खोलाले बगाउँदा बेपत्ता भएका दुई दाजुभाइको शव फेला

   असार ०३, २०८३       admin

प्यूठान, ३असार । वर्षायामसँगै बढेको खोलाको जोखिमका कारण प्यूठानमा दुई बालकको मृत्यु भएको छ । विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा दाजुभाइको मृत्यु भएको हो।

नौबहिनी गाउँपालिका–५ का १० वर्षीय मिलन खत्री र ७ वर्षीय विमल खत्री मंगलबार दिउँसो करिब ३ बजेतिर विद्यालयबाट घर फर्किँदै गर्दा जोगी पनेरा खहरे खोला तर्ने प्रयासमा बाढीले बगाएको थियो।

घटनापछि गरिएको खोजीका क्रममा भाइ विमलको शव मंगलबार साँझ नै फेला परेको थियो भने दाजु मिलनको शव बुधबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

मृतक दुवै जना काँटेस्थित श्री जनता प्राथमिक विद्यालयका विद्यार्थी हुन्। मिलन कक्षा ३ मा र विमल कक्षा १ मा अध्ययनरत थिए। उनीहरू स्थानीय यामबहादुर खत्रीका छोरा हुन्।

स्थानीय वडा सदस्य कुलबहादुर खत्रीले साँझ करिब साढे ६ बजे घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली खोजीमा खटिएको थियो। प्रहरी चौकी डार्मी र इलाका प्रहरी कार्यालय लुङबाङबाट खटिएको टोलीले घटनास्थल आसपास खोजी गरेको थियो।

एकै परिवारका दुई नाबालकको मृत्यु भएपछि खत्री परिवारसँगै सिंगो गाउँ शोकमा डुबेको छ। केही समयअघि रोल्पामा पनि यस्तै घटनामा दुई बालकको ज्यान गएको थियो, जसले वर्षायाममा खोलानाला पार गर्दा सावधानी अपनाउनुपर्ने आवश्यकता पुनः स्मरण गराएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सीमा अभिव्यक्तिमा विवाद: संसदमा चर्कियो बहस

   असार ०३, २०८३       admin

काठमाडौ,३ असार । नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा बहस चर्किएको छ। विभिन्न दलका सांसदहरूले प्रधानमन्त्रीसँग स्पष्टिकरण माग्दै संसदमा जवाफदेहिता सुनिश्चित गर्न आग्रह गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीले सीमा विषयमा दिएको धारणा प्रष्ट पार्न माग गरे। उनले काठमाडौंका विभिन्न ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीहरूको व्यवस्थापनमा समेत ध्यान दिन सरकारसँग आग्रह गरे।

नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले संविधानअनुसार सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्तिमा संसदमै आएर धारणा सच्याउनुपर्ने बताए। उनले यस विषयमा सभामुखबाट ‘रुलिङ’को माग पनि गरे।

एमालेका सांसद कृपाराम रानाले लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायत क्षेत्रमा सीमा अतिक्रमण भएको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमानको विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे। उनले सुकुम्बासीलाई राखिएका ‘होल्डिङ सेन्टर’मा मानवोचित व्यवहार नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

त्यसैगरी, नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई सच्याउनुपर्ने बताए। उनले सभामुखको निष्पक्ष भूमिकामाथि प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सम्बन्धबारे टिप्पणी गरेका थिए।

यादवको उक्त अभिव्यक्तिप्रति रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति जनाएपछि बैठकमा केही समय तनाव उत्पन्न भएको थियो। सभामुख डोलप्रसाद अर्यालले उक्त विषयमा ध्यानाकर्षण भएको जनाएका छन्।

बैठकमा सांसदहरूले सरकारको जवाफदेहिता, सीमा सुरक्षाको संवेदनशीलता र नागरिक अधिकारका विषयमा गम्भीर रूपमा आवाज उठाएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युवतीमाथि खुकुरी देखाई कुटपिट गर्ने युवक लागू औषधसहित पक्राउ

   असार ०३, २०८३       admin

दाङ,३ असार । सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियोका आधारमा युवतीमाथि खुकुरी देखाई कुटपिट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

तुलसीपुर उपमहानगरपालिका–२ भमकेका २४ वर्षीय रमेश ठाडा मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनकै घरबाट पक्राउ गरेको हो। उनले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाउँदै डरधम्की दिँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी सक्रिय बनेको थियो।

पक्राउका क्रममा प्रहरीले उनको साथबाट विभिन्न प्रकारका लागुऔषध बरामद गरेको जनाएको छ। बरामद हुनेमा रेगाम्याक्स १ ट्याब्लेट, ट्रोमो ४१ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र नाइट्राजोहम ५ ट्याब्लेट रहेका छन्।

उक्त घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संघीयता सुदृढीकरणतर्फ महत्वपूर्ण कदम:मुख्यमन्त्री आचार्य

   असार ०२, २०८३       admin

दाङ,२ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विशेषाधिकार समितीमार्फत संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुत बनाउने बताएका छन्। मंगलबार प्रदेश सभाका विशेषाधिकार समितिहरूबीचको समन्वय, अनुभव आदानप्रदान र साझा सिकाइले बलियो आधार निर्माण गरेको उनले बताएका हुन् ।

लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा दाङको राप्ती उपत्यकास्थित लुम्बिनी सभाहलमा मंगलबारदेखि सुरु भएको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो धारणा व्यक्त गरेका हुन्। बागमती, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको सहभागितामा भइरहेको यो सम्मेलनलाई उनले संघीयता सुदृढीकरणतर्फको ‘कोसेढुङ्गा’का रूपमा व्याख्या गरे।

उनले प्रदेशहरू स्वायत्त र सक्षम बन्दै गएको उल्लेख गर्दै आपसी अन्तरसंवाद र अनुभव साटासाटले कमजोरी सुधार्न मद्दत पुग्ने बताए। सीमित स्रोत साधनका बाबजुद प्रदेश सरकारले उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गर्दै उनले विकास निर्माणमा पूँजीगत खर्चलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

मुख्यमन्त्री आचार्यले संघीयताविरुद्ध फैलाइने भ्रम र अफवाहलाई तथ्यका आधारमा खण्डन गर्न विशेषाधिकार समितिहरूको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। संघीयतामाथि विभिन्न कोणबाट चुनौती आउने गरेको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत रूपमा बलियो बनाउन प्रदेश सभाको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए।

उनले लुम्बिनी प्रदेशले भौतिक पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गरेको र आगामी आर्थिक वर्षमा अझ प्रभावकारी परिणाम आउने विश्वास व्यक्त गरे।

लुम्बिनी प्रादेशिक अस्पताल, प्राविधिक विश्वविद्यालय लगायतका प्रदेश गौरवका आयोजना अघि बढिरहेको उनले बताए। साथै, मन्त्रालय संख्या १२ बाट घटाएर ८ मा झार्दै प्रशासनिक खर्च नियन्त्रण र कार्यक्षमता सुधार गर्ने प्रयास भइरहेको जानकारी दिए।

कार्यक्रममा विशेषाधिकार समिति लुम्बिनी प्रदेश सभाका सभापति गिरधारीलाल न्यौपानेले प्रस्तुत गरेको अवधारणा पत्रमा प्रदेश सभाको गरिमा, स्वतन्त्रता, प्रभावकारिता र उत्तरदायित्व सुदृढ गर्न समितिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिएको छ। सम्मेलनको उद्देश्य समितिहरूबीच समन्वय बढाउने, संसदीय अभ्यासको समीक्षा गर्ने, साझा मापदण्ड तयार गर्ने र अन्तरसंसदीय सहकार्य विस्तार गर्ने रहेको जनाइएको छ।

त्यसै अवसरमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाँड केसी, संविधानसभा सदस्य खिमलाल देवकोटा, बागमती प्रदेशकी मायाँदेवी शर्मा र सुदूरपश्चिमका तुलसी देवकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम विशेषाधिकार समिति सदस्य अम्बिका काफ्लेको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण सदस्य निमा गिरीले गरेकी थिइन्। सम्मेलनमा तीनै प्रदेशका प्रतिनिधि, विज्ञ तथा कर्मचारीहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्ती प्रादेशिक अस्पताल र दंगीशरण दरबार विकासका लागि ४/४ करोड बजेट विनियोजन

   असार ०२, २०८३       admin

दाङ,२ असार। लुम्बिनी प्रदेश सरकारले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटमा अस्पताललाई २०० शैयाको बनाउने लक्ष्यसहित स्तरोन्नतिको कार्यक्रम समेटिएको हो।

यस्तै तुलसीपुर उपमहानगरपालिका–११ सकौरास्थित ऐतिहासिक दंगीशरण थारु राजाको दरबार क्षेत्रको संरक्षण तथा विकासका लागि पनि चार करोड रुपैयाँ बजेट छुट्याइएको छ। उक्त बजेटबाट पर्यटकीय पूर्वाधार निर्माण र थारु संग्रहालय स्थापना गर्ने योजना रहेको छ।

प्रदेश सरकारले बालविवाह न्यूनीकरण तथा नियन्त्रणका लागि प्रदेशका १२ जिल्लाका १०९ स्थानीय तहमा कार्यान्वयन हुने गरी १० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

यसैगरी घोराहीस्थित प्याराडाइज बोटानिकल उद्यान र रुटाहा ताल क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि ११ करोड रुपैयाँ छुट्याइएको छ।

दाङ–देउखुरी क्षेत्रमा रहेको प्रगन्ना सिँचाइ कुलोलगायत सिँचाइ प्रणालीको सुदृढीकरण र व्यवस्थापनका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।


प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) को निर्माण कार्यलाई तीव्रता दिँदै आगामी आर्थिक वर्षभित्र दोस्रो चरणको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ। राजधानीभित्र आवश्यक पूर्वाधार, सडक र फोहर व्यवस्थापनका लागि पनि बजेट व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रहरीको जग्गामा बनेका घर आफैं खाली गर्दै स्थानीय

   असार ०२, २०८३       admin

दाङ,२ असार । इलाका प्रहरी कार्यालय तुलसीपुरको अतिक्रमित जग्गा खाली गर्ने प्रक्रिया सुरु भएको छ। स्थानीय बासिन्दाले प्रहरीसँगको सहमतिपछि आफैं घर खाली गर्न थालेका हुन्।

कार्यालयको उत्तरतर्फ करिब २ कठ्ठा जग्गा अतिक्रमणमा परेको थियो, जहाँ ९ वटा घर निर्माण गरिएका थिए। ती सबै घरधनीले अहिले सामान सार्दै जग्गा खाली गर्न थालेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए।


उनका अनुसार ९ घरमध्ये दुई परिवार सुकुम्बासी भएकाले उनीहरूको व्यवस्थापन तुलसीपुर उपमहानगरपालिकाले गर्ने सहमति भएको छ।

प्रहरी कार्यालयको कुल ५ कठ्ठा १० धुर जग्गामध्ये २ कठ्ठा अतिक्रमणमा परेको थियो। कार्यालयले जेठ १२ गते १५ दिने सूचना जारी गर्दै जग्गा खाली गर्न आग्रह गरेको थियो। हाल प्रहरीकै सहयोगमा सामान ओसारपसार भइरहेको छ र कुनै विवादबिना जग्गा खाली भइरहेको प्रमुख पराजुलीले बताए।

जग्गा खाली भएपछि त्यही स्थानमा महिला सेलको भवन निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए। हाल सानो र साँघुरो भवनका कारण सेवा प्रवाहमा समस्या भइरहेको भन्दै उनले नयाँ भवन निर्माणलाई प्राथमिकता दिइने बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मन्त्रीहरु हाजिरी गरेर निस्किएपछि संसद स्थगित

   असार ०२, २०८३       admin

काठमाडौ,२ असार । प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूको अनुपस्थितिका कारण अवरोध भएको छ । विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि छलफल भइरहेका बेला सम्बन्धित मन्त्रीहरू बैठकमा सहभागी नभएपछि सोमबारको बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।

बैठकमा सांसद गोपाल शर्माले नियमावलीअनुसार मन्त्रीहरू उपस्थित हुनुपर्ने भए पनि अनुपस्थित रहेको भन्दै प्रश्न उठाएका थिए। उनले सम्बन्धित मन्त्री बिना मन्त्रालयगत शीर्षकमा छलफल हुन नसक्ने भन्दै आपत्ति जनाउँदै मन्त्रीहरूले संसदको अपमान गरेको टिप्पणी गरे।

त्यसपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगन गरेका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयसहित ८ मन्त्रालयको बजेटमाथि छलफल भइरहेका बेला मात्र तीन जना मन्त्री उपस्थित रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

   असार ०२, २०८३       admin

काठमाडौ,२ असार । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

अख्तियारको टोलीले उनलाई त्रिपुरेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो। विभागको ३०१ नम्बर कोठाबाट उनलाई नियन्त्रणमा लिइएको सुरक्षा स्रोतले जनाएको छ।

राहदानी छपाइसम्बन्धी अनियमितताको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको आयोगका एक उच्च अधिकारीले बताएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

टेम्पो भिरबाट खसाल्ने घटनामा वन अधिकृत र जमदारविरुद्ध मुद्दा दर्ता

   असार ०२, २०८३       admin

कैलाली,२ असार । एक महिलाको टेम्पो भिरबाट खसालिएको घटनामा दुई जना वनकर्मीविरुद्ध मुद्दा दर्ता गरिएको छ।प्रहरीका अनुसार वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइएको हो।

घटनामा नियन्त्रणमा लिइएका १२ जनामध्ये बाँकी १० जनालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पीडितको जाहेरीका आधारमा मुद्दा अघि बढाइएको हो।

घटनाबारे थप छलफलका लागि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पीडित, स्थानीय जनप्रतिनिधि तथा वन कार्यालयका पदाधिकारीसँग पुनः छलफल गर्ने तयारी गरिएको बताएका छन्।

यसअघि आइतबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाबीच छलफल भएको थियो भने सोही दिन १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिइएको थियो।

घटनाको छानबिनका लागि सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा बनेको समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

गत शुक्रबार कैलालीको गोदावरी नगरपालिका–४ अन्तर्गत भीमदत्त राजमार्गको बासपानी क्षेत्रमा स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो वनका कर्मचारीले भिरबाट धकेलेर खसालेका थिए।

धामीले सडक किनारमा टेम्पो रोकी पानी, चाउचाउ, बिस्कुट र अण्डा लगायतका सामग्री बिक्री गर्दै आएकी थिइन्। वन क्षेत्र अतिक्रमण गरेको भन्दै कर्मचारीले टेम्पो हटाउने क्रममा उक्त घटना भएको बताइएको छ।

घटनापछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो। यता वन कार्यालयले भने टेम्पो जानाजान नभई भौगोलिक अवस्था र असन्तुलनका कारण भिरबाट खसेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुन महँगियो, चाँदी सस्तियो

   असार ०२, २०८३       admin

दाङ,२ असार । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भई २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २०० रुपैयाँ कायम भएको थियो। आइतबार पनि सुन प्रतितोला १ हजार २०० रुपैयाँले बढ्दै २ लाख ९३ हजार २०० रुपैयाँ पुगेको थियो।

यता मंगलबार चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको मूल्य १२० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको थियो भने आइतबार ५५ रुपैयाँले वृद्धि भई ४ हजार ८९५ रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology