मुस्ताङ पुगेका दर्शनार्थी अप्ठेरोमा

   कार्तिक १२, २०८२       admin

मुस्ताङ, ११ कार्तिक । गएरातिदेखि परेको हिमपातका कारण मुस्ताङमा पुगेका मुक्तिनाथ दर्शनार्थी अप्ठेरोमा परेका छन्। बाक्लो हिमपातले सडक अवरुद्ध भएपछि स्थानीय प्रशासनले यात्रुहरूलाई तत्काल नयाँ यात्रा योजना नबनाउन आग्रह गरेको हो।

प्रशासनका अनुसार सडकमा बाक्लो हिउँ जमेकाले दुर्घटनाको जोखिम बढेको छ। त्यसैले मुक्तिनाथ जाने यात्रुहरूलाई आवश्यक नपरी उच्च हिमाली क्षेत्रतर्फ नजान अनुरोध गरिएको छ।

मुस्ताङसँगै म्याग्दी, पर्वत र बागलुङका उच्च भेगहरूमा पनि हिमपात जारी छ भने तलका क्षेत्रमा वर्षा भएको जनाइएको छ। हिमपातका कारण स्थानीय बासिन्दा र यात्रु दुवैलाई आवतजावतमा कठिनाइ भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बाहिरका चिकित्सकको सिफारिसमा प्रतिष्ठानमा एमआरआई र सिटी स्क्यान सेवा

   कार्तिक १२, २०८२       admin

दाङ,११ कार्तिक । बाहिरका निजी क्लिनिक वा अस्पतालका चिकित्सकबाट सिफारिस भएर आएका बिरामीले अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिधै एमआरआई, सिटी स्क्यान लगायतका सेवा लिन सक्ने भएका छन्।

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीका अनुसार बाहिरका चिकित्सकले पर्चा दिएर सिफारिस गरेका बिरामीलाई अब ओपीडीमा छुट्टै पर्चा काट्नुपर्ने छैन। उनीहरूले सिधै बिलिङ गरी सेवा लिन सक्ने व्यवस्था गरिएको हो।

उनका अनुसार बाहिरका चिकित्सकको सिफारिससहित आएका बिरामीले एमआरआई, सिटी स्क्यानसँगै सुगर र प्रेसर जाँचजस्ता सामान्य परीक्षण पनि सिधै बिलिङ गरेर गराउन सक्ने छन्।

यो व्यवस्था लागू भएपछि बाहिरका चिकित्सकबाट सिफारिस भएका बिरामीलाई अनावश्यक ढिलाइ र झन्झट बिना सहज रूपमा सेवा लिन सकिने भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

साम्बाको दुई गोलसंगै भारतमाथि नेपालको जित

   कार्तिक ११, २०८२       admin

काठमाडौ,१० कार्तिक । स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को उत्कृष्ट प्रदर्शनमा नेपालले थ्री नेसन्स कप महिला फुटबल प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ। भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न अन्तिम खेलमा नेपालले घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको हो।

नेपालका लागि सावित्रा भण्डारीले दुवै गोल गर्दै टोलीलाई प्रतियोगिताको पहिलो जित दिलाइन्।

प्रतियोगिताको उपाधि भने यसअघि नै इरानले जितिसकेको थियो। इरानले भारतलाई २–० र नेपाललाई ३–० ले हराउँदै अपराजित रह्यो। नेपालले पहिलो खेलमा इरानसँग ३–० को हार बेहोरेको थियो भने भारत पनि इरानसँग २–० ले पराजित भएको थियो।

सावित्राको शानदार प्रदर्शन

नेपालले खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनायो। खेलको दोस्रो मिनेटमै सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। डिफेन्स लाइनबाट आएको लामो क्रस बललाई उनले कुशलतापूर्वक नियन्त्रणमा लिएर भारतीय गोलकिपरलाई छलाउँदै गोल गरिन्।

पहिलो हाफमा थप अवसर सिर्जना भए पनि गोल थप्न नेपाल सफल भएन। दोस्रो हाफमा पनि नेपालको दबदबा कायम रह्यो। ६३औं मिनेटमा पाएको फ्रिकिकमा सावित्राले सिधै प्रहार गर्दा बल सिधै जालीमा पुगेको थियो, जसले नेपाललाई २–० को सहज अग्रता दिलायो।

भारतले खेलको अन्त्यतिर दबाब बढायो र ८१औं मिनेटमा वैकल्पिक खेलाडी करिश्मा सिरभोकरले गोल फर्काइन्। निर्मला देवीको फ्रिकिकबाट आएको बल बाउन्स हुँदै विमला विकसमक्ष पुगेको थियो, तर क्लियर गर्न खोज्दा बल करिश्मासमक्ष पुगेको र उनले सहजै गोल गरेकी थिइन्।

तर, त्यो गोल भारतका लागि सान्त्वना मात्र बन्यो। नेपालले अन्तिम मिनेटसम्म रक्षात्मक र आक्रामक सन्तुलन कायम राख्दै २–१ को जित पक्का गर्‍यो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन मन्त्री पुनको आग्रह

   कार्तिक ११, २०८२       admin

काठमाडौ,१० कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि उद्घाटन, शिलान्यास वा प्रमुख अतिथिको रूपमा कार्यक्रमहरूमा निमन्त्रणा नगर्न आग्रह गरेका छन्।

मन्त्री पुनले सोमबार सामाजिक सञ्जालमार्फत जनाएका छन्, “कृपया कसैले पनि र कहीँबाट पनि उद्घाटन/शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुनेजस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रण नगर्नु होला।”

उनले संयुक्त राष्ट्रसंघको उज्बेकिस्तान महासभा र ब्रिटिस काउन्सिलले नाइजेरियामा आयोजना गरेको सम्मेलनमा समेत सहभागिता नजनाएको उल्लेख गर्दै आफू अनावश्यक औपचारिक कार्यक्रममा नजाने बताएका छन्।

पुनले अनिवार्य सहभागिता आवश्यक हुने बैठक वा कार्यगत भ्रमणबाहेक अन्य कार्यक्रममा नगइने स्पष्ट पार्दै केही मन्त्री विदेश भ्रमणमा गएको विषयमा हल्ला नफैलाउन पनि आग्रह गरेका छन्।

उनले लेखेका छन्, “जानै पर्ने र नगई नहुने मिटिङमा मात्र केही मन्त्रीहरू विदेश जानु भएको हो। त्यसैले ‘विदेश घुम्न गयो’ भनेर हल्ला नगर्नु होला।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अझै ५ हजार कैदी फरार

   कार्तिक ११, २०८२       admin

काठमाडौ,१० कार्तिक । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये करिब ५ हजार कैदी अझै फरार रहेका छन्।

प्रदर्शन चर्किएपछि देशभरका २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी कुल १४ हजार ५४९ जना बन्दी भागेका थिए। तीमध्ये हालसम्म नौ हजार ५८२ जना मात्र कारागार फर्केका छन् । जसमा नौ कैदी र ५८२ बालबन्दी छन्।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार हालसम्म चार हजार ५९६ कैदी र ३८६ बालबन्दी गरी कुल चार हजार ९८२ जना बन्दी अझै फरार छन्।

सरकारले फरार कैदीबन्दीलाई स्वेच्छाले कारागार फर्किन ‘अल्टिमेटम’ दिएको छ। फरार बन्दीको खोजी र नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको छ। सो अभियानअन्तर्गत सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका कैदीबन्दीलाई सम्बन्धित कारागारमा बुझाइरहेका छन्।

गृह मन्त्रालयले फरार बन्दीको खोजी तथा पक्राउका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधि सदस्य रहने गरी ‘फरार बन्दी खोजी तथा नियन्त्रण कार्यदल’ गठन गरेको छ।

प्रदर्शनको मौका पारेर सुनसरीको झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, काठमाडौँ (नक्खु, डिल्लीबजार, जगन्नाथदेवल), मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, दाङ तुलसीपुर, नौवस्ता बाँके, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर कारागारबाट १३ हजार ५८५ जना कैदीबन्दी भागेका थिए। यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी बालसुधारगृहबाट ९६४ बालबन्दी भागेका थिए।

सुरक्षा घेरा तोड्ने क्रममा रामेछापमा तीन, धादिङ र सप्तरीमा दुई–दुई कैदीको गोली लागी मृत्यु भएको थियो। त्यस्तै, नौवस्ता बालसुधारगृहमा झडप हुँदा पाँच र डोटी बालसुधारगृहमा एक बालबन्दीको मृत्यु भएको थियो।

कारागार कार्यालयहरूले फरार बन्दीलाई अविलम्ब आत्मसमर्पण गर्न सूचित गर्दै आएका छन्। सरकारले सूचनालाई बेवास्ता गर्नेहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

देशभरका ७२ जिल्लामा रहेका ७५ वटा कारागार र बालसुधारगृहमा विभिन्न कसुरमा सजाय भोगिरहेका कुल ३० हजार ६४१ कैदी र बालबन्दी रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भारत–चीन बीच पाँच वर्षपछि सिधा उडान पुनः सुरु

   कार्तिक ११, २०८२       admin

काठमाडौ,१० कार्तिक। भारतको कोलकाता शहरबाट करिब १८० यात्रु बोकेर सोमबार इन्डिगोको उडान ६ई–१७०३ चीनको ग्वाङ्झाउ पुगेको छ। यससँगै भारत र चीनबीच पाँच वर्षदेखि रोकिएको सिधा हवाई सेवा पुनः सुरु भएको छ।

कोभिड महामारीका कारण सन् २०२० मा उडानहरू बन्द भएका थिए। त्यसै वर्ष लद्दाखको गलवान क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच भएको हिंसात्मक झडपका कारण सिधा हवाई सेवा रोकिएको थियो।

पछिल्ला वर्षमा दुई देशबीच सम्बन्ध सुधार हुँदै आएको छ। गत वर्ष सीमा गस्तीमा महत्त्वपूर्ण सम्झौता भएको थियो भने गत अगस्टमा सात वर्षपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमण गरी चीनका राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए। त्यस्तै, चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भारत भ्रमण गरेर सम्बन्ध सुधारका कदम चालेका थिए।

भारत सरकारले उडान पुनः सुरु हुनुले जनता–जनताको सम्पर्क बढाउने र द्विपक्षीय सम्बन्धलाई क्रमिक रूपमा सामान्यीकरण गर्न सहयोग पुग्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निर्वाचन भाँड्ने प्रयास नगर्नुहोस् : स्वास्थ्यमन्त्री डा. गौतम

   कार्तिक ११, २०८२       admin

काठमाडौ,१० कार्तिक । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले आगामी निर्वाचनलाई लक्षित गर्दै कुनै पनि राजनीतिक दलले निर्वाचन भाँड्ने प्रयास नगर्न आग्रह गरेकी छन्।

सोमबार काठमाडौँस्थित ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरुसँग भेट गरेपछि मन्त्री गौतमले सरकार हाल निर्वाचन तयारीमा केन्द्रित भएको बताउँदै त्यसको विरोधका नाममा आन्दोलन नगर्न सबै पक्षलाई सचेत गराएकी हुन् ।

उनले घाइतेहरूले अस्पतालका विकृति र बेथितिबारे जानकारी गराएको उल्लेख गर्दै ती समस्याको समाधानका लागि तत्काल सुधारका कदम चालिने प्रतिबद्धता व्यक्त गरिन।

मन्त्री गौतमले भनिन् ,- “बिरामीहरूको अवस्था हेर्दा निकै गाह्रो लाग्यो। मुलुक फेरि आन्दोलनमा नजाओस् भन्ने मेरो चाहना हो। जसले सरकारको विरोध गर्न खोज्नुभएको छ, चुनाव भाँड्न खोज्नुभएको छ, उहाँहरूलाई त्यस्तो नगर्न अनुरोध गर्दछु। जनआन्दोलनको मर्म नै विकृति र बेथिति हटाउने हो, त्यस दिशामा हामीले मिलेर काम गर्नुपर्छ।”

उनले मन्त्रालयका काम र उपलब्धि पारदर्शी ढङ्गले सार्वजनिक गरिने पनि बताइन् ।

यसअघि मन्त्री गौतमले सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूको अवस्थाबारे पनि जानकारी लिएकी थिइन् । उनले अस्पतालले घाइतेहरूको उपचारमा कुनै कमी नगरेको उल्लेख गर्दै जेनजी आन्दोलनका सहिद र घाइतेहरूको बलिदान खेर जान नदिन सरकार प्रतिबद्ध रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बेलायती र्‍यापरको कारको ठक्करबाट नेपाली युवकको मृत्यु

   कार्तिक ११, २०८२       admin

काठमाडौ,१० कार्तिक । बेलायतका चर्चित र्‍यापर गेट्सले चलाएको कारको ठक्करबाट लन्डनमा एक नेपाली युवकको मृत्यु भएको छ।

ब्रिटिस प्रहरीका अनुसार ४१ वर्षीय र्‍यापर गेट्समाथि लन्डनको उत्तरपूर्वी इलफोर्ड क्षेत्रमा भएको ‘हिट एन्ड रन’ दुर्घटनामा खतरनाक ढंगले सवारी चलाएर गम्भीर चोट पुर्‍याएको आरोपमा मुद्दा दायर गरिएको छ।

गत शनिबार राति इलफोर्ड क्षेत्रमा गेट्सले २० वर्षीय युवीन तामाङलाई ठक्कर दिएका थिए। ठक्कर दिएपछि उनी घटनास्थलबाट फरार भएका थिए। गम्भीर घाइते तामाङलाई अस्पताल लगिएको भए पनि उपचारका क्रममा सोमबार उनको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

गेट्सलाई सोमबार स्ट्राटफोर्ड म्याजिस्ट्रेट्स कोर्टमा उपस्थित गराइएको थियो, जहाँ उनलाई ‘डेन्जर ड्राइभिङ्गद्वारा गम्भीर चोट पुर्‍याएको’ अभियोगमा मुद्दा दायर गरिएको हो। अहिले उनी प्रहरी हिरासतमा छन् र अक्टोबर २७ मा बार्किङसाइड म्याजिस्ट्रेट्स कोर्टमा पुनः उपस्थित गराइनेछ।

प्रहरीले दुर्घटनाका प्रत्यक्षदर्शीहरूलाई घटनाबारे जानकारी दिन आग्रह गरेको छ।
मृतक युवीन तामाङ विद्यार्थी भिसामा अध्ययनका लागि बेलायत गएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एकैपटक ३६ प्रजिअको सरुवा: ( नामसहित)

   कार्तिक ११, २०८२       admin

काठमाडौ,१० कार्तिक । सरकारले ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ। गृह मन्त्रालयले आइतबार देशभरका विभिन्न जिल्लाका प्रजिअहरूको व्यापक सरुवा गरेको हो।

मन्त्रालयका अनुसार रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तुलगायत जिल्लाका प्रजिअको सरुवा गरिएको छ। केही जिल्लामा नयाँ प्रजिअ पठाइएका छन् भने केही जिल्लाका प्रजिअलाई अन्य स्थानमा स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बढ्दै सम्बन्ध विच्छेदका घटना

   कार्तिक ११, २०८२       admin

दाङ,१० कार्तिक। दाङमा एकातिर विवाह गर्नेको संख्या कम हुदै गएको छ । अर्कोतिर विवाहपछि सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दो क्रममा छ। पारिवारिक बेमेल र समझदारीका कारण सम्बन्ध विच्छेदका घटनाहरू क्रमिक रुपमा बढ्दै गएको तथ्याङ्कमा उल्लेख छ।

तुलसीपुर उपमहानगरपालिकाको पञ्जीकरण शाखाको तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा जोडी छुट्टिने दर तीव्ररूपमा बढ्नु समझदारी मुख्य कारण देखिएको छ।

पछिल्ला वर्षहरूमा जोडी छुट्टिने दर तीव्ररूपमा बढ्नु यसैको उदाहरण हो।उपमहानगरपालिकाको पञ्जिकरण शाखाका तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म ६ सय २ जोडीले सम्बन्ध विच्छेद गरेका छन्। यही अवधिमा ५ हजार ८५ जोडीले विवाह गरेका थिए। यसअनुसार हरेक आठवटा विवाहमध्ये करिब एउटा सम्बन्ध अन्त्य हुँदै गएको देखिन्छ, जुन दर विगतका वर्षको तुलनामा उच्च हो।

आर्थिक वर्ष २०७९/८० मा २ हजार २२९ जोडीले विवाह गर्दा २०८ जोडीले सम्बन्ध विच्छेद गरेका थिए। सोही क्रममा २०८०/८१ मा १ हजार ४९६ विवाहका बीच १८७ जोडी छुटिएका छन्।

पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ हजार ३६० जोडीले विवाह गर्दा २०७ जोडीले वैवाहिक सम्बन्ध तोडेका छन्। विवाहको संख्या घट्दै गए पनि सम्बन्ध विच्छेदको संख्या स्थिररूपमा उच्च रहनुले समाजमा सहनशीलता र समझदारी दुवै कमजोर हुँदै गएको संकेत गर्छ।

स्थानीय निकायका अनुसार पारिवारिक असमझदारी, वैदेशिक रोजगारी, टाढाको बसाइ, र आर्थिक समस्याले सम्बन्ध टुट्ने प्रमुख कारण बनेका छन्।

वैदेशिक रोजगारीमा जानेहरूले लामो समय अलग बस्नुपर्ने हुँदा आपसी विश्वास र भावनात्मक सम्बन्ध कमजोर हुने गरेको बताइन्छ। कतिपय अवस्थामा आर्थिक समस्या र बेरोजगारीले पनि दाम्पत्य जीवनमा तनाव र विवाद निम्त्याउने गरेको छ।

सामाजिक विज्ञहरूका अनुसार अहिलेका पुस्तामा व्यक्तिगत स्वतन्त्रताको बोध बढेको छ, जसले असन्तुष्ट सम्बन्धलाई सहेर बस्नुभन्दा नयाँ बाटो रोज्ने मनोवृत्ति जन्माएको छ।

अघिल्ला पुस्ताले सहनशीलतालाई जीवनको मूल्य मानेका थिए भने अहिलेका पुस्ताले आत्म–सम्मानलाई प्राथमिकता दिन थालेका छन्। यही कारणले विवाह विफल हुँदा सम्बन्ध विच्छेदलाई अब लाजको होइन, व्यक्तिगत निर्णयको रूपमा लिइने गरिएको छ।

समाजशास्त्रीहरूको भनाइमा सम्बन्ध विच्छेदको बढ्दो दर असफल सम्बन्धभन्दा पनि चेतनाको नयाँ रुप हो। महिलाहरूमा आत्मनिर्णयको हकबारे सचेतना बढेसँगै उनीहरूले अन्यायपूर्ण र हिंसात्मक सम्बन्धबाट मुक्त हुन खोज्ने क्रम बढेको छ।

तुलसीपुरमा हरेक वर्ष सयौं जोडीको सम्बन्ध विच्छेद दर्ता हुनु केवल सामाजिक समस्या होइन, समाजको सोच, मूल्य र दृष्टिकोणमा भइरहेको परिवर्तनको प्रतिबिम्ब हो। विवाह अब केवल परम्परागत बन्धनको रूपमा होइन, समानता, समझदारी र सम्मानमा आधारित सहयात्राको रूपमा पुनर्विचार गर्नुपर्ने आवश्यकता यस तथ्यांकले स्पष्ट देखाउँछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology