दाङ, १४ जेठ । बाँकेको नरैनापुर गाउँपालिकाले दुई शिक्षकलाई पद मुक्त गरेको छ ।पेशागत मर्यादा विपरित काम गरेको भन्दै गाउँपालिकाले दुई शिक्षकलाई पद्मुक्त गरेको हो ।
पेशागत मर्यादा नाघेको आरोपमा नरैनापुर ४ खोदावाँस्थित श्री नेपाल राष्ट्रिय विद्यालयका शिक्षक गोरखबहादुर राना र सोही विद्यालयकी शिक्षिका रिता चौधरीलाई जेठ १४ गतेदेखि लागू हुने गरी पदबाट मुक्त गरिएको पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत कृष्णकुमार चौधरीले बताए ।
आइतबार केही अराजक व्यक्तिहरुसँगै शिक्षकद्वय राना र चौधरीले गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा प्रवेश गरी शिक्षा अधिकृत चौधरीलाई भित्रै कोठामा थुनेर ताल्चा लगाएको गाउँपालिकाले जनाएको छ ।
शिक्षक भर्नाको विषयलाई लिएर बिना प्रमाण भ्रष्टाचार गरेको आरोप लगाउँदै केही व्यक्तिहरुले कार्यालयमा प्रवेश गरी कर्मचारीहरु माथि अभद्र व्यवहार गरेको जनाउँदै इलाका प्रहरी कार्यालय भगवानपुरमा आवश्यक कारवाहीका लागि गाउँपालिकाले पत्राचार गरेको जनाएको छ ।
शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न गाँउपालिका क्रियाशिल रहेको जनाउँदै शिक्षा शाखाका अधिकृत चौधरीले नरैनापुरले शिक्षा क्षेत्रमा धेरै राम्रो काम गरेकोले शिक्षकहरुलाई विचलित नभएर अगाडि बढ्न आग्रह गरेका छन् ।
उनले पदीय आचरण विपरित काम गर्ने अन्य शिक्षकहरुको पनि पहिचान गरी कारबाही गर्ने बताए ।पेशागत दायित्व विपरित काम गरेकोले दुई शिक्षकलाई पदमुक्त गरेको गाउँपालिकाले जनाएको छ ।
शिक्षामा अन्य पालिकाहरुभन्दा निकै पछाडी परेको नरैनापुरका बिद्यालयहरुमा शिक्षक नियमित नपुग्ने, पुगेपनि अध्यापन नगराउने, हाजिर गरेर अन्य काममा लाग्ने गरेको गुनासाहरु विगतमा पटक पटक सुनिने गरिएको थियो ।
तर गत केही समय यता आएर शिक्षा शाखाको कडाई र पालिकाले पनि विशेष ध्यान दिएकाले विद्यालयहरुको अवस्थामा सुधार हुँदै गएको गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताए ।
प्रतिक्रिया दिनुहोस