धान दिवसमा बिद्यार्थीको नौलो अनुभवः माटोसँग मितेरी

   असार १५, २०८२       admin

भिम मरासिनी, दाङ । आज असार १५ को हरियाली बिहानी। आकाश हल्का बादलले ढाकेको थियो। खेतमा चिरबिर स्वर र हाँसोको गुञ्जन । हरियो धानको बिरुवा र हिलो मिसिएको पानीबीच हरियो टीसर्ट लगाएका विद्यार्थीहरू मस्त खेलिरहेका थिए।
कोही हातमा बिरुवा समाएर रोपिरहेका थिए। कोही हिलोमा चिप्लिँदै रमाइरहेका थिए।

सदैव कापी–कलम र झोला बोकेर कक्षामा बस्ने यी विद्यार्थीहरू असार १५ धान दिवसको अवसरमा खेतमा उत्रिएका थिए।
दंगीशरण–४, बैबाङका किसान लक्ष्य बहादुर ओलिले उनीहरूलाई खेतमा अनुभव लिन निम्त्याएका थिए।

तुलसीपुरमा रहेको हिमाल एकाडेमीमा कानुन र व्यवस्थापन पढ्ने विद्यार्थीहरू अभ्यास सिक्न खेत पुगेका हुन्।

तीन घण्टा खेतको हिलोमा उनीहरूले जीवन उपयोगी सीप सिके। धानको बिरुवा रोप्दै उनीहरूले पसिना र अनुभव साटे।
केही विद्यार्थी घुँडासम्म हिलोमा डुबेका थिए। कोही साथीलाई हिलो दल्दै रमाइरहेका थिए।

कानुन विषय पढ्दै गरेकी प्रशंसा केसीले पहिलोपटक यस्तो काम गर्दा धेरै रमाइलो हुनुका साथै माटोको महत्व बुझेको बताइन् । उनीहरुले करिब तीन कठ्ठा खेतमा धान रोपेका थिए । धेरैका लागि यो नयाँ अनुभव थियो।

सैद्धान्तिकभन्दा व्यवहारिक ज्ञान दीर्घकालीन हुने भएकाले विद्यालयले समय–समयमा यस्ता कार्यक्रम सञ्चालन गर्ने गरेको प्रधानाध्यापक मधुसूदन केसीले बताए। हिलोमा धान रोप्न पाउँदा विद्यार्थीहरूको अनुहारमा हाँसो थियो। किसान पनि खुसी देखिन्थे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ज्ञान ज्योति देशकै उत्कृष्ट विद्यालयको सूचीमा

   असार १४, २०८२       admin

दाङ,१४ असार । शिक्षा सम्बन्धी प्रतिष्ठित सञ्चारमाध्यम एजुकेशन समाचारले सार्वजनिक गरेको २०८२ सालको देशभरिका उत्कृष्ट माध्यमिक विद्यालयहरूको सूचीमा तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालय देशकै ७ औँ स्थानमा पर्न सफल भएको छ।

४ हजार ७ सय ४१ विद्यालयहरूबाट मुल्याङ्कन गरेर तयार गरिएको सूचिमा ज्ञान ज्योति माविले भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, नतिजा, स्थापना वर्ष र जनधारणा (पिपुल्स पर्सेप्सन) लगायतका सूचकहरूमा उत्कृष्ट प्रदर्शन गर्दै सातौँ स्थान सुरक्षित गरेको हो। मुल्याङ्कनमा रिजल्टलाई ८० प्रतिशत र अन्य सूचकहरूलाई ४/४ प्रतिशत अंक प्रदान गरिएको थियो।

लगातार उत्कृष्ट प्रदर्शन
पछिल्ला दुई वर्षमा लगातार अब्बल ७ मा पर्न सफल भएको यस विद्यालयले वार्षिकरूपमा करिब ४८० विद्यार्थीलाई बोर्ड परीक्षामा सहभागी गराउँदै आएको छ। विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा कक्षा ११ र १२ मा अध्यापन गराउँदै आएको छ भने स्नातक तहमा BBS, BBA, BSc, BSc CSIT, BCA, BA, BA LLB तथा स्नातकोत्तर तहमा MBA जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

यसले जिल्लाबाहिर उच्च शिक्षाका लागि जानुपर्ने बाध्यतालाई पनि अन्त्य गरेको छ।

उत्कृष्टताको आधार—शिक्षा, अनुशासन र अवसर

विद्यालयका सिइओ सुरेन्द्र जिसीका अनुसार, “ज्ञान ज्योतिको सफलता कुशल नेतृत्व, सबल व्यवस्थापन, अनुभवी शिक्षक–शिक्षिकाहरूको समर्पण, र विद्यार्थीहरूको अनुशासन तथा लगनशीलता हो।” उनले थपे, “अभिरुचि र क्षमताका आधारमा समयसापेक्ष शिक्षण–शिक्षण विधि प्रयोग गर्दै आएका छौं, जसले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्न मद्दत गर्छ।”

विद्यालयले गुणस्तरीय, आत्मनिर्भर र स्वरोजगारमूलक शिक्षालाई प्राथमिकता दिएको छ। अतिरिक्त क्रियाकलापमा पनि विद्यालयको सशक्त उपस्थिति रहेको छ—नगर, जिल्ला तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता र उपलब्धि रहँदै आएको छ।

पुरस्कार र सम्मानको गौरवशाली इतिहास

ज्ञान ज्योति मावि स्थापनाको दोस्रो वर्षमै (२०६७ साल) शिक्षा मन्त्रालयबाट उत्कृष्ट विद्यालय को उपाधिसहित सम्मानित भएको थियो। त्यसयता विद्यालयले २०६९ देखि २०७५ सालसम्म लगातार उत्कृष्ट विद्यालय पुरस्कार प्राप्त गर्दै आएको छ। २०७९ मा देशकै उत्कृष्ट १५ माविमा सूचीकृत भए पनि हाल सातौँ स्थानमा उक्लिन सफल भएको हो।

सामाजिक उद्देश्यसहितको शिक्षा: सिइओ जिसीका अनुसार, विद्यालयको स्थापनाको मुख्य उद्देश्य आर्थिक अभावका कारण कोही पनि विद्यार्थी शिक्षाबाट बञ्चित नहोउन भन्ने रहेको छ। “पढ्न इच्छा र क्षमता हुने जो–कोहीका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु नै हाम्रो लक्ष्य हो”, उनले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एसईई नतिजाः सबैभन्दा बढी गणितमा फेल

   असार १३, २०८२       admin

काठमाडौँ, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बेलुका राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको नतिजामा सबैभन्दा बढी विद्यार्थी गणित विषयमा फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ सालको एसईईको नतिजा अनुसार गणित विषयमा सबैभन्दा बढी फेल भएका हुन् ।

गणित विषयमा मात्रै एक लाख २८ हजार २१५ जना ननग्रेडेड भएका छन् । त्यस्तै अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले ननग्रेडेड भएका छन् ।

यस्तै सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन् । लुम्बिनीबाट ९७ हजार ६८७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

कोशी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९ हजार७४९, गण्डकी प्रदेशबाट ४७ हजार ८४९, कर्णाली प्रदेशबाट ४६ हजार ४५५ र सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने ८ जना परीक्षार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सामुदायिक विद्यालयको शिक्षामा सुधारको संकेत

   असार १२, २०८२       admin

उमा भण्डारी, दाङ । कहिले ढलेका पर्खाल।  कहिले पानी चुहिने छाना । अनि कहिले भत्किएका भित्तासंग डराउँदै पढ्नुपर्ने बाध्यता । दाङका सामुदायिक विद्यालयहरूमा यस्ता चित्र सामान्य जस्तै हुन् । तर, अब ती चित्रहरू विस्तारै बदलिँदैछन्। यतिवेला सामुदायिक विद्यालयहरू चिटिक्क पारिएका छन् ।  रंगिएका भवनहरूले सजिएका छन्।

विद्यालयको संरचनाको स्वरुप परिवर्तन भएसंगै विद्यार्थीहरुको मुहारमा पनि खुशी देखिन थालेको छ । उनीहरु खुशी हुँदै विद्यालय आउने र पढ्ने वातावरण बनेको छ ।  लुुम्बिनी प्रदेश सरकारले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारमा गरेको लगानीले शिक्षा क्षेत्रमै नयाँ आशा पलाएको छ। विद्यार्थीहरुमा आत्मविश्वास जागेको छ कि, ‘अब हामीलाई डर लाग्दैन, छाना चुहिँदैन अनि  शौचालय जाँदा लजाउनु पर्दैन । ’

लुम्बिनी प्रदेश सरकारले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्न थालेपछि शिक्षाको स्तरमा सुधारको संकेत देखिन थालेको हो ।   तुलसीपुर उपमहानगरपालिका–१ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयमा ४ कोठे नयाँ भवन बनेको छ । उक्त भवनमा कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि अध्ययनको व्यवस्था मिलाइएको छ। भवन नवनिर्माण भएपछि विद्यार्थीहरूमा उत्साह थपिएको छ। गत वर्षसम्म पानी पर्दा पानी पर्दा चुहिने, झ्यालका पल्लाहरु निस्किएको, भत्किएको भवनमा पढ्नुपर्ने बाध्यता थियो । अहिले चिटिक्क रंगिएको कक्षाकोठा, बलियो पर्खाल, उज्यालो र फराकिलो कक्षाकोठाले विद्यार्थीहरुलाई नयाँ उर्जा थपेको विद्यालयका प्रधानाध्यपक टोप बहादुर घर्तीले बताए ।

प्रधानाध्यापक घर्ती भन्छन्, “आधुनिक कोठामा पढ्न पाउँदा विद्यार्थीहरू निकै खुसी छन्। अब शिक्षण–सिकाइ थप सहज र प्रभावकारी हुनेछ।”  उनले थप्दै भने– “जब वातावरण राम्रो हुन्छ, सिकाइ पनि स्वाभाविक रूपमा राम्रो हुन्छ। अहिले विद्यार्थीहरूमा अनुशासन, समयपालना र रुचि तीनै कुरामा परिवर्तन आएको देखिन्छ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन गरेको ४० लाख रुपैयाँको बजेटबाट विद्यालयको उक्त भवन निर्माण भएको हो ।स्थानीयवासी र अभिभावकहरूको २०% भन्दा बढी बढी श्रमदान र प्रदेश सरकारको ४० लाख बजेटमा उक्त भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले जानकारी दिए।

भवन निर्माणमा बजेट अपुग भएपछि रङरोगन र फिनिसिङको काम बाँकी रहँदा पनि प्रदेश सरकारले त्यसलाई बेवास्ता गरेन। आर्थिक वर्ष २०८१÷८२ मा थप १० लाख रुपैयाँ विनियोजन गरी रङरोगनको काम पूरा गरिएको छ । करिब ५०० विद्यार्थी अध्ययनरत विद्यालयमा नयाँ भवन बनेसँगै जीर्ण भवन विस्थापन गर्ने सपना पनि पलाएको छ।  बिस्तारै सबै कक्षालाई नयाँ संरचनामा स्थानान्तरण गर्ने र बालमैत्री वातावरणको विकास गर्ने विद्यालय व्यवस्थापन समितिको योजना छ ।

गुरुजजुर माध्यमिक विद्यालयको प्राङगण अहिले धुलो र हिलोमुक्त छ । भर्खरै मनसुन सुरु भएपनि विद्यालयको आँगनमा पानी जमेको देखिदैन । विगतमा हिलाम्मे र धुलाम्मे हुने विद्यालयको आँगन अहिले सफा, सजिएको र विद्यार्थीमैत्री छ । लुम्बिनी प्रदेश सरकारले विद्यालयको प्राङगण सूधारका लागि बजेट उपलव्ध गराएपछि विद्यालयको अनुहार बदलिएको विद्यालयकी प्रधानाध्यापक विष्णुकुमारी केसीले बताइन् ।

प्रदेश सरकारले दुई आर्थिक वर्षमा ३१ लाख बजेट विद्यालयका लागि उपलव्ध गराएपछि विद्यालयमा उक्त संरचना बनेको प्राधानाध्यापक केसीले जानकारी दिइन् ।  कहिले हिलो, कहिले धुलो। जसका कारण पढन्, हिड्न डुल्न, कार्यक्रमहरु गर्न, बालबालिकाहरुलाई खेल्न निकै समस्या भएको थियो, अहिले त्यो समस्या समाधान भएको छ, उनले भनिन्–‘ विद्यालयको प्रांगण केवल सुविधाको विषय होइन यो शिक्षाको अनुकूल वातावरणको जग हो, यो वनेपछि अहिले विद्यालयको सुन्दर मात्र होइन  स्वच्छ र सुरक्षित पनि बनेको छ । ’

२५ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत विद्यालयलाई  हाल ६ कोठे नयाँ प्राइमरी ब्लकको आवश्यकता रहेको उनले बताइन्। विद्यार्थीहरुको सँख्याको आधारमा कक्षाकोठा अपुग भएकाले नयाँ भवनको लागि बजेट माग गर्दै आएको उनी बताउँछिन् ।

महेन्द्र माध्यमिक विद्यालयमा अपांगमैत्री शौचालय निर्माण भएपछि छात्राहरू विशेष रूपमा खुसी छन्। पुरानो जीर्ण शौचालय प्रयोग गर्दा लाज, डर र असहजता भोग्दै आएका विद्यार्थीहरू अब सहज र सुरक्षित वातावरणमा शौचालय प्रयोग गर्न पाउँदा आत्मबल बढेको बताउँछन् ।

‘  पहिले त ट्वाइलेट पनि फोहोर, दुर्गन्धित र ढोका राम्रोसंग लाग्दैनथ्यो, ट्वाइलेट जानै गाह्रो थियो, एक छात्राले भनिन्–‘अहिले त ढुक्कले एक्लै  ट्वाइलेट जाने वातावरण बनेको छ ,हामी त एकदम खुशी छौँ।’ लुम्बिनी प्रदेश सरकारले विद्यालयमा ४ कोठे भवन निर्माणका लागि आर्थिक वर्ष २०८०÷८१ मा डिपिआर बाहेक ८० लाख बजेट उपलव्ध गराएको थियो ।

भवनको पूर्णता र विद्यालयमा शौचालय, क्यान्टिन निर्माणका लागि भन्दै आर्थिक वर्ष २०८१÷८२ मा एक करोड ४० लाग बजेट उपलव्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण लहरेले जानकारी दिए । उनका अनुसार अहिले विद्यालयमा ब्लक इट लगाउने काम भइरहेको छ । लुम्बिनी प्रदेश सरकारले सामुदायिक विद्यालयहरुको पूर्वाधार विकासमा लगानी लगाउन थालेपछि दाङका सामुदायिक विद्यालयहरूले नयाँ रूप लिइरहेका छन्।

भर्खरैसम्म जीर्ण भवन, कच्चा शौचालय र असुरक्षित कक्षाकोठामा पढ्दै आएका हजारौँ विद्यार्थीहरू अब रंगीन, पक्की र सुरक्षित भवनभित्र रमाउँदै सिक्न थालेका छन्। लुम्बिनी प्रदेश सरकारले शिक्षा क्षेत्रमा देखिएको भौतिक अभावलाई सम्बोधन गर्न थालेपछि जिल्लाभरि परिवर्तनको लहर चलेको हो।

११ महिनामा ५८ विद्यालयका पूर्वाधार निर्माण: चालु आर्थिक वर्ष २०८१÷८२ को करिब ११ महिनामा मात्रै दाङ जिल्लाका ५८ वटा सामुदायिक विद्यालयमा नयाँ भवन, पुस्तकालय, शौचालय, खेलमैदान र पर्खाल जस्ता संरचनाहरू निर्माण गरिएका छन् । सामाजिक विकास डिभिजन कार्यालय, तुलसीपुरका इन्जिनियर खेम वलीका अनुसार जिल्लामध्ये सबैभन्दा धेरै २२ वटा विद्यालयमा निर्माण कार्य घोराही उपमहानगरपालिकामा सम्पन्न भएको हो।

चालु वर्षमा घोराहीका ३१ वटा विद्यालयलाई पूर्वाधार सुधार कार्यक्रमअन्तर्गत समेटिएकोमा २२ मा काम सम्पन्न भइसकेको छ। त्यसैगरी, तुलसीपुर उपमहानगरपालिकामा २१ विद्यालयमध्ये १२ मा भवन निर्माण सम्पन्न भएको छ भने बाँकी ९ वटा विद्यालयमा काम जारी छ। बबई गाउँपालिकाका ११ विद्यालयमध्ये सबैमा भवन निर्माण सम्पन्न भइसकेको छ ।

लमही नगरपालिकाका  ६ वटा विद्यालय मध्ये ४ वटा विद्यालयमा निर्माण सम्पन्न भएको छ । गढवा गाउँपालिका पनि ४ विद्यालयमध्ये ३ मा काम सम्पन्न भइसकेको इन्जीनियर वलीले जानकारी दिए । यस्तै, शान्तिनगर गाउँपालिकामा ५ विद्यालयमध्ये ३ वटा विद्यालयमा पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ  । बंगलाचुलीमा  ८ विद्यालय, राजपुर गाउँपालिकामा १ विद्यालयमा संरचना निर्माण भइसकेको छ ।  

राप्ती गाउँपालिकामा पनि २ विद्यालयमध्ये एउटा विद्यालयमा काम सम्पन्न भइसकेको छ । जिल्लाका विद्यालयहरूमा नयाँ संरचना निर्माणका लागि प्रदेश सरकारले करिब ९ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ। घोराही उपमहानगरका ३१ विद्यालयका लागि रु. ३ करोड २३ लाख, तुलसीपुरका  २१ विद्यालयका लागि रु. ३ करोड ३० लाख, बबई गाउँपालिकाका लागि ८३ लाख, बंगलाचुलीका लागि ५५ लाख बजेट विनियोजन गरेको छ ।

यसैगरी, गढवा गाउँपालिकाका विद्यालयमा ५० लाख, लमही नगरपालिकाका विद्यालयमा ५१ लाख, शान्तिनगर गाउँपालिकामा ३७ लाख, राप्ती गाउँपालिकाका विद्यालयमा ३० लाख र राजपुर गाउँपालिकाका विद्यालयमा २० लाख बजेट विनियोजन गरेको सामाजिक विकास डिभिजन कार्यालय, तुलसीपुरका इन्जिनियर खेम वलीले जानकारी दिए। पुराना असुरक्षित संरचनाले पठनपाठनमा अवरोध ल्याइरहेको अवस्थामा प्रदेश सरकारले सुरु गरेको पूर्वाधार निर्माण अभियानले सामुदायिक शिक्षामा नयाँ भरोसा जगाएको छ।

यी भवनहरू मात्र पर्खाल र छानाले बनेका संरचना होइनन्।  यी भविष्यका सपना हुन्, आत्मगौरवका प्रतीक हुन्। दाङका विद्यालयमा देखिएको यो सकारात्मक लहरले सामुदायिक विद्यालयहरूमा प्रेरणा दिन सक्छ। सानो लगानीले पनि विद्यालय शिक्षामा ठुलो प्रभाव पार्न सक्छ ।

नेपालको संविधान २०७२ ले विद्यालयका संचरनाहरु बालमैत्री बनाउने प्रावधानलाई बालबालिका हक धारा ३९ को उपधारा ५ मा प्रत्येक बालबालिकालाई बालमैत्री वातावरणमा व्यक्तित्व विकास, उपयुक्त सहभागिता र संरक्षणमा रहने हक हुनेछ, भनि व्याख्या समेत गरिएको छ । यसर्थ , पनि  विद्यालयका अपुरा योजनालाई पूर्णता दिन प्रदेश सरकारले पूर्वाधारका मागहरुलाई निरन्तर प्राथमिकता दिइ बालमैत्री विद्यालयका पूर्वाधार निर्माणमा प्रदेश सरकारले लगानी बढाउन र यसलाइ प्राथमिकता  दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विद्यालयका सवारी चालकलाई ट्राफिक सचेतना दिइदै

   असार ११, २०८२       admin

दाङ,११ असार । दाङको तुलसीपुरमा विद्यालयका सवारी चालकलाई ट्राफिक सचेतना दिइने भएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन, दाङ) को आयोजना तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा ट्राफिक सचेतना कार्यक्रम गर्न लागिएको हो।

भोलि (बिहिवार) तुलसीपुरको दोघरेमा एकदिने ट्राफिक सचेतना दिइन लागेको एनप्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले जानकारी दिए।

दुर्घटना न्यूनीकरण गर्ने र विद्यार्थीहरूको गन्तव्य यात्रा सुरक्षित बनाउने उद्देश्यले विद्यालय सवारी चालकहरूलाई लक्षित गरी विशेष सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए ।

एनप्याब्सन दाङका अध्यक्ष न्यौपानेका अनुसार, विद्यालयका सवारी चालकहरूलाई यातायात सुरक्षाबारे जानकारी दिन तथा उनीहरूको जिम्मेवारीबोध गराउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

“सवारी चालकहरूको सर्तकता र जिम्मेवारीले विद्यार्थीहरूको सुरक्षामा ठूलो भूमिका खेल्ने भएकाले यस्तो कार्यक्रम आवश्यक देखिएको हो,” अध्यक्ष न्यौपानेले भने ।

कार्यक्रममार्फत सवारी नियम, प्राथमिक उपचार, आपतकालीन अवस्था व्यवस्थापन, र ट्राफिक सुरक्षासम्बन्धी विषयमा जानकारी दिने। साथै सवारी दुर्घटना न्यूनीकरणका उपाय, सडकरेखा तथा स्कुल बस निर्देशिका २०७४ लगाएतका विषयमा प्रशिक्षण गरिने छ ।

जसले गर्दा विद्यालय यातायातलाई थप सुरक्षित र भरपर्दो बनाउने कार्यक्रमको मुख्य उदेश्य रहेको न्यौपानेको भनाई छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ज्ञान ज्योति मावि ‘स्कुल अफ दि इयर’ अवार्डबाट सम्मानित

   असार ०, २०८२       admin


दाङ, ९ असार। दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यामिक विद्यालयलाई ‘नेशनल एजुकेसन अवार्ड २०२५’ अन्तर्गत ‘स्कुल अफ दि इयर’ अवार्ड प्रदान गरिएको छ।

असार ७ गते काठमाडौंमा फोकस नेपाल संस्थाद्वारा आयोजित “शिक्षा क्षेत्रका समस्या र समाधानका उपायहरू” विषयक विचार गोष्ठी, राष्ट्रिय शिक्षा सम्मान तथा विशेष सांस्कृतिक समारोहका अवसरमा विद्यालयलाई उक्त सम्मान प्रदान गरिएको हो।

विद्यालयको उत्कृष्ट शैक्षिक नतिजा, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, स्थापनाको अवधि तथा समय-समयमा देखाएको उपलब्धिलाई मूल्यांकन गरी ‘स्कुल अफ दि इयर’ अवार्ड दिइएको आयोजक संस्थाले जनाएको छ।

अवार्ड कार्यक्रमका अवसरमा विद्यालयका एकेडेमिक कोर्डिनेटर शरद गौतमले सम्मान ग्रहण गरेका थिए। विद्यालय देशभरका विद्यालयहरूमध्ये उत्कृष्ट सातौं स्थानमा पर्न सफल भएको आयोजकले जनाएको छ।

ज्ञान ज्योति मावि पश्चिम नेपालमै उत्कृष्ट व्यवस्थापनसहित सञ्चालन भइरहेको विद्यालयमध्ये एक मानिन्छ। यस विद्यालयले विगतमा पनि विभिन्न संकाय र स्तरमा उत्कृष्ट नतिजा हासिल गर्दै विभिन्न अवार्डहरू प्राप्त गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पाठ्यक्रम अद्यावधिकका लागि सुझाव संकलन

   असार ०२, २०८२       admin


दाङ, २ असार । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम अद्यावधिकको प्रक्रिया प्रारम्भ गरेको छ। पालिका भित्र रहेका विद्यालयहरूमा लागू गरिएको पाठ्यक्रममा देखिएका त्रुटिहरू सच्याउने, विषयवस्तुलाई व्यवस्थित तथा सरल बनाउने उद्देश्यले अद्यावधिक प्रक्रिया थालिएको हो।

यसै क्रममा सोमबार सञ्चारकर्मीहरूसँग बसेर सुझाव संकलन गरिएको छ। उपमहानगरपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाले पाठ्यक्रम सुधारका लागि विभिन्न सरोकारवाला पक्षहरूसँग छलफल गर्दै सुझाव लिइरहेको छ।

वि।सं। २०७९ देखि पालिकाभित्रका सबै विद्यालयहरूमा कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम लागू गरिएको थियो। तर कार्यान्वयनमा आएको पाठ्यक्रमले अझै पूर्णता नपाएको स्वीकार गर्दै शिक्षा शाखाका अधिकृत मान बहादुर खड्काले त्यसलाई प्रभावकारी बनाउने उद्देश्यले अद्यावधिक गर्न लागिएको जानकारी दिए।

शाखा प्रमुख चक्र बहादुर भण्डारीले हालको पाठ्यक्रममा रहेका त्रुटिहरू सच्याएर आगामी शैक्षिक सत्रदेखि सुधारिएको पाठ्यक्रम लागू गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार पाठ्यक्रममा अझै केही महत्वपूर्ण पक्षहरू समावेश हुन बाँकी रहेकाले सरोकारवालासँग परामर्श लिँदै अगाडि बढ्ने तयारी भइरहेको छ।

सञ्चारकर्मीहरूले पाठ्यक्रममा तुलसीपुरको ऐतिहासिक, सांस्कृतिक र सामाजिक पक्षलाई समेट्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले विद्यार्थीलाई आफ्नो समुदाय, परम्परा र संस्कृति बारेमा सुसूचित बनाउने सामग्री समावेश गर्नुपर्ने सुझाव दिए। साथै पाठ्यक्रममा भाषिक शुद्धता कायम गर्नुपर्नेमा पनि विशेष ध्यान दिन आग्रह गरे।

कार्यक्रममा शिक्षा विज्ञ महेन्द्र भण्डारीले स्थानीय पाठ्यक्रमको प्रारूप प्रस्तुत गरेका थिए भने सहजीकरण शिक्षा शाखाका अधिकृत मान बहादुर खड्काले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घोराहीमा माइल्सको सातौं शाखा बिस्तारः गुरुकुलमा सहयोग

   असार ०१, २०८२       admin

दाङ,१ असार । शैक्षिक परामर्श सेवामा सक्रिय माइल्स इन्टरनेसनल कन्सल्टेसीले आफ्नो सातौं शाखा दाङको घोराहीमा बिस्तार गर्दै औपचारिक उद्घाटन गरेको छ। विगत एक दशकदेखि युवा भविष्य निर्माणमा समर्पित यस संस्थाले घोराही शाखाको उद्घाटन गरी आफ्नो सेवा क्षेत्रलाई थप फराकिलो बनाएको हो ।

घोराही शाखाका अध्यक्ष किरण पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा शाखाको उद्घाटन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पाण्डेले अन्तर्राष्ट्रिय शिक्षा प्राप्तिका लागि मार्गदर्शन गर्ने यस्ता संस्थाको भूमिकालाई अत्यन्त महत्वपूर्ण बताए । उनले कन्सल्टेसीले युवालाई वैदेशिक शिक्षाको अवसरमा सहज पहुँच दिँदै दक्ष जनशक्ति निर्माणमा टेवा पुर्‍याइरहेको बताए । साथै उनले स्थानीय सरकार शिक्षाको क्षेत्रमा निजी संस्थाको योगदानलाई सदैव सकारात्मक दृष्टिले लिने उल्लेख गरे।

त्यसैगरी, पत्रकार महासंघका केन्द्रीय सदस्य प्रियासनले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूलाई सही जानकारी, योजना र मार्गनिर्देशन दिने कार्यमा माइल्स इन्टरनेसनलको योगदान प्रशंसायोग्य भएको धारणाराखे । विद्यार्थीले विदेश जानुअघि सुसूचित निर्णय गर्न पाउनु उनको अधिकार भएको र त्यसका लागि यस्ता परामर्श संस्थाहरूको भूमिका उदाहरणीय हुनुपर्नेमा उनले जोड दिए।

कन्सल्टेसीका सीईओ विवेक सिवाकोटीले संस्थाको १० वर्षे यात्राको विवरण दिँदै, हालसम्म युरोप, अमेरिका, यूके, क्यानडा, अस्ट्रेलिया, कोरिया, जापान लगायतका मुलुकमा ५०० भन्दा बढी विद्यार्थी पठाउन सफल भएको जानकारी दिए । उनले संस्थाको आगामी योजना र सेवा विस्तारसम्बन्धी प्रतिवद्धता पनि व्यक्त गरे।

उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुबेदी, त्रिभुवन नगर जेसीज दाङका अध्यक्ष अनन्त रावत लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै कन्सल्टेसीको प्रयासको प्रसंशा गरे । कार्यक्रमको स्वागत मन्तव्य इनुप भण्डारीले गरेका थिए भने सञ्चालन सन्दिप भुसालले गरेका थिए ।

यसैविच, माइल्स इन्टरनेसनल कन्सल्टेसी घोराही शाखाले गुरुकुलमा सहयोग सामग्री हस्तान्तरण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत घोराहीको शुक्रबारमा रहेको गुरुकुल स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री, खाद्यान्न र भान्सा प्रयोजनका सामग्रीहरू हस्तान्तरण गरेको थियो।

घोराही शाखाका प्रमुख दिर्शान सिंहले कन्सल्टेसी शैक्षिक सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्त्व दिने संस्थाको परिचय भएको स्पष्ट पारे। उक्त सहयोग कार्यक्रमको समन्वय युवा व्यवसायी मिनराज भाटले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गर्मीका कारण विद्यालयहरु एकसाता अँझै बन्द

   जेठ ३२, २०८२       admin

विरगञ्ज,३१ जेठ । गर्मीले जनजीवन प्रभावित बनेपछि विरगञ्जका विद्यालयहरुमा विदा थप गरिएको छ । केही दिनयता अत्यधिक गर्मी बढेर जनजीवन नै प्रभावित भएपछि विरगञ्ज महानगरपालिकाका विद्यालयहरूमा एक साता विदा थप गरिएको हो ।

महाननगरपालिकाले सामुदायिक तथा सार्वजनिक विद्यालयहरूमा असार १ देखि ६ गतेसम्मका लागि गर्मी बिदा थप गरेको हो। यसअघि महानगरपालिकाले विद्यालयहरूमा जेठ २९ र ३० गते दुई दिन मात्रै गर्मी बिदा दिएको थियो।

तर गर्मी कम हुनुको सट्टा झन् बढ्दै गएपछि महानगरपालिकाले शनिबार सूचना जारी गर्दै विद्यालयहरूमा असार १ देखि ६ गतेसम्मका लागि गर्मी बिदा थप गरेको हो। शनिबार वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले जारी गरेको सूचनामा ‘केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारणबाट विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने अवस्था देखिएकाले असार १ गतेदेखि असार ६ गतेसम्म ६ दिन वर्षे बिदा मिलान हुने गरी सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको छ।’उल्लेख छ ।

पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरूमा अहिले गर्मी अत्यधिक बढिरहेको छ। यस क्षेत्रमा केही दिनयता तापक्रम बढेर अधिकतम ४१ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विद्यार्थीहरुसँग जेसीज संवाद

   जेठ २७, २०८२       admin

दाङ,२६ जेठ। तुलसीपुर नगर जेसीजले विद्यार्थीहरूसंग जेसीज संवाद कार्यक्रम सम्पन्न गरेको छ। तुलसीपुर नगर जेसीजको आयोजनामा सोमबार तुलसीपुर क्षेत्रका आठ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा सामाजिक उत्तरदायित्व र मानवीय सेवामा समर्पित हुन विद्यार्थीहरुलाई प्रेरणा दिइएको थियो।

कार्यक्रमको अध्यक्षता तुलसीपुर नगर जेसीज वर्ष २०२५ का अध्यक्ष सन्दीप भूसालले गरेका थिए। कार्यक्रममा पूर्व अध्यक्षहरू पूर्ण विक्रम डाँगी र मोहन स्वीकारले युवाहरु समाजप्रति उत्तरदायी हुँदै मानवीय सेवामा आफूलाई समर्पित गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा हिमाल एकेडेमी, ज्ञानज्योती आधारभूत विद्यालय, ज्ञानज्योती सेकेन्डरी स्कुल, डिभाइन टेम्पल, दिव्यकुञ्ज, मेरिगोल्ड स्कुल, ग्रेट अरनिको स्कुल, र शान्तिदीप बोर्डिङ स्कुलका विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

अध्यक्ष भूसालले जेसीजको स्थापना, उद्देश्य, कार्यक्षेत्र र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय योगदानबारे विद्यार्थीहरुलाई जानकारी गराउँदै तुलसीपुर नगरमा संस्था सक्रियतापूर्वक विभिन्न सामाजिक सेवा गतिविधिमा क्रियाशील रहेको बताए।

विपद्को समयमा विद्यालय, अस्पताल, खानेपानी जस्ता क्षेत्रमा संस्था सक्रिय रहँदै आएको उनले बताए। साथै, नेतृत्व विकास, क्षमता अभिवृद्धि र उद्यमशीलताको प्रवर्द्धनमा जेसीजले निरन्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए।

ज्ञानज्योती आधारभूत विद्यालयकी शिक्षक सीता भण्डारीले बालबालिकामार्फत परिवार र समुदायमा सामाजिक चेतना फैलाउने यस्ता कार्यक्रमहरू प्रभावकारी हुने भन्दै आयोजकको प्रशंसा गरिन्।

कार्यक्रमको सहजीकरण महासचिव बुद्धिराज सापकोटाले गरेका थिए भने विषयवस्तुको बारेमा जानकारी कार्यक्रम संयोजक सागर न्यौपानेले गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology