दाङ,१३ फागुन। दाङको घोराहीस्थित भरतपुरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानको भवन निर्माण कार्य सुरु भएको छ।
घोराहीको महेन्द्र बहुमुखी क्याम्पस परिसरमा संस्थानको पाँच तले, २० कोठे भवन निर्माण थालिएको हो। करिब २० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त भवनका लागि झन्डै २१ करोड रुपैयाँको लगानी रहने जनाइएको छ।
भवन निर्माणको ठेक्का ‘खड्का निर्माण सेवा प्रालि’ले पाएको छ। निर्माण कम्पनीसँग फागुन ८ गते सम्झौता सम्पन्न भइसकेको छ र सम्झौताअनुसार २०८४ सालभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ।
यसअघि गत वैशाख २३ गते भवन निर्माणका लागि ३० करोड रुपैयाँ बजेट स्रोत सुनिश्चित गरिएको थियो। त्यसपछि बोलपत्र आह्वान गरी निर्माण प्रक्रिया अघि बढाइएको हो। बजेट सुनिश्चिततामा शंकर पोखरेल ले विशेष पहल गरेको जनाइएको छ। हाल उनलाई नेकपा एमालेले दाङ क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारका रूपमा अघि सारेको छ।
फागुन २१ गते हुने निर्वाचनका कारण आचारसंहिता लागू भएकाले भवनको शिलान्यास कार्यक्रम भने हुन सकेको छैन। निर्वाचन सम्पन्न भएपछि मात्रै शिलान्यासको औपचारिक कार्यक्रम गरिने बताइएको छ।
निर्धारित समयमै निर्माण कार्य सम्पन्न भए दाङमै पहिलोपटक विश्वविद्यालय तहबाट सूचना प्रविधि विषयको अध्ययन–अध्यापन सुरु हुने अपेक्षा गरिएको छ। यस क्याम्पसले दाङलाई सूचना प्रविधिको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
घोराहीमा इन्जिनियरिङ क्याम्पस स्थापनाको पहल सफल बन्दै जाँदा जिल्लावासी उत्साहित बनेका छन्। भविष्यमा दाङलाई स्वास्थ्य तथा सूचना प्रविधिको हबका रूपमा विकास गर्ने लक्ष्यमा यसले टेवा पुग्ने अपेक्षा गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१२ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले चुनावमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।
आयोगले राजनीतिक दल, नागरिक समाज, विद्यालय, शिक्षक तथा अभिभावकलाई उक्त आग्रह गरेको हो।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई धैर्य र संयमता अपनाउन आह्वान गरिएको छ।
शान्तिसुरक्षामा असर पार्ने गतिविधि बन्द गर्न, बालबालिकाको प्रयोग नगर्न/नगराउन र नागरिकको मानव अधिकारको सम्मान गर्न आयोगले नेपाल सरकारसहित सबै सम्बद्ध पक्षलाई अनुरोध गरेको छ।
निर्वाचन नजिकिँदै जाँदा विभिन्न स्थानमा देखिएका घटनाले शान्तिसुरक्षा र निर्वाचन वातावरणमा असर पार्न सक्ने भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
दाङ, रौतहट र पर्सालगायत जिल्लामा दलका कार्यकर्ताबीच भएका विवाद र झडपका कारण कतिपय स्थानमा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ।
आयोगले देशव्यापी निर्वाचन अनुगमनलाई तीव्र बनाएको जनाएको छ। राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताबाट हुने अमर्यादित र घृणायुक्त अभिव्यक्तिले निर्वाचन वातावरण अस्वस्थ बनाउन सक्ने खतरा रहेको भन्दै सामाजिक तथा सांस्कृतिक सद्भाव विथोलिने सामग्री प्रकाशन–प्रसारण नगर्न पनि आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२ फागुन । सरकारले तीनदिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। निर्वाचनको दिनलाई व्यवस्थित, शान्तिपूर्ण र व्यापक सहभागितामूलक बनाउन यस्तो निर्णय गरिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।
निर्वाचन आयोगको तयारी, सुरक्षा निकायको परिचालन, मतपेटिका ढुवानी तथा मतदाताको सहज सहभागितालाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको जनाइएको छ।
फागुन २१ गते देशभर एकै चरणमा प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाउने जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको प्राथमिकता मानव अधिकारलाई संस्थागत गर्नु र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु रहेको बताएकी छन्।
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पीडितमैत्री र विश्वसनीय ढङ्गले टुङ्ग्याउन नेपाल प्रतिबद्ध रहेको उल्लेख गरिन्।
सन् २०२६ का लागि परिषद्को अध्यक्षमा निर्वाचित हुने प्रतिनिधिहरूलाई बधाई दिँदै प्रधानमन्त्री कार्कीले जलवायु परिवर्तन, द्वन्द्व र विपद् जस्ता जटिल विश्वव्यापी सङ्कटहरूबीच मानव अधिकारको संरक्षण र प्रवर्द्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।
उनले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सरकारले आवश्यक सबै संयन्त्र र शक्ति परिचालन गरिसकेको पनि जानकारी गराएकी थिइन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१२ फागुन । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङलाई फोनमार्फत खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट पाँच लाख रुपैयाँ उपलब्ध गराइने जानकारी गराएका हुन्।
शर्माले सामाजिक सञ्जालमार्फत देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्याएकी प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’लाई यतिबेला सबैले साथ दिन जरुरी रहेको उल्लेख गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
सोमबार कप्तान साम्बाले घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी थिइन्।
२२ सय व्यक्ति फरार सूचिमा
रुकुम पूर्व ,१२ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा रुकुम पूर्वमा कर्मचारी खटनपटनलाई लिएर विवाद चर्किएको छ। पुथा उत्तरगंगा गाउँपालिकाका सहायक शिक्षा अधिकृत रामप्रसाद खड्काले आफूलाई तोकिएको मतदान अधिकृतको जिम्मेवारी अस्वीकार गरेका छन्।
जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वमा पत्र बुझाउँदै उनले शिक्षकहरूलाई उपेक्षा गरी स्वास्थ्यकर्मीलाई प्राथमिकता दिइएको भन्दै भूमे–९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, चुन्वाङको मतदान अधिकृत पद त्यागेको घोषणा गरेका हुन्। शिक्षकहरूको पेसागत गरिमामाथि विभेद गरिएको उनको आरोप छ।
स्वास्थ्यकर्मीलाई चुनावी कार्यमा खटाइएको विषयमा यसअघि नेपाल शिक्षक महासंघ र नेपाल पत्रकार महासंघले विरोध जनाइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत निर्वाचन अवधिमा स्वास्थ्यकर्मीलाई नियमित सेवामै केन्द्रित गर्न निर्वाचन आयोग नेपाललाई आग्रह गरेको थियो।
निर्वाचनको मुखैमा जिम्मेवार कर्मचारीले जिम्मेवारी त्यागेपछि जिल्ला निर्वाचन कार्यालय दबाबमा परेको छ। रुकुम पूर्वको एक मात्र निर्वाचन क्षेत्रमा पुष्पकमल दाहालसहित १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१२ फागुन । अमेरिकामा एक नेपाली परिवारमा बिभत्स हत्या भएको छ। अमेरिकाको भर्जिनिया राज्यको फायरफक्स शहरमा बसोबास गर्दै आएको एक नेपाली परिवारमा बिभत्स हत्या भएको हो।
स्थानीय प्रहरीका अनुसार पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा बस्दै आएका छत्रबहादुर थापाले आफ्नी श्रीमती बिन्दा थापा र छोरी ममता थापामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। घटनामा ज्वाइँ सन्तोष कुमार बस्नेत गम्भीर घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
प्रहरी कारबाहीका क्रममा आक्रमणकारी छत्रबहादुर थापामाथि गोली चलाइएको र उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटना सोमबार बिहान करिब ५ बजे आसपास भएको प्रहरीले जनाएको छ। घटनास्थलमा एक वर्षका शिशु समेत रहेको तर उनी सकुशल रहेको जानकारी दिइएको छ। घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको स्थानीय प्रहरीको भनाइ छ।
यसअघि पनि भर्जिनियामै नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरण सार्वजनिक भएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा उनका श्रीमान्माथि कानुनी कारबाही प्रक्रिया अघि बढिरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२ फागुन । महिलाको नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले दाङमा अन्तरपुस्ता महिलावादी नेतृत्व विकास तालिम सुरु गरिएको छ।
ओरेक नेपालको आयोजनामा आइतबारदेखि सुरु भएको तालिममा दाङ र बाँकेका करिब ३० जना महिलाको सहभागिता रहेको छ। तालिममा तुलसीपुर र घोराही उपमहानगरपालिका, शान्तिनगर तथा गढवा गाउँपालिकासहित विभिन्न स्थानीय तहमा सक्रिय महिला अधिकारकर्मी, सामाजिक अभियन्ता तथा समुदायस्तरमा काम गरिरहेका महिलाहरू सहभागी छन्।
फरक उमेर समूह र पृष्ठभूमिका महिलालाई एउटै मञ्चमा ल्याएर अन्तरपुस्ता सहकार्य र सामूहिक नेतृत्व निर्माण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।
तालिमको पहिलो दिन लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) सम्बन्धी अवधारणामाथि विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले समाजमा विद्यमान लैङ्गिक विभेद, संरचनागत असमानता तथा निर्णय प्रक्रियामा महिलाको न्यून प्रतिनिधित्वजस्ता विषयमा अनुभव साझा गरेका थिए।
अपाङ्गता भएका महिला र सीमान्तकृत समुदायका महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आवश्यक नीतिगत तथा व्यवहारिक उपायबारे पनि अन्तरक्रिया गरिएको थियो।
आयोजकका अनुसार तालिमको दोस्रो दिन नेतृत्व विकास, अधिकार सचेतना, नीति पैरवीका रणनीति तथा अन्तरपुस्ता सहकार्यका विषयमा समूहगत छलफल र प्रस्तुति गरिनेछ। यसले स्थानीय तहमा महिलाको सशक्त उपस्थिति र निर्णय प्रक्रियामा प्रभावकारी सहभागिता बढाउने विश्वास गरिएको आयोजकले जनाएको छ।
तालिमको सहजीकरण प्रशिक्षक रिता साहले गरिरहेकी छन्
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ फागुन । दाङ क्षेत्र नं. ३ मा आम जनता पार्टीकी उम्मेदवार पाण्डवी नेपाली नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन्।
सोमबार आयोजित चुनावी सभामा उम्मेदवार नेपालीसहित २३ जना नेकपामा प्रवेश गरेका हुन्। नवप्रवेशीलाई दाङ–३ का नेकपा उम्मेदवार धनबहादुर मास्कीले स्वागत गरेका थिए। कार्यक्रम नेकपा तुलसीपुर–९ को आयोजनामा सम्पन्न भएको हो।
चुनावी सभालाई सम्बोधन गर्दै मास्कीले संघीयता, समावेशी र धर्मनिरपेक्षतासहितको संविधान निर्माणमा नेकपाले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै मुलुकको रक्षाका लागि नेकपालाई मतदान गर्न आग्रह गरे। उनी लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधि सभा उम्मेदवार बनेका हुन्।
नवप्रवेशी पाण्डवी नेपालीले नेकपाको विचार मन परेकाले पार्टी प्रवेश गरेको बताइन्। कार्यक्रम वडा निर्वाचन परिचालन समितिका संयोजक मदन हमालको अध्यक्षता तथा सहसंयोजक दुर्गा शर्माको सहजीकरणमा सम्पन्न भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,११ फागुन । नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सातजना घाइते भएका छन् । सिन्धुलीको मरिण गाउँपालिका–४ सहानस्थित हिमालयन फुड कम्पनीमा नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार घाइतेमध्ये दुई जना नेपाली र पाँच जना चिनियाँ कामदार रहेका छन्। नेपाली कामदार नवराज बम्जनको दायाँ आँखा र खुट्टामा तथा गोर्कण कटुवालको टाउकोमा चोट लागेको छ। चिनियाँ कामदारहरूलाई कान, टाउको, हात, छाती र मुखमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते सबैको उपचार मरिण प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटमा भइरहेको छ। कामदार नवराज बम्जनलाई कामबाट निकालेको विषयलाई लिएर विवाद सुरु भई झडपमा परिणत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस