रुकुम पश्चिमकाे प्रहरी कार्यालयमै झडप, ९ राउण्ड हवाई फायर


माघ ०६, २०७७


रुकुम पश्चिम । दुई राजनीतिक दलका कार्यकर्ताबीचको विवाद समाधानका लागि प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा तीन जना वडाध्यक्ष कुटिएका छन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का वडाध्यक्ष फरक–फरक पार्टीका कार्यकर्ताबाट कुटिएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । 

ad

आठबीसकोट नगरपालिकामा नेकपा (दाहाल–नेपाल समुह) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको विवाद मिलाउन इलाका प्रहरी कर्यालयमा भइरहेको छलफलका क्रममा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाहीमाथि कुटपिट भएकाे थियाे । उहाँलाई वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विक र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनाराले प्रहरीकै अगाडि कुटेको छलफलममा सहभागी नेपाली कांग्रेसका नगर सभापति कमल शाहले बताउनुभयो ।

ad

शाही नेपाली कांग्रेस, केशरमान र मानबहादुर नेकपा निकट हुन् । वडाध्यक्ष शाहीमाथि आक्रमण भएपछि नेपाली कांग्रेस समर्थित कार्यकर्ताले वडा अध्यक्षद्वय केशरमान र मानबहादुरलाई समेत आक्रमण गरेको जनाइएको छ । 

प्रहरी कार्यालयमै दुई राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले नौ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।

यसैबीच राडीबजारमा अनश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि मंगलबार ५ बजदेखि निषेधाज्ञा लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले चार किल्ला तोकेर निषेधाज्ञा आदेश जारी गरेका छन् । पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाइएको हो ।

आठबीसकोट नगरपालिकाको ९ नम्बर वडा राडीबजारमा केही समूहबाट अनावश्यक भेला हुने अवाञ्छित गतिविधिहरु गरी शान्ति भंग हुनेगरी हुलदंगा वा अशान्ति सिर्जना गर्न खोजिरहेकाले निषेधाज्ञा गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र ६ (३क) कफ्र्यू लगाइएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए । 

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="