पैसा नपाएको रिसमा भाउजुको हत्या गरे, बोकेर नालीमा फाले

   असार ०८, २०८२       admin

कैलाली,८ असार । कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा एक सुत्केरी महिला मृत फेला परेकी थिइन् । १६ दिनअघि शिशु जन्माएकी १९ वर्षीया तुलसी नाथको हत्या अभियोगमा उनका आफ्नै देवर नवीन नाथ पक्राउ परेका छन्। अनुसन्धानमा हत्याको कारण पैसाको लेनदेनप्रति असन्तुष्टि र भाउजुसँगको पारिवारिक तनाव रहेको खुलेको छ।

प्रहरीका अनुसार मृतक तुलसीको शव ३ दिनअघि बिहान घरनजिकैको नालीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो। सुरुमा रहस्यमय देखिएको घटनाको अनुसन्धान गर्दा योजनाबद्ध पारिवारिक हत्या भएको पुष्टि भएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार घटना भएको दिन तुलसी आफ्ना १६ दिने शिशुलाई खोप लगाएर दिउँसो घर फर्किएकी थिइन्। घरमा खाना खाइसकेको थियो। उनले आफ्नो लागि भाग लगाइएको भात थोरै देखेपछि सामान्य गुनासो गरेकी थिइन्। यही कुरालाई लिएर घरमा हल्का मनमुटाव भएको थियो।

त्यस साँझ देवर नवीनले खाना पकाएका थिए। उनले भाउजू तुलसी, आफ्नी श्रीमती र नन्दसँगै खाना खाएका थिए। खानापछि सबै आ–आफ्नो कोठामा गएका थिए। सुत्केरी भएकाले तुलसी एक्लै शिशुसँग अर्कै कोठामा सुतेकी थिइन्।

भोलिपल्ट बिहान नन्द हेमा स्कुल जान निस्कँदा घरसँगैको नालीमा तुलसीको शव देखेकी थिइन्। उनले तत्कालै दाजु नवीनलाई खबर गरिन्। शव नालीबाट निकालेर बार्दलीमा राखिएको अवस्थामा प्रहरीले भेट्यो।

घटनास्थल जाँच र शव परीक्षणको क्रममा तुलसीले सधैं लगाउने ८ वटा सुनका रिङ र चाँदीको औँठी हराएको खुलेपछि घटनाले नयाँ मोड लिएको थियो। शरीरमा कुनै चोटपटक नभेटिएको तर गहना हराएको देख्दा प्रहरीको शंका घरभित्र केन्द्रित भयो।

प्रहरीका अनुसार मृतकका श्रीमान् र देवर नवीन सँगै भारतमा काम गर्थे। दाजुले कमाएको पैसा सिधै श्रीमती तुलसीको खातामा पठाउँथे र आर्थिक जिम्मेवारी उनीमै थियो। देवर नवीनलाई पैसा चाहिँदा भाउजुसँग माग्नुपर्थ्यो, जुन कुराले उनी असन्तुष्ट थिए। उनले प्रहरीसमक्ष दिएको बयानअनुसार भाउजुले आफन्तमाझ पनि आफूलाई बदनाम गर्ने कुरा गर्थिन् भन्नेमा उनी झन् रुष्ट थिए।

प्रहरीले मृतकका बुबाआमाको सहयोगमा नवीनसँग सोधपुछ गर्दा उनले घरबाहिर गिट्टी थुपारेको ठाउँमा लुकाएको सुन फिर्ता गरेका थिए। त्यसपछि उनले प्रहरीसमक्ष हत्या गरेको स्वीकारेका छन्।

उनले भनेअनुसार राति सबै सुतिसकेपछि उनी भाउजू सुतेको कोठामा गएर मुख थिचेर हत्या गरे र सुनका गहना झिके। त्यसपछि शवलाई बच्चा बोकिएझैं बोकेर नालीमा फाले।

डीएसपी चन्दका अनुसार घटनामा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्नेबारे थप अनुसन्धान भइरहेको छ। तुलसीको शवको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

यात्रु बोकेर उडिरहेको बेलून फुट्दा ८ जनाको मृत्यु

   असार ०७, २०८२       admin

एजेन्सी । यात्रु बोकेर उडिरहेको बेलुन फुट्दा आठ जनाको मृत्यु भएको छ। ब्राजिलको दक्षिणी राज्य सान्ता क्याटरिनामा शनिबार २१ यात्रु बोकेको हट एयर बेलुन दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको हो ।

राज्यको अग्नि नियन्त्रण विभागका अनुसार बिहान सबेरै उडानका क्रममा पर्यटन बेलुनमा आगो लाग्दा प्रेया ग्रान्डे सहरमा खसेको हो। 

अग्नि नियन्त्रण विभागका अनुसार बाँचेका १३ जनालाई नजिकैका अस्पतालहरूमा लगिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा तीन दिने लेखनसीप कार्यशाला सम्पन्न

   असार ०७, २०८२       admin

दाङ,७ असार । महिला पत्रकारहरूको लेखन क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले दाङमा तीन दिने लेखनसीप कार्यशाला सम्पन्न भएको छ।

सञ्चारिका समूह लुम्बिनी प्रदेशको आयोजना र लुम्बिनी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा कार्यशाला असार ५ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको हो।

कार्यशालामा दाङ र रोल्पाका करीब २४ जना महिला पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यशालामा महिला पत्रकारहरूलाई समाचार लेखन, सृजनात्मक लेखन र खोजमुलक पत्रकारिता सम्बन्धी अभ्यास गराइएको थियो।

तीन दिनसम्म सञ्चालन भएको कार्यशालाले आफूहरूलाई सामाजिक मुद्दामा कलम चलाउन थप प्रेरणा मिलेको र लेखन क्षमता निखार्न सहयोग पुगेको सहभागीहरूले अनुभव सुनाए।

प्रशिक्षकहरूको सहजीकरणमा सहभागीहरूले समाचार लेखनको अभ्यास मात्र होइन, आफ्नो अनुभव आदानप्रदानसमेत गरेका थिए। कार्यशालामा सरकारका विविध कार्यक्रम र कार्यहरूलाई गहिरिएर अध्ययन गरी तथ्यपूर्ण समाचार तयार गर्न आवश्यक सुझावहरू पनि दिइएको थियो।

कार्यशालामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भूपेन्द्र पाण्डे, कम्प्युटर अपरेटर हिरालाल घर्ती मगर, खानेपानी डिभिजन कार्यालय दाङ प्रमुख तिलक न्यौपानेलगायतले खोजमूलक पत्रकारिताको आवश्यकतामाथि प्रकाश पारे।

उनीहरूले प्रदेश सरकारअन्तर्गत सञ्चालित कार्यक्रमहरूको पारदर्शिता सुनिश्चित गर्न पत्रकारहरूको भूमिकाबारे चर्चा गर्दै अनुसन्धानमा आधारित समाचार तयार गर्न आग्रह गरे।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरेले समाचार लेखनका लागि उपयोगी विषयवस्तु, स्रोतको पहिचान र सरकारी कार्यक्रमहरूका सन्दर्भमा जानकारी प्रस्तुत गरे।

त्यस्तै, सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोल, सल्लाहकार नारायण रजौरी र पत्रकार चुमा आचार्यले समाचारका प्रमुख तत्व, स्रोत व्यवस्थापन र पेशागत लेखनशैलीबारे सहभागीलाई मार्गदर्शन गरे।

समापन समारोहमा बोल्दै सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले महिला पत्रकारहरूको सशक्तिकरणका लागि कार्यशालाहरू उपयोगी हुने विश्वास व्यक्त गरिन्।

संञ्चारिका समूह लुम्बिनी प्रदेशले महिला पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न समयमा थुप्रै कार्यक्रमहरू गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संसार देखाउन जाँदै थिइन् रेनुका, आफैँ अस्ताइन्…

   असार ०७, २०८२       admin

काठमाडौँ,७ असार । उनी जीवनको एउटा अनमोल पल नजिकिएकी थिइन् , आमा बन्ने। दोस्रो सन्तान जन्माउने आँट, उमंग र सपना बोकेर, रेनुका कँडेल आइतबार बिहान सासू र श्रीमान्सहित चितवनको भरतपुरतर्फ हिंडिन्। उनी हेटौँडाकी २७ वर्षीया गर्भवती महिला थिइन्। चिकित्सकले बच्चा जन्माउने मिति यही दिन दिएका थिए।

उनको पहिलो सन्तान एक छोरी ।जो हेटौँडामा ससुरासँगै रहिन्। रेनुका भने सासू मैयाकुमारी र श्रीमान् सरोज पहाडीको साथ माइक्रोबस चढेर भरतपुरतिर लागिन्, जीवन दिनका लागि।

तर नियति यति क्रुर थियो कि जुन अस्पताल पुगेर सासूले नाति हेर्ने सपना देखेकी थिइन्, जुन शिशुलाई हातमा लिने रहर लिएर श्रीमान् सँगै माइक्रो चढेकी थिइन् । त्यो सबै बाटोमै चकनाचुर भयो।

भण्डारामा पुगेर, अस्पताल पुग्न अझै झण्डै २० किलोमिटर बाँकी छँदै, विपरीत दिशाबाट आउँदै गरेको बसले ठक्कर दियो । एकैछिनमा रेनुका, उनको गर्भको शिशु, सासू र श्रीमान् संगै उनका सपना, जीवन एकैपटक अन्त्य भए।

शनिबार बिहान सवा १० बजे धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको बस प्र.१–००१ ख ३५८३ र विपरीत दिशाबाट आउँदै गरेको माइक्रोबस प्र.३–००१ ज २९९ ठोक्किँदा भएको त्यो हृदयविदारक दुर्घटनामा ७ जनाको ज्यान गयो, २४ जना घाइते भएका छन् ।

तस्वीर:साभार

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उत्तराखण्डमा बन्दी बनाइएका ३५ नेपाली युवाको उद्धार

   असार ०७, २०८२       admin

दाङ, ७ असार । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डमा बन्दी बनाइएका ३५ जना नेपाली युवाको उद्धार गरिएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इन्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा असार ५ गते उनीहरूको सफल उद्धार गरिएको जनाएको छ।

राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार नेपालका विभिन्न जिल्लाका युवाहरूलाई आकर्षक रोजगारीको प्रस्ताव राखी उत्तराखण्डको काशिपुर बोलाइएको थियो। तर, त्यहाँ पुगेपछि उनीहरूलाई जबरजस्ती बन्दी बनाइयो, कुटपिट र यातना दिइयो तथा विभिन्न शीर्षकमा रकम असुल गरिएको जानकारी दूतावासलाई प्राप्त भएको थियो।

परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार तत्काल पहल गर्दै दूतावासले उद्धार प्रक्रिया अघि बढाएको थियो। सोही पहलमा ३५ जना नेपाली युवाको उद्धार गरिएको हो।

घटनामा संलग्न केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको छ भने अन्य सम्भावित पीडितको खोजी तथा उद्धार कार्य पनि जारी रहेको दूतावासले जनाएको छ।

उद्धार गरिएका युवाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने जानकारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सांगीतिक कार्यक्रममा देखिएको अव्यवस्था प्रती सिलिकनको खेद प्रकट: आयोजक STB ले माग्यो माफी

   असार ०७, २०८२       admin

दाङ,७ असार। असार ६ गते दाङमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा देखिएको अव्यवस्थाप्रती सिलिकन एजुकेसन दाङले खेद प्रकट गरेको छ।

सिलिकन दाङले आफू कार्यक्रमको आयोजक नभएको स्पष्ट पार्दै, दर्शक, विद्यार्थी र अभिभावकमाझ खेद व्यक्त गरेको हो ।

एक विज्ञप्ति जारी गर्दै संस्थाले उक्त कार्यक्रमको पूर्ण आयोजना, व्यवस्थापन र प्राविधिक पक्ष एसटिबी इभेन्टद्वारा गरिएको जनाएको छ।

आफु कार्यक्रमको ‘Title Sponsor’ को रूपमा मात्र सहभागिता जनाएको र डिजिटल प्रचारप्रसारका लागि आर्थिक सहयोग गरेको उल्लेख गरिएको छ।

“कार्यक्रमको सुरक्षादेखि व्यवस्थापनसम्मको जिम्मा आयोजकको नै थियो, कार्यक्रममा देखिएको ढिलाइ, भीड व्यवस्थापनको कमी तथा प्रमुख कलाकारको प्रस्तुति नहुनुजस्ता घटनाहरूको सम्पूर्ण जिम्मेवारी आयोजक STB Events कै हो।” विज्ञप्तिमा उल्लेख छ।

संस्थाले आफू पनि यस घटनाबाट पीडित भएको जनाउँदै माफीनासहित स्पष्टिकरण दिएको छ। “हामीले आफ्ना विद्यार्थी र अभिभावकलाई निमन्त्रणा गरी सकारात्मक सांस्कृतिक अनुभव दिलाउने उद्देश्य राखेका थियौं,” विज्ञप्तिमा भनिएको छ, “तर कार्यक्रमको अव्यवस्थाले हाम्रो संस्थाको प्रतिष्ठामा समेत असर पुर्‍याएको छ।”

एसटिबिको माफी : त्यस्तै, कार्यक्रमको आयोजक STB Events ले पनि माफी माग्दै उक्त घटनाप्रती दुख व्यक्त गरेको छ। आयोजकले कलाकार पूर्ण राई कन्सर्टमा उपस्थित हुन नसकेकोबारे दु:ख व्यक्त गर्दै भनेको छ।

“हामी हार्दिक माफी चाहन्छौं। केही अप्रत्याशित आन्तरिक समस्याका कारण, पूर्ण राईले आजको कन्सर्टमा प्रत्यक्ष प्रस्तुति दिन सकेनन् । हामी, सम्पूर्ण टोली, यसको लागि गहिरो दु:ख व्यक्त गर्दछौं र पूर्ण जिम्मेवारी लिन्छौं। हामी तपाईंको उत्साह र अपेक्षाहरू साँच्चै बुझ्छौं, र तपाईंलाई पर्न गएको असुविधाको लागि साँच्चै क्षमाप्रार्थी छौं। कृपया हामीसँग धैर्य गर्नुहोस् । हामी उचित अपडेटमा काम गरिरहेका छौं र चाँडै नै तपाईंसँग साझा गर्नेछौं।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चितवनमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु,१८ जना घाइते

   असार ०७, २०८२       admin

चितवन,७ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा बस र माइक्रो ठोकिँदा ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३(००१ज २९९ नम्बरको माइक्रो आपसमा ठोकिएका हुन्।

दुर्घटनामा ७ जनाको मृत्यु र १८ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेलाई चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पताल लगिएको छ।

घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपालभर मनसुन फैलियो

   असार ०६, २०८२       admin

काठमाडौँ, ६ असार । नेपालभर मनसुन प्रणाली फैलिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (असार ६ गते) एक बुलेटिन जारी गर्दै देशका सबै भागमा मनसुन सक्रिय भएको जानकारी दिएको हो।

महाशाखाका अनुसार यस वर्षको मनसुन प्रणाली असार ६ गते (२०२५ जुन २०) का दिन मुलुकभर फैलिएको हो। नेपालमा मनसुन सामान्यतः जुन १३ तारिखतिर प्रवेश गर्ने गरे पनि यसपटक औसत मितिभन्दा १५ दिन छिटो जेठ १५ गते (मे २९) नै कोसी प्रदेश हुँदै प्रवेश गरेको थियो।

प्रवेश गरेको १४ दिनपछि मनसुन जेठ २९ गते मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा विस्तार भएको थियो। तर बाँकी भूभागमा विस्तार हुन अझै ९ दिन लागेको थियो।

यसपटक मनसुन नेपाल प्रवेश गरेदेखि मुलुकभर फैलिन २३ दिन लागेको छ। मौसमविद्का अनुसार आगामी दिनमा देशभर मनसुन सक्रिय हुने भएकाले वर्षा सम्भावनासहितको सतर्कता आवश्यक हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चोर खोलामा पहिरो: राप्ती राजमार्ग अवरुद्ध

   असार ०६, २०८२       admin

सल्यान, ६असार । सल्यान र दाङ जिल्लाको सिमाना चोर खोलामा गएको पहिरोका कारण राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।

कपुरकोट गाउँपालिका–३ स्थित चोर खोलामा बिहीबार राति ९:५५ बजे पहिरो खसेपछि कपुरकोट–दाङ सडकखण्ड अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अविरल वर्षाका कारण पहिरो झरेको हो। शुक्रबार बिहान ६ बजेदेखि सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तर वर्षाका कारण उद्धार तथा सफाइ कार्यमा कठिनाइ भएको छ।

कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले भने, “यदि वर्षा रोकियो भने दुई–तीन घण्टामा सडक खुलाउन सकिन्छ भन्ने अनुमान छ।” उनका अनुसार सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरेर पहिरो हटाउने कार्य भइरहेको छ।

वर्षौँदेखि राप्ती राजमार्गको सल्यान–दाङ खण्डमा पहिरोको समस्या दोहोरिँदै आएको छ। प्रत्येक वर्ष मनसुनको समयमा यस क्षेत्रमा सवारी आवागमन अवरुद्ध हुने समस्या देखिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुत्केरी महिलाको शव फेला: शिशु जीवितै

   असार ०६, २०८२       admin

कैलाली,६ असार । कैलालीको गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक १९ वर्षीया सुत्केरी महिला मृत फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार स्थानीय तुलसी नाथको घर नजिकै ती महिला मृत अवस्थामा फेला परेकी हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार नाथ परिवारको घरको मूलद्वारअगाडि रहेको नालामा ती महिला मृत भेटिएकी हुन्।

उनले १६ दिनअघि मात्र एक छोरा जन्माएकी थिइन्। नवजात शिशु भने जीवित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

सुत्केरी महिलाको मृत्युको कारण खुल्न बाँकी रहेकाले घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology