नेपाल टेलिकमद्वारा प्यूठानको विद्यालयमा ICT ल्याब सामग्री प्रदान

   भदौ २०, २०८२       admin

दाङ, २० भदौ । नेपाल टेलिकमले आइसिटी ल्याबका लागि विद्यालयमा उपकरणहरू प्रदान गरेको छ। डिजिटल नेपाल फ्रेमवर्क २०७६ अन्तर्गत नेपाल टेलिकम शाखा कार्यालय तुल्सीपुर, दाङले प्यूठानको श्री गणेश माध्यमिक विद्यालय, माण्डवी गाउँपालिका–१ तिराममा ICT ल्याब स्थापना गर्न कम्प्युटरसहितका उपकरणहरू प्रदान गरेको हो।
सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत विद्यालयलाई १२ थान कम्प्युटर, १२ थान UPS र १ थान प्रिन्टर उपलब्ध गराइएको नेपाल टेलिकम तुलसीपुर कार्यालयले जनाएको छ।
सामग्री हस्तान्तरण कार्यक्रमम्मा  नेपाल टेलिकम शाखा कार्यालय तुल्सीपुर दाङका प्रमुख ब.ई. प्रवीण कुमार चौधरीले विद्यालयहरूमा सूचना–प्रविधिको पहुँच विस्तार गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य भएको बताए। उनले कम्प्युटर र इन्टरनेटको प्रयोगले विद्यार्थीहरूलाई नयाँ ज्ञान तथा सीप सिक्न सहयोग पुग्नेछ बिश्वास ब्यक्त गरे । प्रविधिको उचित प्रयोगले उनीहरूको भविष्य निर्माणमा टेवा पुर्‍याउने बताए ।
विद्यालयका प्रधानाध्यापक बालाराम पुन मगरले ICT ल्याब स्थापना विद्यालयका लागि ठूलो अवसर भएको भन्दै खुशी व्यक्त गरे। “यसले विद्यार्थी मात्र नभई शिक्षकहरूलाई पनि प्रविधिमैत्री बनाएको छ। सिकाउन–पढाउन सजिलो भएको छ,” उनले भने।
सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पनालाई मूर्त रूप दिन डिजिटल नेपाल फ्रेमवर्क २०७६ अन्तर्गत यस्ता कार्यक्रमहरू सञ्चालन भइरहेको नेपाल टेलिकमले जनाएको छ। फ्रेमवर्कले शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, पर्यटन, वित्त, सहरी पूर्वाधार र डिजिटल फाउन्डेसनजस्ता क्षेत्रलाई प्राथमिकतामा राखी डिजिटल नेपाल निर्माणको अभियानलाई अघि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मनाङमा पनि कात्तिक १७ गते उपनिर्वाचन हुने

   भदौ २०, २०८२       admin

काठमाडौँ,२० भदौ । हिमाली जिल्ला मनाङमा समेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ९२० का लागि कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ।

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले उपनिर्वाचनको कार्यतालिका तय गर्दै जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो। यसअघि आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा पनि त्यही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ।

रुपन्देहीमा राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि र मनाङमा निर्वाचित राजिव गुरुङ ९दीपक मनाङे० आपराधिक मुद्दामा जेल परेपछि दुवै स्थान रिक्त बनेका हुन्।

मनाङ उपनिर्वाचनको कार्यतालिकाअनुसार २०८२ साल भदौ १३ गतेदेखि निर्वाचन अवधि सुरु भएको निमित्त प्रमुख निर्वाचन अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिए। विसं २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा प्रदेशसभा ९२० तर्फ गुरुङ सर्वसम्मत निर्वाचित भएका थिए।

निर्वाचन आयोगले असोज २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, असोज २५ गते अन्तिम नामावली प्रकाशनसहित चुनाव चिन्ह वितरण गर्ने, कात्तिक ११ गते मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी तोक्ने तालिका सार्वजनिक गरेको छ।

त्यस्तै, २०८२ साल भदौ २५ गते आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावली नै यस उपनिर्वाचनमा प्रयोग गरिने भएको छ। यसअनुसार आगामी कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा गरेका नागरिकलाई मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

गत निर्वाचनमा मनाङ जिल्लामा ६ हजार ७७९ मतदाता रहेका थिए। कुल मतदातामध्ये ४ हजार ८४५ अर्थात् ७१।४७ प्रतिशत मत खसेको थियो। मनाङ–२ प्रदेशसभा क्षेत्रमा मात्रै ४ हजार १९७ मतदाता रहेको निमित्त प्रमुख निर्वाचन अधिकृत अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ससुराली जान हिडेका वडा अध्यक्ष दुई दिनदेखि सम्पर्कविहीन

   भदौ १, २०८२       admin

कालीकोट, १९ भदौ । रास्कोट नगरपालिका–८ का वडा अध्यक्ष मनिराज बराल दुई दिनदेखि सम्पर्कविहीन बनेका छन्।

भदौ १८ गते बिहान ससुराली जान्छु भन्दै घरबाट निस्किएका बराल त्यसयता फोन वा अन्य माध्यमबाट सम्पर्कमा आएका छैनन्। उनका दाइ बिष्णुप्रसाद बरालले बताए अनुसार दिउँसो ३ बजे फोन गर्दा पनि फोन उठेन र हालसम्म उनले प्रयोग गर्ने मोबाइल अफ रहेको छ।

बराल तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुन्। परिवार, समाज र वडा कार्यालयसँग राम्रो सम्बन्ध रहँदा पनि अचानक सम्पर्कविहीन भएपछि परिवारमा चिन्ता बढेको छ।

रास्कोट नगरपालिकाले वडा अध्यक्षको खोजीका लागि सार्वजनिक आव्हान गर्दै सामाजिक सञ्जालमार्फत पनि खोजी कार्य भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रेडक्रसको स्थापना दिवसमा रक्त समूह परीक्षण

   भदौ १, २०८२       admin

दाङ, १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ६३औँ स्थापना दिवसको अवसरमा रक्त समूह परिक्षण गरिएको छ । स्थापना दिवसको अवसरमा बिहिबार विद्यालयमा पुगेर नेपाल रेडक्रस सोसाइटी दाङले रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न गरेको हो । रेडक्रस दाङको प्राविधिक सहयोग र जुनियर रेडक्रस सर्कल माध्यमिक विद्यालय कालाखोलाको आयोजनामा उक्त कार्यक्रम भएको हो।

जुनियर रेडक्रस सर्कलकी अध्यक्ष रितु आचार्यको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक राजीव ओझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रेडक्रस दाङका सदस्य भीमलाल मरासिनी र जुनियर सदस्य होमबहादुर दाङीले रेडक्रसको महत्वबारे प्रकाश पारेका थिए।

सो अवसरमा दुईसय ३० जनाले रक्त समूह परीक्षण गराएका थिए। कार्यक्रम सहायक प्रधानाध्यापक छवि न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन भूपेन्द्र न्यौपानेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मेटाले माग्यो दर्ताका लागि आवश्यक कागजात

   भदौ १, २०८२       admin

दाङ,१९ भदौ । फेसबुक सञ्चालक संस्था मेटा नेपाल सरकारको सम्पर्कमा आएको छ । मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेका हुन् ।

‘पौने ५ बजे मेटाका कोही प्रतिनिधिले मन्त्रीज्यूका विज्ञ सल्लाहकारलाई इमेल गरेर दर्ता हुनका लागि आवश्यक कागजातको विवरण माग्नुभएको रहेछ,’ उनले भने, ’हामीले त्यसको ५ मिनेटभित्रै सामाजिक सञ्जाल प्ल्याटफर्म दर्ता हुन आवश्यक पर्ने कागजातको विवरणबारे जानकारी दिंदै इमेल गरेका छौं ।’

सरकारले क्रमशस् लागू हुनेगरी सूचीकृत नभएका सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय गरेको छ ।

यो सँगै सामाजिक सञ्जाल यतिबेला तरंगित बनेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सञ्जाल चल्न रोक लगाउन पत्राचार समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

व्यवसायी र प्रशासनको सहकार्यले मात्र सामाजिक अपराध नियन्त्रण सम्भवः प्रजिअ अर्याल

   भदौ १, २०८२       admin

दाङ, १९ भदौ । दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले व्यवसायी र प्रशासनको सहकार्यले मात्र सामाजिक अपराध नियन्त्रण सम्भव रहेको बताएका छन् । उनले जिल्लामा लागुऔषध र सामाजिक अपराध नियन्त्रण चुनौतीको विषय रहेको भन्दै निजी क्षेत्रले राज्य संयन्त्रलाई सहयोग गर्नुपर्ने बताए ।

बिहीबार तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा प्रजिअ अर्यालले यस्तो बताएका हुन् । उनले निजी क्षेत्र सरकारको अभिन्न अंग भएको बताउँदै व्यवसायी र राज्य संयन्त्रबीच सहयोगी भूमिकाको आवश्यकता रहेको उल्लेख गरे ।

जिल्लाको शान्ति सुरक्षा र व्यवस्थापनका लागि बाह्य वातावरण र समन्वयको भूमिका उत्तिकै रहने भन्दै उनले सकारात्मक मार्गदर्शनको अपेक्षा पनि गरे । “काम के कसरी गर्ने भन्ने कुरा बाह्य वातावरण र समन्वयले निर्धारण गर्छ । मुलुकको विकासमा निजी क्षेत्रको ५० प्रतिशत योगदान रहेको छ, त्यसैले जिल्लाको सुरक्षा कायम गर्न र सामाजिक अपराध नियन्त्रण गर्न एकअर्काबीच सहयोग आवश्यक छ,” उनले भने ।

उनले सामाजिक अपराध नियन्त्रणमा प्रशासनको संयन्त्र मात्र पर्याप्त नभएकाले व्यवसायीको आचारसंहिता र सहयोग अपरिहार्य हुने बताए । चाडपर्वमा अनुचित मूल्यवृद्धि, कमसल वस्तुको बिक्री वितरण र यातायात समस्या नियन्त्रण गर्न व्यवसायी, सुरक्षा निकाय र प्रशासन मिलेर सुरक्षा संयन्त्र समिति बनाएर काम गर्ने तयारी भइरहेको जानकारी पनि दिए ।

तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले उपभोक्ताको हितमा प्रस्तुत हुन सके विवाद नहुने बताए । उनले जिल्लाको सुरक्षाका लागि व्यवसायीहरूको सहयोग निरन्तर रहँदै आएको जानकारी दिँदै, दाङ लागुऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट भएकाले नियन्त्रण चुनौतीपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले खाद्य सुरक्षा चुनौती कम गर्न सामाजिक सञ्जालमार्फत सचेतना फैलाउने कार्य भइरहेको बताए । होटल व्यवसायलाई व्यवस्थित गर्ने र व्यवसायी मुदामा प्रशासनसँग सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

संघका प्रेस सल्लाहकार शरद रेग्मीले प्रशासनको ध्यान मुख्यतः बजार व्यवस्थापनमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमको सहजीकरण महासचिव केशवराज केसीले गरेका थिए भने स्वागत देव बहादुर केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

खुकुरी प्रहार अपडेटः पाँच जना प्रहरीको नियन्त्रणमा

   भदौ १, २०८२       admin

दाङ,१९ भदौ । दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी फरार रहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन् ।


तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारस्थित विष्णु नास्ता पसल नजिक बिहिबार बिहान भएको खुकुरी प्रहार प्रकरणमा प्रहरीले पाँच जना युवालाई नियन्त्रणमा लिएको छ ।

घटनामा घाइते भएका तुलसीपुर–५ बसपार्कका २१ वर्षीय आयुष बिक र १९ वर्षीय प्रवेश योगीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्जस्थित संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिमा पठाइएको छ । आयुषको टाउको र ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ भने योगीको बायाँ हातमा चोट लागेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य बहादुर राना मगरको कमाण्डमा खटिएको टोलीले घटनामा संलग्न भएको आरोपमा तुलसीपुर–४ रक्षा चौरबाट पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तुलसीपुर–६ गोलौरा बस्ने १८ वर्षीय जीवन बिक, बसपार्क बस्ने १८ वर्षीय राजेश परियार, १९ वर्षीय नविन राना, १८ वर्षीय बसन्त परियार र १८ वर्षीय नविन सुनार रहेका छन् ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टा, लिंक्डइन बन्द भएपनि निर्बाध चल्नेछन्, यी सामाजिक सञ्जाल

   भदौ १, २०८२       admin

काठमाडौँ,१९ भदौ । सूचीकरणका लागि सम्पर्कमा समेत नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेपनि नेपालमा पाँच ओटा प्लेटफर्म निर्वाध चल्ने भएका छन् । सरकारले दिएको सात दिनको म्याद बुधबार राति १२ बजेसम्म रहेकोमा फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टा, लिंक्डइन लगायतका प्लेटफर्म सम्पर्कमा समेत आएका छैनन् ।

सूचीकरण नगर्ने सामाजिक सञ्जाललाई कसरी बन्द गराउने भन्ने विषयमा अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रीस्तरीय छलफल चलिरहेको छ ।

“बुधबारसम्म पाँच ओटा सामाजिक सञ्जाल मात्रै सूचीकृत भएका छन् । अरू कुनै पनि सामाजिक सञ्जाल सूचीकरण हुन सम्पर्कमा आएका छैनन् । क्याबिनेटले गरेको निर्णयअनुसार मन्त्रालय अब अघि बढ्छ,” मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले टेकपानासँग भने । उनका अनुसार अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् ।

टिकटकमाथि सरकारले प्रतिबन्ध लगाएपछि मात्रै सूचीकरण गर्न आएको थियो । यस्तै, टेलिग्राममाथि प्रतिबन्ध लागेपछि उसले पनि सूचीकरणका लागि ईमेलमार्फत सञ्चार मन्त्रालयमा निवेदन दर्ता गराइसकेको छ । टेलिग्रामले बुझाएका कागजात अध्ययनकै क्रममा रहेकाले सूचीकृत गर्ने/नगर्ने निर्णय लिइसकेको ठाकुरले जानकारी दिए ।

सामाजिक सद्‍भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै कात्तिक २०८० मा नेपालमा चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो । त्यसको करिब १० महिनासम्म प्रतिबन्ध खेपेको टिकटक ६ भदौ २०८१ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार फुकुवा भएको थियो ।

टिकटक फुकुवा गर्दा सरकारले टिकटक सूचीकृत हुनुपर्ने, सम्पर्क विन्दु तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा र साक्षरताका लागि सघाउनुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन र प्रविधिमैत्री बनाउन सहयोग गर्नुपर्ने, नेपाली र नेपालमा बोलिने अन्य भाषा फिल्टर गर्नुपर्ने लगायतका सर्त राखेको थियो । सर्त मान्न राजी भएपछि सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । टिकटक कात्तिक २०८१ मा सञ्चार मन्त्रालयमा सूचीकृत भएको थियो ।

सूचीकरण भएपछि टिकटकले गएको ७ जेठमा सञ्चार मन्त्रालयलाई आफ्नो प्रगति प्रतिवेदन बुझाइसकेको छ । सूचीकरण भएपछि तोकिएको सर्तअनुसार टिकटकले नेपालको पर्यटन प्रवर्धन गर्न भदौ पहिलो साता नेपाल पर्यटन बोर्डसँग सम्झौता गरिसकेको छ ।

छोटो भिडिओ कन्टेन्टका लागि टिकटक नेपालमा धेरै रुचाइने सामाजिक सञ्जालमध्ये पर्छ ।

त्यस्तै, मेसेजिङ एप भाइबर फागुन २०८० मा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकाअनुसार सञ्चार मन्त्रालयमा सूचीकृत भएको थियो । सबै प्रक्रिया पुर्‍याएर सञ्चार मन्त्रालयमा सूचीकृत भएसँगै भाइबरमाथि प्रतिबन्ध लाग्ने छैन ।

त्यसैगरी, सञ्चार मन्त्रालयमा सूचीकरण हुने अर्को सामाजिक सञ्जाल हो, निम्बज । असोज २०८१ मा सञ्चार मन्त्रालयमा सूचीकरण भएको निम्बज सुपर एपको रूपमा उदाइरहेको प्लेटफर्म हो । मेसेजिङ, भिडिओ/अडियो कल, फाइल ट्रान्स्फरलगायतका लागि निम्बज प्रयोग हुँदै आएको छ ।

सञ्चार मन्त्रालयका अनुसार चैत २०८१ मा विटकले प्रक्रिया पुर्‍याएर सूचीकरण भइसकेको छ । पछिल्लो पटक सञ्चार मन्त्रालयमा सूचीकरण हुनेमा पोपो लाइभ रहेको छ । पोपो लाइभ नामक सामजिक सञ्जाल गत महिना मात्रै सञ्चार मन्त्रालयमा सूचीकरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

फेसबुक, ट्वीटर, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

   भदौ १, २०८२       admin

काठमाडौँ, १९ भदौ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। यसअनुसार फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल तत्कालका लागि बन्द हुने भएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै सो निर्णय लागू गर्न निर्देशन दिएको हो।

मन्त्रालयका स्रोतका अनुसार ती सामाजिक सञ्जालले नेपालमा दर्ता गर्ने प्रक्रिया अघि बढाएमा क्रमशः पुनः सञ्चालन गर्न दिने व्यवस्था मिलाइनेछ।

यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्समाथि विज्ञापनसहित सामग्री प्रसारणमा रोक लगाउन र नियमनका लागि आवश्यक कानुन निर्माण गर्न सरकारलाई परमादेश दिएको थियो।

प्रसारण नियमावलीअनुसार कुनै विदेशी प्रसारण संस्था वा डिजिटल कार्यक्रम उत्पादकले नेपालमा आफ्नो सामग्री प्रसारण गर्न चाहने भए अनिवार्य रूपमा सरकारबाट अनुमति लिनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा दुई युवकमाथि खुकुरी प्रहार

   भदौ १, २०८२       admin

दाङ, १९ भदौ । दाङको तुलसीपुरमा दिउँसो दुई युवकमाथि खुकुरी प्रहार भएको छ।

तुलसीपुर–५ का २० वर्षीय आयुष बिक र सोही उमेरका विप्लभ योगी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहारबाट आयुषको टाउको र छातीमा गम्भीर चोट लागेको छ भने विप्लभको हातमा सामान्य चोट लागेको छ। घाइतेमध्ये आयुषको अवस्था गम्भीर रहेको बताइएको छ।

विप्लभका अनुसार उनीहरू तुलसीपुर–६ स्याउली बजारस्थित एक नास्ता पसलमा बिहान करिब पौने ११ बजे बसिरहेका बेला ६/७ जनाको समूहमा आएका युवाहरूले एक्कासी धारिलो हतियार प्रहार गरेका हुन्।


“हामी नास्ता गरेर पसलबाट निस्किँदै थियौँ। नजिकै अर्का एक जना पनि थिए, जससँग उनीहरूको पहिले विवाद भएको रहेछ। त्यसपछि ‘केटाहरू लिएर आउँछु’ भन्दै धम्की दिएका उनीहरू मोटरसाइकलमा समूह बनाएर हतियार लुकाएर आएका रहेछन्। हान्न खोजेको खुकुरी त्यसैबेला मलाई र मेरो साथीलाई लाग्यो,” विप्लभले बताए।

घटनाअघि बिहान राप्ती बबई क्याम्पस नजिकै गेम खेल्ने क्रममा ती व्यक्तिबीच विवाद भएको र त्यसकै सिलसिलामा आफूहरू असम्बन्धित हुँदाहुँदै पनि आक्रमणमा परेको विप्लभले बताएका छन्।

घाइते दुबैजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि बाँकेस्थित नेपालगञ्ज रिफर गरिएको छ।

घटनामा संलग्न ६/७ जना खुकुरीसहित फरार रहेको र उनीहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology