काठमाडौ,१७ कार्तिक । सुन कारोबारको बहानामा झापामा एक युवकको हत्या गरिएको खुलासा भएको छ। प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ भने एक जना भारतीय नागरिक फरार रहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, शिवशताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको योजनाबद्ध रूपमा हत्या गरिएको हो। प्रारम्भिक अनुसन्धानले सुन कारोबारको लोभ देखाएर अपहरण गरी हत्या गरिएको पुष्टि गरेको छ।
काठमाडौंमा बस्दै आएका सरोज शर्माको चिनजान झापाका २७ वर्षीय सुनिल साहसँग भएको थियो। शर्माले सस्तोमा सुन पाइने र आफैं किन्ने वा अरूलाई पनि किनिदिने भन्दै कुरा गर्थे। यही कुरा सुनेपछि सुनिल र उनका २३ वर्षीय भान्जा राहुल साहले पैसा लुट्ने उद्देश्यले योजनाबद्ध हत्या गर्ने तयारी गरेका थिए।
गत कात्तिक ९ गते सुनिलले सरोजलाई भारतबाट ल्याएको सुन देखाउने भन्दै भेट्न बोलाए। त्यसपछि उनीहरू अर्जुनधारा नगरपालिका–४ को दहिझोडा सामुदायिक वनतर्फ गए। प्रहरीका अनुसार, त्यहाँ पुगेपछि विवाद भएपछि सुनिल र राहुलले हथौडा प्रहार गरी सरोजको हत्या गरेका थिए।
हत्या गरेपछि उनीहरूले शवलाई लुकाउनका लागि सरोजकै गाडी (बा.प्र.०१–३० च ७१९४) प्रयोग गरी झापा गाउँपालिका–५, हुलाकी मार्गस्थित बिरिङ खोलाको पुलमुनि गाडेको प्रहरीले जनाएको छ। त्यसपछि अपराध लुकाउनका लागि कात्तिक १३ गते राति मेचीनगर–१३, निचाझोडा सिमसार क्षेत्रमा गएर गाडीमा आगो लगाएका थिए।
कात्तिक ९ गतेदेखि सम्पर्कविहीन भएका सरोजबारे परिवारले प्रहरीलाई खबर गरेपछि खोजतलास सुरु भएको थियो। त्यस क्रममा प्रहरीले कात्तिक १३ गते राति जलिरहेको अवस्थामा उनको गाडी फेला पारेको थियो। खोजी विस्तार गर्दै जाँदा कात्तिक १५ गते राति बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा शव भेटियो।
प्रहरीले आशंकाको आधारमा सुनिल र राहुललाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा दुवैले अपराध स्वीकार गरेको जनाएको छ। घटनामा संलग्न अर्का एक भारतीय नागरिक भने फरार छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश, उपद्रव र ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस