अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी

   फागुन २६, २०८२       admin


काठमाडौ,२६ फागुन । पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्।

अर्थमन्त्रीका रूपमा प्राप्त कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा फिर्ता बुझाएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन्।

खनालले राहदानी फिर्ता गर्दै लेखेको पत्रमा अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले राहदानी विभागमा फिर्ता बुझाइदिन अनुरोध गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मध्यपूर्व तनावपछि ५७ हजार नेपालीले गरे अनलाइन दर्ता

   फागुन २६, २०८२       admin

काठमाडौँ,२६ फागुन । मध्यपूर्वमा विकसित घटनाक्रमपछि सरकारले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा ५७ हजार एक सय नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्।

कन्सुलर सेवा विभागले नेपालीहरूको अद्यावधिक विवरण सङ्कलनका लागि सञ्चालन गरेको उक्त प्रणालीमा हिजो बेलुकीसम्म यति सङ्ख्यामा दर्ता भएको हो।

परराष्ट्र मन्त्रालयले प्राप्त विवरणहरूको अध्ययन गरी आवश्यकताअनुसार थप कदम चालिने जनाएको छ। त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न आवश्यक समन्वय र पहल जारी रहेको मन्त्रालयले जनाएको छ।

अति आवश्यक परे साउदी अरब हुँदै नेपाल फर्कन चाहने नेपालीहरूले आफ्नो राहदानी र भिसाको फोटोकपी तथा यात्रा योजनासहितको विवरण आफू रहेको देशका नेपाली नियोगमा पठाएर भिसा सहजीकरणका लागि अनुरोध गर्न सक्ने मन्त्रालयले जनाएको छ।

कुनै समस्या आएमा मन्त्रालयको इमर्जेन्सी कन्ट्रोल रूम, इमेल वा सम्बन्धित देशका नेपाली नियोगमार्फत तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ।

मध्यपूर्वमा जारी युद्धका कारण नेपालको अर्थतन्त्रमा पनि असर पर्ने चिन्ता बढेको छ। रेमिट्यान्समध्ये करिब ४० प्रतिशत हिस्सा मध्यपूर्व क्षेत्रबाट आउने गर्छ।


नेपाल राष्ट्र बैंकका अनुसार गएको पुसमा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो। तर युद्धका कारण आगामी दिनमा रेमिट्यान्स आप्रवाह प्रभावित हुन सक्ने देखिएको छ।


संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत, बहराइन, इराक, ओमान र साइप्रसलगायत देशमा ठूलो सङ्ख्यामा नेपाली श्रमिक कार्यरत छन्। युद्धका कारण त्यहाँ रहेका झन्डै १८ लाख नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

समानुपातिकमा रास्वपाको मत ५० लाख कट्यो

   फागुन २६, २०८२       admin

दाङ,२६ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ ५० लाख मत कटाएको छ।

एक करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको हो। प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकमा पनि उल्लेख्य मत ल्याएको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गरेको छ भने तेस्रोमा रहेको एमालेले १४ लाख ११ हजार ४२९ मत पाएको छ। प्रत्यक्षतर्फ कांग्रेसले १८ र एमालेले ९ सिट जितेका छन्।

प्रत्यक्षतर्फ ८ सिट जितेको नेकपाले समानुपातिकतर्फ हालसम्म ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेको छ।

यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रहरी कार्यालय भित्र जवान मृत फेला

   फागुन २६, २०८२       admin

कैलाली,२६ फागुन । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हाताभित्र एक जना प्रहरी जवान मृत अवस्थामा भेटिएका छन्।

सोही कार्यालयमा कार्यरत बझाङ घर भएका ३० वर्षीय प्रहरी जवान सन्देशबहादुर चनारा मृत भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चनारा कार्यालय भवनको छतबाट खसेको भनिएको छ।

गएराति करिब ११ बजेतिर अर्को सुरक्षाकर्मीले उनलाई लडेको अवस्थामा भेटेपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

घटनाको कारणबारे अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।

संयोजक तिमिल्सिनाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। मृतक चनारा विगत ६ महिनादेखि टीकापुर इलाका प्रहरी कार्यालयमा कार्यरत थिए।

यता मृतकका आफन्तले भने उनको मृत्यु शंकास्पद रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा सबैभन्दा अगाडि

   फागुन २५, २०८२       admin

काठमाडौँ,२५ फागुन । समानुपातिक तर्फको मतगणना अन्तिम चरणतर्फ पुगेको छ । अहिलेसम्म ९० लाख ११ हजार मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ४३ लाख ६५ हजार मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ४८ प्रतिशत हो ।

त्यसपछि दोस्रोमा नेपाली कांग्रेसले १४ लाख ५५ हजार, तेस्रोमा एमालेले १२ लाख २१ हजार, चौथोमा नेकपाले ६ लाख ४५ हजार र पाँचौंमा श्रमसंस्कृती पार्टीले ३ लाख १० हजार मत पाएको छ ।

चार महिना अघि मात्रै गठन भएको श्रमसंस्कृती पार्टीले प्रत्यक्ष निर्वाचनमा तीन सीट जितेको छ भने समानुपातिक मतमा तीन प्रतिशतको थ्रेसहोल्ड पूरा गरेर राष्ट्रिय दलको मान्यता पाउने सम्भावना नजिक पुगेको छ ।

विशेषगरी ३ लाख १६ हजार हाराहारी मत पाएमा थ्रेसहोल्ड कट्ने अनुमान गरिएको छ । धरान उपमहानगरपालिकाका पूर्व मेयर हर्क साम्पाङद्वारा गठन गरिएको श्रमसंस्कृती पार्टीले अहिले करिब ६ हजार मत थप पाएमा राष्ट्रिय दल बन्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बालेनले बुझाए चुनावी खर्च विवरण

   फागुन २५, २०८२       admin

काठमाडौ,२५ फागुन । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह ९बालेन०ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि गरेको चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै निर्वाचित भएका उनले आयोगमा बुझाएको विवरण अनुसार कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

खर्च विवरण अनुसार उनले सबैभन्दा बढी रकम घरदैलो तथा प्रचार कार्यक्रममा खर्च गरेका छन् । १५ दिनसम्म सञ्चालन गरिएको २९ वडामा घरदैलो कार्यक्रमका लागि ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

त्यस्तै दुईवटा सवारीसाधन १५ दिनसम्म भाडामा लिएर इन्धनसहित प्रयोग गर्दा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको जनाइएको छ । पाँच पटकको हवाई यात्राका लागि ३५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

मतदाता प्रशिक्षण कार्यक्रममा ५८ जनाका लागि खाजामा २८ हजार ९७० रुपैयाँ खर्च गरिएको छ भने नमुना मतपत्र छपाइका लागि ४९ हजार ८५० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

त्यसैगरी झापा–५ निर्वाचन कार्यालय दुई महिनासम्म सञ्चालन गर्दा पानी खर्चका लागि १ लाख २० हजार रुपैयाँ र स्टेशनरी खर्चका लागि २२ हजार ८२० रुपैयाँ खर्च भएको जनाइएको छ ।

प्रचार सामग्री छपाइतर्फ कागज तथा ब्यानरका लागि १ लाख ५७ हजार ४१ रुपैयाँ र ब्यानर तथा स्टिकरका लागि १ लाख ९९ हजार ८०८ रुपैयाँ खर्च गरिएको उल्लेख गरिएको छ । उम्मेदवारी मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

उक्त खर्च विवरण उम्मेदवारका प्रतिनिधि नवीन भण्डारीद्वारा हस्ताक्षरित रहेको छ । जिल्ला निर्वाचन कार्यालयमा २०८२ फागुन २४ गते दर्ता भएको विवरणमा कुल खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

छ महिनासम्म युद्ध हुन सक्ने इरानको दाबी

   फागुन २५, २०८२       admin

काठमाडौ,२५ फागुन। मध्यपूर्वमा बढ्दो तनावका बीच इरानले अमेरिका र इजरायलविरुद्ध महिनौँसम्म तीव्र लडाइँ गर्न सक्ने दाबी गरेको छ। इरानको रिभोलुसनरी गार्ड्सका अनुसार हालको गतिमा युद्ध जारी रहे पनि इरानको सैन्य क्षमता कम्तीमा छ महिनासम्म संघर्ष धान्न सक्षम रहेको बताइएको छ।

द्वन्द्व दोस्रो हप्तामा प्रवेश गरिसकेको अवस्थामा इजरायलले लेबनानको राजधानी बेरुतस्थित एक होटलमा हवाई आक्रमण गरेको जनाएको छ। उक्त स्थानमा इरानको कुद्स फोर्ससँग सम्बन्धित कमान्डरहरू रहेको दाबी गरिएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ।

यसैबीच इजरायलले तेहरानका विभिन्न स्थानमा नयाँ आक्रमण सुरु गरेको जनाएको छ भने इरानले अमेरिका र इजरायलले तेहरानको तेल भण्डारण केन्द्रमा आक्रमण गरेको आरोप लगाएको छ।

क्षेत्रीय तनाव पनि बढ्दै गएको छ। साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स र कुवेतले विभिन्न मिसाइल र ड्रोन आक्रमण रोकिएको बताएका छन्। कुवेतमा इन्धन भण्डारण क्षेत्रमा आक्रमण भएपछि ऊर्जा आपूर्तिबारे चिन्ता बढेको छ।

युद्धका कारण इरानमा पूर्वाधारमा क्षति पुगेको र सर्वसाधारणबीच त्रास बढेको बताइएको छ। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कम्तीमा ९२६ सर्वसाधारणको मृत्यु र करिब ६ हजार जना घाइते भएका छन्।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तेहरानको आकाशमा लगभग पूर्ण नियन्त्रण हासिल गरेको दाबी गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक हतियार विकासको नजिक पुगेको आरोप दोहोर्‍याएका छन्।

विश्लेषकहरूका अनुसार हाल देखिएको सङ्घर्ष छिट्टै अन्त्य हुने सम्भावना कम देखिएको छ र यो द्वन्द्व अझ केही समय जारी रहन सक्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निष्पक्ष भएर काम गर्न आयोगलाई नेकपाको आग्रह

   फागुन २५, २०८२       admin

काठमाडौ, २५ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहालको सचिवालयले आज विज्ञप्ति जारी गर्दै धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसके पनि आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकामा ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टी निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न र कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न आग्रह गर्दछ, साथै न्यायालयले पनि कानुन र विधिसम्मत ढङ्गले सही निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछ।”

पार्टीका अनुसार निर्वाचन आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन ऐन, २०७४ बमोजिम खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना सकिँदासमेत विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय भएको जनाएको छ ।

“निर्वाचन आयोग स्वयंले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणना भई पार्टीका उम्मेदवार यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीतका कार्य हुनु चिन्ताजनक विषय हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा पूर्व मुख्यमन्त्रीसहित १२ उम्मेदवारको जमानत जफत

   फागुन २५, २०८२       admin

दाङ, २५ फागुन । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका पूर्व मुख्यमन्त्रीसहित १२ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जफत हुनेमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसी, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेटमणी चौधरी र एमालेका उम्मेदवार रेवतीरमण शर्मा समेत रहेका छन् ।

चौधरी यसअघि सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका व्यक्ति हुन् । तर यसपटक उनले आफ्नो जमानतसमेत जोगाउन सकेनन् ।

निर्वाचन नियमअनुसार जमानत जोगाउन कुल सदर मतको कम्तीमा १० प्रतिशत मत ल्याउनुपर्छ । दाङ–१ मा कुल सदर मत ७६ हजार ३८९ रहेको छ । यसको १० प्रतिशत ७ हजार ६३९ हुन्छ । तर मेटमणी चौधरीले ४ हजार ९६५ मत मात्रै प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका उम्मेदवार रेवतीरमण शर्माले ६ हजार ८२५ मत प्राप्त गरेका छन् । उनी पूर्व लुम्बिनी प्रदेशसभा सदस्यसमेत हुन् ।यसैगरी स्वतन्त्र उम्मेदवार बनेका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले १ हजार ३८४ मत मात्रै प्राप्त गरेका छन् ।

केसीसहित सोही निर्वाचन क्षेत्रका १२ जना उम्मेदवारले आवश्यक मत ल्याउन नसक्दा उनीहरूको जमानत जफत भएको हो ।

सोही निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक विजयी भएका छन् भने प्रतिस्पर्धी नेपाली काँग्रेसका योगेन्द्र चौधरी रहेका थिए । उनीहरू दुई जनाबाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा जमानतस्वरूप १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्छ । महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपमा विपन्न उम्मेदवारका हकमा उक्त धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

क्षेत्र नं. ३ मा १२ उम्मेदवारको एकसय मत कटेन

   फागुन २५, २०८२       admin

दाङ, २५ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गरेका कतिपय उम्मेदवारले सय मतसमेत कटाउन सकेका छैनन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार यस क्षेत्रमा १२ जना उम्मेदवारले १०० मत पनि ल्याउन नसकेको देखिएको छ ।

आयोगका अनुसार जनता समाजवादी पार्टीका शोभा डाँगीले २४ मत प्राप्त गरेका छन् भने आम जनता पार्टीका पाण्डवी नेपालीले ८ मत ल्याएकी छन् । नागरिक उन्मुक्ति पार्टीका महेश चौधरीले ५५ मत प्राप्त गर्दा संयुक्त नागरिक पार्टीका दलबिर कामीले ९४ मत ल्याएका छन् ।

त्यस्तै मितेरी पार्टीका सन्तोष सिंहले १०, स्वतन्त्र उम्मेदवार भरत परियारले ६, सुरेश नेपालीले १ र इन्द्रबहादुर बस्नेतले १० मत प्राप्त गरेका छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार प्रेमबहादुर वलीले ७, भागीराम चौधरीले ११, सप्रिक कँडेलले १४ र महेश डाँगीले ८ मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ क्षेत्र नम्बर ३ मा कुल २३ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology