दाङ,५ असार । दाङको दंगीशरण गाउँपालिकास्थित श्रीगाउमा १५ दिने नेल आर्ट तालिम सम्पन्न भएको छ। महिला लक्षित सीप विकास कार्यक्रम अन्तर्गत दंगीशरण गाउँपालिका–६ मा सञ्चालन गरिएको १५ दिने आधारभूत नेल आर्ट तालिम सम्पन्न भएको हो।
तुलसीपुर मिडिया प्रा.लि.को आयोजना तथा दंगीशरण गाउँपालिका–६ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भएको तालिम शुक्रबार सम्पन्न भएको हो।
तालिममा सहभागी महिलाहरूले नेल आर्टसम्बन्धी आधारभूत ज्ञान तथा व्यावसायिक सीप हासिल गरेका छन्। प्रशिक्षार्थी कामना केसीले तालिमले आत्मनिर्भर बन्ने अवसर प्रदान गरेको बताउँदै सिकेको सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरिन्।
प्रशिक्षक आरती शर्माका अनुसार छोटो अवधिको भए पनि तालिमले व्यावसायिक रूपमा काम गर्न आवश्यक आधारभूत सीप प्रदान गरेको छ। उनले १५ दिन सीप सिक्न पूर्ण रूपमा पर्याप्त नभए पनि आधारभूत ज्ञानका लागि उपयोगी रहेको उल्लेख गर्दै सहभागीहरूले यसलाई व्यवसायका रूपमा अघि बढाउने अपेक्षा व्यक्त गरिन्।
कार्यक्रममा वडा अध्यक्ष रोशनजंग शाहले सीप सिकेर व्यावसायिक रूपमा अघि बढ्न सहभागीहरूलाई आग्रह गर्दै आवश्यकता परे वडा कार्यालयले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
वडा सदस्य कान्छुराम चौधरीले सिकेको सीपलाई मेहनत र लगनशीलतासाथ प्रयोग गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। तालिममा १० जना महिलाको सहभागिता रहेको थियो। तालिमको समापन तुलसीपुर मिडिया प्रालिका प्रबन्ध निर्देशक दर्शन आचार्यको अध्यक्षतामा भएको थियो
२२ सय व्यक्ति फरार सूचिमा
झापा,५ असार । झापाको बिर्तामोडमा श्रीमतीमाथि आक्रमण गरेपछि एक वृद्धले घरको तेस्रो तलाबाट हाम्फाल्दा मृत्यु भएको छ।
बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकका ७२ वर्षीय घिरेन राजवंशीले शुक्रबार बिहान करिब ५ः३० बजे घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीमाथि फलामको रडले प्रहार गरेको प्रहरीले जनाएको छ।
रड प्रहारबाट पेटमा चोट लागेकी गंगामुनीलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।
श्रीमतीमाथि आक्रमण गरेलगत्तै घिरेनले आफ्नै घरको तेस्रो तलाबाट हाम्फालेका थिए। हाम्फाल्दा उनको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो। गम्भीर घाइते अवस्थामा उनलाई पनि बिर्तासिटी अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा बिहान करिब ६ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले घटनास्थल मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
प्यूठान। प्यूठानमा दुई छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–६ लुङलेखका ५१ वर्षीय मतबहादुर केसीको भीरबाट लडेर मृत्यु भएको हो। गुल्मीबाट घर फर्किँदै गर्दा लुङलेखस्थित गोरेटो बाटोबाट करिब १५० मिटर तल घोप्टे भीरमा लडेर बिहीबार साँझ उनको ज्यान गएको प्रहरीले जनाएको छ।
त्यस्तै, ऐरावती गाउँपालिका–४ कैरनमा करेन्ट लागेर एक युवक घाइते भएका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका १८ वर्षीय सुधन राना ट्रकको छतमा रस्सी खोल्ने क्रममा विद्युत् तार छोएपछि करेन्ट लागेर गम्भीर घाइते भएका हुन्।
घाइते रानालाई निमतारा पोलिक्लिनिकमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्काउटको ७५ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्र निर्माण, सामाजिक सेवा तथा युवा नेतृत्व विकासमा स्काउटको योगदान प्रशंसनीय रहेको बताएका छन्।
उनले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमार्फत जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यका साथ वि.सं. २००९ सालदेखि नेपालमा स्काउट अभियान सञ्चालन हुँदै आएको उल्लेख गरेका छन्।
मुख्यमन्त्री आचार्यले स्काउटले व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, अनुशासन, साहस, आत्मनिर्भरता तथा सेवाभावको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । ‘सधैँ तयार’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै स्काउटले समाज रूपान्तरणमा सकारात्मक योगदान पुर्याएको उनले बताए।
शुभकामना सन्देशमा विद्यालय तथा समुदायस्तरमा असल नागरिक, जिम्मेवार नेतृत्वकर्ता तथा राष्ट्रप्रति समर्पित जनशक्ति निर्माणमा स्काउटले निरन्तर प्रेरणा दिँदै आएको उल्लेख गरिएको छ।
त्यसैगरी स्वयंसेवा, सहकार्य, सामाजिक सद्भाव र विविधताप्रति सम्मानको भावना विकास गरी युवाहरूलाई सक्षम र उत्तरदायी नागरिकका रूपमा स्थापित गर्न स्काउटको भूमिका उल्लेखनीय रहेको उनले बताए।
प्राकृतिक विपद्, महामारी तथा अन्य मानवीय संकटका समयमा स्काउटका स्वयंसेवकहरूले उद्धार, राहत वितरण, जनचेतना अभिवृद्धि, रक्तदान, सरसफाइ तथा सामुदायिक सेवामा पुर्याएको योगदान अत्यन्त प्रेरणादायी रहेको उनले उल्लेख गरे।
भूकम्प, बाढी पहिरो, आगलागी तथा कोभिड–१९ महामारीका समयमा स्काउटका युवाहरूले देखाएको समर्पणले स्वयंसेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सन्देशमा जनाइएको छ।
यसैगरी वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, वृक्षारोपण, सरसफाइ अभियान, लैङ्गिक समानता, समावेशिता, शान्ति स्थापना तथा दिगो विकास लक्ष्य हासिल गर्न पनि स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मुख्यमन्त्री आचार्यले बताएका छन्।
लुम्बिनी प्रदेश सरकारले युवा तथा बालबालिकाको सर्वाङ्गीण विकास, स्वयंसेवी भावना अभिवृद्धि, विपद् व्यवस्थापन तथा सामाजिक रूपान्तरणमा स्काउटले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्ने उल्लेख गरे।
उनले आगामी दिनमा पनि स्काउटले आफ्नो गौरवशाली इतिहासलाई अझ सुदृढ बनाउँदै राष्ट्र निर्माण र सक्षम युवा नेतृत्व विकासमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,५ असार । यस वर्षको प्रि-मनसुन अवधिमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको तथ्य सार्वजनिक भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष औसतभन्दा निकै बढी वर्षा मापन गरिएको हो।
विभागका अनुसार प्रि-मनसुन याममा नेपालमा औसत २२६ दशमलव ३ मिलिमिटर वर्षा हुने गर्दछ। तर यस वर्ष भने औसतको १४५ दशमलव ५ प्रतिशत अर्थात् ३३९ दशमलव ७ मिलिमिटर वर्षा भएको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए।
यसैबीच पछिल्लो २४ घण्टामा झापाको अनारमनी बिर्ता क्षेत्रमा सबैभन्दा बढी वर्षा मापन भएको छ। सो क्षेत्रमा २०८ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए। उनका अनुसार २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा ‘अति भारी वर्षा’ मानिन्छ।
झापा क्षेत्रमा पछिल्लो केही दिनदेखि निरन्तर वर्षा भइरहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार केही स्थानमा खण्डवृष्टि भए पनि ठूलो क्षति वा प्रभावको विवरण हालसम्म प्राप्त भएको छैन।
विभागका अनुसार सो क्षेत्रबाट मनसुन नेपाल भित्रिने तयारीमा रहेको छ। त्यस्तै इलाम, मोरङ, सुनसरी र सिन्धुलीका केही मापन केन्द्रमा पनि भारी वर्षा भएको छ। पश्चिमतर्फ कास्की, लमजुङ र गोरखाका केही स्थानमा समेत भारी वर्षा मापन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले सन् १९८१ देखि १२६ वटा वर्षा मापन केन्द्रको तथ्यांकका आधारमा प्रि-मनसुन विश्लेषण गर्दै आएको छ। सोही आधारमा यस वर्ष ४५ वर्षयताकै उच्च वर्षा भएको निष्कर्ष निकालिएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ असार । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सुन प्रतितोला १० हजार ५०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ। बिहीबार भने सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी प्रतितोला ३०५ रुपैयाँले घट्दै ४ हजार ६४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको भाउ प्रतितोला ४ हजार ९४५ रुपैयाँ थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा सम्पन्न भएको ३५ दिनमै नतिजा प्रकाशन गरिएको हो।
गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कूल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए।
नियमिततर्फ सहभागीमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १३७ छात्रा तथा अन्य २९० जना रहेका छन्।
परीक्षा देशभर १ हजार ४२० केन्द्रमा सञ्चालन गरिएको थियो भने जापानमा १ केन्द्र गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र निर्धारण गरिएको थियो।
सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १६१ रहेको थियो भने सबैभन्दा कम मनाङ र मुस्ताङमा १/१ केन्द्र रहेको बोर्डले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,४ असार । सरकारले यही असारको तेस्रो सातादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण सुरु गर्ने तयारी गरेको जनाएको छ।
प्रतिनिधिसभामा आउँदो आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्वासी समस्या समाधानका लागि लालपुर्जा वितरणको काम अगाडि बढाइएको जानकारी दिए।
उनका अनुसार विगतमा गठन भएका भूमि आयोगहरू प्रभावकारी रूपमा काम गर्न नसकेको र राजनीतिक भर्ती केन्द्रका रूपमा सीमित भएकाले अपेक्षित उपलब्धि हासिल हुन सकेको थिएन। पछिल्लो सरकारले भूमिसम्बन्धी समिति गठन गरी नयाँ ढंगले काम अघि बढाएको मन्त्री रावलले बताए।
मन्त्री रावलका अनुसार पछिल्लो ३० वर्षमा करिब १२ लाख निवेदन परे पनि अहिलेसम्म जम्मा ९ हजारले मात्र लालपुर्जा पाउनु लज्जास्पद अवस्था हो। यसलाई सुधार गर्न संरचनात्मक परिवर्तन गरिएको उनको भनाइ छ।
यसैबीच, काठमाडौंका सुकुम्वासीहरूलाई विस्थापन गरेर होल्डिङ सेन्टरमा राखिएको विषयमा पनि चासो बढेको छ।
लामो समयसम्म होल्डिङ सेन्टरमा राखिँदा विभिन्न समस्या आएको भन्दै सुकुम्वासीहरूले तत्काल उचित व्यवस्थापनको माग गर्दै आएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ असार। काठमाडौं महानगरपालिका–८ गुहेश्वरीमा डेरा गरी बस्दै आएकी एक युवती मृत अवस्थामा फेला परेकी छन्।
मृतक २५ वर्षीया सलनी केसी रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। उनको स्थायी घर सिन्धुपाल्चोक रहेको बताइएको छ।
प्रहरीका अनुसार केसी बिहीबार आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी हुन्। घटनाबारे थप विवरण खुल्न बाँकी रहेको छ।
उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ असार ।सरकारले ‘नागरिक चौतारी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ। देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति, योजना र गतिविधिसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले उक्त प्लेटफर्म ल्याउन लागेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त प्रणालीको प्रारम्भिक संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।
प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालका अनुसार यो प्लेटफर्म सरकारका नीतिमाथि छलफल गर्ने मात्र नभई समसामयिक विषय, सरकारी योजना तथा अभ्यासमा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने माध्यमका रूपमा विकास गरिँदैछ।
यस प्रणालीमार्फत नागरिकले मोबाइल वा कम्प्युटर प्रयोग गरेर देशका समस्या उठाउन, सरकारसँग दुईतर्फी संवाद गर्न तथा व्यवहारिक समाधानका सुझाव प्रत्यक्ष रूपमा पेश गर्न सक्नेछन्। साथै, सरकारले प्रतिभाशाली स्वयंसेवक तथा विज्ञ नागरिक पहिचान गर्न समेत यस प्लेटफर्म उपयोगी हुने अपेक्षा गरेको छ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले ‘नागरिक चौतारी’ सुशासन सुदृढ गर्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे। उनका अनुसार यसले सरकारी नीति तथा अभ्यासलाई अझ नागरिकमैत्री र परिणाममुखी बनाउनेछ।
सरकारले डिजिटल प्लेटफर्मसँगै देशभर नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया हुने ‘इन-पर्सन’ कार्यक्रममार्फत पनि यस पहललाई जोड्ने तयारी गरेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस