दाङ, २३ जेठ । युवा संगठन नेपाल लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ । सी जातिको कानुनी मान्यताको लागि संकलन गरेको हस्ताक्षरसहितको ज्ञापनपत्र मुख्यमन्त्री महरालाई बुझाएको हो ।
संगठनले सी जातिको कानुनी मान्यता पाउनुपर्ने भन्दै जिल्लाभर संकलन गरेको हस्ताक्षरलाई बुधबार मुख्यमन्त्रीको कार्यालयमै पुगेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
संगठनको केन्द्रीय कार्यक्रम अनुसार संगठनले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा मानव जाति एउटै जाति हो भन्ने सबैमा समान बुझाइ हुनुपर्ने भन्दै सी जातिको कानुनी मान्यताको लागि जेठ १५ गतेदेखि १८ गतेसम्म हस्तक्षर संकलन अभियान सञ्चालन गरेको थियो ।
अभियान अवधिभर १५ हजार बढी हस्ताक्षर संकलन भएको र अभियानबाट संकलित भएको हस्ताक्षरलाई मुख्यमन्त्री समक्ष बुझाएको संगठनले जनाएको छ ।
सी जातिलाई कानुनी मान्यता दिन सञ्चालन गरिएको हस्ताक्षर संकलन अभियानमा देशभरका नागरिकहरु उत्साहकासाथ हस्ताक्षर अभियानमा सहभागी भएको संगठनले बताएको हो । संगठनको योजना अुनसार ७ वटै प्रदेशका मुख्यमन्त्रीलाई हस्ताक्षर र संगठनको ज्ञापनपत्र बुझाएको हो ।
पार्टीकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका फ्याक्सन इञ्चार्ज सम्झना सीको नेतृत्वमा संगठनका केन्द्रीय कोषाध्यक्ष जीवनी सी, संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशका इञ्चार्ज दीपक सी, संगठनका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज पदम सी, संगठनका केन्द्रीय सदस्य अदीप सीलगायतको टोलीले संयुक्त रुपमा मुख्यमन्त्री महरालाई सी जातिको कानुनी कान्यताको लागि संकलित हस्ताक्षरसँगै ज्ञापनपत्र बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस