दाङ,१० जेठ । दाङको तुलसीपुरमा एक १९ वर्षीया किशोरीमाथि सामूहिक करणी भएको छ। करणीको आरोपमा दुई जना पक्राउ परेका छन् भने एक जना फरार रहेका छन्।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका २४ वर्षीय ओम चौधरी र २२ वर्षीय राजेन्द्र चौधरी रहेका छन्। सोही स्थानका करिब २५ वर्षीय राजेश चौधरी फरार रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरीका अनुसार ओम र किशोरीबीच पहिलेदेखि नै चिनजान तथा सम्बन्ध रहेको थियो। ओमले विवाह गर्ने भन्दै जेठ ५ गते राति किशोरीलाई भेट्न बोलाएका थिए र सो क्रममा आफ्ना दुई साथीलाई समेत सँगै लगेका थिए।
उनीहरूबीच गाउँ नजिकैको एकान्त स्थानमा भेट भएको र सोही क्रममा किशोरीमाथि सामुहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार ओमका साथीहरू पछि घटनास्थलमा आएका थिए र किशोरीमाथि सामूहिक करणी गरेको आरोप छ। घटनापछि पीडितलाई त्यहीँ छाडेर उनीहरू फर्किएको बताइएको छ।
घटनाको भोलिपल्ट पीडितले आफन्तको सहयोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरीपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो भने फरार आरोपीको खोजी जारी रहेको छ।
पक्राउ परेकाहरूमाथि ‘जबरजस्ती सामूहिक करणी’ सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी होमबहादुर पराजुलीले जानकारी दिएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस