मङ्गलबार दिउँसोसम्म घाम लाग्ने बुधबारदेखि पुनः वर्षा

   असोज १४, २०८१       admin

काठमाडौँ ,१४ असोज ।सोमबार र मंगलबार नेपालको मौसम घमाइलो देखिए पनि बुधबारबाट पुनः वर्षा हुने सम्भावना रहेको छ।

आज अपराह्नपछि पहाडी भेगमा बादल लाग्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका उपप्रपाध्यापक विनोद पोखरेलले बताए।

मंगलबार पूर्वी नेपालमा (कोशी प्रदेशमा) अपराह्नपख हल्का वर्षाको सम्भावना रहेको उनले बताए। त्यस्तै बागमती र गण्डकीमा पनि बादल लाग्ने तर वर्षाको सम्भावना थोरै रहेको उनले बताए। 

बुधबारदेखि यो हप्ताभरि गण्डकीदेखि कोशीसम्मै अपराह्नपख वर्षाको सम्भावना रहेको उनले बताए। उनकाअनुसार पश्चिम नेपालमा भने वर्षाको सम्भावना छैन।

बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली नेपालतिर सर्दा बिहीबारदेखि शनिबार साँझसम्म लुम्बिनी प्रदेशसम्म भारी वर्षा भएको थियो।

मौसमविद्हरूले मनसुनी वायु, बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली र अरब सागरसमेतबाट आएको उच्च जलवाष्ययुक्त हावा मिसिँदा नेपालमा घनघोर वर्षा भएको बताएका थिए। काठमाडौं उपत्यकाका ११ स्थानसहित देशभर २५ ठाउँमा वर्षाले यसअघिका रेकर्ड ब्रेक गरेको थियो

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधान न्यायाधीश राउतविरुद्द ६ वटा उजुरी

   असोज १४, २०८१       admin

काठमाडौँ,१४ असोज । सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी दर्ता भएको छ। उनीविरुद्ध प्रक्रियागत र व्यक्तिगत गरी ६ वटा उजुरी परेको संघीय संसद् सचिवालयले जनाएको छ।

‘संसदीय समितिमा जम्मा आठवटा उजुरी परेका थिए। आठमध्ये ६ वटा राउतविरुद्धको उजुरीको निवेदन छ। बाँकी दुईवटा भने राजदूतको विषयमा परेको उजुरी हो,’ संसद् सचिवालयका एक कर्मचारीले भने, ‘उजुरीहरू आज खोलिनेछ। त्यसपछिमात्रै के-कस्ता उजुरी परेका छन् भन्ने सार्वजनिक गरिनेछ।’

राउत गत भदौ ३१ गते बसेको संवैधानिक परिषद् बैठकबाट सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिस भएका थिए।
त्यसपछि असोज ३ गतेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध १० दिनको समय दिएर सार्वजनिक उजुरी आह्वान गरेको थियो। सोही अवधिमा उनीविरुद्ध ६ वटा उजुरी निवेदन परेका हुन्।

त्यस्तै आज बस्ने संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चका न्यायाधीश सिफारिस भएका नृपध्वज निरौला र नित्यान्द पाण्डेविरुद्ध उजुरी आह्वानको तयारी गरेको छ। बैठक दिउँसो १ बजेपछि बस्नेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विपद् प्रतिकार्यमा सक्रिय बन्दै तुलसीपुर उपमहानगर

   असोज १४, २०८१       admin

उमा भण्डारी, दाङ। गत भदौ २५ गते मंगलबार तुलसीपुर उपमहानगरपालिकाको विद्युत लाइन सर्ट भयो । विद्युत सर्ट हुँदा उपमहानगरको पुरानो भवनमा रहेको जिन्सी शाखाको विद्युत मिटरमा आगो सल्किन पुग्यो ।
कर्मचारी र सेवाग्राहीबीच भागदौड नै मच्चियो । आगोको लप्का फैलँदै गयो । कतिपयले आगो निभाउन दमकल बोलाउन लागे । कोही प्रहरीलाई फोन गर्न । झटपटमा आत्तिएर, पालिकापरिसरमै छु भन्ने हेक्कै भएन, तर दमकल बोलाएपछि आउँछ भन्ने पक्का छ । परिसरमा हरदम तैनाथ रहने अग्नी नियन्त्रक मध्ये गोपाल चौधरीले विद्युत मिटरमा आगो लागेको खबर पाए ।
आगो निभाउने उपकरणसहित आइपुगेका चौधरी आगलागी भएको ठाउँमा पुगेर एक्लैले आगो निभाए । केही मिनेटमै ओगो नियन्त्रणमा आयो । उपमहानगर कार्यालय क्षति हुनबाट जोगियो ।
गोपाल चौधरी तुलसीपुर उपमहानगरले उत्पादन गरेको जनशक्ति मध्ये एक हुन् । उनी लगायत १२ जनालाई अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजनाले अग्नि नियन्त्रणसम्बन्धी तालिम दिएको थियो ।
त्यही तालिमले दिलाएको ज्ञानको तागतमा उनले उपमहानगरको जिन्सी शाखाका फैलन लागेको आगो नआत्तिएर नियन्त्रणमा लिएका थिए ।

अहिले उनी आगो लागेको ठाउँमा अग्नि नियन्त्रकको रूपमा जाने गर्छन् । अहिले पालिकामा १२ जना फायर ब्रिगेड कर्मचारीहरू छन् र आगलागीको खबर पाउनासाथ दमकल लिएर घटनास्थल पुग्छन् ।

साउनको दोस्रो साता आएको हावाहुरीले तुलसीपुरस्थित सिँचाइ कार्यालयअगाडिको रूख ढाल्यो । रूख ढल्दा आवागमन अवरुद्ध त भयो नै; विद्युत र खानेपानी सेवासमेत अवरुद्ध हुन पुग्यो ।
विद्युत नहुँदा रूख काट्ने मेसिनहरू प्रयोगमा ल्याउन सकिएन । जसले गर्दा ढलेको रूख सहजै व्यवस्थापन गर्नसक्ने अवस्था थिएन । त्यही समयमा तुलसीपुर उपमहाननगरपालिकामा रहेको जेनेटर प्रयोगमा आयो ।
जुन जेनेटेर तयार नेपाल परियोजनाले उपमहानगरपालिकालाई यस्तै विपद् आईपरेको समयमा उपयोग गर्न उपलब्ध गराएको थियो । जेनेरेटरको प्रयोग गरी बीच सडकमा ढलेका रूखहरू काटियो । केहीबेरमै ढलेका रुखहरु व्यवस्थापन भयो । अवरुद्ध सडक, खानेपानी र विद्युत सेवा पुनः सञ्चालनमा आए ।


यी प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । पछिल्लो समय तुलसीपुर उपमहाननगरपालिकामा तालिमप्राप्त जनशक्ति र उपलब्ध स्रोत–साधनको प्रयोग गरी विपद् जोखिम न्यूनीकरण सम्बन्धी उल्लेखीय कामहरू भएका छन् ।
विगतको भोगाइ, सिकाइ र तयार नेपालसँगको सहकार्यले पालिकामा विपद्को क्षेत्रमा उल्लेखनीय काम भएको विपद् व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीले बताउँछन् ।
पहिला सडकमा ढलेका रूखहरू व्यवस्थापन गर्न घन्टौं लाग्ने गरेको भए पनि अहिले एक–दुई घन्टामै ती समस्याहरूको समाधान हुने गरेको उनले बताए ।
‘भूगोलको हिसाबले कतै तत्काल पुग्न सकिन्छ, कतै अलि समय पनि लाग्छ । तर आइपरेका समस्या समाधान गर्नबाट हामी पछि सरेका छैनौं,’ उनले भने, ‘हाम्रा जनशक्ति र उपलब्ध स्रोत–साधनलाई हामीले त्यसै राख्दैनौं । कहाँ कसरी हुन्छ, त्यसको भरपुर उपयोग गर्ने प्रयत्नमा हामी छौं ।’
विपद् प्रतिकार्यलाई थप व्यवस्थित बनाउन उपमहानगरका १९ वटै वडामा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरिएको पनि उनले बताए ।

‘पहिले हामीसँग एउटा दमकल र जेसिबी थियो, तीनैलाई यताउता दौडाउने काम हुन्थ्यो । त्यही पनि धरै गरेको जस्तो लाग्थ्यो,’ उनले भने, ‘तर काम गर्दै जाँदा सबै कुराहरू विपद्सँग सम्बन्धित धेरै कुराहरू बुझ्ने, काम गर्ने र बुझाउने अवसर मिलेको छ ।’

समितिले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई स्थानीयकरण गर्न सहजीकरण गर्ने, विषयगत क्षेत्रहरूसँग समन्वय, खोज तथा उद्धार एवम् राहत जस्ता आपतकालीन प्रतिकार्यलाई प्रभावकारी बनाउने काम गरीरहेको उनले बताए । परियोजनाको सहयोगमा भएको स्थानीयकरण तालिमबाट आर्जन गरेको सिकाइका आधारमा विपद् जोखिम न्यूनीकरण कोष स्थापना भएको उनी बताउँछन् । उक्त कोष र तालिमबाट प्राप्त दक्षतालाई वडासमितिले प्रभावकारी रूपमा उपयोग गरिरहेको उनले बताए ।
‘विगतमा विपद्सम्बन्धी सबै काम शाखाबाट मात्रै हुने गर्दथ्यो, जनशक्ति पनि कम, स्रोत–साधन पनि कम थियो । यसले गर्दा काम गर्न असजिलो हुने, विपद् प्रभावितको तत्काल उद्धार र समयमै राहत नपाउने समस्या धेरै थियो । अहिले गुनासो सुन्नुपरेको छैन । अहिले वडा तहमा पनि समिति बनेको छ, उपकरणहरू पनि छन्, हामीसँग । यसले समन्वयमा एकदमै सजिलो बनाएको छ । तत्काल फिल्डमा जान सक्ने वातावरण पनि निर्माण भएको,’ उनले भने ।
अहिले उपमहानगरपालिकाका १९ वटै वडाले विपद्को लागि पाँच देखि सात लाख रुपैयाँ बजेट छुट्याउने गरेको उनले जानकारी दिए ।

‘पहिले कतै केही भइहाल्यो भने सबै पालिकामा आउने, शाखामा धाउने गर्दा काम गर्न पनि झन्झट हुन्थ्यो । बजेट नपुग्ने राहत तथा पुनस्र्थापनका कामहरू लथालिंग जस् तै थियो,’ उनले विगतको अनुभव सुनाउँदै भने, ‘तर अहिले त्यस्तो छैन, सबै वडाले आफ्नो ठाउँ अनुसार पाँचदेखि सात लाख रुपैयाँ बजेट विपद्का लागि छुट्याएका छन् । बाटो भत्कियो, खाल्डो प¥यो, नाला बुझियो भने आफै काम गर्नुहुन्छ । समन्वय चाहिँ हुन्छ । तर पहिले जस्तो एउटै व्यक्ति सबै ठाउँ पुग्नुपर्ने बाध्यता छैन । यसले पनि धेरै सहज बनाएको छ ।’

तुलसीपुर उपमहानगरपालिकाको आपतकालिन कार्य सञ्चालन केन्द्र
तुलसीपुर उपमहानगरपालिकाको आपतकालिन कार्य सञ्चालन केन्द्र

परियोजनाअन्र्तगत काम गर्दै जाँदा विपद् व्यवस्थापन तथा न्यूनीकरणमा नयाँ अनुभव हासिल भएको र जसले जोखिम व्यवस्थापनमा सहयोगी भूमिका खेलेका विपद् शाखाका प्रमुख डाँगी बताउँछन् । विपद् भनेको के हो ? कस्तो खालको विपद्मा कसरी काम गर्नुपर्छ ? कुन विपद्मा कस्ता उपकरणको प्रयोग हुन्छ ? यसबारे बुझ्ने र काम गर्ने अवसर मिलेको पनि उनले बताए ।
‘पहिले हामीसँग एउटा दमकल र जेसिबी थियो, तीनैलाई यताउता दौडाउने काम हुन्थ्यो । त्यही पनि धरै गरेको जस्तो लाग्थ्यो,’ उनले भने, ‘तर काम गर्दै जाँदा सबै कुराहरू विपद्सँग सम्बन्धित धेरै कुराहरू बुझ्ने, काम गर्ने र बुझाउने अवसर मिलेको छ ।’
विगतमा कतै आगालगी हुँदा त्यसको विवरण संकलन गर्ने, तारजाली दिने, जस्तापाता वितरण गर्ने बाहेक अरू काममा खासै ध्यान नजाने अवस्था रहेको सुनाउँदै उनले अहिले कर्मचारी र जनप्रतिनिधिमा विपद्को विषयमा संवेदनशील बन्नुपर्छ भन्ने मानसिकता जागृत भएको पनि उनले बताए ।

विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी नहुँदा विगतमा हुने आगलागीका घटनाबाट जनधनको ठूलो क्षति बेहर्नुपरेको अनुभव सुनाउँदै उनले जनशक्ति, उपकरण र पूर्वतयारीको आवश्यकता गहिरोसँग बोध भएको बताए ।
२०७९ माघको २७ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित एक जुत्ता पसलमा आगलागी भएको थियो । त्यस घटनाबाट ६ करोड बराबरको क्षति मात्र भएन, पाँच जनाले ज्यान पनि गुमाए । विपद् प्रतिकार्यको पूर्वतयारी नहुँदा भएको क्षतिले ठूलो पाठ पढाएको विपद् व्यवस्थापन शाखाका प्रमुख डाँगीको अनुभव छ ।


‘जाडोको समयमा आगो लाग्ला भन्ने पनि सोचेनौं, दमकलमा पानी पनि थिएन । आगो सल्किइहाल्यो । पानीको जोहो गरेर घटनास्थलसम्म पुगियो । तर आगो समयमै निभाउन सक्ने अवस्था थिएन,’ उनले भने, ‘अक्सिजन सहितको आगो निभाउने उपकरण र तीन तलामाथी पुग्ने भ¥याङ नहुँदा निसास्सिएर पाँच जनाले ज्यान गुमाए । त्यस घटनाले हामीलाई जनशक्ति, उपकरण र पूर्वतयारीको आवश्यकता महसुर गरायो ।’
अहिले तुलसीपुर उपमहानगरमा दमकल, जेसिबी, टिपरजस्ता हेभी उपकरण र अग्नि नियन्त्रकहरू चौबीसै घन्टा उपलब्ध हुने उनले बताए ।
आवश्यकता परेको समयमा तत्काल उद्धार तथा प्रतिकार्यका लागि उपकरण र जनशक्ति तयारी हालतमा राखिएको उनले जानकारी दिए । यतिमात्र नभइ उपमहानगरले विपद् व्यवस्थापनका लागि विभिन्न शीर्षकमा ५० लाख बजेट समेत छुट्याएको छ ।

प्रकोप व्यवस्थापनका लागि ५० लाख गरी कुल एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकामा १ लाख ४९ हजार बढी जनसँख्या रहेको छ । उक्त जनसँख्याका आधारमा विनियोजित बजेटबाट समन्वय तथा सहकार्य, कृत्रिम घटना अभ्यास, आवश्यक खोज तथा उद्धार सामग्रीको खरिद् तथा मर्मत संभार, संकटासन्न क्षेत्रमा विपद् व्यवस्थापनसम्बन्धी क्षमता विकास तथा सचेतीकरण, भू–क्षय तथा नदीकटान क्षेत्रमा तारजालीको व्यवस्थापन, जोखिममा परेकाहरूको लागि सुरक्षित आवासको लागि सहयोग लगायतका कामहरूगर्ने गरिएको उनले जानकारी दिए ।

विपद् प्रतिकार्यका लागि भएका प्रयासहरू
बाढी पूर्वसूचना प्रणाली: तुलसीपुर उपमहानगरपालिकामा जल सतह मापन केन्द्र स्थापना गरिएको छ । बबई नदीमा पानीको बहाव र बाढी जोखिमको पूर्व जानकारी दिने उद्देश्यले तयार नेपालको समन्वय र सहयोगमा उक्त मापन केन्द्र स्थापना गरिएको विपद् व्यवस्थापन शाखाले बताएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मटेरा पुलमा उक्त मापन केन्द्र स्थापना गरिएको छ । प्राविधिक मापन मार्फत सुरक्षित र पूर्वचेतावनी दिने प्रणालीलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने शाखाको भनाइ छ ।

नदीको बहाव कुन अवस्थामा छ ? बाढीको जोखिम के कति छ ? त्यसबारे तुलसीपुर आपतकालीन केन्द्रबाट प्रत्यक्ष जानकारी लिन सकिन्छ । यसका लागि आपतकालीन केन्द्रमा चेतावनी बोर्ड र साइरन प्रणाली जडान गरिएको छ । साथै स्थानीय समुदायमा पनि साइरन प्रणाली जडान गरिएको छ ।

पानीको बहाव कुन अवस्थामा छ ? कति छ ? त्यसको प्रत्यक्ष निगरानी गर्न तुलसीपुर उपमहानगरपालिकाको आपतकालिन कार्य सञ्चालन केन्द्रमा जडान गरिएको डिजिटल बोर्ड
पानीको बहाव कुन अवस्थामा छ ? कति छ ? त्यसको प्रत्यक्ष निगरानी गर्न तुलसीपुर उपमहानगरपालिकाको आपतकालिन कार्य सञ्चालन केन्द्रमा जडान गरिएको चेतावनी बोर्ड

यसले नागरिक तथा नदी क्षेत्रका बस्तीको सुरक्षामा मद्दत पु¥याउने शाखाका प्रमुख डाँगीले बताए । यस प्रणालीलाई प्रभावकारी बनाउनका लागि समुदाय तथा सरोकारवालालाई अभिमुखीकरण, आपतकालीन कार्यसञ्चालनसँग सूचना कनेक्सन र समुदायमा सूचना प्रवाहको काम भइरहेको उनले जानकारी दिए ।

तटबन्धन निर्माण: नदी तटीय क्षेत्रको जोखिम न्यूनीकरणका लागि तुलसीपुर उपमहानगरपालिकाले तयार नेपालको सहयोगमा वडा नम्बर १२ र १४ मा तटबन्ध निर्माण गरेको छ । वडा नम्बर १२ का १ हजार १ सय ३७ परिवारका सदस्य लाभान्वित हुने गरी ३ सय २१ मिटर लम्बाइको तटबन्ध निर्माण भएको छ । वडा नम्बर १४ मा ५ सय परिवारका सदस्य लाभान्वित हुने गरी १ सय ६५ मिटर लम्बाइको तटबन्ध निर्माण भएको छ । उपमहानगर र तयार नेपालको ३ करोड ३८ लाख ५९ हजारको कुल लागतमा निर्माण गरिएको तटबन्धले सो क्षेत्रका बस्तीहरूलाई बाढी र कटान हुनबाट जोगाएको छ । यसका साथै बाँझै छोडिएका जमिनहरू पुनः खेतीयोग्य जमिनको रूपमा प्रयोगमा आउन थालेका छन् । विपद् अल्पीकरण तथा जोखिम न्यूनीकरणसम्बन्धी आयोजनाले सो क्षेत्रका नागरिकको जीविकोपार्जनमा ठूलो योगदान पु¥याएको छ ।

आपतकालीन बन्दोबस्ती व्यवस्थापन तालीमः विपद् व्यवस्थापन उत्थानशीलता वृद्धि गरी सम्भावित क्षतिलाई न्यूनीकरण गर्न आपतकालीन बन्दोबस्तीसम्बन्धी तालिम सञ्चालन गरिएको छ । विपद्को समयमा आवश्यक पर्ने सामग्रीको पहिचान, व्यवस्थापन, जोखिममा पर्ने समूहको पहिचान र तिनीहरूको आवश्यकता, त्यसको व्यवस्थापन लगायतका विषयमा छलफल, अभ्यास एवम् आवश्यक सामग्रीको सहज बन्दोवस्ती गर्न तयार नेपालको सहयोगमा दक्षता प्रदान गरिएको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । तालिमले आपतकालीन समयमा पूर्वतयारी गर्न र विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन ज्ञान र सीप प्रदान गरेको छ ।

बबई नदीमा खतराको लेभर पार भएमा खतराको घण्टी बजाउन जडान गरिएको माईक ।
बबई नदीमा खतराको लेभर पार भएमा खतराको घण्टी बजाउन जडान गरिएको माईक ।

संस्थागत क्षमता विकास कार्यक्रमः कुनै पनि प्रकोप तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संस्थागत क्षमता विकास महत्त्वपूर्ण रहने भन्दै युएसएआइडीको तयार नेपाल परियोजनाले विभिन्न तालिमहरू पनि सञ्चालन गरेको छ । समुदाय तथा वडाको प्राथमिकता अनुसार पालिकाले विपद् पूर्वतयारी गर्न, सोही अनुसारको योजनाहरू कार्यान्वयन गर्न, गराउन एवम् बजेट विनियोजन गर्न यस संस्थागत क्षमता विकास कार्यक्रम महत्वपूर्ण रहेको विपद् व्यवस्थापन शाखाले बताएको छ ।
यस कार्यक्रमअन्र्तगत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन तथा स्थानीयकरण तालिम, फायर फाइटरका लागि आगलागी व्यवस्थापन तालिम, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैंगिक विभेदमा आधारित तालिम, स्फियर मापदण्डसम्बन्धी तालिम, भिएचएफ संचार उपकरण प्रयोगसम्बन्धी अभिमुखीकरण, प्रारम्भिक द्रुत लेखाजोखा तालिम, जोखिम संवदेनशील भू–उपयोग सम्बन्धी तालिम, भूकम्प प्रतिरोधात्मक निर्माण तालिम, लैंगिक हिंसा रोकथामसम्बन्धी तालिम जस्ता विभिन्न क्षेत्रलाई समेटेर कार्यक्रमहरू सञ्चालन गरेको छ ।

पहिले सामान पनि थिएन, जनशक्ति पनि थिएन एउटैले सबैतीर हेर्नुपर्ने वाध्यता थियो, अहिले उपकरण, जनशक्ति सबै छ । विपद् व्यवस्थापन शाखाका प्रमुख डाँगीले भने– अहिले हामीले छिमेकी पालिकालाई सहयोग गर्ने गरेका छौँ। त्यतीमात्र होइन जोखिम संवेदनशीलतालाई ध्यानमा राखेर कित्ताकाटको काम समेत रोकेका छौँ, जुन पहिले पालिकाले सुरु गरिसकेको थियो। बुझ्दै काम गर्दै जाँदा हाम्रा कामहरु पनि जोखिमसंग जोडिएको महसुश भएको छ ।’

नीतिगत व्यवस्थाः तुलसीपुर उपमहानगरपालिकामा विपद् जोखिम न्यूनीकरणका तथा व्यवस्थापनका लागि नीति निर्माण तथा योजना निर्माण गरिएको छ । उपमहानगरको समग्र क्षेत्रको विपद् उत्थानशीलताका लागि ११ वटा नीतिहरू बनाइएको छ । तीमध्ये अधिकांश नीति तथा कार्यविधि कार्यान्वयनमा आइसकेका छन् भने केही कार्यान्वयको प्रकृयामा रहेको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले जानकारी दिए । नीति तथा कानूनमा रहेर काम गर्दा मापदण्डमा आधारित कामहरू हुने र वित्तीय सुशासन कायम गर्न सहयोग पुग्ने उनले बताए ।

पालिकामा बनेका नीति तथा योजनाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले दिशानिर्देश गरेबमोजिम स्थानीय सरकारले एकल तथा साझा अधिकार प्रयोग गरी विपद् व्यस्थापनसम्बन्धी काम गर्न सहज भएको उनको भनाइ छ ।

तयार नेपाल परियोजनाको सहकार्यमा उपमहानगरले बबई नदीमा पानीको बहाव मापनका लागि निर्माण गरेको मापन केन्द्र
तयार नेपाल परियोजनाको सहकार्यमा उपमहानगरले बबई नदीमा पानीको बहाव मापनका लागि निर्माण गरेको मापन केन्द्र

उपमहानगरले पाँचवर्षमा विपद् प्रतिकार्यका लागि विभिन्न कानूनी आधारशीला पनि तयार पारेको छ । जसअनुसार विपद् जोखिम न्यूनीकरण कार्यमञ्च सञ्चालन कार्यविधि २०७८, विपद् पोर्टल सञ्चालन कार्यविधि २०७७, नगर स्वयंसेवक ब्युरो गठन तथा परिचालन निर्देशिका २०७८, सामाजिक परिचालक संलग्नता कार्यविधि २०७८, जोखिम संवेदनशील भू–उपयोग योजना २०७९, भवन प्रवलीकरण अनुमति निर्देशिका तथा मापदण्ड २०७८, भौतिक पूर्वाधार तथा भवन निर्माण मापदण्ड २०७९, अग्नि जोखिम न्यूनीकरण तथा व्यवस्थापन निर्देशिका २०७८, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन रणनीति कार्ययोजना, कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य योजना, तुलसीपुर मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१, जोखिम संवेदनशील भू–उपयोग नीति २०७९ निमार्ण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको बजार क्षेत्र
तुलसीपुर उपमहानगरपालिकाको बजार क्षेत्र

विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा मात्र नभइ वातावरण संरक्षण तथा जलवायु परिवर्तन अनुकूलनसम्बन्धी जान्ने, बुझ्ने र काम गर्ने अवसर मिलेको तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले बताइन् । आर्थिक उत्थानशीलता तथा जीविकोपार्जन कार्यक्रम, हरित प्रवद्र्धन कार्यक्रम, भगिनी नगरपालिकासँग सहकार्य गरी विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका क्षेत्रमा उल्लेख्य ज्ञान बटुलेको उनले जानकारी दिइन् ।
परियोजनाले विपद्सम्बन्धीको बुझाइलाई स्पष्ट पारेको उनी बताउँछिन् । ‘विकासले पनि विनाश निम्त्याउन सक्छ है’ भन्ने कुरामा सचेत गराउनुका साथै काम गर्दा हुनसक्ने थप जोखिमलाई कम नीति तथा कार्यविधिको आवश्यकता बोध भएको उनको भनाइ छ ।
‘पहिले त जे मनलाग्छ, जसरी मन लाग्छ विपद् भन्ने, राहत बाँड्ने काम हुन्थ्यो । तर बुझ्दै जाँदा त्यो अपारदर्शी र व्यस्थित रहेछ भन्ने थाहा भयो,’ उनले भनिन्, ‘अब हरेक कुरालाई व्यवस्थित बनाएर लैजान सक्ने क्षमता विकास भएको छ । विपद्को सामना कसरी गर्न सकिन्छ, कुन समयमा के सावधानी अपनाउने भन्नेबारे पनि सिकाइ भएको छ ।’
पालिकामा भएका उपकरणहरूः उपमहानगरको तुलसीपुर आपतकालीन कार्य सञ्चालन केन्द्रमा खोज तथा उद्धार सामग्रीहरू राम्रो व्यवस्थापन छ । चौबिसै घन्टा सेवा दिनेगरी सञ्चालन गरिएको उक्त केन्द्रमा फायर बाइक, भ¥याङ, दमकल, जेसिबी, टिपर, ड्रिल मेसिन, स्वचालित आह्रो, सावेल, सेफ्टी हेलमेट, माक्स, रेनकोट, सेफ्टी बुट, पन्जा, रेस्क्यु भेस्ट, स्वेटर, लाइफ ज्याकेट लगायतका सबै आधारभूत सामग्री छन् ।
त्यस्तै, कम्बल, रबर म्याट्रेस, रबर ट्युब, फुट पम्प, हेड लाइट, अग्नि समन उपकरण, त्रिपाल, फायर बल, सेफ्टी रिबन, वाकीटकी जेनेटर लगायतका उपकरणहरू उपलब्ध छन् । यी उपकरणहरू तुलसीपुरमा मात्र नभइ अन्य छिमेकी पालिकाका लागि पनि विपद्को समयमा प्रयोगमा आउने गरेका छन् । विशेषगरी दमकल, टिपर, जेसिबी, अग्नि नियन्त्रक र त्यससम्बन्धी उपकरणहरू छिमकी पालिकाका लागि पनि उपयोगी हुने गरेको छ ।


के छन् चुनौती ?
विपद् जोखिम न्यूनीकरणका लागि बनाइएका मापदण्डहरूलाई कार्यान्वयन गर्न उपमहानगरसँग पर्याप्त प्राविधिक र स्रोत–साधनको अभाव चुनौतीपूर्ण रहेको विपद् व्यवस्थापन शाखाका प्रमुख डाँगीले बताए । पालिकाका केही जनप्रतिनिधिमा विकास भनेको पूर्वाधार निर्माण, सडक, नाला निर्माण हो भन्ने मानसिकता रहेकाले दस्तावेज कार्यान्वयनमा राजनीतिक तथा प्रशासनिक प्रतिवद्धता आवश्यक रहेको उनले औंल्याए ।

विपद्सँग सम्बन्धित सबै कार्यक्रमलाई निरन्तरता दिन आर्थिक, मानवीय संसाधनको पर्याप्तता हुनुपर्ने उनी बताउँछन् ।
‘हामीसँग तीन–चार तलामाथी आगलागी भएमा आगो निभाउन प्रयोग हुने उपकरणहरू त छन्, तर ती उपकरणको व्यवस्थापन र परिचालन गर्ने जनशक्ति छैनन् । भ¥याङ अड्याउने, फिट गर्ने, अग्नि नियन्त्रकलाई सहायता गर्ने गरी थप चार जना व्यक्ति हामीलाई चाहिन्छ तर त्यो जनशक्ति हामीसँग छैन,’ उनले भने, ‘उपकरणहरू थपिएसँगै तीनलाई परिचालन गर्ने मानवीय स्रोतको पनि व्यवस्थापन गर्नुपर्छ । त्यो तत्काल सम्भव छैन । हामीकहाँ नगरप्रहरीहरू भर्ना भएर आउने प्रक्रिया चलिरहेको छ । उनीहरू आएभने हामीलाई जनशक्ति व्यवस्थापन गर्न सहज पनि होला भन्ने छ ।’
विपद् उत्थानशील समाज स्थापित गर्न पालिकाले गहन ढंगले प्राथमिकतामा राखेर वार्षिक कार्यक्रम र बजेट विनियोजन गर्ने र सबै क्षेत्रसँग समन्वय गरेर काम गर्नपर्छ भन्ने महसुस भएको उनले बताए । आगामी दिनमा पालिकामा बनेका हरेक नीति–नियमलाई अक्षरशः कार्यान्वयनमा ल्याउने प्रण पालिकाको रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

   असोज १३, २०८१       admin

कञ्चनपुर, १३ असोज । हात्तीको आक्रमणमा परी कञ्चनपुरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल राना छन् ।

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् । किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए । हात्ती धपाउन जाँदा उल्टै आक्रमण गरेको थियो ।

घटनास्थलतर्फ प्रहरी गइसकेका जानकारी उनले जानकारी दिए

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शुक्रबार गोरखाबाट काठमाडौका लागि छुटेको बस सम्पर्क बिहिन

   असोज १३, २०८१       admin

काठमाडौं,१३ असोज । गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सम्पर्कविहिन भएको छ ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिले सम्मपनि सम्पर्कमा नआएको बताइएको छ ।

गोरखा दरौदी यातायत प्रालिका अध्यक्ष नारायण खत्रीलेका अनुसार राति १० बजेसम्म खानिखोला सम्म सम्पर्क भएपनी त्यसपछि कोहि कसैसँग सम्पर्क भएको छैन् । उत्त बसमा कति यात्रु थिए भन्नेबारे पनि एकिन भएको छैन् ।

बसको खोजिकार्यका लागि यातायात प्रालिले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नवलपुरका ६सय ४१ घर डुबानमा

   असोज १३, २०८१       admin

नवलपरासी ,१३ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६ सय ४१ घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका हुन् ।

प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलका अनुसार नवलपुरको नारायणी नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । नारायणीमा पानीको सतह बढेसँगै बस्तीमा बाढी पसेर डुबान भएको उनले बताए । जिल्लाको गैँडाकोट नगरपालिका–२ बोटे टोलमा ८० घर डुबानमा परेका छन् । बस्ती डुबानमा परेपछि यहाँका बासिन्दालाई उद्धार गरी महेन्द्र स्मारक आधारभूत विद्यालय र श्रीराम पार्टी प्यालेसमा राखिएको छ ।

गैँडाकोट–७ सिकारी टोलका १५ घर, वडा नं ९ को थुम्सीका १८ घर र वडा नं १० थापा गाउँका १५ घर डुबानमा परेका छन् । डुबानमा परेका घरका बासिन्दा आफन्तकहाँ आश्रय लिएर बसेका प्रजिअ पोख्रेलले बताए । नवलपुरको कावासोती नगरपालिका–१५ बाघखोरका ६० घर र कावासोती–१७ गोछडाटारका दुई सय १५ घर समेत डुबानमा परेका छन् ।

यसैगरी मध्यविन्दु नगरपालिका–२ सीतापुर र सेरीका दुई सय घर डुबानमा परेका छन् । मध्यविन्दु–६ भडराका दुई सय घर र वडा नं १५ का १८ घर डुबानमा परेका छन् । डुबानबाट एक हजार नौ सय ३७ जना प्रभावित भएको प्रजिअ पोख्रेलले बताए । नारायणी नदीको बाढीका कारण यी क्षेत्र डुबानमा परेका हुन् । डुबानमा परेका क्षेत्रमा उद्धारका लागि तीन सय दुई नेपाल प्रहरी, एक सय ४५ सशस्त्र प्रहरी र ८२ नेपाली सेना खटिएका थिए ।

बाढीका कारण कृषि बालीमा समेत ठूलो क्षति पुगेको छ । बाढीले नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सात सय हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुर्‍याएको छ । जिल्लाका विभिन्न स्थानमा गरेर करिब सात सय हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

बाढीबाट गैँडाकोट, कावासोती, मध्यविन्दु, विनयी त्रिवेणीका विभिन्न क्षेत्रमा धानबालीमा क्षति पुर्‍याएको छ । नारायणी नदी तटीय क्षेत्रका बस्ती सेहरी, नन्दपुर, सीतापुर, भुताह, बगुवन, प्रसौनीलगायत क्षेत्रमा बाढीबाट बढी क्षति पुगेको छ । वर्षासँगै आएको बाढीले खेत पूरै डुबान भएकाले यी क्षेत्रमा धानबाली पूर्ण रूपमा नोक्सान हुने अवस्था रहेको प्रमुख तिवारीले बताए । बाढीले जिल्लाका माछापोखरीमा समेत ठूलो क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पहिरोमा पुरिएका २ बसबाट १४ शव निकालियो

   असोज १२, २०८१       admin

काठमाडौं,१२ असोज । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।

शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।

त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।

पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आइतबारदेखि तीनदिन विद्यालय बन्द हुने

   असोज १२, २०८१       admin

दाङ,१२ असोज । भोली आइतबार देखि तीनदिन विद्यालय बन्द हुने भएका छन् । अविरल वर्षाका कारण विश्वविद्यालय र विद्यालयका भवनहरुमा क्षति पुगेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीनदिन सम्म विद्यालय बन्द रहने जनाएको छ ।

शनिवार एक विज्ञेप्ती जारी गर्दै शिक्षा मन्त्रालयले यस्तो बताएको हो ।
मन्त्रालयले शुक्रबार देखि देशभर भएको अविरल वर्षाबाट विभिन्न स्थानमा भौतिक तथा मानवीय क्षतिका विवरण आइरहेका छन् ।

देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवजयापनमा कठिनार्ई भएको भन्दै विद्यालय बन्द गर्नै निर्णय गरेको मन्त्रालयले विज्ञेप्ती मार्फत बताएको छ ।

क्षति पुगेका विद्यालयहरुको आकस्मिक व्यवस्थापन गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय आइतबार देखि तीनदिनसम्म बन्द गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अविरल वर्षाले भासियो राप्ती लोकमार्ग

   असोज १२, २०८१       admin

दाङ , ५ असोज । अविरल बर्षाले राप्ती राजमार्ग भासिएको छ । सडक भासिएर राजमार्ग भत्किदा राप्ती राजमार्गमा आवागमन बन्द भएको छ ।

दाङ सल्यान सडक खण्डको राम्रीमा १४ मिटर सडक भासिएर पहिरो जादा अनिश्चितकालका लागि सडक अबरुद्ध  भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका निमित्त प्रमुख प्रकाश थापाले जानकारी दिए । दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम जोड्ने सडक राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-३ स्थित राम्रीमा अविरल बर्षातका कारण भासिएको हो  । अब सडक पुर्णरुपमा सुचारु हुन ४/५ दिन लाग्ने हुदा याे सडकखण्ड पुर्णरुपमा ठप्प रहने र साना सवारीसाधनले भने वैकल्पिक बाटाे प्रयाेग गर्ने सक्ने अबस्था रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

९ जिल्लामा नदीहरुले गरे खतराको तह पार

   असोज १२, २०८१       admin

दाङ,१२ असोज । शुक्रबार बिहानदेखिको लगातार वर्षाका कारण विभिन्न नदीहरूले ९ जिल्लामा खतराको तह पार गरेका छन्।

बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ, नारायणी, बागमती र कोशी नदीको वहाब विभिन्न स्थानमा खतरा तह पार भएका छन्।

तिनाउ नदी रूपन्देहीमा र नारायणी नदीले चितवनमा खतरा तह पार गरेको छ।

त्यस्तै बागमती नदी काठमाडौंको बालकुमारी ९मनोहरा० , भक्तपुरको जगाती, कौशलटार ९हनुमन्ते०, ललितपुरको खोकनामा, रौतहटको पधेरादोभानमा खतराको तह पार गरेको छ।

बाराको महेशपुरमा पसाहा खोला, अरूण नदी धनकुटामा र सुनकोशी नदीले सिन्धुलीमा खतराको तह पार गरेको छ। यी मध्ये केही नदीमा पानीको वहाब अझै बढ्दो छ भने केहीमा स्थिर रहेको महाशाखाले जनाएको छ।

त्यस्तै विभिन्न नदीहरूले चेतावनीको तह पार गरेका छन्।

कपिलवस्तु, तनहुँ, चितवन, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, धनकुटा, सुनसरी र झापामा विभिन्न नदी तथा खोलाहरूमा पानीको वहाब सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रबार पनि विशेष बुलेटिन जारी गरेर सतर्क रहन आग्रह गरेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology