मधेशका मुख्यमन्त्री यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिन परमादेश

   मङि्सर १६, २०८२       admin

काठमाडौं ,१५ मंसिर ।  सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउन परमादेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन परमादेश जारी गरेको हो।

‘मुख्यमन्त्री नियुक्तिको विषय विलम्ब नगरी यथाशिघ्र टुंगो लगाउन वाञ्छनीय देखिएकाले आदेश प्राप्त भएको मितिले २४ घन्टाभित्र मुख्यमन्त्रीमा नियुक्त माननीय सरोजकुमार यादवलाई नेपालको संविधान धारा १६४ (४) बमोजिम विश्वासको मत लिने प्रस्ताव मधेस प्रदेश, प्रदेश सभामा निर्णयार्थ पेस गरी गराई विश्वासको मत प्राप्त गरेमा सही बमोजिम र प्राप्त गर्न नसके नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन वा मुख्यमन्त्री नियुक्त हुने विकल्पसमेतका विषयमा आवश्यक र उपयुक्त पहल गरी अर्को सरकार गठन वा मुख्यमन्त्री नियुक्त सम्बन्धमा कारबाही गर्न गराउनू भनी मधेश प्रदेश प्रमुखसमेतका विपक्षीहरूका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ,’ फैसलामा भनिएको छ।

यो आदेश तत्काल कार्यान्वयन गरिनुपर्ने प्रकृतिको रहेको र आदेशको पूर्ण पाठ तयार हुन समय लाग्ने भएकाले सर्वोच्चले संक्षित आदेश जारी गरेको जनाएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदहरूले दायर गरेको रिट निवेदनमा मधेस प्रदेशका प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलगायतलाई विपक्षी बनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उकालो लाग्दै सुनको भाउ

   मङि्सर १६, २०८२       admin

काठमाडौं , १५ मंसिर । नेपाली बजारमा सुनको मूल्य पछिल्लो समय उकालो लागिरहेको छ। केही समय निरन्तर ओरालो लागेको सुनको मूल्य केही दिनदेखि पुनः उकालो चढ्न सुरु गरेको हो।

सोमबार १४ सय रुपैयाँले बढेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आज १४ सय रुपैयाँले बढेर  एक तोला सुनको मूल्य २ लाख ५३ हजार ६०० कायम भएको छ । आइतबार एक तोला सुन २ लाख ५२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

चाँदीको मूल्यले भने नयाँ रेकर्ड बनाएको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी ३ हजार ५३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
आइतबार सोही परिमाणको चाँदीको मूल्य ३ हजार ४९० पुगेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा पुस ४ देखि १९ सम्म महोत्सव लाग्ने

   मङि्सर १५, २०८२       admin

दाङ। दाङको तुलसीपुरमा यो बर्ष पुस ४ गतेदेखि १९ गतेसम्म महोत्सव हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा   प्रथम घरेलु तथा साना औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि, व्यापारिक तथा प्रविधि प्रदर्शनी महोत्सव–२०८२ आयोजना हुने भएको छ। महासंघका अध्यक्ष लालबहादुर केसीले आइतबार पत्रकार सम्मेलन गरि महोत्सव गर्न लागिएको सार्वजनिक गरेका छन ।


  महोत्सवले घरेलु उद्योग, स्थानीय उत्पादन, पर्यटन प्रवर्द्धन तथा साना उद्यमीको व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने उद्देश्य रहेको अध्यक्ष ओलीले बताए। कार्यक्रमको सञ्चालन महासंघका महासचिव भद्रबहादुर केसीले गरेका थिए । महोत्सवबाट सङ्कलन भएको पैसाले केही सामाजिक कार्य गर्ने उद्देश्य महासंघले राखेको छ। औद्योगिक ग्राम स्थापनादेखि तरकारी र फलफुल बजारलाई व्यवस्थापन र सार्वजनिक शौचालय निर्माण गर्ने उद्देश्य रहेको अध्यक्ष केसीले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेसको नियमित महाधिवेशन पुस अन्तिममा गर्ने तयारी

   मङि्सर १५, २०८२       admin

काठमाडौं , १४ मंसिर । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशन गर्ने सहमति जुटाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायत पदाधिकारीहरूको बैठकले पुसको अन्तिम साता नियमित महाधिवेशन गर्ने प्रस्तावमा सहमति जुटाएका हुन्।

शीर्ष नेताहरूको बैठकमा सहमति जुटे पुसको २६ देखि २९ गतेसम्म कांग्रेसको १५औं महाधिवेशन हुने छ। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशनका विषयमा मोटामोटी सहमति जुटेको बताए। ‘पुसको अन्तिम साता महाधिवेशन गर्ने प्रस्तावमा मोटामोटी सहमति भएको छ।  कांग्रेसको सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशनको प्रस्ताव पेस हुने र पुस २६ देखि २९ गतेसम्म महाधिवेशन गर्ने निर्णय हुने स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीको रोमाञ्चक दोस्रो जित

   मङि्सर १४, २०८२       admin

दाङ,१३ मसिर ।  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि रोमाञ्चक जित निकालेको छ । लुम्बिनीको यो दोस्रो जित हो। चार खेल खेलेको लुम्बिनीले दुई खेलमा पराजित र दुई खेलमा जित हात पारेको छ।

पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए ।
रोहितले निरोधन डिक्वेलासँग तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । डिक्वेला ३७ रनमा आउट भएका थिए । डार्सी सर्ट ७, सुमित महर्जन ०, दिलिप नाथ १०, गुल्बदिन नाइब १७ र रुवेन ट्रम्पल्यान १७ रनमा आउट भए । सन्दीप जोरा २५ रनमा अविजित रहे ।
बलिङमा पोखराका विपिन खत्री, म्याट टेयलर र सागर ढकालले दुईदुई विकेट तथा जिम्मी निशमले एक विकेट लिए । पोखराले लुम्बिनीलाई दिएको १५१ रनको विजय लक्ष्यलाई लुम्बिनीले ३ बल र ३ विकेट बाँकी रहँदै पूरा गरेको हो।
जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १ सय ५१ रनको लक्ष्य दिएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनायो।
लुम्बिनीसँग पराजित पोखरा  अङ्क तालिकाको पुच्छारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङको तुलसीपुरबाट बालविवाहविरुद्ध राष्ट्रिय अभियान सुरु

   मङि्सर १३, २०८२       admin

दाङ,१२ मसिर  । विश्वका १०० देशमा एकैसाथ अघि बढ्न लागेको १०० दिने बालविवाहविरुद्ध अभियान शुक्रबार देखि नेपालमा  सुरु गरिएको छ ।
१०० दिने राष्ट्रिय अभियान २०८२ को औपचारिक सुरुआत दाङको  तुलसीरबाट गरिएको हो । तुलसीपुरमा  विविध  तथा जनसचेतना मुलक कार्यक्रमसँगै अभियानको उद्घाटन गरिएको हो । बालविवाहविरुद्धको सडक नाटक,  र्याली जुलुस, र दीप प्रज्वलन  गरि  अभियानको शुभारम्भ गरिएको हो।

राष्ट्रिय बालअधिकार परिषदको समन्वयमा जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल (JRCN) ले बाल विवाह मुक्त नेपाल  अभियान सञ्चालन गरिरहेको छ। अभियानमा सहकार्य गरेको बेस संस्थाका  कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले  कार्यक्रममा   बालविवाह नेपाली समाजकै एक गंभीर समस्या भएकाले १०० दिने अभियानले सबै तहका सरकार र समुदायलाई थप उत्तरदायी बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । कार्यक्रम निर्देशक पींकी डाँगीले बालविवाह अन्त्यका  सबैको साझा प्रतिबद्धताको आवश्यकता रहेको बताइन्।

JRC Network को सदस्य संस्थाका रूपमा JRCN वर्षौंदेखि नेपाल सरकारसँग सहकार्य गर्दै संघीय, प्रदेश तथा स्थानीय तहमा बालविवाह रोकथामका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्षको अभियान विशेषगरी समुदायस्तरमा व्यवहार परिवर्तन र स्थानीय सरकारको सक्रियतामार्फत बालविवाह उन्मूलनलाई दिगो बनाउने उद्देश्यअन्तर्गत सञ्चालन गरिएको हो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, विद्यालयका प्रतिनिधि, पत्रकार, सामाजिक अगुवा तथा सर्वसाधारण नागरिकहरूको उल्लेख्य सहभागिता थियो। सहभागीहरूले “बालविवाहमुक्त नेपाल हाम्रो प्रतिवद्धता” लेखिएको प्लेकार्ड बोकेर अभियानप्रति ऐक्यबद्धता जनाए। यस अभियानमार्फत नेपालले बालविवाह अन्त्यका लागि विश्वका १०० देशसँगै आफ्नो सक्रिय उपस्थिति जनाउँदै भविष्यतर्फको दृढ प्रतिज्ञा प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एमालेको ११ औँ महाधिवेशन प्रक्रिया सुरु

   मङि्सर १०, २०८२       admin

काठमाडौ,९ मंसिर ।नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नयाँ नेतृत्व चयनका लागि ११ औँ राष्ट्रिय महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।

संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार मंसिर ९ गतेदेखि विभिन्न जिल्लामा प्रतिनिधि छनोट प्रक्रिया अघि बढेसँगै महाधिवेशनको तयारी प्रारम्भ भएको हो।

एमालेले मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि छान्न अधिकांश जिल्ला कमिटीले मंसिर ९ मै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेका छन्।

पार्टीले सबै तहका कमिटीलाई सम्भव भएसम्म सर्वसम्मत रूपमा प्रतिनिधि चयन गर्न निर्देशन दिएको छ। सहमति नभए मंसिर १३ गते मतदान गरेर प्रतिनिधि छनोट गर्न भनिएको छ।

यस बीच, केही जिल्लामा उम्मेदवारी शुल्क अत्यधिक लिने प्रयास भएको भनिएका घटनापछि संगठन विभागले १ हजार रुपैयाँभन्दा बढी शुल्क लिने कमिटीविरुद्ध कारबाही गर्ने चेतावनी दिएको छ।

संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार मंगलबारसम्म करिब ४० जिल्लामा मतदाता नामावली सार्वजनिक भएको छ। बाँकी जिल्लामा बुधबारनामावली प्रकाशित हुनेछ। प्रतिनिधि छनोट प्रक्रिया पार्टीको अन्तरपार्टी निर्देशन (अपानि-१३) अनुसार सञ्चालन भइरहेको छ।

निर्देशनअनुसार मंसिर ९ र १० मा मतदाता नामावली प्रकाशन गर्ने, मंसिर ११ सम्म दाबी–विरोध टुंग्याएर सहमति खोज्ने, सहमति नजुटे मंसिर १२ मा मतदान तयारी गर्ने र मंसिर १३ गते सबै जिल्लामा निर्वाचन सम्पन्न गर्ने योजना छ।

एमालेमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि छनोट गरिन्छ। १२ सय सदस्य बराबर ४ जना प्रतिनिधि—कम्तीमा एक महिला र एक ४० वर्षमुनिका युवा—छानिने व्यवस्था छ। १२ सयभन्दा बढी सदस्य भए प्रत्येक थप ८०० सदस्यमा एक–एक खुला र एक महिला प्रतिनिधि थपिने नियम लागु हुन्छ। यस आधारमा करिब १२ सय प्रतिनिधि निर्वाचन क्षेत्रबाटै चयन हुने एमालेको अनुमान छ।

हालको ३५५ सदस्यीय केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषदका सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्। बाँकी प्रतिनिधि भने निर्वाचन प्रक्रियामार्फत छानिनेछन्।

एमालेले विभिन्न संरचना र क्षेत्रका आधारमा प्रतिनिधिको संख्या यसरी अनुमान गरेको छ—प्रदेश कमिटीबाट ४५, विशेष जिल्ला चारवटाबाट ४७, दलित कोटाबाट ८१, मजदुर विभागबाट ४९, प्रवासबाट ३५, केन्द्रीय विभागबाट ३२, जनसंगठनबाट १३७ र अन्य संगठनबाट पनि निश्चित संख्यामा प्रतिनिधि चयन हुनेछन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एनपिएल: काठमाडौं र लुम्बिनी निर्णायक भिडन्तमा

   मङि्सर १०, २०८२       admin

काठमाडौ,९ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण अन्तर्गत आज मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुने भएका छन्। दुवै टोलीका लागि आजको खेल प्लेअफमा पुग्ने सम्भावनालाई सुरक्षित गर्ने महत्वपूर्ण अवसर मानिएको छ।

काठमाडौं र लुम्बिनी दुवै टोलीले हालसम्म २–२ अंक मात्र जोडेका छन्। अङ्क तालिकामा काठमाडौं तेस्रो र लुम्बिनी चौथो स्थानमा छन्। आजको खेलले प्लेअफ समीकरणमा ठूलो प्रभाव पार्नेछ।

अनुभवी अलराउन्डर करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाज आज चौथो खेल खेल्दैछ। प्रशिक्षक मोन्टी देसाईको नेतृत्वमा काठमाडौंले पहिलो खेलमा बलियो जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो।

तर त्यसपछि टोलीले लय कायम राख्न सकेन। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले हार बेहोऱ्यो भने तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले पराजित भयो।

तीन खेलमा १ जित र २ हारसहित काठमाडौं २ अंकमा सीमित छ। ब्याटिङमा अस्थिरता र बलिङमा कमजोर प्रदर्शनले टोली दबाबमा परेको देखिन्छ।

पहिलो सिजनमा नेट रनरेटका कारण प्लेअफबाट बाहिरिएको काठमाडौंले यो पटक गल्ती नदोहोर्याउने लक्ष्य राखेको छ।

कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनी लायन्स आज तेस्रो खेल खेल्दैछ। लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै राम्रो सुरुवात गरेको थियो।

तर दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटको ठूलो हार बेहोर्नुपरेको थियो। उक्त खेलले लुम्बिनीको बलिङ कमजोरी उजागर गरिदियो, किनकि टोलीले कर्णालीको केवल एक विकेट मात्र लिन सक्यो।

दुई खेलमा १ जित र १ हारसहित लुम्बिनीले पनि २ अंक जोडेको छ। पहिलो सिजनमा खराब प्रदर्शनका कारण सबैभन्दा पहिला बाहिरिएको लुम्बिनीले यसपटक प्लेअफमा स्थान बनाउन प्रयासरत छ।

आजको खेल : दुवै टोलीका लागि निर्णायक

दुवै टोली समान २ अंकमा भएकाले आजको खेल जित्ने टोली प्लेअफको यात्रा सहज बनाउनेछ।

काठमाडौं लगातार दुई हारपछि लयमा फर्कन चाहन्छ भने लुम्बिनी कर्णालीसँगको ठूलो हार बिर्सेर विजयी लय समात्न चाहन्छ।

काठमाडौंका प्रशिक्षक मोन्टी देसाईले ब्याटिङ–बलिङमा देखिएको असन्तुलन सुधार्नुपर्ने छ। लुम्बिनीका कप्तान रोहित पौडेलले टोलीको मनोबल उच्च राख्न जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निर्वाचनका लागि राप्रपाको दल दर्ता

   मङि्सर १०, २०८२       admin

काठमाडौ,९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले मुलुकलाई यथास्थितिमै हुने निर्वाचनले निकास दिन नसक्ने ठानिए पनि, एक जिम्मेवार र प्रजातान्त्रिक दलका रूपमा निर्वाचन प्रक्रियाबाट अलग हुनु उचित नहुने भएकाले दल दर्ताको निर्णय गरिएको हो।

उनका अनुसार दर्ता केवल निर्वाचन प्रयोजनका लागि गरिएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेनजी प्रदर्शनमा लुटिएका दुई पेस्तोलसहित तीन जना पक्राउ

   मङि्सर १०, २०८२       admin

काठमाडौ,९ मंसिर । जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित तीन युवक झापाको दमकबाट पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट २० राउण्ड गोली समेत बरामद गरेको छ।

जिल्ला प्रहरीका अनुसार पक्राउ पर्नेमा दमक–६ का विश्व लिङ्देन, दमक–९ का सरोज पुरी र इलाम चुलाचुली–४ का पवन हाङसुङ्वा छन्।

प्रहरीको संयुक्त टोलीले दमक–८ स्थित डेराबाट सरोज पुरीलाई नियन्त्रणमा लिन खोज्दा उनको साथबाट चाइनिज टाइप–५४ पेस्तोल एक थान र १५ राउण्ड गोली फेला पारेको थियो। प्रारम्भिक सोधपुछपछि पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ रहेको बताएका थिए।

त्यसपछि प्रहरीले विश्व लिङ्देनलाई पक्राउ गर्दा उनले सो हतियार पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बिक्री गरेको स्वीकारे। सोही आधारमा प्रहरीले हाङसुङ्वाको खेतमा पुगेपछि खाल्डोमा पुरेर राखिएको अवस्थामा अरू १ थान पेस्तोल र ५ राउण्ड गोली फेला पारेको छ।

बरामद दुवै पेस्तोल र २० राउण्ड गोलीसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology