भइरहेको छ र कुनै विवादबिना जग्गा खाली भइरहेको प्रमुख पराजुलीले बताए।
जग्गा खाली भएपछि त्यही स्थानमा महिला सेलको भवन निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए। हाल सानो र साँघुरो भवनका कारण सेवा प्रवाहमा समस्या भइरहेको भन्दै उनले नयाँ भवन निर्माणलाई प्राथमिकता दिइने बताए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ असार । प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूको अनुपस्थितिका कारण अवरोध भएको छ । विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि छलफल भइरहेका बेला सम्बन्धित मन्त्रीहरू बैठकमा सहभागी नभएपछि सोमबारको बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।
बैठकमा सांसद गोपाल शर्माले नियमावलीअनुसार मन्त्रीहरू उपस्थित हुनुपर्ने भए पनि अनुपस्थित रहेको भन्दै प्रश्न उठाएका थिए। उनले सम्बन्धित मन्त्री बिना मन्त्रालयगत शीर्षकमा छलफल हुन नसक्ने भन्दै आपत्ति जनाउँदै मन्त्रीहरूले संसदको अपमान गरेको टिप्पणी गरे।
त्यसपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगन गरेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयसहित ८ मन्त्रालयको बजेटमाथि छलफल भइरहेका बेला मात्र तीन जना मन्त्री उपस्थित रहेको बताइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ असार । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
अख्तियारको टोलीले उनलाई त्रिपुरेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो। विभागको ३०१ नम्बर कोठाबाट उनलाई नियन्त्रणमा लिइएको सुरक्षा स्रोतले जनाएको छ।
राहदानी छपाइसम्बन्धी अनियमितताको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको आयोगका एक उच्च अधिकारीले बताएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
कैलाली,२ असार । एक महिलाको टेम्पो भिरबाट खसालिएको घटनामा दुई जना वनकर्मीविरुद्ध मुद्दा दर्ता गरिएको छ।प्रहरीका अनुसार वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइएको हो।
घटनामा नियन्त्रणमा लिइएका १२ जनामध्ये बाँकी १० जनालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पीडितको जाहेरीका आधारमा मुद्दा अघि बढाइएको हो।
घटनाबारे थप छलफलका लागि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पीडित, स्थानीय जनप्रतिनिधि तथा वन कार्यालयका पदाधिकारीसँग पुनः छलफल गर्ने तयारी गरिएको बताएका छन्।
यसअघि आइतबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाबीच छलफल भएको थियो भने सोही दिन १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिइएको थियो।
घटनाको छानबिनका लागि सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा बनेको समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
गत शुक्रबार कैलालीको गोदावरी नगरपालिका–४ अन्तर्गत भीमदत्त राजमार्गको बासपानी क्षेत्रमा स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो वनका कर्मचारीले भिरबाट धकेलेर खसालेका थिए।
धामीले सडक किनारमा टेम्पो रोकी पानी, चाउचाउ, बिस्कुट र अण्डा लगायतका सामग्री बिक्री गर्दै आएकी थिइन्। वन क्षेत्र अतिक्रमण गरेको भन्दै कर्मचारीले टेम्पो हटाउने क्रममा उक्त घटना भएको बताइएको छ।
घटनापछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो। यता वन कार्यालयले भने टेम्पो जानाजान नभई भौगोलिक अवस्था र असन्तुलनका कारण भिरबाट खसेको दाबी गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२ असार । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भई २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २०० रुपैयाँ कायम भएको थियो। आइतबार पनि सुन प्रतितोला १ हजार २०० रुपैयाँले बढ्दै २ लाख ९३ हजार २०० रुपैयाँ पुगेको थियो।
यता मंगलबार चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदीको मूल्य १२० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको थियो भने आइतबार ५५ रुपैयाँले वृद्धि भई ४ हजार ८९५ रुपैयाँ पुगेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ तथा चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फको रकमसमेत समावेश गरी कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको हो।
चालु आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो। यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा करिब १ अर्ब ५२ करोड ५५ लाख रुपैयाँले कम रहेको छ।
प्रदेश सरकारले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा आर्थिक उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१ असार । अमेरिकाको मिसौरी राज्यमा स्काईडाइभिङका लागि उडेको एक सानो निजी विमान दुर्घटनाग्रस्त हुँदा पाइलटसहित १२ जनाको मृत्यु भएको छ।
स्थानीय समयअनुसार आइतबार बिहान भएको दुर्घटनामा विमानमा सवार सबैको घटनास्थलमै ज्यान गएको अधिकारीहरूले जनाएका छन्।
मिसौरीको बट्स काउन्टीस्थित बट्लर मेमोरियल विमानस्थलबाट उडेको केही क्षणमै ‘प्यासिफिक एरोस्पेस ७५० एक्सएल’ विमानले नियन्त्रण गुमाएको बताइएको छ। उक्त विमान ‘स्काईडाइभ कन्सस सिटी’ नामक निजी कम्पनीले सञ्चालन गर्दै आएको थियो।
स्थानीय आपतकालीन व्यवस्थापन निकायका निर्देशक डेनिस ज्याकोब्सका अनुसार उडान भरेलगत्तै विमानमा प्राविधिक समस्या देखिएको संकेत प्राप्त भएको थियो। पाइलटले विमानलाई नजिकैको राजमार्गमा सुरक्षित अवतरण गराउने प्रयास गरे पनि सफल हुन सकेनन्।
केही समयपछि विमान ‘स्टाल’ भई जमिनमा बजारिएको र तत्काल आगलागी भएको जनाइएको छ। दुर्घटनापछि पुगेका उद्धार टोलीले आगो नियन्त्रणमा लिए पनि विमानमा रहेका कसैलाई पनि जीवित उद्धार गर्न नसकिएको अधिकारीहरूले बताएका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार विमानस्थलमा रहेका केही स्काईडाइभरका आफन्तहरूले आफ्नै आँखाअगाडि दुर्घटना देखेका थिए, जसले घटनालाई अझ पीडादायी बनाएको छ।
बट्स काउन्टीका शेरीफ च्याड एन्डरसनले घटनालाई अत्यन्त दुःखद भन्दै केही परिवारले आफ्ना प्रियजनलाई आफ्नै आँखाअगाडि गुमाउनुपरेको बताएका छन्।
दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको छ। अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) र संघीय उड्डयन प्रशासन (FAA) ले घटनाको संयुक्त अनुसन्धान सुरु गरेका छन्। प्रारम्भिक रूपमा प्राविधिक खराबी वा इन्जिनमा समस्या आएको हुन सक्ने आशंका गरिएको छ।
मृतकहरूको पहिचान सार्वजनिक गर्ने प्रक्रिया जारी रहेको र अनुसन्धान प्रतिवेदनपछि थप विवरण सार्वजनिक गरिने अधिकारीहरूले जनाएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१ असार । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय महाशाखा भक्तपुरले शिक्षक सरुवा सम्बन्धी ३ बुँदे निर्देशन जारी गरेको छ।
महाशाखाले सोमबार देशभरका स्थानीय तहहरूलाई पत्राचार गर्दै स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न निर्देशन दिएको हो।
यस्तै, खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूको हकमा भने सोही दरबन्दीमा शिक्षक सरुवा गर्न सकिने व्यवस्था गर्न निर्देशन दिइएको छ।
त्यसैगरी ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन दिएका सम्भाव्य उम्मेदवारहरूको हकमा बढुवाको नतिजा नआउँदासम्म सरुवा सहमति नदिन पनि स्थानीय तहलाई महाशाखाले निर्देशन दिएको छ।

२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस