कर्णालीमा टाइफाइडविरुद्ध खोप अभियान सन्चालन हुने


पुष ०६, २०८०


सुर्खेत, पुस ६ गते । कर्णाली प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान सन्चालन गरिने भएको छ। प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा दादुरा र रुबेलाविरुद्धको समेत खोप लगाइने भएको छ।

ad

निर्देशनालयका अनुसार सुर्खेत, जुम्ला, कालीकोट, दैलेख र सल्यानमा पुस ४ देखि पुस २५ सम्म टाइफाइडविरुद्धको खोप लगाइने छ। निर्देशनालयका खोप फोकल पर्सन नवराज कँडेलले खोप अभियानको तयारी प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

ad

भूकम्पपछि जाजरकोट र रुकुमपश्चिममा पानीबाट महामारी फैलिन सक्ने भएकाले खोप अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । टाइफाइडविरुद्धको खोप १५ वर्षदेखि ४५ वर्ष उमेर समूहकालाई दिइने छ । दादुरा तथा रुबेलाविरुद्धको खोप ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दिइने छ । खोप फोकल पर्सन कँडेलले सुर्खेतमा टाइफाइडविरुद्धको खोप पुस १२ देखि १५ सम्म पहिलो चरणमा र पुस २१ देखि २५ सम्म दोस्रो चरणमा दिइने जानकारी दिए। 

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले नौ वटा स्थानीय तह रहेको सुर्खेतमा पहिलो चरणमा पञ्चपुरी, लेकबेँसी नगरपालिका तथा बराहताल, चिङ्गाड र चौकुने गाउँपालिकाका लक्षित समूहलाई खोप लगाइने जानकारी दिनुभयो। दोस्रो चरणमा वीरेन्द्रनगर, भेरीगङ्गा र गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकामा खोप लगाइने छ । भूकम्प प्रभावित जिल्लासँग सीमा जोडिएका कारण यस पटक आकस्मिक खोप अभियान सञ्चालनगरिएको जनाइएको छ। 

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="