सल्यान ,४ मंसिर ।सल्यानमा भएको ट्याक्टर दुर्घटनामा एक युवकको ज्यान गएको छ। छत्रेश्वरी–६ गोदेका २५ वर्षीय ट्याक्टर चालक देवेन्द्र सिंह रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रहरीका अनुसार रा १ त २४३८ नम्बरको ट्याक्टर छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराबाट लान्तीतर्फ जादै गर्दा बुधबार राति करीब सवा ८ बजे ढोरलाचौर नजिकै दुर्घटनामा परेको थियो।
अनियन्त्रित बनेर सडकबाट करीब १५ मिटर तल खसेको ट्याक्टरको पछाडिको टायरले च्यापिँदा चालक रावतको घटनास्थलमै मृत्यु भएको डीएसपी हेमबहादुर केसीले जानकारी दिए।
घटनापछि प्रहरी टोलीले अनुसन्धान अगाडि बढाइरहेको बताइएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३ मंसिर ।सुनसरीको रामधुनी मन्दिरमा लागेको बालाचतुर्दशी मेलामा सतबिउ छर्न पुगेका एक पुरुषको नुहाउने क्रममा मृत्यु भएको छ।
मोरङ सुन्दरहरैँचा–३ का देवेन्द्र भट्टराई बुधबार बिहान सतबिउ छर्ने क्रममा मन्दिर नजिकैको सुनसरी खोलामा नुहाउन जाँदा बेपत्ता भएका थिए।
इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक सञ्जिव ओलीका अनुसार देवेन्द्रसहित तीन जना खोलामा पसेका थिए। एक जनालाई तत्कालै उद्धार गरिएको भए पनि देवेन्द्र खोलाको गहिराइका कारण बेपत्ता भएका थिए। सशस्त्र प्रहरीको गोताखोर टोलीले उनको शव फेला पारेको हो।
यस्तै , केही दिनदेखि बेपत्ता इटहरी–२ की ३५ वर्षीया मन्जु पौडेल निरौलाको शव धरानको सर्दु जलाधार खोल्सामा फेला परेको छ। कार्तिक २४ गते बिहान घरबाट निस्किएका उनी नफर्केपछि आफन्तले खोजीका लागि उजुरी दिएका थिए।
खोजीका क्रममा कार्तिक २७ गते बौद्ध विहारनजिक उनीसंग सम्बन्धित पोसाक र सामान फेला परेपछि प्रहरीले खोजी तीव्र बनाएको थियो। अन्ततः सर्दु जलाधार क्षेत्रमा उनको शव भेटिएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटस्थित जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र अरविन्द प्रकाश शाहविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
शिक्षकको जागिर मिलाइदिने भन्दै दुवैले साढे ४ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परिएका थिए। अनुगमन तथा अनुसन्धानपछि उनीहरूले घुस रकम लिएको प्रमाणित भएको आयोगले जनाएको छ।
अख्तियारले दुवैलाई जनही साढे ४ लाख रुपैयाँ बिगो तोकेर प्रचलित कानुनअनुसार सजाय माग्दै मुद्दा दायर गरेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३ मंसिर । कपिलवस्तुमा ८ दिने आधारभूत मेलमिलाप तालिम सम्पन्न भएको छ। बुद्धभूमि नगरपालिका कपिलवस्तु र जनहित संरक्षण मञ्च (प्रो पब्लिक) को संयुक्त आयोजनामा “हाम्रो समस्या, हाम्रै समाधान : मेलमिलाप” भन्ने नारासहित उक्त तालिम सम्पन्न भएको हो
नागरिक शान्ति सेवा कार्यक्रमअन्तर्गत प्रो पब्लिकले विगत तीन वर्षदेखि स्थानीय तहमा उत्पन्न विवादहरूलाई समूदायकै सहभागितामा दीगो रूपमा समाधान गर्ने उद्देश्यका साथ विभिन्न तालिमहरू संचालन गर्दै आएको छ। यसै क्रमलाई निरन्तरता दिँदै, नगरपालिका अन्तर्गत १० वटै वडामा स्थापना भएका मेलमिलाप केन्द्रहरूमा निष्पक्ष, विधिसम्मत र प्रभावकारी ढंगले विवाद समाधान गर्न सक्षम मेलमिलापकर्ता तयार गर्ने लक्ष्यसहित दोस्रो चरणको यो तालिम आयोजना गरिएको कार्यक्रम संयोजक झबिन्द्र अधिकारीले जानकारी दिए।
मेलमिलाप परिषद्मा सूचीकृत र आधिकारिक तालिम प्रदान गर्ने स्वीकृति प्राप्त संस्था प्रो पब्लिकका प्रशिक्षक अधिवक्ता कविता पाँडे र झबिन्द्र प्रसाद अधिकारीले संयुक्त रूपमा तालिम सञ्चालन गरेका थिए।
तालिममा मेलमिलापसम्बन्धी कानुनी प्रावधान, सञ्चार तथा सहजिकरण सीप, मेलमिलापकर्ताको गुण तथा भूमिका, चरणगत मेलमिलाप प्रक्रिया, मानव अधिकार, मनोसामाजिक पक्ष तथा प्रशंसनीय दृष्टिकोणलगायत विषयमा सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
कार्तिक २७ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन भएको तालिमबाट ३० जना स्थानीय अगुवाहरू मेलमिलापकर्ताका रूपमा तयार भएका छन्।
समापन कार्यक्रममा सहभागीहरूले तालिमले व्यक्तिगत व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको, स्वयम्सेवा गर्ने भावना जागृत भएको र विवाद समाधान गर्ने आत्मविश्वास बढेको अनुभव साझा गरे।
नगर प्रवक्ता तथा वडाध्यक्षका प्रतिनिधि तेज ब. बस्नेत (तिलक) ले वडाले सक्षम व्यक्तिहरूलाई तालिमका लागि सिफारिस गरेको बताउँदै, फौजदारी प्रकृतिका विवाद तथा वडाको अधिकारक्षेत्रबाहिर पर्ने विवाद स्थानीय मेलमिलापकर्ताले हेर्न नहुने कुरा स्पष्ट गरे।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराईले मेलमिलाप प्रवर्द्धनका लागि आवश्यक भौतिक तथा बजेट व्यवस्थापन नगरपालिकाले गर्दै आएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता उपप्रमुख तथा न्यायिक समिति संयोजक मिरा थारुले न्यायिक समितिको कार्यमा मेलमिलापकर्ताले दिन सक्ने सहयोगप्रति विश्वास व्यक्त गर्दै सहभागी, आयोजक तथा प्रशिक्षकप्रति धन्यवाद दिँदै तालिम समापन गरे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३ मंसिर । तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षका पहिलो चार महिनामा ७२ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। साउनदेखि कात्तिक मसान्तसम्म ८९ करोड ९१ लाख ६१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा ८०.२५ प्रतिशत मात्र संकलन भएको कर अधिकृत उपेन्द्र पुन मगरले जानकारी दिए।
गत वर्षको यही अवधिमा कार्यालयले ७० करोड ३८ लाख ५८ हजार रुपैयाँ संकलन गरेको थियो। यस वर्ष लक्ष्य अनुपातमा राजस्व घट्नुका कारणबारे प्रमुख कर अधिकृत श्रीधर टण्डनले आयकर विवरण नपेश गर्ने करदाताको संख्या बढ्नु, जेन-जी आन्दोलनका कारण कार्यालयमा क्षति हुँदा सेवा प्रभावित हुनु, मालपोत कार्यालयमा पुँजीगत लाभकर कमी हुनु लगायत कारण छन्।
टण्डनका अनुसार पुँजीगत खर्चमा कमी, ब्याजदर घट्दा ब्याज कर घट्नु, आन्दोलनपछि कार्यालय व्यवस्थापनमा ध्यान दिनुपर्ने भएकाले प्रवर्द्धनात्मक तथा निरोधात्मक गतिविधि तीव्रता दिन नसकिएको पनि राजस्व घट्नामागि रहेको छ।
गत आर्थिक वर्ष २०८१–८२ मा कार्यालयले तीन अर्ब १४ करोड ८६ लाखको लक्ष्यमध्ये दुई अर्ब ९४ करोड २४ लाख राजस्व संकलन गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ५४ करोड ६० लाख बढी हो।
चालु वर्षमा बाँकी अवधिमा प्रभावकारी करदाता शिक्षा, आर्थिक ऐन २०८२ मा प्रदान गरिएका छुट सुविधाको प्रचार–प्रसार, कर छली नियन्त्रण, बक्यौता असुली लगायतका कार्यलाई तीव्र बनाउँदै वार्षिक लक्ष्य पूरा गर्ने प्रतिबद्धता टण्डनले व्यक्त गरे।
आर्थिक ऐन २०८२ ले भ्याट, अन्तशुल्क तथा आयकरका विभिन्न श्रेणीका करदातालाई पुस मसान्तसम्म छुट सुविधा उपलब्ध गराएको कार्यालयले जनाएको छ। करदातालाई समयमै सुविधा उपयोग गर्न कार्यालयले आग्रह गरेको छ।
सञ्चारमाध्यम, उद्योग वाणिज्य संघलगायतसँग समन्वय गरी छुट सम्बन्धी प्रचार–प्रसार गर्न अनुरोध गरिएको छ। कार्यालयका सेवा सरल, सहज र गुणस्तरीय बनाउन अनलाइन प्रणालीमार्फत कर भुक्तानी, कर विवरण, करचुक्ता प्रमाणपत्र लगायत सेवा उपलब्ध गराइएको जानकारी पनि टण्डनले दिए।
सेवाग्राहीलाई सहजीकरण गर्न उद्योग वाणिज्य संघको सहकार्यमा करदाता सहायता कक्ष सञ्चालनमा छ भने राजस्व बुझाउन ग्लोबल आइएमई बैंकको काउण्टर कार्यालयमै सञ्चालन गरिएको छ।
लुम्बिनी प्रदेशअन्तर्गत दाङ, पूर्वी रुकुम, रोल्पा र प्युठानमा ४३ हजार ३९ व्यावसायिक, एक लाख २४ हजार ६९८ व्यक्तिगत तथा ७६६ संस्थागत स्थायी लेखा नम्बर (PAN) दर्ता गरिएका छन्।
जेन-जी आन्दोलनका क्रममा कार्यालयका तीनवटै भवन तथा सवारीसाधन जलेर नष्ट भएपछि केही दिन सेवा पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि अस्थायी रूपमा उद्योग वाणिज्य संघको कार्यकक्षबाट सेवा दिइएको र हाल त्रिसिद्धेश्वरी मन्दिरस्थित धर्मशालाबाट सेवा सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३ मंसिर । बारामा असहज परिस्थिति सिर्जना भएपछि एमाले नेताहरू काठमाडौं फर्किएका छन्। बुधबार बिहान सिमरामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत र भानुभक्त ढकाललगायतका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिमरातर्फ जान लागेका थिए।
तर उनीहरूको आगमनको जानकारी पाएपछि जेनजी युवाहरूले विमानस्थल परिसरमा प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। अवस्था नियन्त्रण गर्न स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेसँगै विमानस्थल अस्थायी रूपमा बन्द गरिएको हो।
उडान रोकिएपछि आफूहरू फर्किएको एमाले नेता बस्नेतले बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बिहीबारदेखि सिंहदरबार परिसरबाटै सेवा प्रवाह गर्न लागिएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सिंहदरबारको दक्षिण–पश्चिम भागमा रहेका नेपाली सेनाको नर्सिङ दल गणले आफ्नो कार्यालय उत्तरतर्फ सारेसँगै खाली भएको जग्गामा अस्थायी प्रिफ्याब भवन निर्माण गरिएको छ। विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा तयार पारिएका ६ वटा प्रिफ्याब भवनमा बिहीबारदेखि औपचारिक रूपमा काम सुरु हुने बताइएको छ।
गत भदौ २४ मा ‘जेनजी’ आन्दोलनका क्रममा आगलागी हुँदा रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन पूर्ण रूपमा जलेर नष्ट भएको थियो। हाल मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को नयाँ भवनबाट कार्यरत छ।
प्रवक्ता बुढाथोकीका अनुसार जनसंख्या महाशाखा र स्वास्थ्य आपतकालीन केन्द्र बाहेकका सबै कार्य अब सिंहदरबारमै सञ्चालन हुनेछन्। उनले आवश्यक संरचनाहरूको थप व्यवस्थापन पूरा भएपछि केही दिनमै मन्त्रालय पूर्ण रूपमा सिंहदरबार सर्ने जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३ मंसिर । सिमरा विमानस्थलमा बुधबारका सबै उडान रद्द भएका छन्। बिहानैदेखि विमानस्थल क्षेत्रमा जेनजी युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको कारण वातावरण तनावग्रस्त बनेपछि उडान स्थगित गरिएको बुद्ध एयरलाइन्सले जनाएको छ।
बुद्ध एयरले काठमाडौं–सिमरा रुटमा दैनिक पाँच उडान भर्दै आएकोमा बुधबार बिहान ९ बजे भएको एक उडान बाहेक बाँकी चार उडान रद्द गरिएको कम्पनीले जानकारी दिएको छ।
विमानस्थलमा भएको झडपपछि सुरक्षा जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले विमानस्थल आसपासका क्षेत्रमा आज बेलुकी ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३ मंसिर । नेपाल टेलिकमले कर्णालीका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा विस्तार गर्दै नयाँ स्थानहरूमा सेवा सञ्चालनमा ल्याएको छ।
टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार हुम्लाको सर्केगाड–३ र ६ मा 2G तथा 4G सेवा औपचारिक रूपमा सक्रिय गरिएका छन्। यसअघि दूरसञ्चार पहुँच सीमित रहेका सर्केगाड २, ३, ४ र ६ का गाउँबस्तीका उपभोक्ताले पहिलो पटक गुणस्तरीय 2G/4G सेवा प्रयोग गर्न पाएका छन्।
उनापानी, स्यालटाडी, बराई गाउँ, ठूलाचौर, साधेकाट, रिपा र सर्केदेउललगायत क्षेत्रमा पनि नेटवर्क सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ। यससँगै देशभर 4G सेवा पुगेका स्थानीय तहको संख्या ७४९ पुगेको छ।
यसबाहेक हुम्लाकै अदानचुली–६ मा समेत 2G/4G सेवा सञ्चालनमा आएपछि अदानचुली–२, ३, ४, ५ र ६ का वडामा पर्ने गाउँबस्तीका उपभोक्ता लाभान्वित भएका छन्। पानचौर, कालिका लगायतका स्थानहरूमा पनि सेवा सुरु गरिएको कम्पनीले जनाएको छ।
दैलेखको गुराँस गाउँपालिकामा 4G सेवा चालू भएपछि गुराँस–३, ४ र ५ का बस्तीहरू, गुराँस बजार, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्ला, साथै वीरेन्द्रनगर–१४ को बयलकाँडा र बराहताल–९ को लेकगाउँमा रहेका उपभोक्ताले पहिलो पटक उच्चगति सञ्चार सेवा पाएका छन्।
जाजरकोटको जुनीचाँदे गाउँपालिकाको कोत्राङ्गमा पनि 2G/4G सेवा सक्रिय गरिएपछि वडा नं. ७, ८, ९, १० र ११ भित्रका गाउँबस्तीका बासिन्दा दूरसञ्चार पहुँचमा जोडिएका छन्।
त्यस्तै, डोल्पाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका दर्जनौं बस्ती पनि सेवा दायरामा आएका छन्। वडा–१० को मिदग्ती लेकमा फोरजी टावर सञ्चालनमा आएपछि पहिलेदेखि सञ्चारविहीन रहेका फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहितका धेरै गाउँहरू अब मोबाइल नेटवर्कमा जोडिएका छन्।
सुलिगाडस्थित राष्ट्रिय निकुञ्ज कार्यालय, सैनिक ब्यारेक, छेप्का, भोक्पा, सागबारी आदिजस्ता स्थानहरूमा पनि सेवा पुगेको टेलिकमले जानकारी दिएको छ।
टेलिकमका अनुसार सरकारको ‘ग्रामीण तहसम्म दूरसञ्चार सेवा विस्तार’ नीतिअनुसार कम प्रतिफल र उच्च लागत हुने स्थानहरूमा पनि समानरूपमा सेवा विस्तारको काम जारी राखिएको छ।
दुर्गम तथा अति विकट भूभागका नागरिकलाई डिजिटल सुविधामा जोड्न निरन्तर सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २ मंसिर । दाङको तुलसीपुरमा दुईदिने नमुना युवा संसद अभ्यास सम्पन्न भएको छ। ज्ञान ज्योति माध्यमिक विद्यालयको आयोजना तथा द नेशनल युथ वेलफेयर नेपालको प्राविधिक सहयोगमा ‘ दोस्रो नमुना युवा संसद ज्ञानज्योति–२०८२’ सम्पन्न भएको हो।
विद्यालयका भाइस प्रिन्सिपल मनोज केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
दुई दिनसम्म चलेको अभ्यासमा विद्यार्थीहरूले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका संयन्त्रका कानुनी प्रक्रिया, नीति निर्माण र कार्यान्वयनका विषयमा व्यवहारिक अभ्यास गरेका थिए।
कार्यक्रमको समापनका प्रमुख अतिथि मास्कीले विद्यार्थीलाई राजनीति राष्ट्रको मेरुदण्ड भएको बताउँदै यसप्रति बनेको नकारात्मक धारणामा परिवर्तन ल्याउन आग्रह गरे। “राजनीति फोहोरी खेल होइन, सेवा हो,” मास्कीले भने,- “समाज रूपान्तरण गर्ने शक्ति राजनीति र राजनीतिक दलहरूसँग हुन्छ।”
विद्यार्थीको सक्रियता र प्रस्तुतिको प्रशंसा गर्दै उनले थपे,“तपाईंहरू अहिले देखाइरहेको सीप र सोच नै भोलिका नेतृत्व क्षमता हुन्। राज्य, संसद र कानूनबारे यसरी व्यवहारिक अभ्यास गर्नु भनेको भविष्यको जिम्मेवारी लिन सिक्नु हो।”
उनले समाजमा राजनीति र दलप्रति नकारात्मक सोच बढे पनि विद्यार्थीले वास्तविकता पहिचान गर्नुपर्ने समय भएको बताए।
“कतिपय व्यक्तिको आचरणका कारण राजनीति बदनाम देखिए पनि यसको मूल उद्देश्य सधैं समाज परिवर्तन र नागरिकको सेवा हो,” उनले भने, -“देशलाई सही दिशामा लैजान सक्षम माध्यम राजनीति नै हो।”
मुलुकको संवैधानिक व्यवस्था, संसदको भूमिका र राज्यका जिम्मेवारीबारे विद्यार्थीले प्राप्त गरेको व्यवहारिक सिकाइप्रति प्रशंसा समेत गरेका थिए।
समाजका आवश्यकता पूरा गर्ने नेतृत्व राज्यलाई चाहिने र त्यो नेतृत्व यस्तै अभ्यासबाट सम्भव रहने उनको भनाइ थियो।
कानुन संकाय संयोजक सोमराज बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको समापन कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसी र विद्यार्थी पारस ओलीले गरेका थिए।
दुई दिनसम्म सञ्चालन भएको उक्त नमुना संसद अभ्यास कार्यक्रमको प्रमुख प्रशिक्षकका रूपमा द नेसनल युथ वेल्फेयर नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर खत्री रहेका थिए।
कार्यक्रममा विभिन्न विधाहरूमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट बहसकर्ताको रूपमा पुष्कर कठायत प्रथम, दिवस बिक द्वितीय र हरिस्मस राम्जा तृतीय घोषित भए।
उत्कृष्ट अनुसन्धानकर्तामा पुस्पा ओली प्रथम, प्रकृति बुढाथोकी द्वितीय र प्रमोद केसी तृतीय बने। नेतृत्वकर्तामा दिया केसी प्रथम, सन्देश घर्ती द्वितीय र अंकित ओली तृतीय भएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले विद्यार्थीले देखाएको क्षमताले शिक्षामा गरिएको लगानी सफल भएको प्रमाण गरिएको बताए।
विद्यार्थी सन्देश घर्तीले कानुन निर्माण प्रक्रिया, छलफल तथा राजनीतिक अभ्यासबारे महत्वपूर्ण सिकाइ प्राप्त भएको अनुभव सुनाए।
विद्यालयका भाइस प्रिन्सिपल मनोज केसीले विद्यार्थीमा नेतृत्व तहमा पुग्ने क्षमता रहेको उल्लेख गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस