नवजात शिशुको हत्या गरी राजमार्गमा फालेका बुवा १० महिनापछि पक्राउ

   श्रावण ०७, २०८२       admin

कास्की ,६ साउन। पोखरामा नवजात शिशुको हत्या गरी राजमार्ग छेउमा फालेको घटनामा झन्डै १० महिनापछि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्ति नुवाकोट घर भई हाल पोखरामा बस्दै आएका ३७ वर्षीय गोविन्द लामिछाने हुन्। उनी आइतबार अर्कै सन्तानकी सुत्केरी श्रीमतीलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएका बेला पक्राउ परेका हुन्।

घटना गत वर्ष असोज १३ गते पोखरा महानगरपालिका–१४ चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा भएको थियो। एक जेब्रा झोलाभित्र रातो–गुलाबी ब्लाङ्केटले बेरिएको नवजात शिशुको शव फेला परेको थियो।

पोस्टमार्टम रिपोर्टअनुसार शिशुको मृत्यु टाउको र घाँटीमा लागेको गम्भीर चोटका कारण भएको पुष्टि भएपछि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा शिशुका बाबु गोविन्द लामिछानेको संलग्नता पुष्टि भए पनि उनी त्यसयता फरार थिए। घटनाको १० महिनापछि अस्पताल आएको सूचनाका आधारमा प्रहरीले उनलाई समातेको हो।

पक्राउपछि जिल्ला अदालत, कास्कीबाट उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ।

घटनामा अन्य कसैको संलग्नता र हत्याको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

परपुरुषसँग मिलेर श्रीमानको हत्या

   श्रावण ०७, २०८२       admin

कञ्चनपुर, ६साउन ६ । कञ्चनपुरमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्। कञ्चनपुरको लालझाँडी गाउँपालिका–४ सिगलपट्टीका ४९ वर्षीय रामरेसर रानाको हत्या आफ्नै श्रीमतीले परपुरुषसँग मिलेर गरेको खुलासा भएको छ।

गत वैशाख १७ गते मोटरघाट सडकछेउमा मृत अवस्थामा फेला परेका रामरेसरको हत्याको रहस्य प्रहरीले छानबिनपछि सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनामा संलग्न आरोपमा उनकी श्रीमती माया चौधरी, बेलौरी नगरपालिका–४ का पुन्ना राना र मानमती चौधरीलाई पक्राउ गरिएको छ।

प्रहरी अनुसन्धान अनुसार वैशाख १६ गते पुन्ना राना बेलौरीबाट मानमतीको घर हुँदै मायाको घरमा पुगेका थिए। सोही दिन मायाले रामरेसर घरमा नरहेको जानकारी दिएकी थिइन्। तर, केहीबेरमै रामरेसर घर फर्किएपछि घरमै विवाद सुरु भएको थियो।

विवादका क्रममा माया, पुन्ना र मानमतीले मिलेर बाँसको चिर्पटले रामरेसरको टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

हत्या गरेपछि तीनै जनाले शवलाई रातारात सडकछेउमा फालेर फरार भएका थिए।

घटनापछि मृतकका आफन्तले तीनै जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हत्या स्वीकार गरेका हुन्।

अनुसन्धानपछि जिल्ला अदालतको आदेशमा तीनै जनालाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हेलिकप्टर मार्फत काठमाडौँ पुर्‍याइएका नवजात शिशुको मृत्यु

   श्रावण ०७, २०८२       admin

काठमाडौँ ६ साउन। जिल्लाको प्रमुख सरकारी स्वास्थ्य संस्था जिल्ला अस्पताल खोटाङमा जन्मिएका एक नवजात शिशुको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ।

सोमबार शल्यक्रियाबाट जन्मिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५, विजयखर्क मालाका जानुका खत्री र सर्वकुमार खत्रीका दोस्रो सन्तानको जन्मपछि तुरुन्तै श्वासप्रश्वासमा समस्या देखिएको थियो। अवस्था जटिल देखिएपछि राष्ट्रपति मातृत्व तथा नवजात शिशु हवाई उद्धार कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत आमासँगै शिशुलाई काठमाडौंको कान्ति बाल अस्पताल पठाइएको थियो।

तर उपचारकै क्रममा शिशुको ज्यान गएको आफन्तले जनाएका छन्। यद्यपि, आमा जानुकाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।

जिल्ला अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाका अनुसार, सन्तान जन्माउने म्याद एक हप्ता नाघिसकेपछि पनि तीन पटकसम्म औषधि दिएर व्यथा सुरु गराउने प्रयास गर्दा असफल भएपछि शल्यक्रिया गरिएको थियो। तर जन्मिएपछि तुरुन्तै बच्चामा देखिएको सास फेर्ने समस्या जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो।

शिशुको मृत्युपछि आफन्तले अस्पतालको लापरबाहीले घटना भएको आरोप लगाएका छन्। तर अस्पताल प्रशासनले भने पूर्वाधार, दक्ष जनशक्ति र आवश्यक उपकरणको अभावका कारण जटिल अवस्थाका बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन बाध्य हुने अवस्था रहेको स्पष्ट पारेको छ।

गत असार २२ गते १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरिएको जिल्ला अस्पताल हालसम्म पनि आवश्यक संरचना र जनशक्तिविना सञ्चालन भइरहेको छ। भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले स्तरोन्नतिको घोषणा गरे पनि अस्पताल भवन अझै निर्माणाधीन अवस्थामा छ।

विसं २०४९ मा स्थापना भएको यो अस्पताल तीन दशकपछि पनि न्यूनतम स्वास्थ्य सेवा दिन नसक्ने अवस्थामा छ। स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभावले विकट क्षेत्रका बासिन्दा हरेक दिन ज्यान जोखिममा पार्दै हेलिकप्टरमार्फत राजधानी पुग्न बाध्य छन्।

शिशुको मृत्युले जिल्ला अस्पतालको क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ। ‘स्तरोन्नति’को नारा मात्रै लिएर सेवा विस्तार नगरेसम्म विकट क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित हुन सक्ने अवस्था छैन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सरकारी गाडी फिर्ता बोलाउन निर्देशन

   श्रावण ०७, २०८२       admin

काठमाडौं ,६ साउन । सरकारको सचिवस्तरीय बैठकले मापदण्ड विपरीत प्रयोगमा आएका सरकारी सवारी साधनहरू तत्काल फिर्ता गराउने निर्णय गरेको छ। सोमबार मुख्य सचिवको नेतृत्वमा बसेको सचिवहरूको बैठकले सरकारी गाडीको दुरुपयोग रोक्न कडाइ गर्ने निर्णय गरेको हो।

बैठकमा यदि कुनै पदाधिकारी वा कर्मचारीले प्रचलित मापदण्ड विपरीत सरकारी सवारी प्रयोग गरेको पाइएमा तत्काल फिर्ता गरिने व्यवस्था मिलाउने निर्णय गरिएको छ। साथै, सबै मन्त्रालय, आयोग, सचिवालय, विभाग, बोर्ड, संस्थान र प्राधिकरणहरूलगायतका निकायहरूलाई आफ्ना सवारी साधन र प्रयोगकर्ताको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउन निर्देशन दिइएको छ।

‘यदि कुनै पदाधिकारी वा कर्मचारीले मापदण्ड विपरीत सवारी प्रयोग गरेको पाइएमा तुरुन्त फिर्ता गराउने,’ सचिव बैठकको निर्णयमा उल्लेख छ।

यसका साथै, सरकारी सम्पत्ति पारदर्शी र व्यवस्थीत बनाउन प्रत्येक मन्त्रालयमा रहेका सवारी साधनको विवरण पब्लिक एसेट म्यानेजमेन्ट सिस्टम (PAMS) मा अनिवार्य रूपमा प्रविष्ट गरिने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ।

महालेखा नियन्त्रक कार्यालयद्वारा सञ्चालित PAMS प्रणाली वेब आधारित हो जसमा सरकारी सम्पत्ति जस्तै घरजग्गा, भवन, सवारी साधन, फर्निचर र मेसिनहरूको विवरण राखिन्छ। यस प्रणालीमा सम्पूर्ण विवरण अद्यावधिक गरिएपछि सरकारी सवारी साधनहरूको वास्तविक अवस्था, प्रयोगकर्ता र प्रयोगको उद्देश्यबारे सहजै जानकारी लिन सकिने सरकारको विश्वास छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आफ्नै छोरीमाथि करणी आरोपमा बुबा पक्राउ

   श्रावण ०६, २०८२       admin

दाङ, ५ साउन । दाङमा आफ्नै छोरीमाथि करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

दाङको घोराही उपमहानगरपालिका–५ निवासी ३६ वर्षीय एक पुरुषलाई आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पीडित बालिकाको संवेदनशीलतालाई ध्यानमा राख्दै आरोपीको नाम गोप्य राखेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार आरोपीले १८ वर्षीया छोरीलाई गत असार ३० गते राति घरमै जबरजस्ती करणी गरेको आरोप लागेको हो।

बालिकाकी आमाले हाडनाता करणीसम्बन्धी किटानी जाहेरी दिएपछि प्रहरीले शनिबार साँझ उनलाई घरबाटै पक्राउ गरेको हो।

प्रहरीले दिएको जानकारी अनुसार पीडित बालिकाकी आमा रोजगारीको सिलसिलामा नाबालक छोरासहित भारतमा रहँदै आएकी थिइन्। आमा कमाउन भारत गएपछि घरमा बालिका र उनका बुबा मात्रै बस्दै आएका थिए।

पक्राउ परेका आरोपीलाई आवश्यक कानुनी कारबाहीका लागि अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बाढी पहिरोले छवटा राजमार्ग पूर्णरूपमा अवरुद्ध

   श्रावण ०६, २०८२       admin

काठमाडौं,५ साउन । देशभर परेको लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण विभिन्न छवटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, तमोर–कोरिडोर सडक खण्ड, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट–डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध छन्।

यस्तै, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, बाग्लुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालिगण्डकी करिडोर र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग भने एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले पहिरोका कारण अवरुद्ध सडकखण्ड खुलाउने प्रयास जारी रहेको जनाएको छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी काम भइरहेको छ। यात्रु तथा सवारी चालकहरूलाई जोखिमयुक्त क्षेत्रहरूमा यात्रा नगर्न समेत प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा तीनजना पक्राउ

   श्रावण ०६, २०८२       admin

कैलाली,५ साउन । विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका–९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका–१ चारकठ्ठाका ३२ वर्षीय वीरेन्द्र हमाल रहेका छन्।

कैलालीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार उनीहरूलाई धनगढी घर भएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या अभियोगमा पक्राउ गरिएको हो। पन्तका परिवारले विष खुवाएर हत्या गरिएको आशंकामा प्रहरीमा उजुरी दिएका थिए।

शिक्षक पन्त जानकी गाउँपालिका–४ मा रहेको जनता माध्यमिक विद्यालयमा कार्यरत थिए। शनिबार दिउँसो मुनुवा रोडस्थित लोकल स्टेशन कटेजमा खाजा खाने क्रममा उनी बेहोस भएका थिए। त्यसपछि उनीसँगै रहेका साथीहरूले टीकापुर अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रारम्भिक अनुसन्धानमा पन्तलाई विष खुवाइएको शंका पुष्टि भएपछि तीनै जना नजिकका साथीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। हाल उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध: अफलाइनबाट विवरण दर्ता गर्न सकिने

   श्रावण ०६, २०८२       admin

काठमाडौँ ,५ साउन। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ। विभागले आइतबारदेखि सेवा अवरुद्ध भएको जानकारी दिँदै मर्मत सम्पन्न नहुञ्जेलसम्म केही सेवा सञ्चालनमा नआउने स्पष्ट पारेको छ।

विभागका सूचना अधिकारी शिवराज सेढाइँका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार कार्य भइरहेकाले अनलाइनमार्फत उपलब्ध सेवा अवरुद्ध भएको हो।

सेढाइँका अनुसार अनलाइनमार्फत सञ्चालन हुने राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन तथा कार्ड वितरण, विवरण संशोधन, जन्मदर्ता गर्दा प्रदान हुने राष्ट्रिय परिचय नम्बर, सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको नाम दर्ता तथा नवीकरणसम्बन्धी जैविक प्रमाणीकरण सेवा लगायतका कार्यहरू हाल रोकिएका छन्।

यसैबीच, विभागले सार्वजनिक सूचना प्रकाशित गरी सेवा पुनः सुचारु हुनेबित्तिकै जानकारी गराउने जनाएको छ। साथै, अफलाइनमार्फत विवरण सङ्कलन गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै सबै राष्ट्रिय परिचयपत्र सेवा इकाइलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ।

अफलाइनमार्फत दर्ता गराइएका सेवाग्राहीलाई भने अनलाइन सेवा पुनः सुरु भएपछि राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत उपलब्ध गराइने सेढाइँले जानकारी दिएका छन्। विभागले सेवा लिने सर्वसाधारण र सरोकारवालामा आवश्यक सहयोगका लागि आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

साथी भेट्न निस्किएका केसी सितलपुरघाट नजिकै मृत फेला

   श्रावण ०६, २०८२       admin

दाङ,५ साउन। दाङको तुलसीपुरमा एक युवक मृत्त फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१२ कचिलाका २१ वर्षीय किरण खत्री (केसी) आइतबार साँझ सितलपुरघाट नजिकै मृत अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीका अनुसार बेलुकी साढे ६ बजेतिर केसी सितलपुरघाट नजिकै मृत भेटिएको जानकारी दिएका हुन्। प्रारम्भिक जाँचमा मृतकको शरीरमा देखिने गरी कुनै गम्भीर चोटपटक वा घाउफाट नभएको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ। पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण थप स्पष्ट हुने डिएसपी ठकुरीले बताए।

एक जना आफन्तका अनुसार मृतकको झोला सितलपुर मन्दिरका पूजारीले फेला पारी दिएका थिए। केसी बिहान आफ्नै गाउँ नजिकका एक साथीलाई भेट्न निस्केका थिए र दिउँसो उरहरी चोकसम्म पुगेको देखिएको छ। ती साथी हाल भारत गइसकेको आफन्तको दाबी छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा किरण खत्री लागुऔषध सेवनकर्ता रहेको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कारागारभित्रै कैदीबन्दीबीच कुटाकुट, १३ जना घाइते

   श्रावण ०५, २०८२       admin

काठमाडौं,४ साउन । कारागारभित्र कैदिबन्दीहरुबिच आपसमा कुटाकुट भएको छ। सिरहा नगरपालिका स्थित जिल्ला कारागारभित्र आइतबार दिउँसो कैदीबन्दीहरूबीच आपसमा कुटाकुट हुँदा १३ जना घाइते भएका छन्।

साँझ करिब ४ बजेतिर कारागारभित्र दुई पक्षबीच कुटाकुट हुँदा दुबै पक्षका गरी १३ जना घाइते भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए।

घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको उनले बताए।

घटनापछि कारागार प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीहरूको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ।

कारागारमा क्षमताभन्दा साढे तीन गुणा बढी कैदीबन्दी राखिएको र त्यहाँ अवैध कारोबार भइरहेको आशंकामा शनिबार बिहान जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सुरक्षा निकायले कैदीबन्दी बस्ने कोठाहरूमा सर्च अपरेसन गरेको थियो।

सर्च अपरेसनको भोलिपल्टै कुटाकुटको घटना भएको हो।

घटनाबारे कारागार प्रशासनले औपचारिक रूपमा टिप्पणी गरेको छैन भने कारागार प्रमुख सुबोध महतोले घटनाबारे जानकारी दिन चाहेका छैनन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology