काठमाडौ,२८ कार्तिक । भारतको महाराष्ट्र राज्यस्थित पुणेको बाहिरी क्षेत्रमा रहेको नवले पुल नजिकै बिहीबार साँझ ठूलो सवारी दुर्घटना भएको छ। दुर्घटनामा २० देखि २५ सवारीसाधन आपसमा ठोक्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्।
दैनिक भास्करको समाचार अनुसार, एक ट्रकको ब्रेक फेल भएपछि ट्रकले अगाडि चलेको कारलाई ठक्कर दियो। कार त्यसपछि अगाडि रहेका कन्टेनरसँग ठोक्किँदा भीषण आगलागी भयो। आगोले ट्रक र कार दुवै जल्न पुगे।
कारमा रहेका पाँच जना घटनास्थलमै जिउँदै जलेका छन्। ट्रक चालकसहित नौ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
दुर्घटना पुणे–नाशिक राजमार्गको भोरगाउँ नजिकै भएको हो।
दुर्घटनाको खबर पाए लगत्तै प्रहरी र दमकलका गाडीहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिए। घाइते सबैलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको प्रहरीको भनाइ छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२७ कार्तिक । साँगुरीगढी गाउँपालिकामा कार्यरत कर्मचारी जनप्रतिनिधिद्वारा कुटिएका छन्। सुनसरीको धरान उपमहानगरपालिकासँग सिमाना जोडिएको धनकुटाको सागुरीगढी गाउँपालिकामा कार्यरत योजना अधिकृत दोर्ण राईमाथि पालिकाकै वडाध्यक्षले कुटपिट गरेका हुन्।
गाउँपालिकाको वडा नं. १ का वडाध्यक्ष गोविन्द लिम्बूले अधिकृत राईमाथि कार्यकक्षमै आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ। आक्रमणबाट अधिकृत राईको अनुहारमा गम्भीर चोट लागेको छ। हाल उनको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।
घाइते राईका अनुसार वडाध्यक्ष लिम्बूले सम्झौता नभएको खेलकुद कार्यक्रमको एक लाख रुपैयाँ भुक्तानी मागेका थिए। आफूले कानुनअनुसार सम्झौता नभएका योजनाको रकम वितरण गर्न नमिल्ने बताएपछि लिम्बू आक्रामक बनेर कुटपिट गरेको राईले बताए।
घटनापछि गाउँपालिकाका सम्पूर्ण कर्मचारी आन्दोलित भएका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आक्रमणकारी वडाध्यक्षविरुद्ध तत्काल कारबाही गर्न र कर्मचारीहरू स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न माग गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “कर्मचारीको सुरक्षामा सरकार गम्भीर नभए हामी कठोर आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुनेछौं।”
आक्रमणपश्चात् गाउँपालिकाको दैनिक प्रशासनिक कामकाज आंशिक रूपमा प्रभावित भएको छ।
यसैबीच, गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले पनि प्रेस विज्ञप्ति जारी गर्दै योजना अधिकृतमाथि भएको आक्रमणको तीव्र निन्दा गरेका छन्। उनले वडाध्यक्षविरुद्ध कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै भने, “कर्मचारीमाथि भएको यो आक्रमणले गाउँपालिकाको मर्यादामा आँच पुगेको छ।”
अध्यक्ष रुम्दालीले एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले गाउँको विकास र दैनिक प्रशासनिक काममा समेत अवरोध पुर्याइरहेको आरोप पनि लगाएका छन्।
तर, आरोपित वडाध्यक्ष लिम्बूले भने योजना अधिकृत राईले उपभोक्ता समितिको रकम भुक्तानी नगरेको र सुरुमा आफूमाथि नै आक्रमण गरेको दाबी गरेका छन्। उनले राईको आक्रमणबाट आफ्ना हातको औँला फ्याक्चर भएको बताएका छन्।
गाउँपालिकामा कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूबीचको राजनीतिक विवादले प्रशासनिक कामकाज र विकास निर्माणका योजनामा निरन्तर अवरोध सिर्जना भइरहेको स्थानीयवासीले बताएका छन्
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ कार्तिक । दाङ प्रहरीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।
देशव्यापी रूपमा २०८२ भदौ २३ र २४ गते जेनजी समूहद्वारा गरिएको आन्दोलनका क्रममा दाङमा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न एक व्यक्ति पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय नारायणपुर दाङमा ढुङ्गामुढा, तोडफोड, आगजनी तथा चोरी गरी क्षति पुर्याएको आरोपमा घोराही उपमहानगरपालिका–१० उत्तर अमरई बस्ने ३४ वर्षीय रमेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसुरमा दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ कार्तिक । दाङको तुलसीपुरमा लघुवित्तमा आवद्ध महिलाहरूका लागि वित्तीय साक्षरता कार्यक्रम गरिएको छ। आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ सेवा फाउन्डेशन नेपाल र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको संयुक्त आयोजनामा “आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम” सम्पन्न गरिएको हो।
कार्यक्रम ग्रामीण विकास लघुवित्त वित्तीय संस्था तुलसीपुर शाखा प्रमुख साधना चौधरीको अध्यक्षता तथा संस्थाका सिईओ श्याम कटवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा सिईओ कटवालले ग्रामीण लघुवित्त जस्ता वित्तीय संघसंस्थाहरू आर्थिक समृद्धिको पुलका रूपमा कार्यरत रहेको उल्लेख गर्दै संस्थाको पृष्ठभूमि र उपलब्धिहरूबारे जानकारी दिए।
उनका अनुसार, संस्था २०५० सालमा स्थापना भएको अर्धसरकारी संस्था हो, जसले हाल देशभरका ५७ जिल्लाका २६९ स्थानीय तहमा सेवा विस्तार गरिसकेको छ। संस्थाको कुल लगानी करीब १४ अर्ब रुपैयाँ रहेको जानकारी दिँदै उनले भने, “हाम्रो संस्था धितोमा ७ लाख र विना धितो ५ लाखसम्म ऋण सुविधा उपलब्ध गराउँछ। हाल वार्षिक ७.५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह भइरहेको छ।”
कटवालले मोबाइल बैंकिङमार्फत कर्जा लगानी र भुक्तानीका विवरण बुझ्ने डिजिटल सेवा सञ्चालनमा ल्याएको र कर्जा सुरक्षा कोषमार्फत जोखिम न्यूनीकरणमा पनि संस्था अग्रसर रहेको बताए। साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत सुत्केरी स्याहारका लागि १० हजार रुपैयाँसम्मको सहयोग पनि उपलब्ध गराउँदै आएको जानकारी दिए।
कार्यक्रममा सेवा फाउन्डेशनका अध्यक्ष डा. नहकुल के.सी. ले वित्तीय साक्षरतालाई आर्थिक समृद्धिको मूल आधारका रूपमा व्याख्या गरे। उनका अनुसार, वित्तीय साक्षरता भनेको केवल पैसा कमाउने सीप होइन, बचत, लगानी र सही आर्थिक निर्णय लिन सक्ने ज्ञान हो। उनले भने, “वित्तीय साक्षर महिला र युवाले आफ्नो परिवार मात्र होइन, सम्पूर्ण समुदाय र देशको अर्थतन्त्रलाई बलियो बनाउन सक्छन्।”
डा. केसीले महिलाहरूलाई समूहगत रूपमा संगठित भई नियमित बचत गर्ने बानी बसाल्न र साना ऋण सुविधाको सदुपयोग गर्दै सीप तालिमबाट प्राप्त ज्ञानलाई व्यवसायमा रूपान्तरण गर्न आग्रह गरे। उनले रोजगारी सिर्जना र आत्मनिर्भर समाज निर्माण नै संस्थाको मुख्य उद्देश्य रहेको बताए।
डा. केसीले भने-“अब सीप सिक्ने मात्र होइन, त्यसलाई व्यवहारमा उतार्ने समय आएको छ। सीपयुक्त महिलाहरूलाई वित्तीय पहुँच जोड्न सके, उनीहरू स्थायी रोजगारी र आम्दानीका स्रोत बन्न सक्छन्।”
कार्यक्रमका विभागीय प्रमुख खगेन्द्र प्रसाद अर्यालले सहभागीहरूलाई बचत, खर्च र लगानीका प्रभावकारी उपायबारे व्यावहारिक प्रशिक्षण दिएका थिए। उनले वित्तीय अनुशासन र सानो बचतको निरन्तरताले ठूलो आर्थिक परिवर्तन सम्भव बनाउने उल्लेख गरे।
कार्यक्रममा मन्टेस्वरी, कम्प्युटर, अचार, आलु चिप्स, पेन्टिङ र पशुपालन तालिमका सहभागीहरूलाई व्यवसायिक योजना बनाउन र लघुवित्तसँग सहकार्य गर्न प्रेरित गरिएको थियो। उक्त कार्यक्रममा १५० बढी महिलाको सहभागीता रहेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ कार्तिक । उच्च अदालत तुलसीपुर बुटवल इजलास राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ। बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको मुद्दा सम्बन्धी मिसिल झिकाउन उच्च अदालत तुलसीपुर बुटवल इजलासले आदेश दिएको छ।
बिहीबार न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेका मिसिल झिकाउने आदेश गरेको हो। अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार बिहीबार लामिछाने र जोशीको मुद्दामा बहस सकिएपछि यस्तो आदेश दिइएको हो।
सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहित चार जना विरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको थियो।
अभियोग दायरपछि लामिछानेलाई ललितपुरको नख्खु कारागारमा र जोशीलाई भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा पठाइएको छ।
लामिछाने र जोशीले आफ्नो भागमा पर्ने रकम बराबरको बिगो बुझाएर रिहा गर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए। लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानतसहित रिहाइ माग गरेका थिए। तर जिल्ला अदालतले त्यो निवेदन अस्वीकार गरेपछि उनी उच्च अदालतमा पुगेका हुन्।
बिहीबारको बहसमा लामिछाने तर्फबाट नारायण कँडेल, दीपेन्द्र झा र महेन्द्र पाण्डे, जोशी तर्फबाट रोचक जोशी, र सहकारीका बचतकर्ताहरू तर्फबाट महान्यायाधीवक्ता प्रकाश मरासिनी र सहन्यायाधीवक्ता सन्देश श्रेष्ठले बहस गरेका थिए।
मिसिल झिकाउने आदेशपछि अब सर्वोच्च अदालतमा रहेका फाइलहरू आएपछि मात्र उच्च अदालतले थप निर्णय गर्नेछ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ कार्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङ जिल्लामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद सुरु गरेपछि किसानहरू खुशी भएका छन्।
गढवा गाउँपालिकाको समन्वयमा गरिएको खरिद प्रक्रियाले किसानहरूलाई राहत मिलेको छ। गढवा गाउँपालिका–४ रामनगरका किसान रामनिवास यादवका अनुसार उनले सरकारले तोकेको प्रतिक्विन्टल ३ हजार ४सय ६३ रुपैयाँ ८१ पैसामा ४० क्विन्टल धान बिक्री गरेका छन्।
उनले भने, “गाउँका व्यापारीहरूले प्रतिक्विन्टल दुई हजार पाँच सय रुपैयाँ मात्र दिन्थे। तर खाद्यले सरकारले तोकेको मूल्यमा खरिद गर्दा हाम्रो श्रमको उचित मूल्य पाइयो।”
धान उत्पादन बढी भएकाले खाद्य कम्पनी र गाउँपालिका बीच सहमति अनुसार प्रतिकिसान बढीमा ४० क्विन्टलसम्म धान खरिद गर्ने व्यवस्था गरिएको छ।
तर, केन्द्रबाटै निश्चित कोटा निर्धारण गरिएकाले सबै किसानको धान खरिद गर्न कठिनाइ भएको गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदाकुमारी चौधरीले बताइन्। उनका अनुसार, “गढवामा हरेक वर्ष करिब १५–१६ हजार क्विन्टल धान उत्पादन हुने गर्छ, तर यस वर्ष खाद्य कम्पनीले जम्मा दुई हजार क्विन्टल मात्र खरिद गर्ने सम्झौता गरेको छ।”
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुर शाखाकी प्रमुख तुलामाया लोहारका अनुसार पनि कोटा प्रणालीकै कारण धान खरिदमा समस्या आएको हो। उनका अनुसार केन्द्रले दाङ जिल्लाका लागि पाँचहजार क्विन्टलको कोटा दिएको छ, जसअनुसार गढवा गाउँपालिकाबाट दुईहजार, लमही नगरपालिका १५ सय र राप्ती गाउँपालिकाबाट १५ सय क्विन्टल धान खरिद भइरहेको छ।
पहिलो दिन १७० क्विन्टल र दोस्रो दिन ३५७ क्विन्टल गरी हालसम्म गढवाबाट ५५७ क्विन्टल धान खरिद भइसकेको उनले बताइन् ।
सरकारको समर्थन मूल्यमा धान खरिदले किसानमा उत्साह जागेको भए पनि सीमित कोटा प्रणालीका कारण सबै किसानको उत्पादन बिक्री गर्न नसक्ने समस्या देखिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२७ कार्तिक । महिला हत्याको आरोपमा दुईजना पक्राउ परेका छ। तीनपाटन गाउँपालिका–२ पैरेकी ४० वर्षीया छत्रकुमारी कार्की (थापा)को हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।
१० दिनअघि घरबाट घाँस काट्न निस्किएकी कार्की चार दिनपछि वडा नं. १ सिसौघारीमा मृत अवस्थामा फेला परेकी थिइन्। पोस्टमार्टम रिपोर्ट अनुसार घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको थियो।
घटनापछि प्रहरीले शंकास्पद व्यक्ति खोजी गर्दै दुधौली नगरपालिका–१३ का ३१ वर्षीय सूर्यबहादुर कामीलाई दाङबाट पक्राउ गरी सिन्धुली ल्याएको छ। प्रारम्भिक बयानमा उनले हत्या गरेको स्वीकार गरेका छन्।
सूर्यबहादुरको बयानका आधारमा उनको भान्जा टंकबहादुर कामी पनि संलग्न रहेको पुष्टि भएपछि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अर्को एक जना भने अझै फरार छन्।
प्रहरीका अनुसार मृतकको मोबाइल सूर्यबहादुरले लुकाएको स्थानबाट बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा लामो समयदेखि रहेको अवैध सम्बन्ध बाहिरिने डरले हत्या गरिएको खुलेको प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए।
मृतकका श्रीमान् महेन्द्रबहादुर थापा र सासू–ससुरा भारतमा काम गर्ने गरेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२७ कार्तिक। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी विषयमा राजनीतिक दलहरूसँग छलफल गरेको छ।
आयोगको कार्यालय, कान्तिपथमा भएको उक्त छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू र नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका दलका प्रतिनिधिहरू सहभागी थिए।
आयोगका सचिव माहादेव पन्थले राष्ट्रियसभाको निर्वाचनका प्राविधिक तयारीका विषयमा दलहरूसँग परामर्शपछि निर्वाचन कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए।
कानुन अनुसार, सभाको सदस्यको पदावधि सकिनु ३५ दिनअघि निर्वाचन हुनुपर्ने व्यवस्था रहेको छ। यस अनुसार आगामी फागुन २१ गते कार्यकाल समाप्त हुने १९ मध्ये १८ सदस्यका लागि निर्वाचन हुने भएको छ, भने एक सदस्य राष्ट्रपतिबाट मनोनित हुनेछन्।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, प्रदेशका स्थानीय तहका अध्यक्ष–उपाध्यक्ष, र नगरपालिकाका प्रमुख–उपप्रमुखहरूले मतदान गर्नेछन्।
प्रत्येक प्रदेशसभा सदस्यको मतभार ४८ र अध्यक्ष–प्रमुख तथा उपाध्यक्ष–उपप्रमुखको मतभार १८ हुने कानुनी व्यवस्था छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२७ कार्तिक । सिराहा प्रहरीले अवैध लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ। सिराहा नगरपालिका–१ मा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो गोलबजार, जिल्ला प्रहरी कार्यालय सिराहा र वडा प्रहरी कार्यालय सिराहाको संयुक्त टोलीले छापा मारेको हो।
प्रहरीले स ११ च ५४८५ नम्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका–१७ का राम जीवन यादव (२५) र दीपककुमार यादव (२७) को साथबाट ब्राउन सुगर जस्तो देखिने २४ ग्राम ८२० मिलीग्राम पदार्थ बरामद गरेको जनाएको छ।
त्यसैगरी, स १० प ५३२६ नम्बरको मोटरसाइकलमा सवार नवराजपुर–१ का ऋषि कुमार यादव (२०) र भगवानपुर–५ का देवेन्द्र कुमार यादव (१८) लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूबाट डाईजोपाम, प्रोमेथाजाईन, ब्रुफेनफाईन एम्पुल तथा सिरिन्ज बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२७ कार्तिक । अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनली मा भएको भीषण सवारी दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीको ज्यान गएको छ।
मृत्यु हुनेमा ४१ वर्षीय पुरुष, उनकी ३१ वर्षीया श्रीमती र तीन वर्षीय छोरा रहेका छन्। उनीहरू सवार कारलाई मालबाहक ट्रकले ठक्कर दिँदा घटनास्थलमै तिनै जनाको मृत्यु भएको भिक्टोरिया प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनामा ती दम्पतीकी आमा (हजुरआमा) गम्भीर घाइते भएकी छन्। उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकहरूले उनको अवस्था हाल स्थिर र ज्यान संकटमुक्त रहेको बताएका छन्।
दुर्घटना सब–वेबाट मुख्य सडकमा निस्कँदा मालबाहक ट्रक र कार ठोक्किँदा भएको बताइएको छ। ट्रक चालक भने सामान्य रूपमा घाइते भएका छन्। परिवारका अन्य सदस्यहरू अर्को सवारीमा केही दूरी पछाडि रहेका र घटनाबारे पछि मात्रै जानकारी पाएको बताइएको छ।
भिक्टोरियाका वाणिज्यदूत नीराजन गौलीले घटनालाई “निकै पीडादायक र दुःखद” भन्दै तीन नेपालीको घटनास्थलमै मृत्यु भएको र एक महिलाको उपचार भइरहेको पुष्टि गरेका छन्।
त्यसैगरी, एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकले घाइतेको उपचार र परिवारलाई सहयोगका लागि संघ सक्रिय रहेको बताएका छन्।
भिक्टोरिया प्रहरीले भने दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस