पाठ्यपुस्तकमा बीमा शिक्षा समेटिने

   पुष १, २०८२       admin

काठमाडौँ ,१९ पुस। नेपाल बीमा प्राधिकरणले विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि प्राधिकरणले सम्बन्धित निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र तथा सामाजिक अध्ययन विषयका विज्ञहरूको सहभागिता रहेको थियो। विद्यालय तहको अनिवार्य विषय सामाजिक अध्ययनको पाठ्यपुस्तक परिमार्जन तथा पुनर्लेखन गर्दा बीमाका विषयलाई प्राथमिकताका साथ समेट्ने उद्देश्यले अन्तरक्रिया गरिएको प्राधिकरणले जनाएको छ।

अन्तरक्रियामा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले विद्यालय तहदेखि नै बीमाको आवश्यकता र महत्वबारे जानकारी दिनु जरुरी रहेको बताए।

उनले बीमालाई मानव जीवनको अभिन्न अङ्गका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै सानैदेखि बीमाबारे चेतना फैलाउन सके जीवन र सम्पत्तिको वित्तीय सुरक्षामा सहयोग पुग्ने बताए। बीमाको दायरा विस्तार हुँदा जोखिम न्यूनीकरण हुने र देशको आर्थिक विकासमा समेत टेवा पुग्ने उनको भनाइ छ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले पाठ्यक्रम परिमार्जनका क्रममा बीमा शिक्षालाई सन्तुलित रूपमा समावेश गरिने जानकारी दिए। परिमार्जित पाठ्यक्रम सबै प्रक्रिया पूरा गरी आगामी २०८४ सालको शैक्षिक सत्रदेखि देशभर लागू हुने उनले बताए।

यस्तै, त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. रामकृष्ण तिवारीले पाठ्यपुस्तक लेखन तथा प्रश्नपत्र निर्माण गर्दा बीमासम्बन्धी विषयलाई समेट्न लेखक र विज्ञलाई आग्रह गरे।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्रस्तावित पाठ्यक्रम र शिक्षक निर्देशिकाका लागि आवश्यक विषयवस्तु पहिचान गरी पाठ्यक्रम विकास केन्द्रलाई सुझाव उपलब्ध गराइने बताए। अन्तरक्रियामा कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयमा बीमा शिक्षाका विभिन्न पक्ष समावेश गर्नेबारे छलफल भएको थियो।

कार्यक्रममा उपनिर्देशक पदमप्रसाद सोडारीले बीमा शिक्षा सम्बन्धी प्रस्तुति दिएका थिए। साथै विभिन्न निकायका पदाधिकारी तथा विषय विज्ञहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कोरिया जान नपाएको भन्दै इपिएस विद्यार्थीको विरोध प्रदर्शन

   पुष १६, २०८२       admin

काठमाडौं,१६ पुस । रोजगारीका लागि दक्षिण कोरिया जान नपाएको भन्दै इपिएस (EPS) प्रणाली अन्तर्गत छनोट भएका विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

बुधबार विद्यार्थीहरूले युवाको भविष्यसँग खेलबाड गरिएको आरोप लगाउँदै इपिएस कोरिया शाखा कार्यालय अगाडि, ग्वार्को (ललितपुर) मा विरोध प्रदर्शन गरेका हुन्। लामो समयदेखि प्रक्रिया अल्झिँदा आफूहरू अन्योलमा परेको उनीहरूको गुनासो छ।

प्रदर्शनकारीहरूले भाषा परीक्षा पास भइसकेका र सबै प्रक्रिया पूरा हुँदासमेत कोरिया जान नपाउनु दुःखद भएको बताएका छन्। उनीहरूले पारदर्शी प्रक्रिया, शीघ्र समाधान र तत्काल श्रम स्वीकृति तथा उडानको व्यवस्था गर्न माग गरेका छन्।

विद्यार्थीहरूका अनुसार ढिलाइका कारण रोजगारीको अवसर गुम्ने, मानसिक तनाव बढ्ने र आर्थिक समस्या झेल्नुपरेको छ। समस्याको तत्काल समाधान नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत उनीहरूले दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सरस्वती माविको ४५औँ वार्षिकोत्सव सम्पन्न

   पुष १३, २०८२       admin

दाङ, १३ पुस । दाङको घोराही उपमहानगरपालिका–५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोलले आइतबार एक कार्यक्रमका बीच आफ्नो ४५औँ वार्षिकोत्सव मनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्व तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख डिसीले घोक्ने र गृहकार्य सार्ने विद्यार्थीभन्दा युगसापेक्ष सिर्जनात्मक सोच भएका विद्यार्थी आजको समाज र देशले खोजिरहेको बताइन्। उनले शिक्षकहरूलाई विद्यार्थीलाई सिर्जनात्मक बनाउने शिक्षण विधिमा जोड दिन आग्रह गरिन्। अरू सबै गलत र आफू मात्रै सही भन्ने प्रवृत्ति समाजमा बढ्दै गएको उल्लेख गर्दै उनले विचारशील र नवीन सोच भएका नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिइन्।

विद्यालय बजारको केन्द्रमा रहे पनि अपेक्षाअनुसारको विकास हुन नसकेको बताउँदै उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खिमप्रकाश पुरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा विद्यालयको समग्र अवस्था, विद्यमान समस्या, समाधानका उपाय तथा आगामी रणनीतिहरू समेटिएको थियो। सबैको साझा प्रयासबाट विद्यालयलाई गुणस्तरीय शिक्षा र समग्र विकासको दिशामा अघि बढाइने प्रतिबद्धता उनले बताए।

सहायक प्रधानाध्यापक प्रकाश डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा चन्दादाता तथा समाजसेवी शंकर गौतम, अक्षयकोषदाता हरिप्रसाद सुवेदी जरा, पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेत, बाल विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर बुढा, शिक्षक अभिभावक संघका अध्यक्ष दिपबहादुर खत्री, विद्यालयका निवर्तमान प्रधानाध्यापक बसन्ता पौडेल, सूचना अधिकारी कुलशेखर शर्मा, प्लस–टु संयोजक शम्शेर नेपाली, आईटी संयोजक लक्ष्मण गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

वक्ताहरूले अभिभावक, शिक्षक र विद्यार्थीको साझा प्रयासबाट मात्र शिक्षाको गुणस्तर वृद्धि गर्न सकिने बताए। घोराही बजारको केन्द्रमा रहेको विद्यालयको चौतर्फी विकासका लागि सबै एकजुट हुनुपर्नेमा उनीहरूको जोड थियो।

कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक हेमराज शर्माले गरेका थिए।

वार्षिकोत्सवका अवसरमा गत शैक्षिक सत्रमा विभिन्न कक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै विभिन्न चन्दादाताद्वारा स्थापना गरिएका अक्षयकोषबाट विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो। वार्षिकोत्सवका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शिक्षक नायकहरूका लागि एक दिने अभिमुखीकरण

   पुष १२, २०८२       admin

दाङ,१२ पुस । दाङमा शिक्षक नायकहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेड क्रस सोसाइटी जुनियर युवा रेडक्रस जिल्ला समिति दाङको आयोजनामा जिल्लामा रहेका क्रियाशील शिक्षक नायकहरूका लागि उक्त अभिमुखीकरण कार्यक्रम गरिएको हो।

जुनियर युवा रेडक्रस समिति दाङका संयोजक भीमलाल मरासिनीको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी दाङका सभापति मदन गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा दाङ जिल्लाका ५१ वटा विद्यालयका शिक्षक नायकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा जनस्वास्थ्य निरीक्षक विमल केसीले दैनिक जीवनशैली, आहार–विहार तथा सुरक्षित, सुखी र खुसी जीवन कसरी जिउने भन्ने विषयमा आफ्नो प्रस्तुतिकरण राखेका थिए ।

त्यसैगरी रेडक्रस दाङका मन्त्री प्रकाश श्रीबन्दले व्यक्तित्व तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए। प्राविधिक सहायक ठाकुर पौडेलले रक्तदानको महत्व र सकारात्मक पक्षबारे जानकारी गराएका थिए ।

कार्यक्रमले विद्यालयस्तरमा मानवीय सेवा, स्वास्थ्य सचेतना र नेतृत्व विकासमा शिक्षक नायकहरूको भूमिका थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा अमर मावि प्रथम

   पुष १२, २०८२       admin

दाङ,१२ पुस। दाङको तुलसीपुरमा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको थियो। प्रतियोगितामा दुईसय अंक प्राप्त गर्दै अमर मावि प्रथम भएको छ । प्रथम हुने अमर माध्यमिक विद्यालयले नगद १० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी प्रतियोगितामा १५५ अंक प्राप्त गर्दै हाम्रो पहुँच सेकेण्डरी स्कुल, तुलसीपुरले द्वितीय स्थान हासिल गरी नगद ६ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ भने १४५ अंकसहित ज्ञान ज्योति माध्यमिक विद्यालय तृतीय भई नगद ४ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सन्दीपन रिजालको अध्यक्षता तथा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का पूर्व असिस्टेन्ट गभर्नर विमल रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिजालले पछिल्लो समय विद्यार्थी जीवन केवल किताबी ज्ञानमा सीमित हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले जीवनोपयोगी ज्ञान, समसामयिक विषयबोध, तार्किक क्षमता र आत्मविश्वास विकासका लागि हाजिरी(जवाफ प्रतियोगिताजस्ता बौद्धिक अभ्यासहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताए ।

‘विद्यार्थीको बौद्धिकताको वास्तविक मापन कक्षाकोठाभित्र लिइने परीक्षाबाट मात्र सम्भव हुँदैन,’ रिजालले भने, ‘हाजिरी(जवाफजस्ता प्रतियोगिताले बालबालिकामा स्वस्थ प्रतिस्पर्धी भावना विकास गर्नुका साथै समूहमा काम गर्ने क्षमता, समय व्यवस्थापन, आलोचनात्मक सोच र आत्मनिर्भर बन्ने सीप अभिवृद्धि गर्छ । यसले विद्यार्थीलाई केवल उत्तर दिन मात्र होइन, प्रश्न सोध्ने बानी, तार्किक तवरले सोच्ने क्षमता र आफ्ना विचार सार्वजनिक रूपमा प्रस्तुत गर्ने आत्मविश्वास पनि प्रदान गर्छ ।’

विगत लामो समयदेखि दाङ जिल्लाका विभिन्न क्षेत्रमा सामाजिक सेवामा सक्रिय रहँदै आएको रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरले शिक्षा क्षेत्रमा केही नयाँ गरौँ, बालबालिकामा रहेको ज्ञानलाई अझ अगाडि बढाऔँ भन्ने उद्देश्यसहित हरेक वर्षजस्तै यस वर्ष पनि हाजिरी(जवाफ प्रतियोगिता आयोजना गरिएको क्लबका भावी अध्यक्ष तथा कार्यक्रम संयोजक देवेन्द्र केसीले जानकारी दिए।

प्रतियोगिताको सञ्चालन क्लबका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले गरेका थिए भने औपचारिक कार्यक्रमको सहजीकरण क्लबका सचिव सचिन पौडेलले गरेका थिए ।

हाजिरी(जवाफ प्रतियोगितामा तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत गरी ११ वटा विद्यालयको उत्साहजनक सहभागिता रहेको थियो ।

सहभागी विद्यालयका शिक्षकहरूले यस्ता शैक्षिक गतिविधिले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै विद्यालयहरूबीच आपसी सहकार्य र स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने भएकाले समग्र शैक्षिक प्रणालीलाई अझ जीवन्त र प्रभावकारी बनाउन सहयोग पुग्ने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बालविवाह रोक्न विद्यालय केन्द्रित सचेतना अभियान

   पुष ११, २०८२       admin

सल्यान, ११ पुस । सल्यानको कालिमाटी गाउँपालिकामा बढ्दै गएको बालविवाहको समस्या न्यूनीकरण गर्न विद्यालय र अभिभावक लक्षित सचेतना अभियान सञ्चालन गरिएको छ । “बिहेवारी २० वर्ष पारी” भन्ने सन्देशसहित पालिकाभर यो कार्यक्रम अघि बढाइएको हो ।

गाउँपालिकाका सातै वडामा सञ्चालन गरिएको अभियानमा १० वटा माध्यमिक विद्यालयका १ हजार २५५ जना विद्यार्थी प्रत्यक्ष सहभागी बनेका छन् । यस्तै, ५ सय ४१ जना अभिभावकले पनि कार्यक्रममा सहभागिता जनाउँदै बालविवाहका जोखिम र असरबारे जानकारी लिएका छन् ।

कार्यक्रममा बालविवाहका कारण, यसले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा पार्ने असर, अभिभावक र समुदायको भूमिका, साथै रोकथामका उपाय र कानुनी व्यवस्थाबारे जानकारी दिइएको थियो ।

गाउँपालिकाका प्रशासकीय अधिकृत यज्ञबहादुर खत्री र इलाका प्रहरी कार्यालय कालिमाटीका प्रहरी वरिष्ठ नायब निरीक्षक कुलबहादुर खड्काले प्रशिक्षण दिएका थिए ।

कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्री केसीको अगुवाइमा सञ्चालित कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफू बालविवाह नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा सहभागी अभिभावकहरूले पनि सामाजिक दबाब र ‘कुरा मिलाउने’ चलनका कारण बालविवाह हुँदै आएको स्वीकार्दै अबदेखि सचेत भई यसको अन्त्यका लागि भूमिका खेल्ने बताएका छन् ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार २० वर्ष नपुगी विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुने र कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

बालविवाह भएको थाहा पाएमा विवाह भएको तीन महिनाभित्र जो कोहीले पनि उजुरी दिन सक्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मावि सेन्टरमा नयाँ व्यवस्थापन समिति

   पुष ११, २०८२       admin

दाङ , ११ पुस । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय सेन्टरमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ। मा.वि सेन्टरको शुक्रबार भएको अभिभावक । भेलाले सुरेश कुमार रावतको अध्यक्षतामा समिति गठन गरेको हो। विद्यालयको शैक्षिक गुणस्तर थप सुदृढ बनाउने उद्देश्यसहित नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।

गठित समितिको अध्यक्षमा सुरेश कुमार रावत सदस्यमा सरस्वती खनाल, भुपाल खनाल, शुशिला खड्का र नारायण प्रसाद रजौरे रहेका छन । समितिमा वडा अध्यक्ष दुजमान भण्डारी पदेन सदस्य रहेका छन भने प्रधानाध्यापक भागवत पौडेल सदस्य–सचिवको जिम्मेवारीमा रहेका छन ।
झण्डै २ हजार ५ सय विद्यार्थी अध्ययनरत रहेको मा.वि. सेन्टर क्षेत्रकै चर्चित र उत्कृष्ट विद्यालयका रूपमा परिचित छ । शैक्षिक अनुशासन, नतिजामुखी शिक्षण पद्धति तथा सह–पाठ्यक्रम गतिविधिमा विद्यालयले उल्लेखनीय प्रगति गर्दै आएको अभिभावकहरूले बताएका छन् ।

भेलामा सहभागी अभिभावकहरूले नयाँ व्यवस्थापन समितिले विद्यालयको समग्र शैक्षिक वातावरण अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै गुणस्तरीय शिक्षा, पूर्वाधार विकास र विद्यार्थी हितका कार्यक्रममा सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
नयाँ समिति गठनसँगै मा.वि. सेन्टरले आगामी दिनमा शैक्षिक उत्कृष्टताको यात्रालाई थप गति दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शिक्षामा लगानी बढाउनुपर्ने प्रधानमन्त्री कार्कीको जोड

   पुष १०, २०८२       admin

काठमाडौँ, १० पुस। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु आवश्यक रहेको बताइन्।

बिहीबार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा शिक्षामा पर्याप्त लगानी हुन नसकेको र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरण अन्त्य गर्नुपर्ने बताइन्।

प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक रहेको भनिन्। शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपका कारण नेपालको उच्च शिक्षा निरन्तर कमजोर बन्दै गएको उनले बताइन्।

उनले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थामा परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस भएको भन्दै यस विषयमा परामर्श र गृहकार्य भइरहेको जानकारी दिइन्।

“नेपालमा शिक्षामा लगानी गर्नु पर्ने आवश्यकता छ। साथै, दलीय राजनीतिकरणको अन्त्य गरी विश्वविद्यालयलाई प्राज्ञिक बहसको केन्द्र बनाउन सबैले प्रयास गर्नुपर्छ,” उनले भनिन्।

प्रधानमन्त्री कार्कीले उच्च शिक्षाका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न पनि जरुरी रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

१६ हजार बढी विद्यार्थी दिक्षित

   पुष १०, २०८२       admin


काठमाडौं, १० पुस। त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा १६ हजार तीन सयभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।

आज आयोजित समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्की सहित शैक्षिक क्षेत्रका व्यक्तिहरूले उनीहरूलाई दीक्षित भएको घोषणा गरेका हुन् ।

विश्वविद्यालयका अनुसार स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तहसमेत गरी कुल ८९ हजार एक सय एक जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन भइरहेको समारोहमा त्रिविको इतिहासमै पहिलो पटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्छ ।
कार्यक्रममा सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत विभिन्न प्राज्ञ र विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उपकुलपतिमाथि लगाइएका आरोप निराधार र भ्रामक: नेपाल संस्कृत विश्वविद्यालय

   पुष ०, २०८२       admin

दाङ,९ पुस। दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयले उपकुलपति प्रा।डा। धनेश्वर नेपालमाथि लगाइएका आरोपहरू कपोलकल्पित, प्रमाणहीन र भ्रामक भएको स्पष्ट पारेको छ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. भोजराज जोशीले जारी गरेको विज्ञप्तिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) को नाममा पुस ६ गते प्रकाशित विज्ञप्तिमार्फत् उपकुलपति प्रा.डा. नेपाल र कुलसचिव माधवप्रसाद अधिकारीमाथि लगाइएका आरोपहरू निराधार रहेको उल्लेख गरिएको छ।

पुस ६ गते बिहान उपकुलपति नेपालको निवासमै पुगेर मोसो दल्ने तथा कुटपिट गर्ने जस्ता दुर्व्यवहारका घटना भएका थिए। घटनापछि नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश समिति इञ्चार्ज प्रेमप्रशान्त बोहराले विज्ञप्तिमार्फत् घटनाको जिम्मेवारी लिँदै उपकुलपति नेपालमाथि आठ बुँदे आरोप लगाएका थिए।

ती आरोपमध्ये विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीमाथि भ्रष्टाचारको अभियोग लागेको अवस्थामा उपकुलपति नेपालले रकम असुली पुनः रजिष्ट्रारमा सिफारिस गरेको भन्ने आरोपलाई शिक्षाध्यक्ष जोशीले पूर्ण रूपमा खण्डन गरेका छन्। उनले यस्ता दाबीहरू मिथ्या र कपोलकल्पित भएको बताएका छन्।

विज्ञप्तिमा शिक्षाध्यक्ष जोशीले पूर्वाग्रह, गलत सूचना र स्वार्थी तत्वबाट फैलाइएका अप्रमाणित स्रोतमा भरोसा नगरी सत्य र सही सूचनाका आधारमा धारणा बनाउन सबै पक्षलाई आग्रह गरेका छन्। साथै, प्राज्ञिक संस्थाको मूल्य, मर्यादा र गरिमा जोगाउन सहयोगी भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ।

शिक्षाध्यक्ष जोशीले उपकुलपतिको निवासमा अनधिकृत प्रवेश गरी नेपाल कम्युनिस्ट पार्टी ९(बहुमत) तथा सोसँग सम्बद्ध विद्यार्थी संगठनका नाममा उपकुलपति प्रा.डा. नेपाल, उपप्रशासक खिमबहादुर केसी र उपकुलपतिका स्वकीय सचिव चोलेन्द्र रिजालमाथि सुनियोजित रूपमा गरिएको दुर्व्यवहार र आक्रमणको कडा निन्दा गरेका छन्।

घटनाले विश्वविद्यालयको शान्त, मर्यादित र शैक्षिक वातावरणमा प्रत्यक्ष असर पारेको जनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायसँग माग गरिएको छ। साथै, विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी तथा विभिन्न पेसागत संगठनका प्रतिनिधिहरूले पनि घटनाप्रति दुःख व्यक्त गर्दै निन्दा गरेका छन्।

नेपाल संस्कृत विश्वविद्यालय संस्कृत, संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा अध्ययन–अनुसन्धानमा निरन्तर सक्रिय ऐतिहासिक शैक्षिक संस्था भएको उल्लेख गर्दै यस्ता हिंसात्मक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने विज्ञप्तिमा भनिएको छ।

विश्वविद्यालयले सबै समस्या वार्ता, संवाद र सहमतिमार्फत समाधान सम्भव हुने विश्वास व्यक्त गर्दै शैक्षिक संस्थाको गरिमा, मूल्य र मर्यादा कायम राख्न सबै पक्षलाई संयम र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology