आर्थिक गणना वैशाख २ देखि सुरु हुँदै

   चैत २, २०८२       admin

काठमाडौ,२९ चैत। दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय का अनुसार गणक तथा सुपरिवेक्षकहरू देशभर सम्बन्धित क्षेत्रमा परिचालित भइसकेका छन्।

कार्यतालिका अनुसार आगामी वैशाख २ गतेदेखि देशभर आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन सुरु हुनेछ। यो कार्य असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। गणनाका लागि झण्डै पाँच हजार जनशक्ति परिचालन गरिएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन उद्योग, व्यवसाय र सरोकारवालालाई आग्रह गरेका छन्। उनले देशको औद्योगिक तथा आर्थिक क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्याङ्क सङ्कलनमा सहयोग गर्न अपिल गरेका हुन्।

गणनामा अर्थतन्त्रका १८ वटा क्षेत्रका आधारभूत विवरण सङ्कलन गरिनेछ। उद्योग, व्यवसाय, सेवा, सहकारी तथा सार्वजनिक र निजी संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी तथ्याङ्क संकलन गर्ने उद्देश्य रहेको छ।

देशभर दर्ता भएका तथा नभएका साना–ठूला व्यापार प्रतिष्ठान, स्वरोजगार व्यवसाय र बढी रोजगारी दिने संस्थाको विवरणसमेत सङ्कलन गरिनेछ। साथै, उद्योग, कलकारखाना, व्यापार व्यवसाय, गैरसरकारी संस्था, सरकारी संस्थान, विद्यालय तथा अस्पताललगायतको पनि गणना गरिनेछ।

आर्थिक गणना राष्ट्रिय अभियान भएकाले यसमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको कार्यालयले जनाएको छ। यसअघि २०७५ सालमा गरिएको आर्थिक गणनामा देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

म सबै छानबिनका लागि तयार छु : प्रचण्ड

   चैत २८, २०८२       admin

काठमाडौ,२८ चैत । पुष्पकमल दाहाल ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्। शनिबार पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले विगतमा आफू नेतृत्वमा रहेका बेला भएका निर्णयहरूको जिम्मेवारी लिन तयार रहेको बताए।

“मेरो पालामा भएका निर्णयको जिम्मा म लिन्छु। सबै प्रकारका छानबिनका लागि तयार छु,” उनले भने।
प्रचण्डले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको दाबी गर्दै त्यसको सामना गर्न आफू नडराउने बताए।

यसैबीच, सञ्चारकर्मीले वर्तमान सरकारको कार्यशैलीबारे सोधेको प्रश्नमा उनले अहिले टिप्पणी गर्ने उपयुक्त समय नभएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

खनिज उद्योगबाट ८ महिनामा २ अर्ब १४ करोड राजश्व संकलन

   चैत २८, २०८२       admin

काठमाडौ,२८चैत । चालु आर्थिक वर्षको आठ महिनामा खनिजजन्य उद्योगबाट २ अर्ब १४ करोड रुपैयाँ राजश्व संकलन भएको छ।

खानी तथा भूगर्भ विभाग का अनुसार यो राजश्व खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट उठेको हो।

विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत खनिज पदार्थको उत्खनन अनुमति र नवीकरणमार्फत उक्त रकम संकलन गरेको जनाएको छ।

गएको आर्थिक वर्षमा विभागले चुनढुङ्गा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामाजस्ता खनिजको उत्खनन अनुमति दिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सरकारले ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन गर्दै

   चैत २८, २०८२       admin

काठमाडौ,२८चैत । सरकारले सरकारी कार्यालयहरूमा फाइल थन्किने र काम ढिलो हुने समस्या अन्त्य गर्न ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन गर्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले चैत ३० गतेदेखि वैशाख ७ गतेसम्म अभियान सञ्चालन गरिने जनाएको छ।

यसका लागि ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरिएको छ। कार्यालयमा दर्ता भएका फाइल, सुरु भएका टिप्पणीलगायत विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने तथा निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्न अभियान सञ्चालन गर्न लागिएको हो।

तलै कार्यान्वयन गर्न सकिने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने र सेवा प्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा अभियान लागू गरिने स्पष्ट पारिएको छ।

अभियानको उद्देश्य चालु अवस्थामा रहेका फाइलहरू लामो समयसम्म अड्किन नदिने, जिम्मेवारी स्पष्ट गर्ने र काम हुने वा नहुने विषयको समयमै टुङ्गो लगाउने रहेको छ।

अभियानअन्तर्गत पुराना तथा अड्किएका फाइलहरू छिटो टुङ्ग्याइने, फाइल कसको जिम्मामा कति दिनदेखि रहेको छ भन्ने दैनिक अभिलेख राखिने, ३ दिन, ७ दिन वा १५ दिनभन्दा बढी रोकिएका फाइलहरू अनिवार्य रूपमा समीक्षा गरिने व्यवस्था गरिएको छ। साथै, सानो तहबाटै निर्णय गर्न सकिने फाइल अनावश्यक रूपमा माथि पठाएर ढिलाइ नगर्ने निर्देशन दिइएको छ।

अभियानमार्फत फाइलहरू लामो समयसम्म अड्किन नदिने, कामलाई तीव्रता दिने, सेवाग्राहीलाई छिटो सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। हरेक कार्यालयले दैनिक प्रगति विवरण तयार गर्नुपर्ने तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कार र जानाजान ढिलाइ गर्ने कर्मचारीलाई कारबाही गरिने जनाइएको छ।
सरकारले यस अभियानमार्फत सरकारी कामलाई छिटो, पारदर्शी र जिम्मेवार बनाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा तीनदिने ‘सत्यापन तथा न्यू मिडिया ह्याण्डलिङ’ तालिम सुरु

   चैत २८, २०८२       admin

दाङ,२८ चैत । दाङमा तीनदिने ‘सत्यापन तथा न्यू मिडिया ह्याण्डलिङ’ तालिम सुरु भएको छ।
नेपाल पत्रकार महासंघ दाङको आयोजनामा तथा घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो। तालिम शनिबारदेखि सुरु भई चैत ३० गतेसम्म सञ्चालन हुनेछ।

उद्घाटन शत्रमा तालिमका प्रमुख प्रशिक्षक पत्रकार धर्मेन्द्र झाले सत्यतथ्य खोज्नु पत्रकारिताको मुख्य दायित्व भएको बताए। उनले पत्रकारितालाई संस्थागत बनाउनुपर्नेमा जोड दिँदै स्वरूप परिवर्तन भए पनि पत्रकारिता कहिल्यै नष्ट नहुने उल्लेख गरे।

उनले पछिल्लो समय सञ्चारमाध्यममाथि विभिन्न आरोप लाग्दै आएको र योजनाबद्ध रूपमा मिडियामाथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको धारणा व्यक्त गरे। संघीय सरकारका नीतिका साथै प्रदेश र स्थानीय तहले पनि आफ्नो धारणा स्पष्ट रूपमा राख्नुपर्ने आवश्यकता रहेको उनले बताए।

विज्ञापन व्यवस्थापनका सन्दर्भमा उनले स्थानीय तहले स्थानीय मिडियाको संरक्षण गर्ने दायित्व वहन गर्नुपर्ने उल्लेख गरे। साथै, पत्रकारहरूले आफ्नो विश्वसनीयता जोगाउँदै मूल उद्देश्यबाट विचलित हुन नहुनेमा जोड दिए।

कार्यक्रममा महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोखरेलले सरकारप्रति प्रश्न उठाउने समय आएको बताए। उनले प्रेसप्रतिको सरकारको दृष्टिकोण स्पष्ट हुनुपर्ने र हरेक सरकारी निर्णय जवाफदेही हुनुपर्ने धारणा राखे।

पोखरेलले विज्ञापनसम्बन्धी व्यवस्थामा देखिएको सिन्डिकेट प्रवृत्तिप्रति सचेत रहन पत्रकारहरूलाई आग्रह गर्दै यस्ता विषयमा चुप लागेर बस्न नहुने बताए।
उनले पत्रकारिता चुनौतीका बीच पनि निरन्तर सशक्त बन्दै जाने उल्लेख गर्दै सक्षम र सबल पत्रकारिताको आवश्यकता औंल्याए।

तालिम उद्घाटनका अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, पूर्व केन्द्रीय उपाध्यक्ष उदय जिएम लगायतले बोलेका थिए। कार्यक्रमको सहजीकरण जिल्ला सचिव जेएन सागरले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर–११ मा बुहारी र जेष्ठ नागरिक सम्मानित

   चैत २८, २०८२       admin

दाङ,२८ चैत । तुलसीपुर उपमहानगरपालिका–११ नं. वडा कार्यालयले ४४ जना बुहारी र ९० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ।

वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा परिवारमा मैत्रीपूर्ण वातावरण कायम राख्दै सासु–ससुराको उचित स्याहार–सुसार गर्ने बुहारीहरूलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको हो।

वडाका विभिन्न टोलबाट छनोट गरिएका बुहारीहरूलाई सामाजिक योगदानको कदरस्वरूप सम्मान गरिएको जनाइएको छ। साथै, ८० वर्षमाथिका ९० जना जेष्ठ नागरिकलाई पनि सम्मान गरिएको छ।

सम्मानित व्यक्तिहरूलाई हर्लिक्स उपहारस्वरूप प्रदान गरिएको थियो। कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले जेष्ठ नागरिकको उचित हेरचाह गर्नु सन्तानको मुख्य कर्तव्य भएको बताए।


वडाध्यक्ष मानबहादुर रावतले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने उल्लेख गर्दै आगामी दिनमा पनि समाजहितका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

कार्यक्रम वडा सदस्य प्रभा परियारको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण वडा सचिव पदम भण्डारीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा ढुवानी भाडा बढ्यो

   चैत २७, २०८२       admin

दाङ,२७ चैत । राप्ती अञ्चल ढुवानी व्यवसायी संघ तुलसीपुरले ईन्धनको मूल्यवृद्धिसँगै सरकारले निर्धारण गरेको नयाँ भाडादर लागू गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष खेमजंग बस्नेत को अध्यक्षतामा शुक्रबार बसेको बैठकले ढुवानी भई आउने मालवस्तुमा नयाँ भाडादर लागू गर्ने निर्णय गरेको हो।

सरकारले गत बुधबार मालवाहक सवारी साधनको भाडा वृद्धि गरेपछि सोही अनुसार संघले पनि ढुवानी भाडा समायोजन गरेको अध्यक्ष बस्नेतले जानकारी दिएका छन्।
यसैबीच, नेपाल आयल निगम ले शुक्रबार पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। संघका सचिव चिरञ्जीवी पोडेलका अनुसार सरकारले नयाँ भाडादर निर्धारण गरेलगत्तै बसेको बैठकले उक्त दर कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।

सरकारले २०७८ चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट ईन्धनको मूल्यमा हुने घटबढअनुसार भाडा स्वतः समायोजन हुने ‘स्वचालित भाडा प्रणाली’ लागू गरेको थियो। सो व्यवस्थाअनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ भएमा सोही अनुपातमा भाडा समायोजन गरिन्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उपसभामुखमा रुबी ठाकुर निर्वाचित

   चैत २७, २०८२       admin

काठमाडौ,२७ चैत । रुबी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन्। उपसभामुखका लागि प्रस्तुत प्रस्तावमा पक्षमा २२९ मत र विपक्षमा ५ मत परेको थियो। मतदानमा २५६ जना सांसद सहभागी भएका थिए।

ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपाको समर्थन रहेको थियो भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) तटस्थ रहेको थियो।

सभामुख डोलप्रसाद अर्याल ले मतपरिणाम घोषणा गर्दै ठाकुर अत्यधिक बहुमतसहित निर्वाचित भएको जानकारी गराएका हुन्।

ठाकुरका बुवा सोगराथ ठाकुर हाल वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया मा रहेका छन् भने आमा रेणु ठाकुर गृहिणी तथा किसान हुन्।

२५ वर्षीया ठाकुरले धनुषाबाट एसइई उत्तीर्ण गरी बलरा पोलिटेक्निकबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा अध्ययन पूरा गरेकी छन्।

जेनजी आन्दोलनपछि उनी श्रम संस्कृति पार्टीमा आवद्ध भएकी हुन्। हाल उनी सोही पार्टीबाट समानुपातिक सांसद हुन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एमाले दाङले गर्यो वडाध्यक्ष घिमिरे पार्टीबाट निष्कासन

   चैत २७, २०८२       admin

दाङ,२७ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङले घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ।

पार्टीका जिल्ला प्रचार विभाग प्रमुख संगीत बस्याल का अनुसार चैत २३ गते बसेको जिल्ला कमिटी बैठकले उक्त निर्णय गरेको हो।

घिमिरेले पार्टीका महासचिव तथा दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोखरेल विरुद्ध गतिविधि सञ्चालन गरेको आरोपमा कारबाही गरिएको बताइएको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमाले महासचिव पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी का सहमहामन्त्री विपिन आचार्य सँग ठूलो मतान्तरले पराजित भएका थिए।
घिमिरे २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए। तर पछिल्लो समय उनले रास्वपाको पक्षमा गतिविधि गर्दै आएका थिए। उनले सामाजिक सञ्जालमार्फत एमाले परित्याग गरेको घोषणा समेत गरेका थिए।

उक्त निर्वाचनमा घोराही उपमहानगरपालिकामा मेयर–उपमेयरसहित अधिकांश वडाध्यक्ष एमालेले जितेको थियो। घिमिरे अभिनेता तथा चलचित्र निर्माता समेत हुन्। उनलाई एमाले नेतृ शान्ता चौधरीको पहलमा वडाध्यक्षको टिकट दिइएको थियो।


यसैबीच, प्रचार विभाग प्रमुख बस्यालका अनुसार घिमिरेलाई वडाध्यक्ष पदबाट हटाउन मेयर नरुलाल चौधरी समक्ष सिफारिस गरिएको छ।

यसअघि पनि पार्टी अनुशासन विपरीत गतिविधि गरेको भन्दै एमालेले घोराही–८ का वडाध्यक्ष जितेन्द्र शाह लाई साधारण सदस्य नरहने गरी कारबाही गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आर्थिक विकासमा निजी क्षेत्रसँग सहकार्य आवश्यक : राष्ट्रपति पौडेल

   चैत २७, २०८२       admin

काठमाडौ,२७ चैत । रामचन्द्र पौडेल ले देशको आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले आर्थिक समृद्धिको आधार व्यापार, व्यवसाय र उद्योगको प्रवर्द्धन भएको भन्दै यसका लागि सरकार–निजी क्षेत्रबीच साझेदारी आवश्यक रहेको बताए।

राष्ट्रपति पौडेलले आर्थिक समृद्धिबाटनै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सहज हुने उल्लेख गर्दै जनताको अपेक्षा अनुसार विकास र समृद्धिका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।


उनले प्रतिनिधिसभा निर्वाचनपछि स्थापित संसद् र सरकारले सुशासनमार्फत आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अवसर प्राप्त गरेको उल्लेख गरे। झन्झटरहित सेवा प्रवाह, जीवनस्तर उकास्ने योजना कार्यान्वयन र राष्ट्रनिर्माणमा सरकारको महत्वपूर्ण दायित्व रहेको उनले बताए।

राजनीतिक स्थायित्व आर्थिक समृद्धिको आधार भएको बताउँदै उनले स्पष्ट नीति र दिगो रणनीतिबाट मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जना सम्भव हुने धारणा राखे। स्वदेशमै रोजगारी सिर्जना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाइ थियो।

“आजका युवा देशका भविष्य हुन्, उनीहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सकेमा देशलाई समृद्धिको मार्गमा अघि बढाउन सहज हुन्छ,” उनले भने।
सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले प्रतिस्पर्धात्मक युगमा नवीनता, नवप्रवर्तन र साहसिक निर्णय आवश्यक भएको बताए।

डिजिटल अर्थतन्त्र, हरित विकास, प्रविधिमा आधारित उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकासलाई प्राथमिकता दिनुपर्ने उनले जोड दिए।

राष्ट्रपति पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा लिनुपर्ने बताए। साथै, उद्योग–व्यवसाय प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण र उद्यमशीलता विकासमा चेम्बरले खेलेको भूमिकाको प्रशंसा पनि गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology