दाङ । दाङको स्मार्ट सिटीका नामले परिचित तुलसीपुर उपमहानगरपालिका दुई दिन देखि अन्धकार भएको छ ।
विद्युत महसुल समयमै बुझाउँन नसकेपछि मंगलबार कार्यालयको विद्युत लाईन काटिएको थियो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकाले चार महिनाको विद्युत महशुल नबुझाएको भन्दै मंगलबार विद्युत लाईन काटेको थियो ।
महशुल बुझाउँनको लागि पटकपटक तुलसीपुर उपमहानगरपालिकामा पत्राचार गरेको भए पनि त्यसको कुनै प्रतिक्रिया नआएपछि मंगलबार विद्युत काटिएको नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिए । अहिले तुलसीपुर उपमहानगरपालिकाको ४ महिनाको विद्युत महशुल बुझाउँन बाँकी छ । जरिमानासहित ४ महिनाको डेढलाख बढी महशुल बुझाउँन बाँकी रहेको प्रमुख फर्सालले बताए ।
विद्युत काटिएपछि उपमहानगरपालिकाबाट सडक बत्ति बाहेक कार्यालयको मात्रै महसुल बुझाँउने जानकारी आएको भए पनि महसुल नबुझाएकाले लाईन नजोडिएको उनले बताए ।
कार्यालयको विद्युत काट्दा सेवा प्रवाहमा भने समस्या देखिन थालेको छ । उपमहानगरपालिकाले अहिले जेनेरेटर चलाएर काम चलाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस