मुस्ताङ, १५ कार्तिक । निरन्तर वर्षाका कारण शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम–कागबेनी सडक मर्मतपछि पुनः सञ्चालनमा आएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सडक मर्मतपछि सवारी आवागमन सुरु भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।
अब जोमसोमबाट कागबेनी र मुक्तिनाथसम्मको यात्रा सहज बनेको छ । कागबेनी–छुसाङ सडक खुलाउने कार्य भने अझै जारी रहेको प्रशासनले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
चितवन,१५ कार्तिक । घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्धिराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएका छन् ।
प्रहरीका अनुसार उनी शुक्रबार दिउँसो रिउ खोलामा घुँगी खोज्न गएका थिए । शनिबार बिहान दलदलमा बोटको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
धनगढी,१५ कार्तिक। धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो स्थानान्तरणको माग गर्दै स्थानीय बासिन्दाले दबाबमूलक आन्दोलनको तयारी गरेका छन् ।
दुई वर्षअघि स्थानान्तरणको प्रक्रिया सुरु भएको भनिए पनि हालसम्म कुनै प्रगति नदेखिएपछि शुभकामना टोल विकास संस्थाको अगुवाइमा स्थानीयले अर्को सातादेखि चरणबद्ध आन्दोलनको तयारी गरेका हुन् ।
टोलका अध्यक्ष दीर्घराज ओझाका अनुसार घनाबस्तीबीच रहेको डिपोका कारण सुरक्षाको संवेदनशीलता अत्यधिक बढेको छ । “डिपो नजिकै ८७ घरधुरीमा ३५० भन्दा बढी मानिस बसोबास गर्छन् । पेट्रोलियम ट्यांकको नजिकै घर भएकाले सधैं त्रासमा बाँच्नुपरेको छ,” उनले भने ।
स्थानीय धर्मसिंह ऐरले राति पनि डिपोमा आगलागीको डरले निद्रै नपर्ने बताउँदै पटकपटक सरोकारवालालाई आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे ।
नजिकै विद्यालय, अस्पताल र व्यावसायिक भवन भएकाले जोखिम झनै बढेको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले पनि डिपोलाई सुरक्षित स्थानमा सार्न निगमलाई पटकपटक आग्रह गरिसकेको बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१५ कार्तिक । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह गरी विशेष पूजा गर्दै हरिबोधिनी एकादशी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्वलाई तुलसी–विवाहको दिनका रूपमा पनि चिनिन्छ।
धार्मिक विश्वासअनुसार आसार शुक्ल एकादशी (हरिशयनी एकादशी)का दिन क्षीरसागरमा शयनमा गएका भगवान् विष्णु आजको दिन (हरिबोधिनी एकादशी)मा ब्यूँतिने भएकाले यसलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मका चार महिनालाई ‘चातुर्मास’ भनिन्छ, जस अवधिमा विवाह, ब्रतबन्धजस्ता माङ्गलिक कार्य नगर्ने परम्परा रहिआएको छ।
यस अवधिमा भक्तजनले तुलसीको व्रत बस्दै विशेष पूजा गर्छन्। आजका दिन घर–घरमा रोपिएको तुलसीको मठ गाईको गोबर र रातो माटोले पोतेर फूलमाला र बत्तीले सजाइन्छ। त्यसपछि तुलसीको भगवान् विष्णुको प्रतीक दामोदरसँग विधिपूर्वक विवाह गरिन्छ। मठ नजिकै निगालाको लिङ्ग गाडी विष्णुको प्रतीकका रूपमा पूजा गर्ने प्रचलन छ।
धर्मशास्त्रविद् प्रा.तोयराज नेपालका अनुसार हरिशयनी एकादशीदेखि आजसम्म पूजित तुलसीको उद्यापन अग्निस्थापन विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ। आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्मका दिनहरूमा पनि अग्निस्थापन विधिबाट पूजा गर्न सकिने शास्त्रीय वचन रहेको उनलेे बताए ।
तुलसीको धार्मिक मात्र होइन, वैज्ञानिक महत्त्व पनि छ। तुलसीको सुगन्धले वातावरण शुद्ध पार्ने, रोगाणु नाश गर्ने र सर्पजस्ता विषालु जीव टाढा राख्ने विश्वास छ। तुलसीका पात र फूलको रस रुघाखोकी, औलो लगायतका रोगका लागि औषधीय गुण भएको प्रमाणित भइसकेको छ। तुलसीको चिया सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने बताइन्छ।
धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार कात्तिक महिनामा तुलसीको माला लगाउँदा र भगवान् विष्णुलाई एक लाख तुलसीपत्र अर्पण गर्दा मनोकामना पूरा हुने विश्वास छ। गरुड पुराणका अनुसार भगवान् विष्णुलाई एउटा तुलसीपत्र अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल प्राप्त हुन्छ।
आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी नगरपरिक्रमा गराउने परम्परा पनि छ। रातभर ‘गोविन्द उठ्नुस्, तपाईँ सुते जगत् सुत्छ, तपाईँ उठे जगत् उठ्छ’ भन्दै शंख, घन्टा र ढोल बजाएर भगवान् विष्णुलाई जगाउने चलन छ।
यस दिन किसानहरूले उखुको बोट तुलसी मठमा गाड्ने र अन्न नखाई सखरखण्ड, पिँडालु, वनतरुल जस्ता फलाहार ग्रहण गर्ने गर्छन्। यस्तो व्रतले पाप नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ। ठूलो एकादशीका नामले पनि परिचित आजको व्रतले हजार अश्वमेध र राजसूय यज्ञ बराबरको फल दिने शास्त्रीय मान्यता छ।
कात्तिक महिनाभर भगवान् विष्णुको भक्तिपूर्वक आराधना, स्नान, दान, जप र होम गर्नाले सयौं जन्मका पापबाट मुक्ति मिल्ने ग्रन्थहरूमा उल्लेख छ।
देशभरका नारायण मन्दिरहरूमा आज विशेष पूजा, हवन र आराधना गरी हरिबोधिनी एकादशी पर्व श्रद्धा र भक्तिभावपूर्वक मनाइँदैछ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१४ कार्तिक । भारत र अमेरिकाले आउँदो १० वर्षका लागि रक्षा सहयोग विस्तार गर्ने एक रूपरेखा सम्झौतामा हस्ताक्षर गरेका छन्।
अमेरिकी रक्षा सचिव पिट हेगसेथ र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच मलेशियाको क्वालालम्पुरमा भएको भेटपछि उक्त सम्झौताको घोषणा गरिएको बीबीसीले जनाएको छ।
अमेरिकी रक्षा सचिव हेगसेथले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यो सम्झौताले दुई देशबीचको समन्वय, सूचना आदान–प्रदान र प्राविधिक सहयोगलाई सुदृढ पार्ने बताउनुभयो। साथै, यसले क्षेत्रीय स्थिरता र प्रतिरोध क्षमतालाई समेत बलियो बनाउने उहाँको भनाइ छ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि ‘एक्स’ मार्फत यो सम्झौताले भारत–अमेरिका बीचको पहिले नै बलियो रहेको रक्षा साझेदारीलाई नयाँ युगतर्फ अघि बढाउने उल्लेख गर्नुभएको छ।
दुई देशबीच बढ्दो रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले गरिएको यो सम्झौताले रक्षा सम्बन्धलाई नयाँ चरणतर्फ अघि बढाउने बताइएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएपछि दुवै देशबीच व्यापार सम्झौता गरी सम्बन्ध सुधार्ने प्रयास भइरहेका बेला यो रक्षा सम्झौता भएको हो। सम्झौतामा रुसी तेल र हतियार खरिदका कारण भारतले बेहोरिरहेको २५ प्रतिशत जरिवानासम्बन्धी विषय पनि समावेश गरिएको समाचारमा उल्लेख छ।
२२ सय व्यक्ति फरार सूचिमा
सल्यान१४ कार्तिक । सल्यान प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा शारदा नगरपालिका–१ का २१ वर्षीय प्रज्वल केसी, २४ वर्षीय नुर आलम, २६ वर्षीय सुरज रोका र प्युठान मल्लरानी गाउँपालिका–२ घर भई हाल शारदा–१ बसोबास गर्ने २४ वर्षीय सन्दीप नेपाली रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ३ ग्राम तौलको ब्राउनसुगरका १५ पुडिया, नगद र२४ हजार ५ सय १० रुपैयाँ, ६ थान मोबाइल फोन र रा.४ प.८६३०, रा.२ प.१९ र रा.४ प.३५ नम्बरका तीनवटा मोटरसाइकल बरामद गरिएको छ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीको कमाण्डमा खटिएको टोलीले श्रीनगरबाट उनीहरूलाई सोमबार राति करिब ८ः४० बजे पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ कार्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्र रोग) सेवा सुरु भएपछि सो सेवाका बिरामीको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ । अब यस्ता समस्या भएका बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।
प्रतिष्ठानका युरोलोजिष्ट सर्जन डा. सुशिल खनियाका अनुसार युरोलोजी ओपीडीमा दैनिक ७० भन्दा बढी बिरामीले परामर्शसहित सेवा लिइरहेका छन् । जेठदेखि असोज मसान्तसम्म २ सय ७७ जना बिरामीले उक्त सेवा प्राप्त गरेका छन् ।
युरोलोजी सेवा सुरु हुनुअघि बिरामीलाई सामान्यदेखि जटिल उपचारका लागि अन्य सहर जानुपर्ने बाध्यता थियो । अहिले अत्याधुनिक उपकरणसहित सेवा विस्तार भएपछि स्थानीयमै उपचार सम्भव भएको छ ।
डा. खनियाका अनुसार हालसम्म १ सय ५७ जना मिर्गौलामा पत्थरी भएका बिरामीको जटिल अपरेशन गरिएको छ भने २२ जना मध्यम र ९९ जना सामान्य प्रकृतिका बिरामीको शल्यक्रिया गरिएको छ ।
युरोलोजी सेवामा पिसाबसम्बन्धी समस्या, प्रोष्टेट, मिर्गौलाको पत्थरी, पित्तथैली, अण्डकोषमा मासु पलाउने, सुन्निने, पिसाब पोल्ने वा चुहिने जस्ता विभिन्न रोगहरूको उपचार गरिन्छ ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा.जनार्दन पन्थीका अनुसार युरोलोजी सेवा अत्यन्त प्रभावकारी बन्दै गएको छ । उनले स्थानीयस्तरमै विशेषज्ञ उपचार पाउँदा बिरामीहरू खुसी भएको बताए ।
डा. सुशिल खनियाको नेतृत्वमा डा. विवेक थापा, डा. पङ्कज नेपालीलगायतको चिकित्सक टोलीले साना देखी ठूला शल्यक्रियाहरू नियमित रूपमा सञ्चालन गरिरहेको प्रतिष्ठानले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१४ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालका प्रादेशिक तथा जिल्ला क्रिकेट संघहरूलाई टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन निर्देशन दिएको छ। डिजिआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टद्वारा आयोजना हुन लागेको नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल) लक्षित गर्दै क्यानले शुक्रबार सबै संघहरूलाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो।
क्यानका अनुसार एनएसपीएल जस्ता टेनिस बल क्रिकेट प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को संरचनाभित्र नपर्ने भएकाले यसप्रकारका प्रतियोगितालाई संघले मान्यता नदिने जनाएको छ।
कात्तिक १५ गतेदेखि काठमाडौंमा आयोजना हुन लागेको एनएसपीएलमा कुनै पनि प्रदेश वा जिल्ला क्रिकेट संघका खेलाडी र प्रशिक्षकहरूले सहभागिता नजनाउन क्यानले निर्देशन दिएको हो।
क्यानका क्रिकेट म्यानेजर विनोद दासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस प्रकारका प्रतियोगिताहरूलाई संघबाट स्वीकृति प्रदान नहुने भएकाले संघको स्वीकृति बिना आयोजना भइरहेको एनएसपीएलमा प्रदेश तथा जिल्ला संघका प्रतिनिधि, खेलाडी र प्रशिक्षकहरू सहभागी नहुन जानकारी गराइन्छ।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१४ कार्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जेलमुक्त गरी उनकै नेतृत्वमा नयाँ वैकल्पिक शक्ति बनाउने आवश्यकता औँल्याएका छन्।
शुक्रबार रास्वपा द्वारा आयोजित ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रममा बोल्दै उनले पुराना दलहरू: कांग्रेस र कम्युनिष्टलाई परास्त गर्न सबै नयाँ शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए।
डा. भट्टराईले लामिछानेको नेतृत्व क्षमता र प्रतिभाको आवश्यकता रहेको भन्दै भने, -“रविजीलाई पनि निकालौँ कुनै तरिकाले, उहाँको एउटा नेतृत्वको पनि आवश्यकता छ। उहाँको जुन मुद्दा छ, त्यसलाई बाहिरै रहेर फेस गर्ने वातावरण बन्न सक्दाखेरि उहाँको क्षमता, प्रतिभाको प्रयोग हुन सक्थ्यो।” उनले भेदभाव महसुस गरी पनि लामिछानेको रिहाइको पक्षमा हस्ताक्षर गरेको स्मरण गराए।
उनले रास्वपा, रेशम चौधरी, सिके राउत लगायतका नयाँ शक्तिहरूलाई अहंकार त्यागेर एकै पार्टीमा आउन आग्रह गरे। दलीय नाम र पहुँचले जनतालाई ठगेको भन्दै दंगामुक्त, साँच्चै विकल्प दिने काम उनीहरू गर्नुपर्ने उनको भनाइ थियो।
डा. भट्टराईले पुराना दलहरूको जरा गहिरो रहेको भन्दै थपे, “कांग्रेस र कम्युनिष्ट भन्ने ती दुई धाराहरू सात वर्षदेखि बनेका हुन् र तिनको जरा तलसम्म झाँगिएको छ। अहिले हल्लिएको छ तर पूरै उखेलिएको छैन।” नयाँ र वैकल्पिक शक्ति एक ठाउँमा नआए पुराना शक्तिलाई परास्त गर्न गाह्रो हुने उनको तर्क थियो।
उनले रास्वपालाई लक्षित गर्दै भने: “तपाईंहरू अहिले स्थापित दलहरूमध्ये अलि ठूलो हुनुहुन्छ भनी एक्लै सकिन्छ भन्ने सोच गर्नु स्वाभाविक छ, तर सबै नयाँ शक्ति सँगै नभए पुराना शक्ति परास्त गर्न कठिन हुनेछ।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१४ कार्तिक । सरकारले यसअघिको ६ बुँदे भिजिट भिसा मापदण्ड खारेज गर्दै नयाँ मापदण्ड लागू गरेको छ। अध्यागमन विभागका अनुसार नयाँ मापदण्ड संविधानले दिएको नागरिकको मौलिक हक र स्वतन्त्र आवतजावतको अधिकार सुनिश्चित गर्दै स्वार्थ समूहको चलखेल रोक्न र गलत क्रियाकलाप नियन्त्रण गर्न लागू गरिएको हो।
छ बुँदे मापदण्ड पुनरावलोकनका लागि सिफारिस गरिए अनुसार २०८० माघ १० देखि लागू भएका सबै पुराना प्रावधानहरू खारेज गरिएको विभागले जनाएको छ।
मन्त्रीस्तरीय निर्णयअनुसार बिहीबारदेखि चार बुँदे नयाँ प्रावधान लागू भएको छ। नयाँ प्रावधानअनुसार यात्रुको राहदानी कम्तीमा ६ महिना वैध हुनुपर्ने, सम्बन्धित देशको प्रवेशाज्ञा वा ‘अन अराइभल भिसा’ पाउने मुलुक भए प्रवेशाज्ञा नचाहिने व्यवस्था गरिएको छ।
त्यसैगरी, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाइ टिकट, भ्रमणको प्रयोजनका लागि आवश्यक कागजातहरू साथमा हुनुपर्ने र यात्राले त्यसबाट सिर्जित परिणामको जिम्मेवारी स्वयं लिनुपर्ने व्यवस्था गरिएको छ।
अध्यागमन विभागले भिजिट भिसा प्रक्रियामा कुनै पनि बिचौलियाको प्रभावमा नपर्न यात्रुहरूलाई आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस