after_navbar

आत्महत्या दुरुत्साहनमा मुद्दाका अभियुक्तलाई चार वर्ष कैद


फागुन ०१, २०८०


धनगढी,१ फागुन । शिक्षिका आत्महत्या दुरुत्साहन मुद्धाका अभियुक्तलाई कैद सजाय सुनाइएको छ । धनगढीको दिपेन्द्र प्रहरी स्कुलकी शिक्षिका राजेश्वरी डडालको आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दाका अभियुक्तलाई चार बर्ष कैद सजाय सुनाइएको हो । जिल्ला अदालत कैलालीले उनका प्रेमी जगदिश कोट्टारीलाई चार वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

जिल्ला अदालतका न्यायाधीश प्रदीपकुमार उपाध्यायको इजलाशले २६ माघमा फैसला गर्दै कोट्टारीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको श्रेस्तेदार मानबहादुर विष्टले जानकारी दिए । उनकाअनुसार मृतकका परिवारलाई अभियुक्तबाट एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश समेत दिइएको छ ।

दार्चुलाको मार्मा गाउँपालिका–६ सिरोली स्थायी घर भएकी राजेश्वरी धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी थिइन् । उनी गत भदौ ६ गते धनगढी उपमहानगरपालिका–३ मा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । जगदिशले आफूसँग विवाह गर्ने भन्दै प्रेम गरेको तर अहिले आएर धोका दिएको भन्दै आत्महत्याको बाटो रोजेको उनले लेखेको सुसाइड नोटमा उल्लेख गरेकी थिइन् ।

राजेश्वरीको मृत्युपछि भदौमै उनका बुवा राजेन्द्रसिंह डडालले जिल्ला प्रहरी कार्यालय कैलालीमा जगदिशविरुद्ध छोरीलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

data-href="